logo
२०८१ मंसिर १३ बिहीवार



देशको ऐना स्वास्थ्य क्षेत्र

विचार/दृष्टिकोण |




प्रा.डा. अर्जुनदेव भट्ट

अहिले विश्वले सामना गर्नुपरेको कोभिड १९ ले मानिसमा भूकम्प ल्याइदिएको छ । मानिसका मनमस्तिष्कलाई हल्लाइदिएको छ । झट्ट हेर्दा घरका खम्बा, छाना, भ¥याङ केही भत्केका छैनन् तर जुन गतिमा अहिले युरोप र अमेरिकाले कोभिड १९ को सामना गर्नुपरेको छ, त्यसले प्रष्टै दर्शाउँछ कि त्यहाँको अर्थतन्त्र तहसनहस हुँदैछ । मानौँ देशभरका सबै घर भताभुङ्ग हुँदैछन् । विश्वका सबै देशले यो भोग्नुपर्ने देखिन्छ । कोभिड १९ अहिले सार्क राष्ट्रमा अगाडि बढ्न थालेको छ । यो भाइरस एकैदिनमा उच्च बिन्दुमा पुग्ने होइन । ‘लक डाउन’ गरेर जुन प्रकारले यी देशमा कोरोना भाइरस रोक्ने प्रयत्न सुरु गरिएको छ, त्यसले अवश्य सङ्क्रमणको गतिमा ब्रेक लगाउनेछ । त्यसका निम्ति हामीले औधि अनुशासित भएर लकडाउनका संहिता, नियम पालना गर्नुपर्नेछ ।
नेपालमा पनि लकडाउनको अवस्था छ । यो न मीनपचासको छुट्टी हो न गर्मीको । यस्तो अवस्थामा हामीलाई कति समयसम्म रहनुपर्ला? अहिले हतारिएर भन्न मिल्दैन । अहिलेको प्राथमिकता भन्नु नै बाहिरबाट भित्रिन सक्ने सङ्क्रमणलाई पूर्णरूपमा नियन्त्रण गर्नु हो । त्यससँगै देशभित्र प्रवेश गरिसकेको तर अझै पहिचान नभइसकेको सङ्क्रमणलाई सक्दो छिटो सतहमा ल्याउने र त्यो महामारीको मुहानलाई एक ठाउँमा थन्क्याएर अरूमा सर्नबाट रोक्नु हो । साथै पीडितको यातना र मृत्युदर न्यून
पार्नु हो ।
यो अहिले नगरी नहुने अत्यन्त जरुरी काम हो । यसका निम्ति केही काम भइरहनेछन् र केही काम थप्नुपर्नेछ । यो एकपटकमा समाप्त हुने होइन । यो कार्यको बीच–बीचमा सानातिना केही हेरफेर पनि हुनसक्छन् । जस्तोः अहिले एक हप्ताका लागि देश पूर्णरूपमा लकडाउन छ । त्यसपछि यसको स्वरूप केही फेरिन पनि सक्छ । त्यो बेलासम्म हाम्रो सिमानाबाहिरको अवस्था कस्तो छ ? नेपाल भित्रिन चाहने हाम्रा नेपाली दाजुभाइ कति छन् ? आदि । तर हामीले धैर्य लिनैपर्छ । एक साताको मुलुक बन्दले मात्र सबै समस्या समाधान गर्ने वातावरण कसरी तयार हुनसक्छ ? यो लकडाउन (बन्द) लम्बिन सक्छ ।
हाम्रो दक्षिण सिमानाको अवस्थाले पनि केही निर्धारण गर्नेछ । एक साताभित्र भारतमा सङ्क्रमण ओरालो लाग्ला भन्ने आधार छैन । त्यहाँ कोरोना उकालो लाग्ने चरणमै छ । चुचुरो अझै टाढा देखिन्छ । चुचुरो नपुग्दासम्म यो ओरालो लाग्ने देखिँदैन । त्यस्तै नेपालमा पनि सङ्क्रमणको सुरुवाती अवस्था हो । हामी कति सुझबुझ हुँदै अनुशासित भएर अगाडि बढ्छौँ, त्यसले सङ्क्रमणको लम्बाइ तय गर्ला । पूर्ण धैर्यका साथ बाहिरबाट भित्रिन सक्ने सङ्क्रमणलाई रोक्नैपर्छ । यो सिलसिलामा देशले धेरै असुविधा मात्र होइन, अभाव पनि व्यहोर्नुपर्नेछ । हामीले असुविधा र अभाव सहेर सङ्क्रमण महामारीको मूल्य नचुकाउने हो भने ठूलो सङ्ख्यामा सङ्क्रमितको भार र त्यसमध्ये कतिको ज्यान माया मारेर अगाडि बढ्नुपर्नेछ । शान्तिकालको अघोषित महासङ्कटको सत्य किन दयालु, मीठो र कर्णप्रिय हुन्थ्यो ?
हालसम्म हुन नसकेका सङ्क्रमितहरूको पहिचान कसरी र कहिले निरुपण हुन्छ ? त्यसले हाम्रो जनस्वास्थ्यको वास्तविकतालाई धेरै हदसम्म छर्लङ्ग्याउनेछ । के जनस्वास्थ्य प्राथमिकतामा राखेर हामीले आवश्यक गृहकार्य गरेका छौँ ? के जनस्वास्थ्य जस्तो अति महत्वपूर्ण क्षेत्रमा हामीले दक्ष जनशक्तिको जमात तयार पारेका छौँ ? के जनस्वास्थ्यलाई आवश्यक प्रविधि दिएर यस्ता विश्वव्यापी महामारीको सामना गर्न भनी तम्तयार राखेका थियौँ ? सातै प्रदेशमा जनस्वास्थ्यको नेटवर्क बिछ्याएर वडासम्म पु¥याउन के अहिले पनि हामी इच्छुक छौँ त ? यस्ता सबै प्रश्नको उत्तर यही सङ्कट र सन्त्रासको घडीमा खोज्नुपर्ने भएपछि कसरी हामी देशभित्र छिरेको महामारी तुरुन्तै नियन्त्रण भइहालोस् भनेर कल्पना मात्र पनि गर्न सक्छौँ ? खालि के मात्र भन्न सक्छौँ भने “धन्यवाद कोभिड १९, कमजोर जनस्वास्थ्य नेटवर्क बलियो पार्ने मौका दिइस् ।” यो सुवर्ण मौका पनि चुकायौँ भने आउँदा वर्षहरूमा फैलिन सक्ने योभन्दा अझै बढी भयानक सङ्क्रमणको महामारीलाई कसरी मुकाबिला गर्ने ? स्पेनिस फ्लु, सार्स, स्वाइन फ्लु, मर्स, इबोला आदिको लामो ऐतिहासिक सङ्कटले हामीलाई के पाठ सिकायो ? उच्च प्राथमिकतामा राखेर तुरुन्तै यसको बलियो जग हाल्नैपर्छ ।
करोडौँ लगानी गरेर चिकित्सक र परिचारिका भएका सयौँ युवायुवती काम नपाएर मौकाको पर्खाइमा छन् । के तिनीहरू पनि विदेशै जाउन् भनेर हामीले पर्खिबस्ने हो ? छोटो प्रशिक्षण दिएर ती ऊर्जापूर्ण तर हाल निराश भएर रहेकालाई कोभिड प्रकोपसँग जुध्न पठाउन पछाडि पर्नुहुन्न । देशमा उत्पादन गरिएका माइक्रो बायोलोजिस्टहरूलाई यो जटिल कार्यमा विभिन्न प्रदेशका प्रयोगशालामा काममा लगाउनुपर्छ । नेपालका आइसीयूमा यस्तो महामारी धान्नेगरी भेन्टिलेटर धेरै छैनन् । तर के युरोप अमेरिकामा आज कोभिड १९ महामारी धान्ने भेन्टिलेटर पर्याप्त छन् त ? छैनन् । न्युयोर्कमा मात्रै हजारौँ भेन्टिलेटरको नपुग रहेको समाचार आइरहेका छन् । आजको विश्व यस्ता महामारीका निम्ति कतै पनि पूर्ण तयारीमा छैनन् । तर हामीले स्वास्थ्यसेवाको स्तरोन्नति गर्ने यो ठूलो अवसर हो । देशको विकास नै लर्खराइरहेको बेला स्वास्थ्यप्रणाली मात्र कमजोर छ पनि भन्न सकिन्न । स्वास्थ्य क्षेत्र देश विकासको ऐना पनि हो । जबसम्म सुदूरपूर्व तथा पश्चिमबाट उच्चस्तरीय सेवा पाउन विशेषज्ञ चिकित्सकहरू खोज्दै काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य हुँदैन तबसम्म कसरी स्वास्थ्य क्षेत्र राम्रो छ भन्न सक्छौँ ?
पछिल्लो १५ वर्षमा स्वास्थ्य क्षेत्रमा देखिएको फड्को कसको पहुँचमा छ ? कति प्रतिशत हाम्रा बिरामी आफ्नो जायजेथा नगुमाई सहन सक्छन् ? के त्यसप्रति सरकार सचेत छ ? विस्तारित स्वास्थ्य सेवाको पहुँच र त्यसको आम बिरामीले प्रयोग गर्नसक्ने क्षमताबारे ध्यान नदिएर हामी उपलब्धिको गुणगानमा लठ्ठ छौँ । क्षमता विस्तार स्वास्थ्य चौकीदेखि अस्पतालसम्म निरन्तर भइरहनुपर्छ । के संविधानको धारामा स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार लेख्दैमा सबैले सुलभ उपचार पाउन सक्छन् ? कर्ममा रमाउन सक्ने र इमानदारीमा हुर्किनसक्ने वातावरण देशमा स्थापित गरिरहेका छौँ त ? सुन्दा प्रिय लाग्ने देखावटी नारा होइन, अब सबै नागरिकले अनुशासनमा रहेर कठोर परिश्रम गर्दै देशको चौतर्फी विकास गर्नुपर्छ । तबमात्र स्वास्थ्य क्षेत्र पनि विकसित हुन्छ ।
कोभिड १९ महाव्याधि सबैले भोग्नुपरेको दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो सङ्कट हो । संसारको कुनै पनि देश यसबाट अछुतो रहन सक्दैन । नेपाली संसारका थुप्रै देशमा रहेका र देशको दक्षिण ढोकामा नै सङ्क्रमण फैलिँदै गएकाले अपनाउनुपर्ने सुरक्षामा अझ बढी चनाखो हुनुपर्ने देखिन्छ । नेपाल भित्रिसकेको तर पहिचानमा आउन नसकेको सङ्क्रमण सक्दो छिटो सतहमा उतार्नु महामारी फैलिन नदिने अनिवार्य उपाय छ । यो कार्यमा जति ठूलो भूमिका र उत्तरदायित्व सरकारको छ, त्यस्तै ठूलो अभिभारा प्रत्येक नागरिकको छ । सङ्क्रमित नभएकाले ‘सेल्फ क्वारेन्टाइन’मा अनुशासिन तथा धैर्यपूर्ण तवरले बस्नुपर्छ । बाहिर ननिस्की नहुने अवस्थामा पनि मास्क लगाएर एक अर्काबीच कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्छ । सङ्क्रमितले पछिल्लो समय को कोसँग हेलमेल भए त्यसको पूर्ण सूचना दिने तथा चिकित्सकको सल्लाह अनुरूप घरमै कडा एकान्तवासमा बस्नुपर्छ वा अस्पताल भर्ना हुनुपर्छ । मेडिकल काउन्सिलको लाइसेन्स पाएका तर काम नपाएर मौका पर्खिरहेका चिकित्सक तथा परिचारिकालाई आवश्यक छोटो प्रशिक्षण दिएर जनस्वास्थ्य तथा उपचारको कार्यमा संलग्न गराई सबै प्रदेशमा पठाउनुपर्छ । देशमा माइक्रो बायोलोजिस्ट उपाधि पाएर काममा नसमेटिएकालाई सबै प्रान्तका प्रयोगशालामा नियुक्ति दिनुपर्छ । स्वास्थ्य प्रणालीको विकास गर्न स्वास्थ्यचौकी तथा सम्पूर्ण अस्पतालको क्षमता विस्तार गरिनुपर्छ ।
(लेखक वरिष्ठ युरोलोजिस्ट हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?