निर्मलकुमार आचार्य
अकल्पनीय महामारीले विश्वलाई नै छोपेको छ । गत पुस महिना चीनको वुहानमा देखापरेको ‘कोरोना’ भाइरस (कोभिड १९) आज दुनियाँभरि फैलिँदैछ । ठूला, साना हरेक मुलुक यसको चपेटामा पर्दै गएका छन् ।
कालको कहालीलाग्दो दृश्य देखाएको कोरोनाको असर चीनमा कम हुँदै गएको प्रतीत भए तापनि इटली, स्पेन, फ्रान्स र संयुक्त राज्य अमेरिकामा भयावह अवस्था छ । इरान, जर्मनी आदि देश पनि आक्रान्त छन् । छिमेकको भारतमा कोरोना सङ्क्रमित हुने र मर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ भने दक्षिण एसियाका अन्य देश पनि नजानिँदो तवरले यसको क्रूर पञ्जामा परिरहेका छन् ।
महामारीका रूपमा फैलिरहेको कोरोनाको असरबाट नेपाल पनि अछुतो छैन । यद्यपि आजका मितिसम्म यसको असर न्यून देखिएको छ । तथापि आर्थिक सम्पन्नता, स्वास्थ्य संसाधनको प्रचुरता जस्ता उल्लेखनीय पक्ष भएका अतिविकसित देशमा समेत कोरोनाले अनियन्त्रित रूपमा शोक बढाइरहेको अवस्थामा अतिकम विकसित मुलुकको अवस्था दयनीय हुनु अस्वाभाविक होइन । पर्याप्त सुविधासम्पन्न अस्पताल, मनग्गे उपकरण, यथेष्ट प्रयोगशाला र बगे्रल्ती चिकित्सक नभएको नेपालजस्तो देशमा कदाचित् कोरोनाको कहर मच्चिन थाल्यो भने ...त्यस्तो परिदृश्यको कल्पना मात्रले पनि जीउ सिरिङ्ग हुनपुग्छ ।
कोरोनाको महामारीबाट बच्ने एउटै अचुक उपाय सामाजिक दूरी कायम गर्नु हो । अन्यथा ‘राजा’देखि रङ्कसम्म यसबाट प्रभावित भएका छन् । भोगेकाको अनुभव बेलैमा आत्मसात् गर्दा रुसले कडा सकस बेहोर्नुपरेको छैन भने खेलाँची गर्ने देशमा ‘बुलेट ट्रेन’को गतिमा कोरोना कुदिरहेको छ । नेपालमा पनि कोरोनाको असर जतिसक्दो कम गर्ने उद्देश्यले गत मङ्गलबारदेखि ‘लकडाउन’को व्यवस्था गरिएको छ । सामाजिक दूरी कायम गराउन अँगालिएको ‘लकडाउन’ जति प्रभावकारी हुनसक्यो, कोरोनाको असर त्यति नै निस्तेज पार्नसकिने भएकाले यसको पूर्णतः पालनमा सबै पक्षको उत्तिकै गाम्भीर्य जरुरी छ । साताव्यापी ‘लकडाउन’ अपुग भए, त्यसको अवधि थप्न अनकनाउन नहुने र ‘लकडाउन’ अझ कडाइसाथ पालना गराउनुपर्ने वस्तुस्थिति छ ।
आफू बच्न तथा अरूलाई बचाउन घरमै बस्नुपर्ने ‘लकडाउन’को मर्यादा पालना नगर्नेमाथि कारबाही गरेर भए पनि तिनको ज्यानको सुरक्षा गर्नु राज्यको कर्तव्य बनेको छ । निश्चय नै महामारीका बेलामा हरेक कामकुरो सरल, सहज र सुगम हुँदैन, कतिपय अप्ठ्यारा परिस्थितिसमेत जनसाधारणले बेहोर्नुपर्ने हुन्छ नै । ज्यान बचे मात्रै सबैथोक पाइने भएकाले पनि नागरिक कर्तव्य निर्वाहमा चुक हुनु ठीक होइन । ‘हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ हाम्रा पुर्खाले यस्तै सम्भावित सङ्कटलाई ध्यानमा राखेर आहान चलाएका हुनसक्छन् । ‘मलाई त केही हुँदैन’, ‘मर्नु लेख्या’ छ भने कसले रोक्नसक्छ र ?’ जस्ता अभिव्यक्ति छाँट्नेहरू पनि समाजमा नभएका होइनन् । त्यस्ता मूढमति जहिलेसुकै हुन्छन् नै । यस सम्बन्धमा चाणक्यनीतिको एक अंश उदाहरणीय छ ः
अनागत विधाता च प्रत्युत्पन्नमतिस्तथा ।
द्वावेतौ सुखमेवैते यद्भविष्यो विनश्यति ।।
अर्थात्, ‘जो मान्छे, भविष्यमा हुने विपत्तिप्रति जागरुक हुन्छ र जसको बुद्धि तेज हुन्छ, यस्ता व्यक्ति नै सुखी रहन्छन् । यसविपरीत भाग्यमाथि विश्वास गर्ने व्यक्तिचाहिँ नष्ट हुनपुग्छन् ।’ अतः कुनै पनि विपत्तिसित बहादुरीसाथ सङ्घर्ष गर्नु नै मानव सभ्यताको परिचायक बनेको छ ।
महामारीका बेलामा ज्यान जोगाउनु सर्वाधिक महत्वको विषय हुन्छ । नागरिकको ज्यान जोगाउन राज्यले अनेक व्यवस्था गरेको हुन्छ भने सके अरूको नसके आफ्नो मात्रै भए पनि ज्यान जोगाउनु हरेक नागरिकको कर्तव्य हो । ‘लकडाउन’ मा जथाभावी हिँड्दा आफू सङ्क्रमित हुने कुरो मात्र होइन, अरूलाई समेत सङ्क्रमित बनाइने डर रहन्छ । तसर्थ मुलुकमा कोरोना फैलिन नदिने काममा सबैको अनिवार्य योगदान जरुरी छ । पटकपटक प्राप्त नहुने शरीरका सम्बन्धमा विदुरनीतिको यो वचन आजको महामारीमा सान्दर्भिक बनेको छ ः
पुनर्वित्तम्पुनर्मित्रं पुनर्भार्या पुनर्मही ।
एतत्सर्वं पुनर्लभ्यं न शरीरं पुनः पुनः ।।
अर्थात्, तपाईं सम्पत्ति, साथी, पत्नी र राज्य गुमाएर फिर्ता पाउन सक्नुहुन्छ तर तपाईंले आफ्नो शरीर गुमाउनुभएमा फिर्ता प्राप्त हुनेछैन । नेपालमा प्रायः सय वर्षको अन्तरालमा एउटा ठूलो भुइँचालो जाने गरेको भनाइ रहे जस्तै भनिन्छ, संसारमा हरेक सय वर्षमा एउटा महामारी आउने गरेको छ । सन् १७२० मा ‘प्लेग’ को महामारी, सन् १८२० मा ‘हैजा’को महामारी, सन् १९२० मा ‘स्पेनिश फ्लु’को महामारी र अहिले २०२० मा ‘कोरोना’को महामारी उदाहरणीय बनेका छन् ।
हरेक महामारीले महाविपत्ति तेस्र्याउँदै आएको भए तापनि सङ्घर्षकै बलले तिनमाथि विजय प्राप्त हुँदै आएको मानवको कीर्तिगाथा पनि छ । तसर्थ अहिलेको कोरोनाको महामारी पनि ढिलोचाँडो अन्त्य हुनेमा सन्देह छैन । मूलकुरो, रोगविरुद्ध सङ्घर्षको पहिचान हो, कोरोना देखिएको केही महिनामै साबुन पानीको प्रभाव र सामाजिक दूरीको उपाय पत्ता लाग्नु सुखद लक्षण बनेको छ । केवल ‘लकडाउन’ वा सामाजिक दूरीको व्यवस्थाले कोरोनामाथि विजय हासिल भइहाल्ने कुरो होइन तर त्यसको असर ज्यादै न्यून तुल्याउने माध्यम भएकामा चाहिँ विरलै विमति छ । त्यसैले कोरोनाको कहरबाट बच्न हरेक मुलुकमा आवश्यकता अनुसारको ‘लकडाउन’ भइरहेको छ । यस अर्थमा आज संसार नै ‘लकडाउन’मा छ ।
केही दिन, केही हप्ता वा केही महिनाको ‘लकडाउन’ले मानवीय क्षति रोक्न वा न्यून गर्नसकिन्छ भने कुनै पनि विवेकी राष्ट्रले यसलाई नअँगाल्ने कुरै हुँदैन । राज्यले गरेको ‘लकडाउन’को व्यवस्थालाई सबैले मिलेर पालना गर्दा नै यसको अधिकतम सार्थकता प्राप्त हुनसक्छ । आफ्नो अस्तित्वका लागि समाजका हरेक व्यक्तिमा यो सामूहिक बोध हुनैपर्छ ।
बहुनां चैन सत्वानां समवायो रिपुञ्जयः ।
वर्षन्धाराधरो मेघस्तृणैरपि निवार्यते ।।
अर्थात्, हामी सबै एक हुने हो भने महाशत्रुलाई पनि हराउन सक्छौँ, त्यसैगरी जसरी घाँसका त्यान्द्रा ठूलो बर्खामा पनि नष्ट हुँदैनन् ।
त्यसैले अहिलेको घडी भनेको आत्म अनुशासनको बेला हो । राज्यका नियम पालन गर्नु नागरिक अनुशासन हो । मुलुकमा जहिले जहिले सङ्कट आएको छ, सबै एक भएका छन् । पछिल्ला केही वर्षका दृष्टान्त मात्रै हेर्दा पनि सुखद अनुभूति हुन्छ । २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प आउँदा होस् वा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदा होस्, सबै एक भएका छन् । अहिलेको विपद्कालमा पनि सरकारलाई प्रतिपक्षी दललगायत नागरिक समाज तथा सर्वसाधारण सबैको साथ छ ।
विपत्तिकालमा साथ, सहयोग र एकताको कति महत्व हुन्छ भनिरहनुपर्दैन । कोरोनाको कहर तीव्र हुँदै गएमा सरकार, राजनीतिक दल तथा नागरिक समाजसमेत सर्वसाधारणको उद्धारका लागि समर्पित हुनुपर्ने अवस्था आउनसक्छ । यसका निम्ति अहिलेदेखि सबै पक्ष योजनासहित तम्तयार बस्नु सर्वथा बुद्धिमानी हुनेछ ।
यतिखेर कोरोनाविरुद्ध सक्रिय चिकित्सक, नर्सलगायत तमाम स्वास्थ्यकर्मी, सुरक्षाकर्मी धन्यवादका पात्र बनेका छन् । मैदानमै उत्रिएर सेवामा समर्पित हुने यस्ता सबैजनाको स्वास्थ्यसुरक्षामा विशेष ध्यान पुग्नसके, चालिएका कदम थप प्रभावकारी हुने देखिन्छ । ‘लकडाउन’को अवधि बढाउनुपरेका खण्डमा दैनन्दिन आवश्यकताका सरसामान जनसाधारणलाई कसरी पु¥याउने ? यसतर्फ पक्कै योजना बनाइएको हुनुपर्छ । उद्यमी, व्यापारीले उदात्त भावनाका साथ सहयोग गर्ने हो भने आम उपभोक्ताले सरल, सहज रूपमा सरसामान प्राप्त गर्न सक्नेछन् । सामान किन्न वा लिन जानेको घुइँचो कायमै रहँदा ‘लकडाउन’को अर्थ फिका हुनसक्छ । तसर्थ सामाजिक दूरीको मर्म पालना गराउँदै कसरी सरसामान उपलब्ध गराउने ? यतातिर सरोकारी पक्ष दत्तचित्त हुनु जरुरी छ ।
कोरोनाविरुद्ध भ्याक्सिन नहुनु विश्वव्यापी रिक्तताको विषय हो । यसका लागि चीन, बेलायत, अमेरिका आदि देशका औषध वैज्ञानिकहरू अहोरात्र खटिरहेका छन् । कतिपय परीक्षणसमेत नभइरहेका होइनन्, कम्तीमा डेढ, दुई वर्ष लाग्ने त्यस्ता सफल परीक्षणलाई ‘फास्ट ट्रयाक’ अँगालेर ल्याइँदा पनि चार, पाँच महिना लाग्ने आँकलन गरिँदैछ । कोरोना निको पार्ने ठ्याक्कै ‘बुटी’ नभए तापनि सुखद पक्ष के छ भने लक्षण अनुरूप उपचार प्रक्रियाले सङ्क्रमितमध्ये धेरैजना बिसेक पनि भइरहेका छन् ।
हाम्रोजस्तो देशमा सङ्क्रमित पत्ता लगाउने कामसमेत चुनौतीपूर्ण रहेकामा विवाद छैन । यस्तो विषम अवस्थामा धैर्य, संयमसहित आत्म अनुशासनको पालना एकमात्र अचुक उपाय बनेको छ ।
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)