नगिन्द्र शाही “नेशनल”
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना (कोभिड १९) को अवस्थालाई विश्लेषण गर्दै नेपाल सरकारले देशलाई लकडाउन गरेको छ । लकडाउनको सही पालना गर्नु भनेकै आफू जहाँ छौँ त्यहाँ सुरक्षित भएर बस्ने हो । जसले आफू पनि बाँचौँ अरूलाई पनि बचाउँ भन्ने साकार हुन्छ । कोरोनाबाट सुरक्षित हुने भनेको गाउँदेखि सहर गएर वा सहरदेखि गाउँ आएर हुने होइन । हामी जहाँ भए पनि केही फरक पर्दैन, फरक पर्छ त हामी कति सुरक्षित छौँ भन्ने । आफू सुरक्षित हुन आफन्त भएको ठाउँमा जान यात्रा गरिराखेका छौँ तर त्यो यात्रा असुरक्षित छ भने त्यो यात्रा नै घरपरिवार, आफन्त र गाउँसमाजका निम्ति मृत्युको कोसेलीमा परिणत हुन सक्छ ।
सहरमा सतर्कता, गाउँमा असुरक्षा
लकडाउन घोषणाले काठमाडौँलगायत विभिन्न सहरमा विभिन्न पेसा, व्यवसाय र अस्थायी बसोवास गर्नेहरू गाउँतिर फर्केका छन् । त्यसैगरी भारतमा अस्थायी रोजगारीका निम्ति गएका नेपालका विशेषगरी कर्णाली र सुदूरपश्चिम (सुप) प्रदेशका अधिकांश नागरिक भारतमा भएको लकडाउनको घोषणाले घर फर्केका छन् । घर फर्किने कुरा नराम्रो होइन तर अहिलेको अवस्थामा कति सुरक्षित रूपमा फर्केका छौँ त्यो सरोकारको विषय हो । हामी कतै कोरोना सङ्क्रमित भएर त घर फर्किंदै छैनौं ? के मेरो कारणले मेरो घरपरिवार मेरो गाउँ अप्ठेरोमा पर्ने त होइन ? यो कुरा सहर र भारतबाट घर आएका सबैले सोच्न जरुरी छ । यस्तो सोचाइले हाम्रो घरपरिवार मात्र होइन, सिङ्गो समाजलाई कोरोना महामारीबाट बच्न मद्दत गर्नेछ । लकडाउनपछि सहर र गाउँका दृश्यमा फरक अनुभूति गर्न पाइएको छ । सहरको बाहिरी वातावरण सुनसान देखिन थालेको छ । छिटफुटबाहेक आम नागरिकमा स्वास्थ्यलाई लिएर संवेदलनशीलता बढेको सहरहरूको दृश्य हेर्दा अनुभूति गर्न सकिन्छ । तर गाउँको बाहिरी वातावरण हेर्दा विगतभन्दा अहिले चहलपहल बढेको देखिन्छ । काठमाडौँ लगायत अन्य सहरतिर अध्ययन गर्न गएका विद्यार्थीदेखि भारतमा रोजगारीका निम्ति गएका अधिकांश यो बीचमा घर फर्केका छन् । काठमाडौँ नयाँ र पुरानो बसपार्कमा देखिएको भीड, नेपालगञ्जको रूपैडिया नाका र कञ्चनपुरको गौरीफन्टामा देखिएको भीड अहिले गाउँमा पुगेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा सहरको सङ्ख्या थोरै र गाँउको सङ्ख्या धेरै छ । यहाँका अधिकांश जनताको चुलोमा भारत र नेपालका अन्य सहरमा नगई रोटी पाक्दैन । भारत र नेपालको सीमा अधिक प्रयोग गर्ने नागरिक यी दुई प्रदेशकै हुन् भन्दा फरक नपर्ला । विभिन्न नाकाबाट आएका मान्छे सिधै हुम्ला, जुम्ला, कालिकोट, बैतडी, दार्चुला, अछाम हुँदै बाजुरा पुगेका छन् । जसले गर्दा पछिलो समय गाउँमा मान्छेहरूको चहलपहल बाक्लिँदै गइरहेको छ । धेरै मान्छेको गाउँ प्रवेशले स्वाभाविक रूपमा गाउँहरूमा चहलपहल बढ्ने नै भयो तर यो चहलपहल नै गाउँ शून्यताको कारक बन्ने त होइन ? चहलपहललाई दशैँ तिहार जस्तो रमझममा परिणत हुन नदिन स्थानीय सरकारको अभिभावकत्वको खाँचो देखिएको छ । कुनै सवारी साधनमा होस् वा भागेर, दौडेर जसरी भए पनि विना सावधानी गाउँ फर्किने प्रयासले समाजलाई कोरोनाको भड्खालोमा हुत्याउन सक्ने आशङ्का गरिएको छ ।
सचेतनाविनाको आत्मविश्वास
कोरोना निर्मूलका निम्ति कुनै भ्याक्सिन बनेको छैन । यो महामारीको नियन्त्रण भनेकै सङ्क्रमितको स्वास्थ्य सचेतना, स्वास्थकर्मीको नियमित निगरानीले मात्र सम्भव छ । स्वास्थ्यकर्मीको निगरानीबाट हजारौँ मान्छे स्वस्थ भएर घर फर्केका छन् । जुन देशका नागरिकले कोरोना प्रकोपको गम्भीरता बुझी स्वास्थ्य संवेदनशीलता अपनाए त्यहाँ मानवीय क्षति कम भएको छ । जहाँ सचेतनाविनाको आत्मविश्वास प्रदर्शन भयो ती देशका धेरै नागरिकले ज्यान गुमाउनुपरेको छ । नेपाल एक विकासशील देश हो जहाँ विकास र पूर्वाधारका थुप्रै संरचनाको भनेजति उपलब्धता छैन । स्थानीयस्तरमा शिक्षा र स्वास्थ्यका संरचनाहरू भए पनि तिनमा अहिलेका जनताको मागलाई सम्बोधन गर्ने खालको सुविधाको अभाव छ । कोरोनाजस्तो महामारीको प्रकोप गाउँमा फैलियो भने नियन्त्रण गर्न असम्भव छ भन्दा पनि हुन्छ ।
नेपालमा अन्य देशजस्तो कोरोनाको प्रकोप देखिएको छैन, सचेतना अपनाए यो नियन्त्रणमा आउन सक्छ । सरकार र स्वास्थ्यकर्मीले भनेबमोजिम अनुशासन कायम गर्दे दैनिकी सञ्चालन गर्नसके यसलाई नियन्त्रण गर्न सकिनेछ । तर महामारीबाट बच्ने नाममा समाजमा व्याप्त रुढीवादी परम्परा अँगाल्दै देवीदेवता वा धामी, झाँक्री भाकल गर्ने जस्ता सचेतनाविनाको आत्मविश्वास गर्ने खतरा पनि गाउँमा त्यत्तिकै देखिन्छ । यो रोग केही होइन यसबाट मलाई, मेरो परिवारलाई केही हँुदैन, देउताले रक्षा गर्छन्, हाम्रो हावापानी स्वच्छ छ, यसविरुद्ध लड्न सक्छौँ भन्ने जस्ता कुरा गरेको गाउँमा सुनिन्छ । यस्ता चिन्तनको प्रभाव यो क्षेत्रका बासिन्दामा देखिन्छ ।
संवेदनशील क्षेत्रको पहिचान
विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोना महामारीका निम्ति अति संवेदनशील देश भएको पूर्व जनाउ गरेजस्तै नेपाल सरकारले पनि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई अति संवेदनशील प्रदेशका रूपमा राखी काम गर्नुपर्ने देखिन्छ । यी दुवै प्रदेश सूचना, प्रविधि, जागरुक चेतना र स्वास्थ्य संरचनाको क्षेत्रमा अन्य प्रदेशका तुलना पछाडि छन् । भारतसँगको अव्यवस्थित आवतजावत यी दुई प्रदेशकै नागरिकले विगतदेखि गर्दै आएका छन् । जुन आवतजावत आधिकारिक नाकाबाहेक अन्य सीमाबाट पनि भइराखेको छ जो अहिलेसम्म रोकिएको छैन । भौगोलिक जटिलताका कारण प्रदेश र स्थानीय सरकारले दिने सेवा पनि भनेको समयमा उपलब्ध गराउन नसकिने बाध्यता छ । त्यसैले कर्णाली, सुदूरपश्चिमलगायत अन्य प्रदेशका दुर्गम गाउँमा बसोवास गर्नेलाई महामारीबाट सुरक्षित गर्न तीनै तहका सरकारको विशेष सहकार्यको आवश्यकता देखिएको छ ।
कोरोना महामारीबाट नागरिकलाई सुरक्षित गर्न केन्द्र सरकारले अहिलेसम्म गरेका काम प्रशंसनीय छन्, जुन काम स्थानीय सरकारहरूले गाउँ तहसम्म पुर्याउनु सक्नुपर्दछ । अहिले घर पुग्नका निम्ति धेरै नागरिक बीच बाटोमा पैदल यात्रामा छन् । तिनीहरूको यात्रा सहज बनाउँदै स्वास्थ्य रेखदेख गर्ने जिम्मा स्थानीय सरकारले लिनुपर्दछ । सम्पर्कमा आएकाहरूको मात्र स्वास्थ्य जाँच गर्ने, नआएकाहरूको बेवास्ता गरियो भने त्यसको असर सिङ्गो समाजलाई पर्ने देखिन्छ । यतिबेला सही सूचनाको सम्प्रेषण गरी यसको नियन्त्रणका लागि संयन्त्रहरूको निर्माणमा प्रदेश र स्थानीय सरकारको ध्यान जान जरुरी छ ।
(लेखक नेकपा कालिकोटका सचिव हुनुहुन्छ । )