logo
२०८१ मंसिर १३ बिहीवार



कोरोना कहरमा ऋतुराज वसन्त

विचार/दृष्टिकोण |




गोकुल अधिकारी

आई कल्यै पनि नसकिने चैत वैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा ..

राष्ट्रकवि माधव घिमिरेका यी कवितात्मक हरफले भनेजस्तै गरेर यसपटक पनि वसन्त ऋतुको आगमन भइसकेको छ । रुखबिरुवाले नयाँ पात फेर्दैछन् । चराचुरुङ्गी उमङ्ग थपिँदैछ । आँपका बोटहरू मुजुराले लटरम्म हुँदैछन् । तर पनि यसपटक यो ऋतुराजको अँगालोमा पहिले पहिलेजस्तै गरी मन खोलेर रमाउनसक्ने अवस्था रहेन । यता, बोटबिरुवामा वसन्तको आगमन भयो, उता सिङ्गो मानव समुदाय सबैसँग छोइछिटो बारी बसेका किरियापुत्रीझैँ झोक्राइरहेको अवस्था छ । सारा मान्छे घरको चौघेराभित्रै बन्द छन् । लगभग सबै देशका नागरिक आफूलाई सुरक्षित तुल्याउन लकडाउनको संहिता नियाल्दै अनुशासन पालन गरिरहेका छन् ।
हामीले गत वर्षहरूमा झैँ यसपटक वसन्तलाई नजिकबाट नियाल्न नसक्ने भयौँ । रहरलाग्दा हाँगाबिँगाहरूसँग नारिन र अँगालिन नपाउने भयौंँ । कोरोना नामको रोगले सिङ्गो मानव जातिलाई नै आतङ्कित तुल्याएको छ । आफन्त र परिवारजनमै पनि एक अर्काबीच दूरी कायम गरेर बस्नुपर्ने स्थिति सिर्जना भइसकेको छ । के विकासोन्मुख, के समृद्ध सबै देशमा छापामार शैलीमा भित्रिएको कोभिड १९ ले यतिबेला हामी सबैलाई आआफ्नै घरभित्र बन्दी बनाइदिएको छ । होम क्वारेन्टाइनको उर्दी पालन गर्दै आफ्नै घरमा कैदी भएर बस्नुपर्ने भनी राज्यले फर्मान गरेका अवधिको दायरा पनि तन्कँदै जाने सम्भावना बढ्दो छ  । महासागरमा बहने बडेबडे जहाजदेखि लिएर आकाशमार्गमा भीषण गर्जनका साथ महादेशीय यात्रामा उचालिने भीमकाय विमानहरू घरबिदामा छन् । जमिनमुनि र जमिनमाथि गुड्ने रेल, मोटर, कार, ट्रक, ट्रलीलगायतका स्थल यातायातका करोडौँ सवारीसाधनले पनि लकडाउन र होम क्वारेन्टाइन अवधिसम्मका लागि विश्राम पाएका छन् । सञ्चारक्रान्तिको उचाइमा टेक्दै चन्द्रधरातलमा बस्ती बसाउने सपना बाँड्दै गरेको मानव समुदाय आँखाले देख्न नसक्ने जाबो कोरोना जीवाणुबाट यति आक्रान्त भएको देख्दा नजिकिँदै गरेको विक्रम संवत् २०७७ पनि यतिबेला खल्लो अनुभूति गरिरहेकोे होला । एके ४७, बख्तरबन्द गाडी, आणविक भट्टी र लामो दूरीका मिसाइलजस्ता शक्तिशाली युद्धअस्त्र आविष्कार गरेर पृथ्वीको सर्वशक्तिवान् प्राणीको दर्जा भिरी बसेका हामी, आफ्ना सारा आविष्कारबाट निःशस्त्र हुँदै एकैसाथ कोरामा बसेको देख्दा त यो धरामा भित्रिँदै गरेको ऋतुराज वसन्तलाई पनि सायद नमीठो लाग्यो होला ।
भनिन्छ, यो विषम परिस्थितिका उपज हामी स्वयं हौँ । विगतमा प्रकृतिप्रति हामीले देखाएको वैरभाव र प्रकृृतिमाथिको हाम्रो बलमिच्याइँकै कारण पर्यावरणीय सन्तुलनमा ठूलो खलबल हुनपुग्यो । यस्ता खलबलमाथि बेलैमा अङ्कुश नलगाउने हो भने हामीले कल्पनै नगरेका अनेक प्रकारका हानिकारक जीवहरूको उत्पत्ति हुनेछ र त्यसले हामीलाई चरम विनाशतर्फ धकेल्नेछ भन्ने कुरा वातावरणविद्हरूले धेरै अगाडिदेखि भन्दै आएका हुन् । यस किसिमको चेतना र सम्भावित त्रासले संसारका धेरै जिम्मेवार मान्छेको मन ज्यादै सक्सकाएपछि वातावरण संरक्षण र दिगो विकासको अवधारणालाई आत्मसात् गर्दै सन् १९९२ मा रियो द जेनेरियोमा पृथ्वी शिखर सम्मेलन पनि गरियो । विश्वका एकसयभन्दा बढी राष्ट्रको सक्रिय सहभागिता रहेकोे यो सम्मेलन ׳पृथ्वी सबै प्राणीहरूको साझा घर हो’ भन्ने दिव्य सन्देश निर्माण गर्दै सम्पन्न भयो । संसारका सबै मुलुकले पालना गर्नुपर्ने वातावरणीय संहिताका मोटा मोटा दस्तावेजमा सहीछाप गर्दै घोषणासभा गरियो तर त्यो आदर्शलाई विश्व समुदायले व्यवहारमा उतार्न भने सकेन । हामीले प्रकृतिमाथि थिचोमिचो गर्ने र आफू बाहेकका सबैखाले प्राणीलाई सक्दो हेप्ने, नास्ने र लखेट्ने काम निरन्तर गरिरह्यौँ  । जसरी कुनै क्रूर शासकले धेरै वर्षसम्म जनसाधारणलाई पैतालामुनि राखिरहन्छन् र रमाइरहन्छन् अनि लामो अन्तरालमा उसले भुसुनाजस्तो पनि नठानेका सबै जनता मिलेर उसलाई कक्र्याउँछन् ठीक त्यस्तैगरीे पृथ्वीका महाशक्ति मानिने मानव जातिलाई मसिना जीवाणु शक्तिले आज आफ्नै घरमा बन्दी बनाइदियो र मेडिकल साइन्सका बडेबडे अनुसन्धान केन्द्रलाई समेत निकम्मा तुल्याइदियो । आफ्नै आँखा अगाडि द्रौपदीको सतीत्वमाथि आक्रमण भइरहँदा काम नलागेको भीमको गदा र अर्जुनको काँधमा झुन्डिरहेको धनुको के काम ?
कोरोनाविरुद्धको यात्रा निरन्तर जारी छ । रोग पहिचान र निवारणका प्रयास सर्वत्र गरिँदैछ । सङ्क्रमित हुने र ज्यान गुमाउनेहरूको तथ्याङ्क चुलिँदो छ । संसारभरका स्वास्थ्यकर्मीहरू यसबाट रत्तिभर हतास नभई आफैँलाई जोखिममा राखेर पनि उपचारयात्रामा निरन्तर जुटिरहेकै छन् । विश्वप्रसिद्ध प्रयोगशालाहरूमा उपचारसम्बन्धी अनुसन्धानको काम आरम्भ भइसकेको छ । मेडिकल साइन्सका हस्तीहरू सारा समय र ऊर्जालाई यही रोगनिरोधक अस्त्रको खोजीमा उपयोग गरिरहेछन् । संसारका नामी, दिग्गज व्यक्तित्वहरूका यी सारा मेहनत त्यसै खेर जाने छैनन् । केही समयपछि कोरोनाविरुद्धको भ्याक्सिन मानव समुदायले अवश्य तयार गरेरै छाड्नेछ र त्यो जीवाणु शक्तिको बिगबिगी किनार लाग्नेछ । तर त्यो क्षण आइनपुगुञ्जेल छट्पटाएर मात्र केही हुन्न । बरु लकडाउन संहिताको पालना राम्रोसँग गरिरहन सके सम्भावित सङ्क्रमणबाट आफूलाई मात्र होइन आफन्तजनको ठूलो समूहलाई नै जोगाउन सक्छौँ । त्यसका लागि यतिबेला हामीमा केवल धैर्य र संयम आवश्यक छ ।
कोभिड—१९ र मानवबीचको यो युद्धमा त, सम्भवतः योभन्दा ज्यादा नोक्सानी नहुने गरी विजय प्राप्त गर्न सकौँला । त्यसपछि पनि मानव र अरू जीवबीच अर्थात् मानव र प्रकृतिबीच यस किसिमको युद्धको शृङ्खला दोहोरिन सक्छ । हाम्रै पालामा नआए पनि हाम्रो कुनै पुस्ताले त्यो अवस्था सामना गर्नुपर्ने हुनसक्छ । झन्डै एक सय वर्ष अगाडि र त्यसपछिको पुस्ताले पनि प्लेग, कलेरा र स्पेनिस फ्लुलगायतका यस्तै महामारीको सामना गरेका थिए । त्यसअघि पनि यसप्रकारका साना ठूला प्रकोप मानव समुदायलाई भयभीत पार्ने गरी बेलाबेला देखापर्ने गरेकै हुन् तर यस किसिमका रोगविरुद्धको युद्धमा ती जीवाणुहरू किनार लाग्नासाथ हामीले आफ्नो कर्तव्य तुरुन्तै बिर्सियौँ र उन्मादमा उम्लिँदै पहिलेजस्तै गरी आफ्नो बलशाली विरासतलाई कायम राख्न यो पृथ्वीमा रहेका अन्य प्राणी र वनस्पतिलगायतका जैविक पदार्थमाथिको रजाइँलाई निरन्तरता दिइरह्यौँ । सम्भवतः यसैको परिणाम आज यो कोरोना कहर भोग्न बाध्य भएका छौँ ।
हामीले कोरोनाविरुद्धको यो भयानक युद्ध सामना गर्नु परे पनि हामीपछिका पुस्ताले यस किसिमका नोक्सानी देख्न वा भोग्ने अवस्था आइपर्न दिनुहुँदैन । यसका लागि यो युद्धको समाप्तिसँगै विशेष सावधानी अपनाउन र त्यससम्बन्धी सचेतना जगाउन आवश्यक छ । त्यस किसिमको परिस्थिति कसरी तयार हुनसक्ला ? हाम्रा सारा सोच र चिन्तन अब त्यसतर्फ केन्द्रित हुनु आवश्यक छ ।
संसारको औषधि विज्ञानले यतिबेलासम्म यस रोगविरुद्धको नयाँ खोप विकास गरिनसकेको र हाम्रा आँखाले रोगका जीवाणुलार्ई देख्न सक्ने अवस्था नभएका कारण उनीहरू मानव जातिलाई नै सखाप पार्ने विध्वंसकारी दौडमा निस्केका लाग्छन् । यस्तो विकराल परिस्थितिमा योभन्दा ज्यादा हानिनोक्सानी हुन नदिन र सम्भावित सङ्क्रमणबाट टाढा रहन स्वेच्छिक एकान्तवासलाई नै तत्कालका लागि उपयुक्त उपाय ठह¥याइएको छ । राज्यले पनि सारा जनजीवनलाई एकपटक ठप्प पारेर सबै कुरा व्यवस्थित तुल्याउँदै नागरिकका दिनचर्यालाई क्रमिक रूपमा खुकुलो पार्दै लाने उपायस्वरूप लकडाउनको नीति अवलम्बन गरेको छ । यसो गर्दा हामीले आफूलाई थोरै मात्र नोक्सानी र सकसमा राखेर सिङ्गो समुदायलाई भयानक विनाशबाट जोगाउन सक्नेछौँ । आशा गरँैं यस रोगबाट योभन्दा धेरै मानसिक र भौतिक नोक्सानी अब ब्यहोर्नु नपरोस्, उपचारको दरिलो विधि छिटोभन्दा छिटो पहिचान हुन सकोस् र कोभिड १९ नामको यो जीवाणु आतङ्क छिटै किनार लाग्न सकोस् । रोगनिरोधक उपायको खोजीमा अनुसन्धानकर्ममा लागेकाहरूलाई छिटै सफलता मिलोस् र सुरक्षाका लागि घरको बन्द पर्खालभित्रै रहिरहनुपर्ने अवस्थाको अन्त्य हुनसकोस् । मानव र जीवाणुबीचको यो युद्ध भोलिका पुस्ताले हामीले झैँ लड्नुनपरोस्, यो पृथ्वी हरहमेसा सबै प्राणीको साझा घर बनेर रहिरहन सकोस् ।
बारी बगैँचाका बोटबिरुवामा वसन्तको यौवन घर्किनै लागे पनि प्राकृतिक मधुमास भने पूरै रित्तिसकेको छैन । २०७६ साल बिदावारीको सँघारमा आइपुग्न लाग्दैछ । यो वर्षको अन्तिम घडीमा हामीले मनलाई भारी तुल्याउँदै आफैँले अप्रियतापूर्वक लगाएका लकडाउनका ताल्चाहरू विक्रम संवत् २०७७ को आगमनसँगै खुकुँिंदै जानेछन् । अनि त, यतिबेला टाढिएका आफन्तहरूसँग नजिकिँदै वसन्तको त्यही रहलपहल मधुमासमा कोरोना कहरलाई मज्जाले बिर्साउने गरी रमाउन
कसो नपाइएला ?
(लेखक साहित्यकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?