यमबहादुर दुरा
कोरोना भाइरस (कोभिड–१९) ले जनजीवनमा पीडादायी वास्तविकता पस्किरहेको बेला अर्को पीडादायी दृश्य हाम्रासामु देखापरेको छ । त्यो हो, नेपाल–भारत सीमामा अलपत्र बन्न पुगेका नेपाली । सरकारले ‘लकडाउन’ घोषणा गरेको हप्ता दिनभन्दा बढी बितिसक्दा पनि उनीहरू नेपाल–भारत सीमामै अलपत्र परेका समाचार आइरहेका छन् ।
यस क्रममा भरतको पिथौरागढबाट आएका कतिपय प्रवासी नेपाली नाका नखुलेपछि ज्यान हत्केलामा राखेर महाकाली नदीमा पौडिएर नेपाल भित्रिएको समाचार आयो । आफ्नै मातृभूमि प्रवेश गर्न पनि महाभारत झेल्नुपरेको यो दुःखदायी अवस्थाले कताकता खल्लो अनुभूति गराउँछ ।
यद्यपि यो असाधारण परिस्थिति हो । यसलाई त्यही अनुरूप बुझ्नुपर्ने हुन्छ तर यही बहानामा प्रवासी नेपालीको मानवीय पीडालाई बेवास्ता गर्न मिल्दैन । उनीहरूले झेल्नुपरेका दुःखमा मानवीय संवेदनाका अनेकन् आयाम जोडिन आइपुग्छन् । प्रवासी नेपालीले हाल भोग्नुपरेको सास्तीबारे प्रसङ्ग उठाउँदा नेपाल र भारतबीच विद्यमान ‘केमेष्ट्री’ बारे पनि कुरा गर्नैपर्ने हुन्छ । दुवै देशबीच जनस्तरको सम्बन्ध छ । नेपाल र भारतबीचको सम्बन्ध नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर लामो सीमारेखा छ ।
भौगोलिक हिसाबले तीनतिरबाट घेरिएको भारतसँग नेपालको शताब्दीऔँ लामोे सम्बन्ध छ । नेपाल र भारतबीच विद्यमान सामाजिक, सांस्कृतिक, आर्थिक र भूराजनीतिक सम्बन्धको गाथा गहिरो छ । यससँगै जोडिएको ‘रोटीबेटीको सम्बन्ध’ ले दुई देशबीचको सम्बन्धमा न्यानोपन थपिरहेको छ ।
एकातिर यी दुई देशबीच दरिलो सामाजिक तथा सांस्कृतिक सम्बन्ध छ भने अर्कोतिर खुला सिमाना । त्यसमा पनि सन् १९५० मा सम्पन्न नेपाल र भारतबीच ‘शान्ति तथा मैत्री सन्धि’ ले दुई देशका नागरिकबीच एक–अर्को देशमा आवतजावत गर्न छेकथुन नहुने व्यवस्था गरेको छ ।
यही आधारमा नेपालमा असङ्ख्य भारतीय नागरिक कार्यरत छन् भने भारतमा पनि असङ्ख्य नेपाली विभिन्न पेशा र व्यवसायमा छन् । नेदरल्याण्डस्थित ‘इन्स्टिच्युट अफ सोसल स्टडिज’ ले गरेको एक अध्ययन अनुसार भारतमा मात्रै ५० देखि ७० लाख नेपाली छन् । यो एउटा मोटो अनुमानमात्र हो ।
यसलाई अझ सूक्ष्म किसिमले हेर्ने हो भने त्यहाँ रहेका नेपालीलाई विभिन्न वर्गमा विभाजन गर्न सकिन्छ । जस्तै ः प्रवासी मजदुर, चौकीदार, विद्यार्थी, गोर्खा सैनिक, व्यापारी, पारिवारिक सम्बन्ध भएका व्यक्तिका समूह आदि । भारतमा रहेका नेपालीको वर्गलाई सङ्ख्यात्मक दृष्टिले हेर्ने हो भने प्रवासी मजदुरको सङ्ख्या बढी देखिन्छ । प्रवासी मजदुरको झुण्डलाई अझ टुक्र््याएर हेर्ने हो भने मौसमी प्रवासी मजदुरको सङ्ख्या उल्लेखनीय हुन आउँछ । ‘सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी’ ले गरेको एक अध्ययनअनुसार भारतमा आठ लाख मौसमी प्रवासी मजदुर छन् । यस्ता मौसमी प्रवासी मजदुर मूलतः पश्चिम नेपालका नागरिक हुने गरेको तथ्याङ्कले देखाउँछ ।
पेशागत सुरक्षा र अन्य दृष्टिले मौसमी प्रवासी मजदुर सबैभन्दा नाजुक वर्ग हुन् । खाने–बस्ने ठेगाना नभएको र ज्यालादारी प्रकृतिको कामबाट जीवन गुजारा गर्नुपर्ने यो वर्ग असाधारण परिस्थिति पैदा हुँदा सङ्कट भोग्नेमा अग्रपङ्क्तिमा पर्छन् । अहिले कोरोना भाइरसले निम्त्याएको असाधारण परिस्थितिमा यही वर्गले बढी हैरानी खेप्नुपरेको देखिएको छ ।
कोरोनाको प्रकोप बढ्दै गएपछि संसारका अन्य भागमा जस्तै भारतमा पनि उद्योगधन्दा बन्द भए, जसबाट धेरै प्रवासी मजदुरको रोजीरोटी गुम्यो । उनीहरूको खाने–बस्ने ठेगाना रहेन । भारतका विभिन्न सहरमा कार्यरत ती प्रवासी मजदुर घर फर्किन बाध्य भए । बाटोमा आउँदा आउँदै नेपाल र भारतले ‘लकडाउन’ घोषणा गरे ।
‘लकडाउन’ घोषणा हुनुभन्दा अघिदेखि नै भारतका विभिन्न प्रान्तमा रहेका नेपाली लामो दूरी तय गर्दै मातृभूमि फर्किने क्रममा थिए तर मातृभूमि टेक्न नपाउँदै हजारौँ नेपाली दिल्ली र भारतका अन्य भागमा अलपत्र परे । कतिपयले लामो पैदलयात्रा तय गरेर सीमावर्ती क्षेत्रमा आइपुगे । नेपाली र भारतीय प्रशासनबीच समन्वय र संयोजनपछि ठूलो सङ्ख्यामा रहेका नेपालीले जसोतसो मातृभूमि टेक्न पाए ।
त्यसपछि पनि समस्याको शृङ्खला रोकिएन । उनीहरूको समस्या राष्ट्रिय सङ्कटसँग जोडिन पुग्यो । सिङ्गो विश्व कोरोना भाइरसको महामारीबाट हायलकायल भएको अवस्थामा स्वास्थ्यप्रति हरेक व्यक्ति संवेदनशील हुनुपर्ने अवस्था छ । यस दृष्टिले भारतबाट नेपाल छिर्ने प्रत्येक व्यक्तिको स्वास्थ्य परीक्षण हुनुपथ्र्यो तर भारतबाट आएकाहरूको स्वास्थ्य–अवस्थाबारे उचित ‘स्क्रिनिङ’ र जाँच नभएको समाचार आयो ।
ठूलो सङ्ख्यामा आएका व्यक्तिलाई सीमित स्रोत–साधनबाट ‘स्क्रिनिङ’ गर्न त्यति सहज थिएन । आवश्यकताअनुसारको पूर्वाधार तयार भइसकेको थिएन । अधिक सङ्ख्यामा रहेका व्यक्तिलाई ‘क्वारेन्टाइन स्थल’ को अभाव थियो । नियम अनुसार उनीहरूलाई १४ दिन ‘क्वारेन्टाइन’ मा राख्नुपथ्र्यो, राखियो ।
विडम्बनावश कतिपय व्यक्ति ‘क्वारेन्टाइन’ स्थलबाट गुपचुप भागेका अर्को भयानक समाचार आयो । ती व्यक्ति कोरोना सङ्क्रमित रहेछन् भने उनीहरूले घरगाउँमा फैलाउन सक्ने सङ्क्रमण कति खतरनाक होला ? योे अकल्पनीय स्थितिको भर्पाइ कसरी होला ? एकातिर भारतबाट घर फर्किने प्रवासी मजदुरले भोग्नुपरेका हैरानी अर्कोतिर उनीहरूबाट जनस्वास्थ्यमा पार्न सक्ने गम्भीर खतरा । यी दुवै कुरा देशका लागि सुखद होइन ।
प्रवासी मजदुरको आगमनले जन्माएको यो पीडादायी अध्यायले एउटा भयानक राष्ट्रिय जिम्मेवारी सम्झाएको छ । त्यो हो— देशको अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र होइन, देशको सीमा नाकामा पनि ‘स्क्रिनिङ’ लगायतका तमाम पूर्वाधार अविलम्ब खडा गरी काम अघि बढाइनुपर्छ । हवाई यात्रुको मात्र होइन, स्थलमार्गबाट आवतजावत गर्नेहरूको पनि डिजिटल अभिलेख राख्ने व्यवस्था मिलाइनुपर्छ । यसो गर्दा आवश्यक परेको बेलामा अभिलेख हेरेर मानिसको आगमनलाई अनुगमन गरी ट्र्याक गर्न सजिलो हुन्छ ।
नेपाल र भारतबीच खुला सीमाना भए पनि दुई देशका नागरिक आवतजावत गर्ने विषयमा भारत बढी संवेदनशील देखिन्छ । उसले सीमा भएर आवतजावत गर्नेहरूको कडा ‘स्क्रिनिङ’ गरेको पाइन्छ । नेपालले भारतबाट पाठ सिक्नुपर्छ ।
नेपालले पनि नागरिकलाई दुःख दिन नभई स्थलमार्गबाट आवतजावत गर्नेहरूको यथार्थ विवरण राख्नका लागि ‘डिजिटल स्क्रिनिङ’ को व्यवस्था गर्नुपर्ने खाँचो छ । यो काम यथाशक्य छिटो र प्रभावकारी किसिमले गर्नुपर्ने अवस्था छ । हवाई यात्रुको विवरण राख्न तुलनात्मक रूपमा सजिलो छ । नेपालको अध्यागमन विभागमा नेपालबाट भित्रिने वा बाहिरिने यात्रुको तस्बिर खिचेर राख्नेसम्मको प्रविधि छ । अब सीमा नाकामा यस्तो व्यवस्था गर्न आवश्यक छ ।
खुला सिमाना भएको देशमा यस्तो व्यवस्था मिलाउन सजिलो छैन तर काम जति नै असजिलो भए पनि देश र नागरिकको सुरक्षाका लागि यस्तो व्यवस्था गर्नैपर्ने भएको छ । समयले यसलाई अपरिहार्य आवश्यकताको रूपमा परिभाषित गरिसक्यो । सीमा नाकामा डिजिटल अभिलेख राख्न सकिएको भए ‘क्वारेन्टाइन’ स्थलबाट गुपचुप भागेका व्यक्तिलाई ट्र्याक गर्न सजिलो हुन्थ्यो ।
यसबाट नागरिकको स्वास्थ्यमा उत्पन्न हुनसक्ने खतरा टार्न सकिन्थ्यो । भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । यसले त्रासको वातावरण पैदा गरेको छ । त्यहाँबाट आएका व्यक्तिबाट फैलिन सक्ने कोरोनाको सङ्क्रमण शिरमाथिको तरबार जस्तै हुन पुगेको छ ।
यी तमाम परिस्थितिले सीमा नाकामा डिजिटल अभिलेख राख्नुपर्ने खाँचोको ग्राफ उकालो लागेको छ । यसले सीमा वारपार हुनसक्ने अपराध, सङ्क्रामक रोगको विस्तारजस्ता अहितकारी पक्षलाई नियन्त्रण गर्न सहयोग गर्छ । अहिले विकसित घटनाक्रमबाट हामीले पाठ सिक्नुपर्छ । यही आधारमा भावी कदम चाल्नुपर्छ ।
(लेखक पत्रकारिता अध्यापन गर्नुहुन्छ ।)