गोपीनाथ मैनाली
सहकारिताको वास्तविक अर्थ सहकार्य हो । सहकारिता श्रमबाट सुरु हुन्छ । श्रम नै उत्पादन र सहकार्यको स्रोत हो । यसलाई सामूहिक उन्नयनमा लगेर नै पारस्परिक हित विस्तार गर्न सकिन्छ भन्ने सोचका साथ सहकारी अभियानको विकास भएको हो । यो समतामूलक सामाजिक उत्थानको स्वयंसेवी अभियान थियो । प्लकव्योय, रबर्ट ओवेनजस्ता विचारकले श्रम र उत्पादनबाट सर्वोदय समाजको कल्पना गर्नुभएको थियो । ओवेन समाजवाद वा प्लकव्योय सर्वोदयको दर्शनलाई कार्यान्वयन गर्न रोचडेली समाजबाट सुरु भएको यात्राले दुई शताब्दी पार गर्दा सहकारी संसारकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल (३० लाख संस्था र सवा अर्बभन्दा बढी सदस्यको सञ्जाल) र सामूहिक व्यवसायका रुपमा स्थापित भएको छ । जसले वार्षिक दुई खर्ब एक अर्ब अमेरिकी डलर बराबरको कारोबार गर्दछ, दुई करोड ८० लाख जनालाई रोजगारी दिएको छ । कृषि, मत्स्य, औद्योगिक उत्पादन, वित्तीय सेवा, बीमा, थोक व्यवसायलगायत, उपभोक्ता सेवा, आवास एवं स्वाथ्य सेवामार्फत आर्थिक गतिविधिको विस्तार र सामाजिकीकरणमा उल्लेख्य योगदान पु¥याइरहेको छ ।
राष्ट्रसङ्घका तत्कालीन महासचिव बानकी मुनले आर्थिक सम्भाव्यता र सामाजिक उत्तरदायित्व एकैसाथ प्राप्त गर्न सकिने व्यवसाय सहकारी हो भन्नुभएको थियो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घले संयुक्त स्वामित्व र लोकतान्त्रिक नियन्त्रणमा रहने व्यवसायबाट आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आकाङ्क्षा पूरा गर्न स्वेच्छाले एकताबद्ध व्यक्तिहरूको सङ्गठनलाई सहकारी भनेको छ । त्यसैले सहकारी आर्थिक व्यवसायका अन्य स्वरुपभन्दा मौलिक रुपमा भिन्न छ । सहकारीमा लगानीकर्ता, निर्णयकर्ता र फाइदा लिने व्यक्ति एकै हुन्छ । सदस्यहरू आफ्नो लगानी, व्यवसाय आफ्नै स्वामित्वमा आफैँ सञ्चालन गरी आफूहरूको हित विस्तार गर्दछन् । अझ भनौँ पारस्परिक सहयोगका क्षेत्र विस्तार गर्छन् । त्यसैले यसलाई सर्वोदय अभियान भनिएको हो ।
बजार सङ्केतहरू सहकारी व्यवसायमा उही रुपमा लागू हुँदैनन् । सहकारी व्यवसाय विस्तार गर्छु भनेको नाफाको विस्तार, बजारको विस्तार वा प्रतिस्पर्धाको विस्तार नभई सदस्यहितको विस्तार, आपसी सहयोगको विस्तार र स्वावलम्बको विस्तार हो । यो परिश्रम, समर्पण र सकारात्मक कार्यको विस्तार हो । यो भावना विस्तार गर्न सहकारीका तीन आयाम छन्– उत्पादन सहकारी, श्रमिक सहकारी र उपभोक्ता सहकारी । उत्पादन सहकारी प्राथमिक सहकारीको अभियान हो, जसले उत्पादन तथा मूल्यशृङ्खलामा काम गर्दछ । कृषिक्षेत्रमा यो निकै सफल छ । डेनिस, आयरिस र अमेरिकी कृषि फसल, भारतीय दूध, अफ्रिकी कफी यसका उदाहरण हुन् । ल्याण्ड आ लेक, ओसन स्प्रे, अमूल, एग्रिको जस्ता व्यापारिक नाम ब्राण्ड) समेत सहकारी व्यवसायले प्राप्त गरिसकेको छ । श्रमिक सहकारी औद्योगिक उत्पादन, निर्माण, होटेल, छापाखना आदिमा क्रियाशील हुन्छन् । स्वावलम्बन र मर्यादित श्रम श्रमिक सहकारीका आधार मर्म हुन् । उपभोक्ता सहकारी सदस्यका दैनिक आवश्यकताका वस्तु तथा सेवाहरू व्यवस्थापन गर्दछन् । रोचडेली अभियान यसैबाट औपचारिक भएको हो भने पछि गरिबको परनिर्भरता हटाउन किफायती ऋणका लागि बचत ऋण सेवा सुरु भएको हो । तर राइफाइजेन दर्शनले स्थापित गरेका प्रमुख कुराहरू स्वावलम्बन (आपसी सहयोग), स्वउत्तरदायित्व र स्वशासनबाट यस्ता सेवा पर जान सक्दैनन् ।
भुल्नै नहुने कुरा के हो भने सहकारी अर्थतन्त्र उत्पादन–उपभोग सम्बन्धलाई मानवीकृत÷समाजीकृत बनाउने अभियान हो । भुल्न पर्ने कुरा के हो भने सहकारी अर्थतन्त्र नाफाको व्यवसाय होइन, सदस्य व्यवसाय हो । साझा निष्कर्ष हो– सहकारीले नहुनेलाई हुने बनाउँछ, जसरी बजार अर्थतन्त्रले हुनेलाई झनै हुने बनाउँछ । नहुनेलाई हुने बनाउने यात्रा चरणबद्ध हुन्छ, कठिन हुन्छ, असम्भव हुन्न, जब प्राप्त गरिन्छ त्यो सापेक्षिक रुपमा स्थायी हुन्छ । अनि स्वावलम्बी अर्थतन्त्रको आधार बलियो गराउँछ । हुनेलाई झनै हुने यात्रा सापेक्षिक रुपमा सजिलो हुन्छ, बजारचक्रले तान्ने उछिन्ने गर्नसक्छ । त्यसैले सहकारी र बजारका भिन्नाभिन्नै आदर्श र सिद्धान्त छन्, भिन्नाभिन्नै कार्यक्षेत्र छन् । त्यस्तै भिन्नताको खोजी सहकारी र सार्वजनिक व्यवसायबीच गर्न सकिन्छ ।
नेपाली अर्थतन्त्र सहकारितामूलक संस्कृतिको उपज थियो । धर्म, पर्म, गुठीलगायत सहयोगको आदानप्रदानबाट निर्मित सामाजिक संस्कृतिले सहकारीलाई आर्थिक स्वरुप दिँदै आएको छ । नेपालमा सहकारी अभियानको औपचारिक इतिहास वि.सं. २००० मा काभ्रेपलाञ्चोकको बनेपाबाट समाजसेवी राजदास श्रेष्ठको अगुवाइमा कृषकहरूको आर्थिक अवस्थामा सुधार ल्याउन भूमि बन्धकी बैङ्क तथा सहकारी समाजबाट सुरु भए पनि (२००० मा भूमि बन्धकी बैङ्क तथा सहकारी समाज स्थापना भई २००५ सालमा खारेज भएको त्यसबखतको नेपालमा उल्लेख) २०१३ मा स्थापित भई निरन्तर रहेको बखान सहकारीलाई पहिलो सहकारी मानिन्छ । यस हिसाबमा ६३ वर्षको औपचारिक इतिहासमा यसले विस्तारको चरण पार गरेको छ । यसबीच आर्थिक उद्यमशीलता विकास, सामाजिक सहसम्बन्ध स्थापना, समावेशी संस्कृतिको निर्माण, नेतृत्व विकास एवं सशक्तीकरणमार्फत राष्ट्रिय विकासमा योगदान गरेको छ । करिब ३५ हजारको सङ्ख्याका सहकारी संस्थाले राष्ट्रिय वित्तीय परिचालनको २२ प्र्रतिशत जति हिस्सा ओगटेका छन् । यसबाट ७० हजार जतिलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको देखिए पनि आर्थिक उत्पादन र अप्रत्यक्ष रोजगारीमा योगदान ठूलो छ, जुन राष्ट्रिय लेखामा समेटिएको छैन । सेवा विविधीकरण र विस्तारका साथै प्रविधिमैत्री पनि बन्दै गएका छन् ।
संस्था र अभियानले सधैँ सहजता भोग्दैनन्, न प्रोत्साहन नै त्यही रुपमा अपेक्षा गर्नु उचित हुन्छ । सहकारी विस्तारको चरण कतिपय कोणबाट सजिलो थियो । सरकारबाट पनि प्रोत्साहन र हौसला यस चरणमा पाउनु स्वाभाविक थियो । विस्तारको चरणमा सहकारीका मूल्य, मान्यता र सिद्धान्तबाट संस्थाहरू केही विचलित हुँदा पनि निगरानीभन्दा परामर्श सहयोग पाएको हुनसक्छ । तर अब अभियानले गुणात्मक मोड समाउनुपर्ने अवस्था आएको छ । किनकि अभियान परिपक्व र संवैधानिक मान्यतामा पुगिसकेकाले सैद्धान्तिक, नैतिक र संवैधानिक दायित्व पूरा गरेर मात्र सहकारी आन्दोलन नेपाली आर्थिक सामाजिक अभियानको उदाहरणीय सहयात्री बन्न सक्छ । त्यो पुष्टि गर्ने नैतिक दायित्व पनि सहकारी अभियानमा छ । कतिपय सहकारीहरू स्थापित सिद्धान्त र घोषित नीति कानुनबाट विषयान्तर छन् । व्यवसाय सञ्चालन, कारोबार, सदस्य व्यवहार, व्यवस्थापन परिपाटी, लेखापरीक्षण, साधारणसभा, कोष व्यवस्थापन, सदस्य पहिचान, निर्देशन पालन, प्रतिवेदन, सूचना प्रकाशनलगायतका सवालमा त्यो देखिएको छ । सदस्यकेन्द्रित व्यवसायबाट सदस्यहित र आपसी सहयोग विस्तार देखिनुपर्नेमा नाफाजन्य, गैरसदस्य एवं अनौपचारिक कारोबार (कतिपय अवस्थामा कृत्रिम कारोबार पनि) जस्ता कार्यहरू देखिन थालेका छन् । नाफामा सहभागी हुन नहुने, बाह्य सहयोगको अपेक्षा गर्न नहुने, गैर सदस्यसँग कारोबार गर्न नहुने, आर्जित प्रतिफल सदस्यहित र साझा सम्पत्ति सिर्जनामा उपयोग गर्नुपर्ने, सकारात्मक कार्य गर्नुपर्ने, आन्तरिक रुपमा स्वयं जवाफदेहिता निर्वाह र बाह्य रुपमा सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने कार्यहरूमा गम्भीर प्रश्न उठ्न थालेका छन् । संस्थाको कारोबारमा सदस्य अनभिज्ञ रहने, संस्थाले सदस्यसँग कारोबार गर्दा सदस्यको बास उठ्ने र संस्थाभित्र नियन्त्रण र सन्तुलनको संयन्त्र नै क्रियाशील नहुने पवृत्तिले विधि र सुशासनमा रहेका संस्थाहरू पनि बेचैनीमा परेका छन्, जसले सहकारीलाई सहकारी भन्न नै नसकिने हो कि भन्ने स्थितिमा पनि पु¥याएको छ ।
सहकारी व्यवसायको विकास, प्रवद्र्धन, बजारीकरण र सुशासनलगायतका कार्य गर्न गठित तीन सय ३५ जति सहकारी सङ्घ आफूमा आबद्ध संस्थाहरूलाई सिद्धान्त र मूल्यअनुरुप चलाउन क्रियाशील हुनु एकदमै जरुरी छ, जुन अपेक्षित रुपमा देखिएको छैन । सङ्घहरू आफैँ व्यवसायमा पनि संलग्न हुने र राजनीति पनि गर्ने प्रवृत्तिले सङ्घहरूको भूमिकामा पुनर्बोधको माग गर्दछ । स्थानीय, प्रदेश तथा सङ्घीय तहका नियामक संस्थाहरूमा नियामक क्षमताको न्यूनता र बुझाइको अस्पष्टताले पनि सहकारी अभियानलाई राइट ट्र्याकिङ गर्न सकिएको छैन । परिणामतः हरेक आयाममा उदाहरणीय बन्नुपर्ने सहकारी आलोचनाको भुमरीमा परेको छ ।
राष्ट्रिय अर्थतन्त्र नवउदारवाद र विश्वव्यापी अन्तरआबद्धताका अभिन्न भाग हुन् । विश्वअर्थतन्त्रमा आउने उतारचढाव र वित्तीय झट्काबाट राष्ट्रिय अर्थतन्त्र चाहेर पनि अलग रहन सक्दैन । समय समयमा देखिएका महामारी, सामाजिक द्वन्द्व र बजार विकृतिका मारबाट पनि राष्ट्रिय अर्थतन्त्र अलग रहन सक्दैन । यस परिवेशमा सहकारीजस्ता स्थानीय आर्थिक सङ्गठनबाट स्थानीय सम्भावना, स्रोत तथा श्रमको उन्नयनबाट हाम्रो अर्थतन्त्रको जगलाई बलियो बनाई ‘सक एब्जर्भिङ’ क्षमता विकास गर्न, अझ भनौँ स्वावलम्बनमुखी आर्थिक–सामाजिक आधार निर्माण गर्न सहकारी गतिलो पात्र बन्नसक्छ । यसका लागि विकास भएका नवीन सहकारी अवधारणाअनुरुप सहकारी सिद्धान्त र आदर्शलाई फराकिलो पार्न सकिन्छ ।
(लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ ।)