विष्णुकुमारी लामिछाने
कोभिड १९ नियन्त्रण एवं फैलावट हुन नदिनका लागि आम मानिसलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय अवलम्वन गर्न आग्रह गरिएको छ । विद्यालयहरू पनि बन्द भएको र घरबाट पनि बाहिर निस्कन नमिल्ने परिस्थितिको सिर्जना भएको हुँदा बालबालिकाका लागि यो समय तनावपूर्ण भएको हुनसक्छ । ग्रामीण बस्तीमा घर वरपर खुला हुने भएकाले त्यति कठिन नहोला तर घनाबस्तीमा कोठामा थुनिएर बस्नुपर्ने अवस्थामा रहेका बालबालिकाका लागि यो समय निकै कठिन छ । अभिभावक पनि बालबालिकासँगै घरमै रहने हुँदा यो समय उनीहरूका लागि अवसरका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ ।
बालबालिका स्वभावैले जिज्ञासु हुन्छन् । यसका साथै उनीहरू विभिन्न कलामा पोख्त हुन्छन् । हरेक अभिभावकले आफ्ना नानीबाबुको दक्षता, कला एवं अभिरुचिलाई बुझेर सोही अनुरूपका क्रियाकलापमा समाहित गराउँदै परिवारसँग रहन पाउने यो अवधिलाई सही सदुपयोग गर्नुपर्दछ । खेलकुदका लागि घरबाहिर निस्कनु उपयुक्त नहुने भएकाले घरभित्र खेलिने र खेल्न मिल्ने खेलहरूमा बालबालिकालाई संलग्न गराउन सकिन्छ । लुँडो, चेस, क्याराम बोर्ड जस्ता खेलहरूमा बालबालिकासँगै अभिभावक पनि खेल्दा मानसिक रूपमा स्फूर्ति आउनुका साथै पारिवारिक निकटतामा सहयोग पुग्दछ ।
सधैँ काममा व्यस्त रहने अभिभावकले आफ्ना नानीबाबुहरूलाई उचित रेखदेख, स्याहारसुसार, माया, ममता, स्नेह प्रदान गर्न भ्याइनभ्याइ भएको अवस्थामा लकडाउन भइरहँदा यो समयलाई अवसरका रूपमा बदल्न सक्यौँ भने एकातर्फ यसले पारिवारिक एकता र अनुशासनलाई बढोत्तरी गर्छ भने अर्कोतर्फ कोभिड १९ को सन्त्रासको व्यवस्थापनमा समेत सहयोग पुग्दछ । हाम्रो समाजमा केही बालबालिका खराब साथीसङ्गतका कारण गलत बाटोमा लागेको देखिन्छ । अभिभावकले पर्याप्त समय दिन नसक्दा भनौँ वा उचित पारिवारिक संरक्षण प्राप्त गर्न नसकेका कतिपय बालबालिका कुलतमा लागेका हुन्छन् । बालबालिका प्रतिभावान् हुँदाहुँदै पनि पारिवारिक रेखदेखको अभावमा सही बाटो पहिल्याउन सकिरहेका हुँदैनन् । तर अहिले यस्तो अवसर प्राप्त भएको छ कि हामी २४ घण्टा उनीहरूको साथमा रहन्छौँ । यसर्थ यो समयमा नजिकबाट उनीहरूलाई बुझ्दै सही आचरणतर्फ उन्मुख गराउन केन्द्रित हुन सक्छौँ । कोरोना भाइरस एक जटिल समस्या हुँदाहुँदै पनि यसले सिर्जना गरेको लकडाउनको परिस्थितिलाई राम्रो अवसरका रूपमा पनि सदुपयोग गर्न सकिन्छ । पारिवारिक जमघट आफंँमा सुअवसर हो । सबैजना एकअर्कासँग भलाकुसारी गर्ने, पारिवारिक योजना बनाउने, आफूले जानेका कुरा अरुलाई सिकाउने र यस्ता कार्यमा बालबालिकालाई पनि संलग्न गराउने गर्नुपर्दछ । बाबुआमा छोराछोरीसँग सधैँ अभिभावकको जस्तो मात्र व्यवहार गर्नुभन्दा साथीजस्तो व्यवहार गर्न सक्दा अझै बढी घुलमिल हुन सकिन्छ । आफू सानो छँदाका अनुभव, भोगेका कुराहरू, अनुभूतिहरू एवं भएका घटनाहरू नानीबाबुहरूलाई सुनाउँदा पनि उनीहरूले बेग्लै धारणा र सिकाइ प्राप्त गर्न सक्छन् ।
ससाना बालबालिकाले अत्यधिक रुचाउने विषय कथा भएको हुँदा नैतिकताको पाठ सिकाउन र सन्मार्गमा लाग्ने उत्प्रेरणा प्रदान गर्नका लागि विषयवस्तु र सन्दर्भ रच्दै उनीहरूलाई सुनाउँदा हौसला प्रदान गर्न सकिन्छ । यसरी छोराछोरीको सुरक्षित, मर्यादित, प्रतिष्ठित एवं व्यावहारिक भविष्य बनाउन हरेक अभिभावकले यो समयलाई सदुपयोग गर्दै उनीहरूमा विभिन्न माध्यमबाट सिकाइ प्रदान गरौँ । बालबालिकालाई सुनाएका कुराहरूले भन्दा अझ बढी प्रभाव पार्ने विषय उनीहरूलाई सिर्जना गर्न लगाउनु हो । विभिन्न विषयमा कथा, कविता, गजल, निबन्ध, चित्र आदि कोर्न लगाउने हो भने उनीहरू खोजी खोजी लेख्ने प्रयत्न गर्दछन् । यसले उनीहरूमा अध्ययनको अभ्यास गराउनुका साथै विभिन्न विधामा लेख्न सक्ने बनाउँछ जसले उनीहरूको बुझाइमा अझै निखारता ल्याउँछ । उनीहरूले राम्रोसँग बुझेका कुराहरूलाई आफ्नो जीवनमा सहजै उतार्न सक्छन् । तसर्थ अभिभावकले विभिन्न विधामा लेख्न, कोर्न, बोल्नका लागि उत्प्रेरित गर्न सकेमा बालबालिकाको सिकाइ दिगो बन्न सक्छ ।
पछिल्लो समयमा अभिभावकहरूले आफ्ना बच्चालाई भुलाउन, फकाउन र अवरोध गर्नबाट जोगाउन मोबाइल वा ट्याब दिने गर्दछन् । बालबालिका मोबाइलमा घण्टाँै बिताउँछन् । आवश्यक विषयमा भन्दा पनि अनावश्यक सामग्रीमा उनीहरूले मोबाइल वा ट्याबको प्रयोग गरेका हुन्छन् । अनलाइन गेम खेल्ने, अनावश्यक भिडियोहरू हेर्ने, लत नै लाग्ने गरी यु ट्युबका सामग्री हेर्न व्यस्त रहने गर्दछन् । तर यसबाट बालबालिकामा नकारात्मक असर पर्ने विज्ञहरू बताउँछन् । अन्य समयका साथै लकडाउनको समयमा पनि नानीबाबुलाई यसरी नै मोबाइल, ट्याब वा ल्यापटपमा तल्लीन बनाउने हो भने उनीहरूको सिर्जनात्मक समय खेर जाने र व्यावहारिक ज्ञान प्राप्त गर्नबाट वञ्चित रहने भएकाले अभिभावकहरूले समयमै ध्यान दिनु जरुरी हुन्छ ।
यसै पनि अहिलेको समयमा बालबालिका व्यावहारिक ज्ञान प्राप्तिबाट वञ्चित भएका हुन्छन् । भविष्य बनाउने नाममा पारिवारिक संस्कार, सामाजिक व्यवहारका साथै पारिस्थितिक अन्तर्घुलन हुनबाट वञ्चित भई कोठे जीवन बिताउन बाध्य छन् । कृषि, पशुपालन, सामान्य करेसाबारीका कुरा, अतिथि सत्कारका विषय, रहनसहन, रीतिरिवाज, चालचलन, ऐँचोपैँचो, आफन्त, छरछिमेकीसँगको व्यवहारलगायतका थुप्रै कुरामा अनभिज्ञ छन् अथवा सिक्ने अवसर पाँउदैनन् । सामाजिकीकरणको पाटोबाट हेर्ने हो भने अहिले बालबालिकाहरू घरमा आउने पाहुनासँग पनि बोल्न नभ्याउने या नजान्ने भइसकेका छन् । शब्दपिच्छे उनीहरूलाई यसो भन उसो भन भनेर सिकाउनुपर्ने अवस्था भएको छ । यस्तो अवस्थामा अभिभावकले सिकाइका अवसरका लागि उनीहरूलाई समय नदिने, बेवास्ता गर्ने तथा अन्य सामग्रीमा भुलाउने हो भने भविष्य कस्तो होला ? बालबालिकाको सामाजिकीकरण प्रक्रिया अत्यन्तै महत्वपूर्ण पाटो हो । अधिकांश बालबालिकाको भविष्य पारिवारिक रेखदेख, संरक्षण र संस्कारमा भर पर्ने हुन्छ । अन्य समयबाहेक लकडाउन भएर पूरै समय घरमा बिताउने अवस्थामा पनि बालबालिकाको पूर्ण रूपमा ख्याल गरौँ । कोरोनाबाट जोगाउँदै पारिवारिक संस्कार, अभिरुचिको विषयमा संलग्नता, व्यावहारिक ज्ञानका साथै अतिरिक्त क्रियाकलाप गराउँदै उनीहरूलाई सिक्ने अवसर प्रदान गरौँ ।
(लेखक हेटौँडा उपमहानगरपालिकामा प्रमुख महिला विकास अधिकृत हुनुहुन्छ ।)