यतिबेला विश्व कोरोना भाइरस (कोभिड–१९) सँग लडिरहेको छ । यो लडाइँलाई जित्ने अहिलेसम्मको एक मात्र अचुक उपाय सामाजिक दूरी नै भएको छ । सामाजिक दूरी कायम गर्न नियमपूर्वक क्वारेन्टाइन (घरवास) वा आइसोलेसन (एकान्तवास) मा बस्नुपर्छ । त्यसैले विश्वका धेरै देश सामाजिक दूरी कायम गराउने उद्देश्यले नै अहिले ‘लकडाउन’ को अवस्थामा छन् तर नेपाल–भारत खुला सिमानाका कारण अझै पनि मानिसको आवतजावत भइरहेको समाचार सार्वजनिक भइरहेका छन् । मुख्य नाकाहरूमा प्रहरी प्रशासनले रोके पनि मानिसहरू चोरबाटो, खेत नालाको बाटोबाट ओहोरदोहोर गरिरहेका छन् । मानिसबाट मानिसमा सरेर विश्वलाई आतङ्कित बनाएको महामारी रोक्न मानिसको यस्तो ओहोरदोहोरले नेपाल भारत दुवैलाई चुनौती थपिदिन्छ । विशेषगरी कामको खोजीमा भारत पुगेका नेपाली त्यहाँ पनि लकडाउनको अवस्थाबाट सङ्कटमा घेरिएपछि नेपाल फर्किएका हुन् । शरीरमा कतै दुःखकष्ट परेपछि ‘ऐया ! आमा’ भनेर सम्झिए भैmँ आपतविपद्मा आफ्नै देश सम्झनु स्वाभाविक नै हो तर रोगको महामारीमा जुन संवेदनशीलता अपनाउनुपर्छ, त्यो संवेदनशीलता अज्ञानता वा लापरवाहीका कारण पुग्न सकेन भने त्यसले घरपरिवार, समाज, देश र पूरै विश्वलाई नै पु¥याउने क्षतिको आँकलन यतिखेर गर्न सकिँदैन । आखिर चीनको वुहानमा पनि एकजनाबाटै यो रोगको सुरुवात भएको थियो ।
यतिखेर नेपालका गाउँगाउँ र सहरहरूमा बाहिरबाट आउने मानिसबाट कोरोना सङ्क्रमण हुने हो कि भन्ने त्रास स्थानीयवासीमा स्वाभाविक रूपमा छ । विश्व नै विचरण गरिरहेको यो भाइरस कुनै गाउँ वा सहरमा पुग्न सक्दैन भन्न सकिँदैन । यसका लागि जहाँसुकै रहेका वा बसेका मानिस सचेत हुनैपर्छ । सीमा नाकामा ‘थर्मल गन’ ले शरीरको तापक्रम नापेपछि मलाई कोरोना रहेनछ भनेर हौसिँदै घरपरिवारसँग बस्नु र सहरबजार डुल्नु पनि घातक हुन्छ । त्यसैले बाहिरबाट आउने व्यक्तिले निश्चित अवधिसम्म क्वारेन्टाइनमा बस्नैपर्छ । तर आफ्नो गाउँ र ठाउँमा फर्केर आउँदा कुनै अपराध नै गरेझैँ व्यवहार पनि घर फर्किआउनेका लागि उपयुक्त हुँदैन । अहिले गाउँघरतिर भारत वा अन्य मुलुकबाट फर्केर आएकाहरू ढुक्कले परिवार वा समाजमा हेलमेल गर्ने वा आफूलाई परीक्षण नगराई बस्ने अनि विदेशबाट आएको व्यक्तिप्रति गाउँ नै त्रसित हुने अवस्था देखिन्छ । यो अवस्थामा स्थानीय सरकारहरूले वडामा रहेका जनप्रतिनिधिका माध्यमबाट बाहिरबाट आउनेहरूको तथ्याङ्क लिने, परामर्श दिने र क्वारेन्टाइनको उचित प्रबन्ध मिलाइराख्न सक्रियता देखाउनु अत्यावश्यक देखिएको छ । यो कार्यमा विभिन्न राजनीतिक दलका अगुवा कार्यकर्ता पनि सावधानीपूर्वक स्वयंसेवीभावमा जुट्नुपर्छ ।
देश बाहिरबाट आएका कतिपय व्यक्ति क्वारेन्टाइनमा बस्न नमानेर भागेकोदेखि सम्पर्कमा रहने भनेर गाउँतिर लागेकाहरू लुकेका समाचार आएका छन् । वास्तवमा कोरोना सङ्क्रमित विदेशबाट आएकाहरू आफ्नै सुरक्षाका लागि आएका हुन्, आउनु अपराध हुँदै होइन तर तिनीहरू क्वारेन्टाइनमा बसेर परीक्षित नभएसम्म उनीहरू पनि सम्भावित सङ्क्रमित हुन् भन्ने बुझ्नु बुझाइनु आवश्यक देखिएको छ । एउटा
सङ्क्रमितले सिङ्गो समुदायलाई थला पार्न सक्ने हुँदा नै उनीहरूका लागि भनेर बनाइएका शय्या धेरै ठाउँमा त्यत्तिकै छन् । त्यस्ता व्यक्तिको खोजी गरेर प्रहरी प्रशासनले क्वारेन्टाइनमा राख्ने काम पनि गरिरहेको छ । सबै ठाउँमा प्रहरी प्रशासनको उपस्थिति पनि यस्तो सङ्कटको बेला सम्भव हुँदैन । त्यसैले बाहिरबाट आएका व्यक्ति
आ–आफ्नो स्थानीय तहमा के–कति छन्, उनीहरूको खोजी गरी रोगको संवेदनशीलता, क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्ने महत्व, मनोपरामर्श दिने, रोगको परीक्षणबारे जानकारी गराउने काम स्थानीय तहका प्रतिनिधि तथा राजनीतिक दलहरूले गर्नुपर्छ । उनीहरूको सक्रियताले नै यो सङ्कट स्थानीयस्तरबाट पार लगाउन सकिन्छ । स्थानीयवासीको त्रास र बाहिरबाट आउने व्यक्तिको सम्मान उठाई रोगलाई पनि भगाउन उनीहरूको भूमिका यतिबेला ठूलो छ । फेरि यो बेला देखाएको सुझबुझ, सचेतना र संयम इतिहासले कहिल्यै बिर्सन सक्दैन । आखिर विश्वका धनी हुन् कि गरिब, साना हुन् कि ठूला सबै राष्ट्र यो महामारी नियन्त्रणमा एकजुट हुँदैछन् । हामीकहाँ पनि स्थानीय, प्रदेश, सङ्घीय सरकारका साथै सबै राजनीतिक दल, समाजका हरेक तह र तप्कालाई महामारीविरुद्ध परिचालित गर्नैपर्छ ।