महेन्द्रमान गुरुङ
सामान्य अवस्थामा समेत प्रत्येक नागरिकले सरकार वा सार्वजनिक निकायहरूबाट भए गरेका कार्यहरूका बारेमा थाहा पाउन, सुसूचित हुन, जानकारी लिन, बुझ्न र सूचना पाउनुपर्छ भन्ने मान्यता लोकतान्त्रिक पद्धति भएको देशले राख्दछ र राख्न पनि पर्दछ । यसमा पनि विशेष अवस्थामा यसको महत्व र गाम्भीरता बढेर जान्छ । समयमा स्पष्ट र बुझिने भाषामा थाहा पाउनु प्रत्येक नागरिकको हक हो । यसलाई नेपालको संविधानले अंगिकार गरेको छ । यस अवस्थामा विश्वभर फैलँदै गएको कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले गरेका तयारीका सम्बन्धमा, सङ्क्रमित भइहालेमा के गर्ने, बच्नका लागि के गर्ने, कसलाई कसरी सम्पर्क गर्ने भन्ने बारेमा सूचना प्रवाह गरिरहनु सरकारको महत्वपूर्ण दायित्वभित्र पर्ने मात्र हैन, यसले गर्दा नागरिक आश्वस्त हुने सरकारप्रतिको विश्वास अभिवृद्धि हुने बाटो पनि हो ।
पहिलोपटक चीनमा देखापरेको कोरोना भाइरसबाट नागरिकको मृत्यु हुन थाल्नासाथ यसबारेमा नागरिकलाई सचेत बनाइरहन आवश्यक छ भन्ने ध्येयबाट राष्ट्रिय सूचना आयोगले २०७६ माघ १९ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलगायत उच्च पदाधिकारीहरूलाई आयोगमा नै आमन्त्रण गरी सरकारले गरिरहेको कामका बारेमा जानकारी लिनुका साथै नागरिकहरूको सूचनाको हक प्रत्याभूत गर्न भनी पाँच बुँदाको निर्देशन दिएको थियो । निर्देशनमा देहायका बुँदा थिए ।
१. नोभल कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमण कसरी फैलिन सक्छ ? नोभल कोरोना भाइरस कसरी सर्छ ? यसको सङ्क्रमणको सङ्केत सर्वसाधारणले कसरी थाहा पाउने ? यो भाइरसको सङ्क्रमण भएपछि कस्ता लक्षणहरू देखिन्छन् ? यसबाट बच्न के कस्तो उपाय अपनाउनु पर्छ ? उपचार विधि के हो ? कुन–कुन अस्पताल र स्वास्थ्य संस्थाबाट यसबारे के कस्ता सेवा सर्वसाधारणले प्राप्त गर्न सक्छन् ? जस्ता आमनागरिकबाट बारम्बार सोधिने नोभल कोरोना भाइरस रोगसम्बन्धी प्रश्नहरूको जवाफ चिकित्सक र विज्ञहरूको परामर्शसहितको सूचनाहरू विभिन्न सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गरी आमजनतासम्म पु¥याउनु ।
२. नोभल कोरोना भाइरसबारे सामाजिक सञ्जाललगायतमा आएका र आउन सक्ने हल्लाको निराकरण हुने गरी सही र सत्यतथ्य सूचना आमजनतासम्म पु¥याउनु । यसका लागि नेपाली भाषाका साथै अन्य राष्ट्रिय भाषा र अङ्ग्रेजी भाषामा समेत सूचना प्रवाह गर्ने प्रबन्ध गर्नु । यस्तो सूचना रेडियो, पत्रपत्रिका, टेलिभिजनलगायतका आमसञ्चारका माध्यमबाट व्यापक प्रचार–प्रसार गर्नु ।
३. सूचनालाई व्यापकता दिन अनलाइन, वेबसाइटलगायत सामाजिक सञ्जालको समेत उपयोग गर्नु, स्थान र आवश्यकता अनुसार माइकिङ गर्ने, पर्चा–पम्प्लेट वितरण गर्ने, फ्ल्याक्स बोर्ड सार्वजनिक गर्ने, स्कुल–कलेजका शिक्षक, विद्यार्थीलाई यसबारे जानकारी दिने र आमनागरिक भेला हुने स्थान तथा कार्यक्रममा यससम्बन्धी सूचना प्रवाह गर्ने प्रबन्ध मिलाउनु । ४. नागरिकलाई सूचना प्रवाह गर्ने काममा सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाबाट पनि यसबारे आवश्यक सूचना प्रवाह गर्ने प्रबन्ध मिलाउनु ।
५. नोभल कोरोना भाइरस रोगबाट बच्नका लागि आमउपभोक्ताले सजगता अपनाउनुपर्ने प्रमुख बुँदाहरू नेपाल टेलिकमलगायत निकायबाट छोटो एसएमएसको माध्यममार्फत सूचना पठाउने प्रबन्ध गर्नु । यसरी नोभल कोरोना भाइरसको सङ्क्रमण तत्काल रोक्न, आमजनतामा आवश्यक सूचना प्रवाहका माध्यमबाट जानकारी प्रदान गर्न र सङ्क्रमितको शीघ्र उपचार गर्नेलगायतका यससँग सम्बन्धित समग्र सूचनालाई एकीकृत गरी सरल र सहज भाषामा आमनागरिकको पहुँचमा पुगेको पूर्ण प्रत्याभूति गराउनु ।
त्यसैगरी कोरोना भाइरसको महामारीले विश्वव्यापी रूप लिँदै गर्दा मृत्युको सङ्ख्यामा दिनानुदिन वृद्धि हुँदै जाँदा यस विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा विभिन्न प्रकारका टीका टिप्पणी हुन थालेका छन । कतिपय सकारात्मक विषयहरू प्रवाह भइरहेका छन् जसले हामी सबैलाई यस विषयमा थाहा पाउने, कसरी बच्ने, कसरी सुरक्षित हुने÷रहने, के गर्दा राम्रो हुने भन्ने विषयहरूमा सहज बनाएको छ ।
साथै कतिपयले अप्रमाणित र भ्रम फैलाउने सूचना प्रवाह गर्ने, टीकाटिप्पणी गर्ने गरिएको पनि पाइएको छ । यसले गर्दा जनमानसमा भ्रम फैलाउने, त्रासको वातावरण सृजना गर्ने, अविश्वासको वातावरण तयार गर्ने, अप्रमाणित विषयहरू अफवाहका रूपमा प्रयोग हुने अवस्था सृजना भयो । यसबारेमा आयोगको ध्यानाकर्षण भई यस्ता सूचना प्रवाह रोक्न वा टीकाटिप्पणी नगर्न आयोगले प्रेस विज्ञप्ति जारी गरेको छ । बरु यस्ता विषयमा सार्वजनिक निकायहरूले सत्यतथ्य सूचना प्रवाह गरिदियो भने यस्ता भ्रम तथा अफवाहबाट नागरिकलाई सचेत
बनाउन सकिने हुन्छ ।
अहिलेको अवस्था भनेको नागरिक आतङ्कित हुने, त्रसित हुने, डराउने, मानसिक रूपमा कमजोर हुने अवस्था हो । यसले व्यक्तिमा समाजमा दीर्घकालीन असर पार्न सक्छ । समयमै आवश्यक पाइला चाल्नु आवश्यक छ । कोरोना भाइरसबाट हुनसक्ने सङ्क्रमण र यसबाट नागरिकलाई बचाउन नेपाल सरकारले हाल गरेका प्रयास तथा निर्णयहरू प्रशंसनीय छन् र धेरैले समर्थन गरेको अवस्था छ । तर निर्णय गर्नु र कार्यान्वयन हुनुमा पक्कै पनि फरक छ । यस गम्भीर अवस्थामा सरकारले धेरै कुरामा ध्यान पु¥याउनुपर्ने हुन्छ । बलियो अनुगमन संयन्त्र निर्माण गर्नु अत्यन्त आवश्यक छ । साथै सरकार वा सम्बन्धित निकायबाट भइरहेका कार्यहरूका बारेमा समयमै स्पष्ट र बुझिने गरी सूचना प्रवाह हुन सक्दा मात्र हाम्रा प्रयासहरूले सार्थकता
पाउने हो ।
जनमानसको सहयोग पाउने हो । तसर्थ पहिलो दायित्व निर्वाह गर्नुपर्ने सरकारले सबै विषयमा जस्ताको त्यस्तै एकद्वार प्रणालीबाट सूचना निरन्तर रूपमा प्रवाह गरिरहन आवश्यक छ । तसर्थ नेपाल सरकारले तत्काल डेडिकेटेड सूचना प्रवाह गर्ने टिम बनाउन आवश्यक छ । यस टिमले निरन्तर रूपमा सूचना प्रवाह गरिरहने, गलत सूचना प्रवाह भएको थाहा पाउनासाथ खण्डन गर्ने, गलत मनसाय राखी आतङ्कित तुल्याउने सूचना प्रवाह भएको रहेछ भने कानुनी कारबाहीको दायरामा ल्याउन सक्छ । यस टिमलाई स्रोत साधनले सम्पन्न तथा सबै सूचनामा सहज पहुँच हुने व्यवस्था मिलाइनुपर्दछ । अझ स्थानीय भाषामा प्रचार सामग्री तयार गरी वितरण वा प्रसारण गर्न सके थप प्रभावकारी हुने मात्र नभई सर्वसाधारणको स्नेह र समर्थन पाउन सकिन्छ भन्नेतर्फ पनि ध्यान जान आवश्यक छ ।
यस कार्यमा आमसञ्चारका माध्यमहरू, सामाजिक सञ्जालमा जोडिएका नागरिकहरू, नागरिक समाज, सचेत नागरिकको पनि त्यत्तिकै दायित्व रहन्छ । अफवाह फैलाएर भ्रमित बनाउने काम नगरौँ । सही सूचना दिएर आश्वस्त पारौँ । सतर्कता अपनाऔँ, कोरोना भाइरसबाट बच्न सकिन्छ, सबै मिलेर सामना गरौँ । फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा सबै नेपालीको हौसला बढाउने काम गरौँ ।
(लेखक राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त हुनुहुन्छ ।)