logo
२०८१ मंसिर १३ बिहीवार



मर्ने कसैलाई रहर हुँदैन

विचार/दृष्टिकोण |




डा. टीकाराम पोखरेल

पुराणमा एउटा कथा छ– ययाति नामका एक राजा थिए । सय वर्ष पुगेपछि उनलाई लिन काल आइपुग्यो । काललाई देखेर उनी डराए र भन्न थाले– मेरो त पूरै जीवन राज्य विस्तार र संरक्षणमै बितेकाले जीवनको भोग गर्न पाएको छैन, त्यसैले मलाई केही अरू बाँच्न देऊ, बरु त्यस वापत म तिमीलाई सुन, चाँदी, हीरा, जुहारत धनधान्य जे चाहिन्छ त्यो दिन्छु । ययातिको कुरा सुनेर कालले भन्यो– तिम्रो सुन, चाँदी, हीरा, जुहारत धनधान्य मृत्युलोकमा चल्दैन, मलाई तिम्रो जीवन नै चाहिन्छ । बरु तिमी बाँच्न नै चाहन्छौ भने तिम्रो सट्टा मृत्युलोक जाने अरू कोही तयार गर, त्यसको शेष आयु म तिमीलाई दिन्छु । कालको कुरा सुनेर ययातिको बाँच्ने आशा पलायो । उनले आयुका लागि याचना गर्दैै आफ्नी रानी, छोरा र भारदारतिर हेरे, तर काल आउनुपूर्व महाराजका लागि जीवन दिन तयार छु भन्नेहरू साँच्चै काल आएपछि भने जीवन दिन तयार भएनन् ।
बरु राजाका सबैभन्दा कान्छा छोरा, जो भर्खर १६ वर्षका मात्र थिए, उनले पिताले जस्तो यत्रो वर्ष भोगेर पनि तृप्त नहुने जीवन भोग्नुभन्दा आफ्नो जीवनदान दिएर पितालाई खुसी पार्नु नै जीवनको सार्थकता हो भन्दै पिताका लागि आफ्नो जीवन दिन तयार भए  । छोराको आयु थपेर बाँचेका राजा त्यसपछि पनि पटकपटक आफ्ना अरू छोराको समेत आयु थप्दै अरू धेरै वर्ष बाँचे । तैपनि उनी जीवनबाट तृप्त चाहिँ भएनन् । पौराणिक यो कथा यथार्थ होला नहोला, त्यो दोस्रो बहसको कुरा हो, तर यो कथाले दिएको शिक्षा भने संसारको परम सत्यचाहिँ पक्कै हो । आजको दुनियाँमा हामी जो कोही पनि जीवनका भोका छौँ । ययातिका कनिष्ठ पुत्र झँै अरूका लागि आयु दिएर आफू मर्न चाहँदैनौँ । बरु मिल्थ्यो भने ययाति राजाको जस्तो अरूको उमेरसमेत आफूलाई थपेर बाँच्न चाहन्छौँ । कोरोनाको सन्त्रासले हाम्रो घरघरमा घण्टी बजाइरहेको छ । हामी जिजीविषा लिएर कोरोनाविरुद्धको सङ्घर्षमा छौँ । निस्केर जाने सुरक्षित ठाउँ कतै छैन । आफ्नै घरमा बन्दी छौँ । जीवन मृत्यु सम्बन्धमा एउटा चर्चित गीत छ ः
मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन,
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने सहर हुँदैन ।
यो गीतमा भनिएजस्तै आज विश्व कोरोनाको सन्त्रासले भयभीत छ । कोही मर्न चाहन्नन्, सबै मृत्युबाट डराउँछन्, सबै मृत्युबाट भाग्न चाहन्छन् तर भागेर कुन सहरमा जाने विश्वमा कतै पनि यस्तो सहर बाँकी छैन, जहाँ कोरोनाको सङ्क्रमण नभएको होस् । त्यसो त मान्छे अजम्बरी छैन । पौराणिक राजा ययाति झैँ आजको मान्छे बाँचेर पनि कहिल्यै अघाउँदैन । तर पनि नअघाउने जीवन बाँच्न मान्छे लालायित छ । यतिसम्म लालायित छ कि ऊ बाँच्नका लागि जे पनि गर्न तयार छ । मिल्ने भए आजको धनी मान्छे गरिब मान्छेको उमेर किनेर पनि बाँच्थ्यो । अरूलाई मारेर उसको उमेर आफूमा थप्न मिल्ने भए शक्तिशालीहरूले शक्तिहीनहरूलाई मारेर मारिएको मान्छेको उमेर पनि आफ्नो उमेरमा थप्थे । महाभारतका भीष्मको जस्तो इच्छामरणको वरदान पाएको भए आजको मान्छे कहिल्यै मृत्युवरण गर्दैनथ्यो । बरु इच्छा भएसम्म बाँच्न सक्ने वरदान पाएका भीष्मको मर्ने मूर्खतामाथि खिल्ली उडाउँथ्यो तर विडम्बना मानिसलाई विधाताले भनौँ वा प्रकृतिले इच्छा भएसम्म बाँच्ने वरदान वा शक्ति दिएको छैन । यो सृष्टिको नियम हो  ।
हो, मान्छे एकदिन अवश्य मर्छ । त्यसैले भनिएको होला– जन्म भ्रम हो र मृत्यु सत्य हो । मान्छेले विज्ञानका आविष्कारका चमत्कार गरे पनि मानिससँग मृत्यु रोक्ने क्षमता छैन । तर कुनै घातक रोगले आक्रमण गरेर, अकल्पनीय दुर्घटनामा परेर वा कुनै प्राकृतिक प्रकोपमा परेर अकालमा मृत्यु हुनेबाहेक आफ्नो आयुलाई केही लम्ब्याउने उपाय भने हरेक मानिससँग छ । त्यो उपाय भनेको जीवनको अनुशासनको पालना हो । जो मानिस जीवनको अनुशासन पालना गर्छ ऊ दीर्घजीवी हुनसक्छ  ।जीवनको अनुशासनको पालनाका लागि सङ्कटमा धैर्य गर । लोभ नगर, आफ्नो खानपानमा विशेष ध्यान देऊ । सकारात्मक सोच । योग, ध्यान र चिन्तन गर । घर परिवार, समाज र संसारसँग रमाऊ । आफू हाँस र अरूलाई पनि हँसाऊ । हेर्नुस् त, कत्ति सजिलो छ जीवनको अनुशासन पालना गर्न  । यति सामान्य काम गरेर जीवनको दूरी लम्ब्याउन सकिन्छ भने किन नगर्ने ? तर मानिसलाई जीवनको सबैभन्दा सजिलो काम नै सबैभन्दा गाह्रो काम भएको छ । किनभने मानिससँग धैर्य छैन ।
जीवनको आत्मानुशासन पालनाले मानिस अजम्बरी त हुँदैन, तर दीर्घायु भने अवश्य हुन्छ । आत्मानुशासने दीर्घायु हुन्छ भन्ने पनि सबै मानिसलाई थाहा छ तर पनि मान्छे जीवनको न्यूनतम अनुशासन पनि पालना गर्दैन । जीवनको अनुशासन पालना नगरेर मानिस आफ्नै जिन्दगीको जुवा खेलिरहेको छ । हार्ने जान्दाजान्दै जुवामा जिन्दगीको पासा थापिरहेको छ । मान्छे कति अनुशासनहीन छ भनेर बुझ्न धेरै परको कुरा पनि गर्नुपर्दैन । लकडाउन उल्लङ्घनको कुरा मात्र गरे पनि पर्याप्त हुन्छ  । यतिबेला कोरोनाका कारण कुनै ठाउँको गाउँ, सहर वा देश मात्र होइन विश्व नै लकडाउनमा छ । हामी नेपाली पनि लकडाउनमा छौँ । नेपाल सरकारले लकडाउन अवधिमा घरभित्रै बस्न नागरिकहरूलाई आग्रह गरेको छ, तर सहरका आफूलाई सभ्य नागरिक भनेर दाबी गर्ने मान्छेहरू नै लकडाउन तोडेर सडकमा लखरलखर हिँडेर रमिता हेरिरहेका छन् । मानौँ कि उनीहरूले नहेरिदिए लकडाउन सफल हुँदैन  ।
घरभित्र जीवन छ, सडकमा मृत्यु मानिस कुरेर बसेको छ । लकडाउनको अवस्थामा बाहिर निस्के भन्न सकिन्न तर घरभित्रै बसे अवश्य बाँचिन्छ । यो यथार्थ थाहा हुँदाहुँदै पनि मान्छे किन मृत्युसँग पौँठेजोरी खेल्न सडकमा निस्केको होला ? कोरोनाविरुद्ध लड्नुपर्ने मान्छे सडकमा निस्केर मृत्युलाई किन जिस्क्याइरहेको होला ? मान्छेलाई मर्न मन छैन भने मृत्युको छेउमा मान्छे किन गएको होला ? अज्ञानतावश होला कि बढी जान्ने भएर होला ? कि मानवको स्वभाव नै विचित्रको भएर होला ? यो लकडाउन सरकार, सुरक्षाकर्मी डाक्टरका लागि होइन, यो जनताका लागि हो  । यो लकडाउन समग्र बाँच्न चाहने मानव जातिलाई सङ्कटबाट बचाउनका लागि हो । समग्र मानव सभ्यतालाई नै जोगाउनका लागि हो । यस्तो गम्भीर विषयलाई हलुका विषय कुनै पनि मान्छेबाट बनाइनु हुँदैन । घरभित्र बसे आफू पनि बाँचिन्छ र परिवारलाई पनि बचाउन सकिन्छ । बाहिर निस्के आफू त मरिन्छ नै, अरूलाई पनि मारिन्छ । त्यसैले कसैलाई पनि मर्ने रहर छैन भने मृत्युलाई जिस्क्याउन किन सडकमा निस्कनु ? भित्रै बसेर जीवनको सुरक्षा गरे हुँदैन र ?
याद रहोस्, यो बेला विश्वको हरेक सहरमा मृत्युले यात्रा गरिरहेछ । हामीलाई खोज्दै मृत्यु हाम्रो देशमा पनि पसिसकेको छ  । यो मृत्युसँग छलिएर जाने मृत्यु नहुने कुनै अर्को सहर पनि छैन । त्यसैले यो बेला आफ्नै गाउँ वा सहरमा हामी जो जहाँ छौँ त्यहीँ मृत्युसँग छलिएर आफ्नो ज्यान बचाउनुको विकल्प हामीसँग छैन । यस्तो संवेदनशील अवस्थामा हामी मृत्युसँग छलिने कि मृत्युसँग जम्काभेट गर्न जाने ? मर्न कसैलाई रहर हुँदैन भने मृत्युसँग जम्काभेट गर्न किन जाने ? घरभित्रै बसौँ । मृत्युबाट बचौँ । जिम्मेवार नागरिकको कर्तव्य पूरा गरौँ ।
(लेखक राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत हुनुहन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?