नगेन्द्रराज पौडेल
यतिबेला मुलुक कोरोना भाइरस (कोभिड—१९) को कारण सङ्कटमा छ । करिब तीन महिनाअघि छिमेकी चीनको वुहान प्रान्तबाट सुरु भएको यो महामारीबाट यो आलेख तयार पार्दासम्म विश्वका १९९ देश प्रभावित छन् । दुुई शक्तिशाली मुलुकमध्ये चीनमा ८१ हजार ४३९ जनामा कोरोना सङ्क्रमण देखिइसकेको र यसैका कारण तीन हजार तीन सय जनाको मृत्युु भइसकेको छ भने भारतमा ८८७ जनामा सङ्क्रमण देखिएको र २६ जनाको मृत्यु भइसकेको छ ।
यो आलेख तयार हुँदासम्म विश्वमा छ लाख ६४ हजार ९४१ जनामा यो भाइरस देखिएको छ । ३० हजार आठ सय ९६ जनाको मृत्यु भइसकेको छ । संसारका विभिन्न अस्पतालमा लाखौँले उपचार गराइरहेका छन् । उपचारबाट ८३ प्रतिशत बिरामी निको भएर घर फर्केको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको छ । नेपालमा आजसम्म कोरोना सङ्क्रमित पाँच जना देखिएका छन्, तर छिमेकी मुलुकमा देखिएको सङ्क्रमण र खुला सिमानाका कारण ढुक्क भएर बस्न सकिने अवस्था
पनि देखिँदैन ।
आफूलाई संसारकै शक्तिशाली राष्ट्र ठान्ने अमेरिकाले सुरुमा कोरोनालाई ख्यालठट्टा ठान्दा अहिले अप्रत्याशित मानवीय क्षति बेहोर्नुपरेको छ । सुरुआती चरणमा सावधानीका लागि लकडाउन गर्नुपर्नेमा अमेरिकी राष्ट्रपतिले ‘अमेरिका बन्द हुनका लागि जन्मेको देश होइन’ भन्दै नागरिकलाई काममा जान सुुझाए । यसैको परिणाम अहिले त्यहाँ एक लाख २३ हजार ७७६ जनामा यो महामारी फैलिएको छ भने दुई हजार २२९ जनाले मृत्युवरण गरिसकेका छन् । सम्भवतः यही दर कायम रहने हो भने यो सामग्री प्रकाशन हुने बेलासम्म यो अवस्था दोब्बर नहोला भन्न सकिँदैन । सरकारले गरेको लकडाउनको आग्रहलाई इटालीका जनताले अवज्ञा गर्दा अहिले त्यहाँ ९२ हजार ४७२ जनामा सङ्क्रमण देखिएको छ भने १० हजार ३४ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्मको मृत्युदर सम्भवतः यो नै उच्च हो र यो स्थिति हेर्दा कुल मृत्युमध्ये एकतिहाइ भाग इटालीले नै ओगटेको देखिन्छ ।
पाठ सिक्दै नेपाल
यी घटनाबाट नेपालले पाठ सिक्यो, सिक्नैपर्छ । नेपाल सरकार सुरुमा नै सचेत देखियो । गत फागुन २० गते नेपाल सरकारले विद्यालयस्तरका आसन्न परीक्षालाई चैत ५ गतेभित्रै सम्पन्न गर्न निर्देशन दियो । कतिपयले चैत ६ गतेबाट कोरोना आउँछ भन्ने सूचना सरकारलाई कसले दियो ? पनि भने । नभन्दै स्थिति छिमेकी देशमा भयावह देखियो । नेपाल सरकार जनताप्रति सचेत र उत्तरदायी देखियो । यसैबीच चैत ५ गते उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसी कोरोनाबाट बच्न, बचाउन आम जनसमुदायलाई अन्य उपायसमेत सुुझायो । एसईई पनि स्थगित ग¥यो । सरकार हुनु र देखिनुमा फरक छ । यसपटक सरकार जनतामा देखिएको छ । यो सकारात्मक पक्ष हो ।
सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन निषेध ग¥यो । सार्वजनिक यातायातमा सिटसङ्ख्याभन्दा बढी यात्रु नओसार्न तथा सवारीसाधन, होटल, रेस्टुराँहरूमा विशेष सरसफाइ गर्न सुुझायो । आवतजावत कम गर्न आम नागरिकमा अपिल ग¥यो । युरोप, पश्चिम एसियासहित खाडी मुलुकबाट आउन प्रतिबन्ध लगाएर राम्रो काम ग¥यो । बालविकास केन्द्रदेखि विश्वविद्यालय तहसम्मको पठनपाठन आगामी चैत मसान्तसम्म बन्द गर्न भनेको छ । यसबाहेक क्वारेन्टाइन स्थल निर्माण, अस्पतालहरूमा आइसोलेसन कक्षको व्यवस्था, कोरोनाका लागि डेडिकेटेड अस्पताल तम्तयारी आदि कार्य गरिएका छन् । औषधि र उपचार सामग्रीको व्यवस्थापनमा सरकार जुटेको छ । नेपाल टेलिकमले मोबाइल रिङटोनमा कोरोनाविरुद्ध सचेतनामूलक सन्देश राखेर आम जनतालाई सुसूचित गराएको छ । सर्वसाधारणलाई भ्रम पार्ने गरी समाचार दिए कारबाही गरिनेजस्ता उपाय अवलम्बन गर्ने निर्णय गरेको छ । अर्थात् सरकारसँग जे क्षमता छ त्यसको उपयोग गर्न ऊ चुकेको छैन भन्ने देखिन्छ । सरकारको आग्रहलाई अतिरञ्जित वा व्यङ्ग्य नगरी कार्यान्वयन गर्नु अहिले हरेक नागरिकको कर्तव्य हो ।
सरकारी सक्रियता
महामारीका तीन चरण हुन्छन् । महामारी पूर्वको चरण, महामारीको चरण र महामारीपछिको चरण । यी तीनै चरणमा संयमको खाँचो पर्दछ । हामीले सोच्नुपर्ने महामारी पूर्वको चरण हो । यो चरण पूर्व सतर्कता र सावधानीको हो । भनिन्छ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो । अमेरिकासमेत प्रताडित भएको कोरोना महामारीका रूपमा नेपाल भित्रिएको खण्डमा सहज उपचार सम्भव छैन । हाम्रा स्वास्थ्यकेन्द्र, अस्पताल र स्वास्थ्यकर्मीले यसको उपचार पूर्णरूपमा गर्लान् भन्न सकिँदैन । तसर्थ पछि पछुताउनुुभन्दा अहिले नै सोच्न जरुरी छ । पूर्व तयारीको चरण नै हाम्रा लागि अवलम्बन गर्न जरुरी छ । नेपाल सरकारले रोकथामका यावत् उपाय अवलम्बन गरेको छ । ११ चैतदेखि लकडाउन गरेको छ । यो सरकारको उपयुक्त र बुद्धिमत्तापूर्ण कदम हो । जनताले सरकार देखेका छन् तर लकडाउनलाई नेपालीहरूले हल्का रूपमा लिने गरेको पनि पाइयो । लकडाउनको पालना गर्नु आफ्नै लागि हो भन्ने कुरा नबुझेको पाइयो । कोरोनाबाट बच्ने उपाय नै सामाजिक दूरी कम गर्नु हो । यसका लागि घरभित्रको बसाइ नै उत्तम हो । तर जनता आफू घरभित्र बसेर सरकारको आदेश मानेकोमा दुुःखी भएको पाइयो ।
अहिले स्पेन, इटालीजस्ता कतिपय मुलुकले अति आवश्यक सामान लिन बजारमा सर्वसाधारणलाई सजिलै जान दिएका छैनन् । भारतले त चैत १२ गतेदेखि २१ दिन लकडाउन घोषणा गरिसकेको छ ।
कालोबजारी रोकौँ
यतिबेला कृत्रिम अभाव खडा गर्दै अत्यावश्यक वस्तुमा कालोबजारी बढेको छ । केही समय अघि मास्कमा भएको कालोबजारी सरकारले नियन्त्रणमा लिएर राम्रो काम गरेको छ । ग्याँसको कृत्रिम अभाव रोक्न स्थानीय तहमार्फत ग्याँस वितरण गरिनुपर्छ । अनुुगमन संयन्त्रलाई बढाउनुपर्ने देखिन्छ । सङ्कटको बेला कालोबजारी गर्ने तथा कृत्रिम अभाव खडा गर्नेलाई तत्काल कडा कारबाही गर्न सरकार तयार हुनुपर्छ । स्थानीय तथा प्रदेश सरकारको उपस्थिति कम देखिएको छ, बढाउनुपर्छ । सरकार र व्यापारीसँग अति आवश्यक सामान मौज्दात भए पनि लकडाउनको अवस्थामा आपूूर्ति कसरी गर्ने भन्ने विषय प्रमुुख चुुनौती हो । हुुन त सरकारले सहर लकडाउनको घोषणाले खाद्यान्न पसल बन्द भए मोबाइल भ्यानबाट टोलटोलमा खाद्यान्न उपलब्ध गराउने भनेको छ तर यसका लागि भरपर्दो सरकारी संयन्त्र बनेको छैन । साल्ट ट्रेडिङ र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोबाइल भ्यानबाट सेवा दिने भने पनि तत्काल सम्भव देखिँदैन ।
अबको दायित्व
गत फागुनमा सर्वोच्च अदालतले चीनमा देखिएको महामारी प्रभावको आँकलन गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्न आदेश जारी गरेको थियो । सुरुमा नै उक्त आदेशको पूर्णरूपमा पालना गर्न सकेनाँै । उक्त आदेश पालना गर्न सकेको भए अहिले यसरी आत्तिनुपर्ने थिएन कि ! किनभने अहिलेसम्म हामीकहाँ पाँचजनामा मात्र कोरोना सङ्क्रमण देखिएको छ । ती पाँचैजना अन्तर्राष्ट्रिय उडानबाटै नेपाल भित्रिएका थिए । सुखद पक्ष नै मान्नुपर्छ ती पाँच जनामा पनि एकजना उपचारपछि घर फर्किसकेका छन् । बाँकी उपचाररत छन् र सम्भवतः खतरामुक्त पनि । एक साताअघि हामीले भारतीय नाकाबाट सयौँ नेपाली भित्र्यायौँ । विना जाँच, विना क्वारेन्टाइन उनीहरू यत्रतत्र गए । त्यताबाट आएका हाम्रै दाजुुभाइमा कतै यसको प्रभाव रहेछ भने गाउँ नै सोत्तर हुने त होइन ? आशङ्का उत्पन्न भएको छ । पश्चिम नेपालतिर क्वारेन्टाइनमा राखिएकाहरू पर्खाल नाघेर भागे भन्ने समाचार आयो । यसबाट अर्को त्रास उत्पन्न भएको छ । अहिले सरकारले विदेशबाट आउनेहरूको विवरण लिइरहेको छ । उनीहरू हाम्रै गाउँघर, वरिपरि छन् । तिनीहरूको विवरण सरकारलाई दिएर परीक्षण गरे, गराएर ढुक्क हुनु हामी सबैको कर्तव्य हो । यसमा सरकारलाई सहयोग गर्न आवश्यक छ । हेक्का राखौँ, आखिर सरकारी आह्वान पनि जनताकै स्वास्थ्यका लागि हो ।
(लेखक नेपाल सरकारका सेवानिवृत्त अधिकृत हुनुहुन्छ ।)