कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने सम्भावना औँल्याउँदै नेपाल तथा भारत सरकारले सीमाक्षेत्रबाट हुने खुला आवतजावत नियन्त्रण गरेका छन् । खुला सिमानाका कारण नेपाल–भारत दुवैतिर लकडाउन पालनामा केही समस्या परेको छ । दुवै देशका हजारौँ नागरिक बिना अभिलेख आउजाउ हुने परम्परा भएकाले सीमा बन्द गरिए पनि आ–आफ्ना नागरिक स्वदेश जान लाम लागेकाले सुरुका दिन परिस्थिति केही समस्याग्रस्त देखिएको थियो । हाल क्रमशः दुवैतिरबाट उनीहरूको व्यवस्थापन गरिँदै आएको छ । भावनात्मक संवेदनाले मात्र सङ्क्रमणको समस्या समाधान नहुने भएकाले सबै प्राविधिक तयारीका साथ उनीहरूको व्यवस्थापन गरिएको छ । नेपाल सरकारलाई थाहा छ– प्रत्येक नेपाली जो जहाँ परदेशमा रहे भएका भए पनि सुखदुःखमा आफ्नो घरदेशमा आउन, सुखदुःख बाँड्न पाउनु उनीहरूको स्वाभाविक चाहना र अधिकार हो । देश पनि ठूलो समुदाय भएकाले समुदायमा त्यसका सदस्यले सुरक्षाको अनुभूति गर्छन् । ‘हामी’ को भावना प्राप्त गर्छन् । त्यसैले नेपाली स्वदेशतिर फर्केका हुन् । नेपाललगायत विश्वका सरकारले यस्तो सत्य नबुझेर वा नजानेर लकडाउन गरेका होइनन् तथापि लकडाउनले विश्वका नागरिकको जनजीवन कष्टकर भएको छ । आफ्नै घर, समुदाय वा देशभित्र रहेकालाई त समस्या छ भने विदेशमा रहेका अनि स्वदेश सम्झेर सीमानाकासम्म आएर पनि यता प्रवेश गर्न नपाएकाहरूको मनोविज्ञान कति संवेदनशील होला ? भावुक बन्न सकिन्छ ।
यही भावुकता अनि अधिकारका शास्त्रीय व्याख्या पे्ररित भएर कुनै पनि नागरिक आफ्नो मुलुकमा प्रवेश वा हिँडडुल गर्न नपाउँदा नागरिक अधिकार कुण्ठित भएको तर्क पनि आएका छन् । कानुनमा जेजस्ता प्रावधान भए पनि अहिले कुनै एकको होइन, सबैको बाँच्न पाउने अधिकार सुरक्षित गर्नुपर्ने कार्यलाई नेपाल सरकारले उच्च महत्व दिएकाले यस्ता अप्रिय निर्णय अन्ततः जनहितमा लक्षित छन् भनेर विश्वस्त हुन आवश्यक छ । प्राविधिक समस्यामा भावना र कानुनभन्दा पनि आइपरेको समस्याबमोजिम निर्णय लिनुपर्ने हुन्छ, जो सरकारले गरेकै छ । यतिखेर नेपाल–भारत सिमानामा रहेका दुवै देशका नागरिकको व्यवस्थापनमा दुवै देशका स्थानीय प्रशासनले एकआपसमा सुरक्षित राख्ने प्रयास गर्दै आएका छन् । कतिपय नाकामा दुवै देशका नागरिकलाई क्वारेन्टाइन बनाएर राखिएको छ । नेपालको सीमावर्ती बजार सुनौलीमा अलपत्र भारतीयलाई नेपालतर्फ व्यवस्थापन गरिएको छ । नेपालमा भएका भारतीय नागरिकलाई नेपाल र भारतमा अलपत्र परेका नेपालीलाई भारतले व्यवस्थापन गर्ने सहमतिपछि नेपालमा रहेका १५६ भारतीय नागरिकलाई भैरहवामा निर्मित क्वारेन्टाइनमा राखिएको छ । सिद्धार्थ नगरपालिकाले क्वारेन्टाइनमा रहेका भारतीयको खानपानको व्यवस्था गरेको छ सुरक्षाको व्यवस्था भने नेपाली सेनाले गरेको छ । भारतका विभिन्न स्थानबाट भैरहवा आएका नेपालीलाई सिमानामा रहेका भारतीय व्यापारी तथा स्थानीय भारतीयले खानेबस्ने व्यवस्था मिलाएका छन् । नौतनवास्थित भारतीय अधिकारीको संलग्नतामा भारतीय सीमाक्षेत्रमा आइपुगेका नेपालीलाई सहयोग गरिएको छ । यस्तै महाकाली नदीपारि आइपुगेका नेपालीलाई भारतीय पक्षले नै व्यवस्थापन गर्दै आएको छ र आवश्यक सहयोग गर्न नेपाली पक्ष तयार छ ।
नेपाल–भारतको सम्बन्धलाई विशेष बनाउन यहाँको खुला सिमाना, समान हावापानी, समाज संस्कृति, दैनिक जीवनमा हुने व्यापारिक–समाजिक अन्तरक्रिया प्रमुख छन् । चीनमा देखिएको कोरोनाको सङ्क्रमण विश्वमा फैलिएकाले नेपाल–भारतजस्तो खुला सिमाना भएका एक देशमा सङ्क्रमण नियन्त्रण गर्न अर्को देशमा पनि नियन्त्रित हुनुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो परिवेशमा सीमाक्षेत्रमा अलपत्र दुवैतिरका नागरिकको स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइनमा मानवोचित व्यवस्थापन गर्न दुवै देशको उच्च राजनीतिक तहमा पहल हुनु वाञ्छनीय छ । जहाँसम्म दुवै देशका नागरिकले निर्बाध रूपमा आ–आफ्ना देशमा प्रवेश पाउनुपर्छ भन्ने माग छ यो स्वाभाविक भए पनि केही दिनको क्वारेन्टाइनमा राखेर उनीहरूलाई सुरक्षित रूपमा घरगाउँ पठाउन सकियो भने उनीहरू मात्र होइन उनीहरूको परिवार, समुदाय र देशलाई नै सुरक्षित गर्न सकिनेछ । घर पुग्नुमात्र प्रमुख कुरा होइन उनीहरूका परिवार र समुदायलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने मूल मुद्दा हो । यस्तो जिम्मेवारीलाई भावना, संवेग वा कानुनभन्दा पनि व्यावहारिक र परिस्थितिजन्य विवेकद्वारा निर्वाह गर्नु बुद्धिमत्ता हुनेछ ।