एकप्रसाद दुवाडी
विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ लाई विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरेको छ । चीन हुँदै फैलिएको यो महामारीले अहिले युरोपेली देशहरू र अमेरिकालाई नराम्ररी प्रभावित बनाएको छ । सबभन्दा बढी प्रभावित इटाली, स्पेन, फ्रान्स यो महामारीबाट पार पाउन प्रयास गर्दैछन् । यद्यपि चीनको छिमेकी अनि विश्वमा सबभन्दा धेरै सम्पर्क रहेको जापानमा यसको प्रभाव अन्य देशभन्दा कम परेको देखिन्छ । चीनबाट गत जनवरीमा डायमण्ड प्रिन्सेस लक्जरी जहाज त्यता गएकाले धेरै जनाले अनुमान गरेका थिए कि अहिलेका युरोपेली देशहरूको जस्तै चरणमा जापान पुग्ने थियो तर त्यस्तो भएको छैन । जति छिटो युरोप अमेरिकातिर महामारी फैलियो, जापानमा त्यस्तो भएन । यद्यपि दुई, तीनयता सङ्क्रमितको सङ्ख्या बढेको देखिन्छ ।
अहिले पनि जापानीहरू दैनिक अफिस जान्छन् । सबै आवश्यक सेवा दिन्छन् । कुनै रेस्टुरेन्ट पनि बन्द छैनन् । कुनै मल बन्द छैनन् । कुनै तालाबन्दी छैन । मेट्रो ट्रेनहरू सामान्य रूपमा सारिन्छ । बुलेट ट्रेनहरू सामान्य गतिमा चल्दै छन् । जापानमा इटालीभन्दा ज्येष्ठ नागरिकको उच्च प्रतिशत छ । टोकियोमा विदेशीको सङ्ख्या बढी छ । टोकियो एक धेरै राम्रो विदेशी पर्यटक आकर्षण केन्द्र हो । केही युरोपेली देश बाहेकका विदेशीलाई अझै भित्र प्रवेशको अनुमति छ । टोकियो विश्वको सबभन्दा घना सहर हो र यसलाई राम्ररी नियन्त्रण राखिएको छ । सामान्य जीवन जस्तै बिताइरहेका उनीहरू विश्वमा डढेलो जसरी फैलिएको कोरोना भाइरस सङ्क्रमणको समाचारहरू पाउँदा डराउँछन् ।
वास्तवमा अलग संस्कृतिले गर्दा जापान महामारीबाट त्यति प्रभावित नभएको हो । कोरोना भाइरस रोकथाम गर्न जुन सुझाव विश्वभर दिइएका छन् ती नियम जापानीहरूले बाल्यकालदेखि नै अभ्यास गरिरहेका छन् । ती नियम यसप्रकार छन् ः
१. जापानमा मानिसले यात्रा गर्दा वा बाहिर आउँदा प्रायः मास्क लगाउँछन् । उनीहरूले थोरै मात्र चिसोले समातेका बेला मास्क लगाएका हुन्छन् । तिनीहरूको यो चलनले कोरोनाको प्रसारलाई रोक्न मद्दत ग¥यो ।
२. सामान्यतया कुनै सार्वजनिक ठाउँमा काम गर्ने व्यक्तिहरू जस्तै रिसेप्सनिस्ट, सरकारी अधिकारीहरू, डाक्टर, नर्स, स्टेशन मास्टरहरू, ट्रेन स्टाफ, पुलिस, चौकीदारले काममा हरेक दिन मास्क लगाउँछन् । जाडोमा बच्चाहरूलाई दिनहुँ मास्क लगाउने बनाउँछन् यसले गर्दा चिसो लाग्दा उनीहरूलाई रुघाले हैरान नपारोस् । हरेक घरमा मास्क बक्सहरू हुन्छन् । उमेरअनुसार बच्चाहरूका लागि पनि ठिक्क हुने मास्कहरू घरघरमा राखिन्छ ।
३. जापानीहरू यस्तो जीवन बिताउँछन् जहाँ उनीहरू अरुलाई चिन्ता, हैरान पार्दैनन् । उनीहरू केही पनि फोहोर गर्दैनन् । तिनीहरूले फोहोर फाल्न र थुक्न डस्टबिन मात्र प्रयोग गर्छन् । सरसफाइ तिनीहरूको संस्कृतिको एक हिस्सा हो । उनीहरूलाई स्कुलमा अक्षर सिक्नुअघि स्वच्छता र सार्वजनिक व्यवहार कसरी गर्ने भनेर सिकाइएको हुन्छ ।
४. उनीहरू हात मिलाउँदैनन् तर अभिवादनका लागि निहुरिन्छन् ।
५. त्यहाँ हात धुनु सस्कृतिको एक हिस्सा हो । सार्वजनिक शौचालयहरू, कार्यालय प्रवेशद्वार र सामान्यतया सबै सार्वजनिक स्थानमा साबुन र सेनिटाइजर राखिएको हुन्छ ।
६. सेनिटाइजरको प्रयोग एकदम सामान्य छ जसले भाइरसको फैलावटलाई रोक्छ । यसअगाडि सेनिटाइजर कहिल्यै पनि प्रयोग नगरेकाहरूले पनि विगत दुई महिनादेखि यसको प्रयोग गर्दैछन् ।
७. कार्यालय प्रवेश गर्न‘भन्दा पहिले, लिफ्टको प्रयोग गरेर जाँदा पनि सेनिटाइजरको प्रयोग गर्ने प्रयास गरिरहेका छन् ।
८. शौचालयमा जाँदा आफ्ना हात मात्र धुँदैनन्, कम्बोड क्षेत्र पनि सफा गर्दछन् यसले गर्दा अर्को व्यक्तिलाई यो प्रयोग गर्न सजिलो होस् । यो अभ्यास सार्वजनिक मेट्रो स्टेशनमा पनि सामान्य हो ।
९. उनीहरू ओसिलो टिस्यु प्याकेट बोक्छन् र आफ्ना हात सफा गर्न बारम्बार बाहिर जान्छन् ।
१०. तिनीहरू सामान्य रूपमा सबैसँग सामाजिक दूरी बनाउँछन् ।
माथिका जापानी चालचलनले गर्दा सम्पूर्ण विश्व बन्द भइसक्दा पनि जापानलाई सामान्य रूपले बाँच्न मद्दत गरेको छ । यसका लागि धेरै साधना चाहिन्छ । यी सबै नियम नेपाली संस्कृतिका अभिन्न अङ्ग होइनन् तर हात धोएर, बाहिर गएका लुगा फेरेर चोखो (धोएको, सफा) लुगा लगाएर खानेजस्ता परम्परा नेपालमा पनि नभएको होइन । अनि जापानीको संस्कृति बनेका यी असल व्यवहार हामीले पनि अँगाल्न नमिल्ने भन्ने होइन ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)