रमेश भट्टराई ‘सहृदयी’
कोभिड १९ ले आज विश्व मानव समाजलाई मानवतारूपी साझा सोचको झण्डामुनि रहने सन्देश दिइरहेको छ । प्राकृतिक जीवन र पृथ्वीरूपी घरमा बन्धुत्वलाई बोध पनि गराइरहेको छ । बाँच अनि बचाऊको सचेतताको स्वरमा एकत्रित गर्दैछ । अलिकति शाकाहारी जीवन र स्वच्छ विचारमा बाँच्न, ग्रामीण समाजमा रम्न, पारिवारिक एकत्वमा जम्न सिकाउँदैछ । यो बाध्यताभित्रको एउटा राम्रो पक्ष पनि हो । अनि, डराएर होइन सचेत भएर जुध्न सिकाइरहेको छ ।
के हाम्रो देशले सधैँ अर्काले औषधि खोजिदेला र हामी जोगिउँला मात्र भन्ने हो त ? के हाम्रो सरकारले कुनै जानकार वा विज्ञ वा जिज्ञासु वा सचेतकले कोरोना भाइरसलाई निको तुल्याउने औषधि खोज्ने कदम पनि चालेको छ ? दुःखको कुरा हामी नेपाली उत्पादनको प्रयोग गर्ने कुरामा सधैँ परनिर्भर सोचबाट ग्रसित छौँ । हाम्रो देश जडीबुटीको खानी हो । यहाँको माटो र प्रकृति नै औषधिको भण्डार हो भने यतिखेर आयुर्वेदिक होस् या अन्य कुनै प्रकृतिका अध्येता ः तिनलाई औषधि निर्माणार्थ सहयोग गरौंँ ।
कोरोनाले भयग्रस्त बनाएको समाचारमात्र सम्प्रेषण गर्नुभन्दा सकारात्मक कुरा पनि गरौँ । चीन र दक्षिण कोरियामा बिरामीको सङ्ख्या घटिरहेको छ । चीनले सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटाएको मात्रै छैन, केही नयाँ औषधिको परीक्षण गरिरहेको छ । वुहानमा कोरोनाबाट सङ्क्रमित १०३ वर्षकी आमा छ दिनको उपचारपछि निको भएकी, इटाली मोडेनाकी ९५ वर्षीया, अमेरिकाको मेरिल्यान्डमा तीनजना बिरामी ठीक भएका लगायतका केही सकारात्मक समाचार पनि आएका छन् । केही देशहरू औषधी खोज्न तल्लीन छन् । चिन्ताले चिताको बाटोतिर धकेल्छ, चिन्तनले ज्ञान बढाउँछ । मानवताको शङ्खघोष बजिरहँदा अमानवीय कालोबजारी गर्ने कुत्सित कथित विचारले अप्ठ्यारोमा टाउको उठाउँदैछन् । नेपालमा पनि चैत १० गते कोरोना सङ्क्रमित भेटिएको खुलासा भइसकेको छ तर डराउनका लागि होइन । कोही सङ्कटकालीन चपेटामा रहेर जीवन–मरणको दोसाँधमा प्राणको भीख मागिरहँदा कोही एउटा मानव प्रतिविम्ब चाहिँ कसरी दानवको हर्कत देखाउन तम्सिन्छ ? हिजो भूकम्प र नाकाबन्दीका समयमा देखिएका लाञ्छित व्यवहार आजको विश्वव्यापी सङ्क्रमणमा पनि देखिएका छन् । सवारी चलेका समयमा कसैले बढी भाडा असुल्न भ्याए, स्वास्थ्यक्षेत्रमा मास्क, स्यानिटाइजर लगायतका वस्तुमा कालोबजारी गरेका, ग्याँस, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुमा मनोमानी मूल्य निर्धारण गर्दै सर्वसाधारणलाई ठगेका घटनादेखि झुट्टा अफवाह र समाचार सम्प्रेषण गरेर भाइरसको निहुँमा भाइरल हुनेको लर्कोले पनि नछोडेको कुराले अमानवीय हर्कतलाई बोध गराउँछ । यो सङ्कटकालीन क्षणमा मानिसले सबैभन्दा बढी समाचार हेर्छ, सुन्छ । यसर्थ यो समयमा सञ्चारक्षेत्रले मनोवैज्ञानिक त्रासलाई बढाउन होइन सचेतनामा साथ दिनुपर्छ । वास्तवमा समाचारको अर्थ सुसूचित गराएर सचेत तुल्याउने हो, भ्रम र भय बढाउने होइन ।
आखिर चीनबाट दगुरेर यत्तिको द्रुतगतिमा विश्वलाई तहसनहस बनाउने खुबी कोरोना भाइरस आफैँमा थिएन । मानिसकै ओहोरदोहोरबाट विश्व समाजमा यो भाइरस फैलिएको देखिन्छ । साथमा सचेतनाका लागि डाक्टर तथा विज्ञहरूले सुझाव पेस गरिरहँदा केवल डराउने र भयभीत हुनेभन्दा यो अवस्थामा सचेत र सजग भएर बस्नु नै बुद्धिमानी हो । यसर्थ पनि यो समयमा सरकारले चालेका कदममा सबैले साथ दिनु आवश्यक छ तर सरकारले मानवीय पीडा र अप्ठ्यारालाई भने चटक्क बिर्सन मिल्दैन । यसो भनिरहँदा सरकारलाई हामीले हवाईसेवा बन्द गर भन्यौँ, नाका बन्द गर भनेकै हौँ, भीडभाड रोक भनेकै हौँ अनि सरकारले हाम्रै हितलाई ध्यानमा राखेर घरबाट ननिस्क, म सुरक्षा दिन्छु, खाद्यान्न अभाव हुन दिन्नँ भन्दा हामी जनताले सरकारलाई सघाउनु दायित्वमात्रै होइन, अनिवार्य आवश्यकता हो । कतिपय देशमा घरबाहिर निस्कनेलाई जेल हाल्ने, अनेकौँ प्रकृतिका निर्मम सजायका कुरा सुनाइरहँदा हामी त्यति अटेरी बन्नुहुन्न । सरकार सदनदेखि सडकसम्म सचेतनाको बिगुल घन्काउँदैछ । कतै निषेधाज्ञा जारी गरिँदैछ भने कतै रातारात अस्पताल र आवश्यक प्रबन्धमा जुटिरहिएको छ । यतिखेर हाम्रो देशमा सरकारलाई, सहयोगीलाई प्रोत्साहन गर्नु आवश्यक छ, विरोध होइन । यो साझा सवाल हो । मूलतः प्रहरी, डाक्टरको टोली, सञ्चारक्षेत्र जोखिम मोलेर अरूका निम्ति सेवामा खटिँदैछ । हामी कम्तीमा सहयोगी बन्न नसके पनि असहयोगी चाहिँ नबनौँ ।
विश्व अर्थतन्त्रलाई भाइरसले नकारात्मक असर पारिरहँदा आर्थिक मन्दीको अर्को सन्त्रासलाई सहजै पूर्वानुमान गर्न सकिन्छ । सन् २००३ मा सार्स भाइरसका कारणले विश्व अर्थतन्त्रलाई एक प्रतिशतले कमी तुल्याएको थियो । मानिसमा यतिखेर बाँच र बचाऊको साझा नारा घन्किँदैछ । देशभरि, संसारभरि, घरघरमा, व्यक्तिव्यक्तिको दिलमा एउटै समस्याले गाँजिरहँदा यसको औषधि खोज्नु एउटा आवश्यकता हो भने अर्को अवसर पनि हो । यतिखेर संसार हतियारविनाको लडाइँमा केवल सतर्कताको, प्राथमिक उपचारमै चित्त बुझाउन विवश छ । श्वास रहुन्जेलको आशमा बाँच्नुपर्दाको पीडा भयानक हुन्छ नै । विश्वको करिब एकतिहाइ अर्थात् ३० प्रतिशत इलेक्ट्रोनिक व्यापारको हिस्सा समेट्ने चीनदेखि विश्व बजार आज उत्पादन, वितरण अझ भनौँ क्रय–विक्रयमा शून्यप्रायः बन्दैछ । यातायात, हवाई, पर्यटन सँगसँगै नेपालको ‘भ्रमण वर्ष २०२०’ मा समेत प्रारम्भमै वज्रपात प¥यो । मूलतः डिजेल, पेट्रोल, खाना पकाउने ग्याँस, औषधिलगायतका सामग्रीको आपूर्तिदेखि खाद्यान्नको व्यवस्थापनका विषयले भोकमरी र हाहाकारको अवस्था नआउला भन्न पनि सकिँदैन । यद्यपि नेपालमा भने ग्रामीण समाजका अधिकांश नेपालीले आफ्नो जोहो गर्न जानेका छन्, विगतको नाकाबन्दीले पनि यस कुरालाई पुष्टि गरिसकेको छ । सहरी क्षेत्रमा आफ्नो उत्पादन नहुँदा मानिसमा अप्ठ्यारो पर्ने हुँदा जोहो गरौँ भनिरहँदा कालाबजारी र तस्करी गर्नेले पासो थाप्लान् । तबमात्र जनतामा अप्ठेरो पर्न सक्छ । तर सरकारले अत्यावश्यक सामग्रीको आपूर्ति सहज गराउने भनिरहँदा काठमाडौँबाट लाखौँको सङ्ख्यामा मानिस बाहिरिएका कारण उस्तो असहज नहोला । आशा गर्न सकिएला ।
आज कोरोनाका कारणले बन्द भएको व्यापार, व्यवसायले हुनेखानेका लागि त समस्या अलिकति कम होला तर दिनमा कमाएर गुजारा चलाउनुपर्ने कैयौँ गरिब वर्गमा ठूलो सङ्कट गराएको छ । त्यसो त सहयोगी हातहरूले आफ्नो सिङ्गो घर, औषधिजन्य सामग्री, यातायातका लागि प्रबन्ध मिलाइरहेका छन् । यो अप्ठ्यारोमा शारीरिक, बौद्धिक वा भौतिक सबै प्रकृतिका सेवाद्वारा सहयोगी मन कटिबद्ध भइरहँदा केवल नकारात्मक सोचले मात्र प्रभाव जमाएको होइन । यतिखेर सामान्य मानिस भाइरसका कारणले भन्दा बिहान बेलुकाको छाक टार्ने अनि लालाबालाको चाहना पूरा गर्नुपर्ने विविध बाध्यताको झटारोले अझ बढी पीडित छन् । यो कुरालाई सरकार र सम्बन्धित निकायले भुल्न मिल्दैन । यो अवस्थामा कसैले आफ्नो कमाइको हिस्सा अर्थात् तलब दिइरहेका, कुसैले घरभाडामा मिनाहा गरिरहेका कुरा ज्यादै मनकारी उदाहरण हुन् । सक्नेले मन फुकाउँ, आवश्यक पर्नेले मात्र सुविधा लिऊँ भन्ने दुवै सोच आवश्यक छ । यो सरुवा रोग भएकाले सङ्क्रमितका लागि छुट्टै अस्पताल, चिकित्सक टोली र एम्बुलेन्सको व्यवस्था पनि सरकारले गरिसकेको छ । सबै सङ्क्रमित मरिहाल्छन् भनेर अफवाह पैmलाउने, लासैलासको चित्र मिलाएर झुटो समाचार बनाई भाइरल हुने सोच राख्ने शैलीका पछाडि दगुर्नु र फैलाउनु दुवै गलत कुरा हन् ।
मानिस फुर्सदिलो भयो भने कि त सिर्जनशील बन्छ कि बेकारी । कामकाम भनेर दिक्क भएका यान्त्रिक मनहरू यसो घरगाउँमा साथीसहेलीसँग सुसेली हालेर रमाइरहँदा कोरोना भाइरस केवल भयङ्कर होइन, भेटघाटको सेतुजस्तै भएको हुँदो हो । दशैँका बेला भेटघाट हुने परिवारसँग मानिस रमाएका पनि छन् । हाम्रो समाज निम्न मध्यम आय र निम्न मध्यम सोचमै अझसम्म गतिशील छ । त्यसैले पनि फुर्सदको दुरुपयोग गर्नेको कमी भने छैन । कोही जुवा–तास, कुलत, भैmझगडामा पनि लहसिएका छैनन् भन्न पनि सकिन्न । यसर्थ समयको फुर्मासी गर्ने कि सदुपयोग गर्ने भन्ने बारेमा हामीले हेक्का पनि राख्नुपर्छ । एसईईदेखि विश्वविद्यालयसम्मका, लोकसेवाका परीक्षा सरेका छन् । एकदिन यो महामारी पक्कै साम्य हुन्छ नै । अतः हामीले आजको समस्याको हलसँग भोलिको जिम्मेवारीलाई बोध गर्नुपर्ने सकारात्मक सोचलाई बिर्सनुहुन्न । चाहे बजार बन्द होस् आखिर यो समय घरमै बस्नु भन्ने यो महामारीमा आफू बाँच्नु र अरूलाई बचाउन सहयोग गर्नु हो । यो बौद्धिक सचेतनारूपी सहयोग हो ।
(लेखक आदर्श बहुमुखी क्याम्पस, गजुरी, धादिङमा प्राध्यापन गर्नुहुन्छ ।)