logo
२०८१ मंसिर १३ बिहीवार



आपत्कालीन कोष (सम्पादकीय)

विचार/दृष्टिकोण |





यतिखेर विश्वका सबैजसो मुलुकजस्तै नेपाल पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणविरुद्ध विभिन्न कोणबाट सक्रिय छ । आवागमन बन्ददेखि स्वास्थ्य परीक्षण, बजार व्यवस्थापन, औषधि आपूर्ति, चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी परिचालन एकैपटक सबै क्षेत्रमा राज्यको उपस्थिति देखिनुपरेको छ । नेपाल सरकारले यी सबै कार्यका अतिरिक्त कोरोना भाइरस सङ्क्रमण लक्षित आपत्कालीन कोष स्थापना गरेको छ । मन्त्रिपरिषद्को बैठकले ५० करोड रुपियाँसहितको कोष बनाउने निर्णय गरेको हो । कोष स्थापनालगत्तै मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब बराबरको रकम कोषमा प्रदान गर्ने निर्णय पनि भएको छ । कोषमा राष्ट्रपतिले दुई महिनाको तलब प्रदान गर्नुहुने भएको छ भने विभिन्न राजनीतिक दल, सङ्गठित संस्था, निजीक्षेत्र, कर्मचारी तथा सर्वसाधारण व्यक्तिद्वारा सहयोग उपलब्ध गराउने क्रम जारी छ । बन्दका बेला श्रमिक तथा मजदुरका लागि के कस्तो सहयोग गर्न सकिन्छ भनेर सरकारसँगको सहकार्यमा योजना बनाइने नेपाल उद्योग वाणिज्य सङ्घले जनाएको छ । वर्तमान अवस्थाको मूल्याङ्कन गरेर उद्योग वाणिज्य क्षेत्रलाई राहत प्रदान गर्न अर्थ मन्त्रालयले अध्ययन गरिरहेको छ ।
संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठनलगायतका निकायले यो महामारी नियन्त्रणका लागि विश्वकै साझा प्रयत्न हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले भनेका छन्, ‘विपन्न मुलुकमा महामारी फैलियो भने सम्पन्न मुलुक पनि सुरक्षित रहने छैनन् ।’ ठीक यस्तै अवस्था हरेक मुलुकभित्र छ जहाँ विपन्न परिवारलाई एक्ल्याइयो भने सम्पन्न परिवार पनि सुरक्षित रहने अवस्था छैन । त्यसैले आपसी सहयोग र सद्भावलाई उच्च महत्व दिनुपर्ने देखिएको छ । पोखरा, ठमेल तथा तराईका केही क्षेत्रमा अलपत्र परेका विदेशी पर्यटक तथा नेपालीलाई खाना–पानीमा सहयोग गरिएका समाचार आएका छन् । यस्तो कार्य स्तुत्य छ र यसले नेपालीको सहयोगी, दयालुपनको प्रवद्र्धन गर्छ । तर सहयोग गर्दा हुने भीडभाडले महामारीलाई प्रश्रय र सहयोगको दुरूपयोग नहोस् भन्ने पनि ख्याल राख्नुपर्छ । सरकारले आपत्कालीन सहयोगलाई व्यवस्थित, पारदर्शी र न्यायोचित बनाउन एकद्वार प्रणाली अपनाउँदै समानान्तर किसिमका कोष बनाउन तथा सहयोग सङ्कलन गर्न रोकेको छ । जसलाई सहयोग गर्ने इच्छा छ उसले बैङ्क खातामार्फत सरकारी आधिकारिक कोषमा जम्मा गरेर दानसँगै दायित्व निर्वाह गर्न सक्छ । कोरोनाको सङ्क्रमण फैलिने सम्भावना औँल्याउँदै गरिएको लकडाउनले दैनिक जीवनमा केही असहज भएको छ तर नेपालीहरूमा सहयोग गरौँ भन्ने भावना थप उजागर भएको पाइएको छ । राष्ट्रिय आविष्कार केन्द्रले चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोसाक तयारीमा निःशुल्क सामग्री र प्रविधि सहयोग गर्ने जनाएको छ भने केही निजी गार्मेन्टले सामग्री उपलब्ध भए निःशुल्क त्यस्ता पोसाक तयार गरिदिने जानकारी दिएका छन् ।
नेपालीहरूमा रहेको दयाभाव यस्तै बेलामा उजागर हुने गरेको छ । विदेशमा रहेबसेका नेपालीका बारेमा नेपाल सरकार चिन्तित, सचेत र जानकार छ । सरकारले सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूलाई नेपालीको स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिन निर्देशन दिएको छ । आवश्यकताअनुसार सरकारले थप कदम लिनेछ । यस्तो अवस्थामा धैर्य नै बुद्धिमानी अचुुक उपाय हुनेछ । विश्वभर देखिएको समस्याको समाधानार्थ चालिने कदम स्थापित जीवनशैलीभन्दा भिन्न र केही हदसम्म कष्टकर हुनु स्वाभाविक हुन्छ । अस्वाभाविक अवस्थाको उपचार पनि अस्वाभाविक रूपमै गर्नुपर्छ । सर्वसाधारणलाई घरमा बसेर सहयोग गर्न आग्रह गरिएको छ जबकि सङ्क्रमितको उपचारमा खट्नुपर्ने चिकित्सक अनि सुरक्षाकर्मीहरू आफ्ना जिम्मेवारीमा दत्तचित्त छन्– हाम्रै लागि । सङ्क्रमण नियन्त्रण गरेर प्रत्येक नागरिकले देश, समुदाय तथा चिकित्सकलाई सहयोग गर्न ‘स्वयं टाढा’ किन नबस्ने ? सङ्कटको बेला केही स्वास्थ्य प्रतिष्ठानले सामान्य बिरामीलाई पनि उपचार नगरेका गुनासा आएका छन् । सहज बेलामा स्वास्थ्यमाथि व्यापार गर्ने तर असहज बेलामा उनीहरू भाग्नु बेइमानी हो । केही प्राविधिक समस्या छन् भने सरकारलाई भन्नुपर्छ तर बिरामीको उपचार नै गर्दिनँ भनेर गैरजिम्मेवार हुन पाइँदैन । युरोपका केही देशले त्यहाँस्थित सबै निजी अस्पताललाई सरकारी घोषणा गरेर पनि जनताको उपचार गरेका छन् । नेपालमा त्यस्तो परिस्थिति आउने अपेक्षा गरौँ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?