डा. कुन्दन अर्याल
संयुक्त राज्य अमेरिकाका सञ्चारविज्ञ प्राध्यापक फिलिप मेयरले एघार वर्षअघि गहिरो अध्ययनका आधारमा आँकलन गरेका थिए, सन् २०४४ को मार्च महिनासम्म पुग्दा अखबारका पाठक शून्यमा पुग्नेछन् । उनले आफ्नो चर्चित पुस्तक द भ्यानिसिङ न्यूजपेपरमा सन् १९६० देखिको अमेरिकी अखबारहरूको प्रसार सङ्ख्याको अध्ययनका आधारमा वैज्ञानिक ढङ्गले यस्तो निष्कर्ष प्रस्तुत गरेका थिए । तर कोभिड–१९ को विश्वव्यापी महामारीले अखबारहरूलाई झण्डै अढाई दशक अगावै एउटा कठिन मोडमा ल्याइपु¥याएको छ ।
अखबारबाट कोरोना भाइरसको सङ्क्रमण हुँदैन तर कोरोनाको आतङ्कबाट बच्दै अखबारहरूलाई घरघरमा पु¥याउने समस्या छ । अझ सारा विश्वको यावत् आर्थिक गतिविधि रोकिएको यो अवस्थामा आर्थिक सङ्कटले पनि कस्दै लगेको छ । राजकीय मामिलादेखि मानव समाजका हरेक व्यवहार अब कोरोना भाइरसबाट बच्ने उपायको खोजी र अवलम्बनमै सीमित हुन पुगेको छ । समाचारका सामग्री र विश्लेषणका विषयवस्तुको विविधतामै खडेरी लाग्न थालेको छ । मानव रुचिको दायरासमेत केवल कोरोनाजन्य विषयवस्तुमा खुम्चिन पुगेको छ । त्यसैले विश्वभरको पत्रकारिताले यतिखेर विगतका दुई महायुद्धको कालखण्डभन्दा पनि कठिन चुनौतीको सामना गर्नुपरेको देखिन्छ । त्यसबेलाभन्दा फरक के छ भने अहिले हामीसँग इन्टरनेटमा आधारित सूचना महामार्ग छ ।
यो महामार्ग कालान्तरमा छापा माध्यमका लागि चुनौती हुने भविष्यवाणी भएकै थियो । अहिले तत्कालका लागि भने यसैले पत्रकार वा पत्रकारिताका संस्थालाई अन्तर्वस्तु पस्किने प्रभावकारी, सहज र सुरक्षित माध्यम उपलब्ध गराएको छ । अनलाइन माध्यमबाट आममानिसका लागि सूचना वा विश्लेषण उपलब्ध गराउन सक्ने अवस्था नभएको भए पनि यतिखेर पत्रकारिता मरिहाल्ने त थिएन । तर सूचनाको यति द्रुत र व्यापक प्रसार सम्भव थिएन । आज हातहातमा अखबार पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्ने संसारभरका मानिस नयाँ–नयाँ मात्र होइन, तत्कालका सूचनाबाट समेत विमुख छैनन् । दक्ष र फुर्तिला पत्रकारहरूका लागि माध्यम फेरिँदै जान सक्छ, अन्तर्वस्तु माध्यमविहीन हुनै सक्दैन । साधनहरू नयाँ–नयाँ आउँछन्, सूचना र विश्लेषण एकैचोटी असङ्ख्य मानिससम्म पु¥याउने पत्रकारिताको धर्मको निर्वाह भइरहन्छ ।
मानव सञ्चारको विशिष्ट रूप पत्रकारिता हो । मानव सभ्यताका क्रममा इसापूर्व २० हजारदेखि १० हजार वर्षसम्म पहिले सङ्केत वा केही सीमित शब्द अनि भाषाको विकास भयो । इसापूर्व तीन हजार पाँच सय वर्षमा लिपिहरू विकसित भई समयसँगै परिमार्जित हुँदै गए । भोजपत्रमा अक्षरहरू लेखिन थालिएपछि अभिव्यक्तिको अझ प्रसार भयो । पहिले कागज र त्यसपछि पन्ध्रौँ शताब्दीको मध्यमा छापायन्त्रको विकास भएपछि मानव सभ्यताले ज्ञान र विमर्शको नयाँ युगमा पदार्पण ग¥यो । तर उन्नाइसौँ शताब्दीको मध्यसम्म पुग्न लाग्दा पनि सूचनालाई एक ठाउँबाट अर्को ठाउँसम्म पु¥याउनु कुनै सामानको ढुवानी गर्नु जस्तैजस्तै थियो । कतिपय ठाउँमा सानातिना चिठ्ठी ओसारपसार गर्न परेवाको प्रयोग गरिन्थ्यो तर भूगोल र समयको सीमा नाघ्दै सूचनाको प्रसार गर्न अमेरिकाका मोर्सले टेलिग्राफको आविष्कार गरेपछि मात्र सम्भव भयो । उन्नाइसौँ शताब्दीको त्यो आविष्कारले पश्चिमा जगत्मा आमसञ्चारलाई नयाँ उचाइमा पु¥यायो । समाचार संस्था र अखवारको विकासका लागि टेलिग्राफको योगदानलाई आजसम्म पनि महत्वका साथ स्मरण गरिन्छ । क्यानाडाली सञ्चारविज्ञ मक्लुहान टेलिग्राफ र टेलिफोनको विकाससँगै मानव सञ्चार इलेक्ट्रिक युगमा प्रवेश गरेका मान्दछन् । त्यसअघि सीमित अभिजात्य वर्गमा मात्र प्रसार हुने पत्रपत्रिकाको त्यही समयको हाराहारीदेखि नै व्यापक प्रसार हुन थाल्यो । यातायात, साक्षरता र राजनीतिक जागरणको विकासले पत्रकारितामार्फत हुने आमसञ्चारलाई समाजको अभिन्न र अन्योन्याश्रित अङ्गका रूपमा स्थापित ग¥यो । त्यसपछि बीसौँ शताब्दीको दोस्रो दशकसम्म पत्रकारिताको क्षेत्रमा छापामाध्यमको एकछत्र राज्य कायम रह्यो । समयक्रममा तत्कालीन अवस्थाका नयाँ मिडिया रेडियो र टेलिभिजनले सूचना–प्रसारको मुख्य मार्ग पत्रकारिताको क्षेत्रलाई अझ विस्तारित बनाउँदै लगे ।
आदिम मानिसका लागि सञ्चार व्यक्ति–व्यक्तिबीच वा एउटा सानो समूहमा एकै समय र एउटै भूगोलमा मात्र सीमित क्रियाकलाप थियो । लिपिको विकास भएपछि पनि सञ्चार त्यति व्यापक हुन सकेको थिएन । समयान्तरमा सञ्चारका विभिन्न माध्यमको विकास हुँदै गए । हरेक कालखण्डमा नयाँ माध्यमको विकाससँगै पुरानोमा केही परिमार्जन त भयो तर सबै किसिमका माध्यमहरू अघि बढ्दै गए । हरेक चरणले मानिसलाई अघिल्लोभन्दा अझ उन्नत अवस्थामा पु¥याउँदै लग्यो । आज हामी बहुमाध्यमको युगमा छौँ ।
आज मानव जातिकै लागि ठूलो चुनौतीका रूपमा उपस्थित कोरोनाका कारण संसारभरिका सहरहरूमा अखबार वा छापा माध्यमका बिक्री वितरण निकै घटेको छ । पत्रपत्रिकाका बिक्री हुने ठाउँहरू बन्द छन् । बेलायत र अमेरिकामा पनि कतिपय सहरी वा प्रदेशस्तरीय अखबारमा पत्रकारहरूले बिदा पाएका छन् र कैयौँ पत्रकारमाझ बेरोजगार हुनुपर्ने आशङ्का बढ्न थालेको छ । यातायातका साधनहरूमा निकै कटौती भएको छ र सुपर मार्केटहरूमा अखबार र म्यागेजिनहरूको आपूर्ति नगण्यप्रायः छ । विकसित देशका अखबारहरू खेलकुदका आयोजना र गतिविधि नभएपछि सामग्रीकै सङ्कटमा पुगेका छन् । पत्रपत्रिकाका ग्राहक स्वात्तै घटेका छन् ।
नेपालमा वि.सं. २०४६ पछि निजीक्षेत्रबाट सुरु भएको पहिलो ठूलो दैनिकले आफ्नो छापा संस्करण केही समयका लागि बन्द गरी डिजिटल संस्करणलाई निरन्तरता दिएको छ । साना अखबारहरू र काठमाडौँ बाहिरका अखबार बन्द भएका छन् । राजधानीको एक प्रतिष्ठित साप्ताहिक म्यागेजिनले पनि छापा संस्करणलाई कोरोनाकै कारण स्थगित गर्दै डिजिटल माध्यमबाट अन्तर्वस्तु पस्किन थालेको छ । संसारका कतिपय ठूला सहरहरूमा समेत पत्रपत्रिकाले विश्व स्वास्थ्य सङ्गठनलाई उद्धृत गर्दै न्यूजप्रिन्ट कागजले कोरोना फैलाउँदैन भन्ने कुराको जागरण समेत फैलाइरहेका छन् । तर वितरणको मात्र होइन, आर्थिक गतिविधि नै ठप्प भएका कारण ठूलो परिमाणमा विज्ञापनबाट हुने आर्जन पनि रोकिएको छ । यो समस्या द गार्जियन र न्यूयोर्क टाइम्सदेखि हाम्रो देशलगायत संसारभरका देशहरूको साझा समस्या हुन पुगेको छ ।
छापा माध्यमहरू बताइरहेका छन्– वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी विज्ञहरूले निक्र्योल गरिसकेका छन्् कि कुनै पनि अखबारका कागज, मसी वा छपाइ प्रक्रियाका कारण कोभिड–१९ को सङ्क्रमण हुँदैन । त्यसैले बरु सबै किसिमका आमसञ्चार माध्यमको प्रयोग गर्दै हरेक नागरिकले महामारीबाट बच्ने उपायका बारेमा जानकार रहनु उपयुक्त हुन्छ । विश्व स्वास्थ्य सङ्गठनकै अनुसार कुनै सङ्क्रमित व्यक्तिले छोएको अखबारलगायत कुनै पनि वस्तुबाट भाइरसको सङ्क्रमण हुने सम्भावना अत्यन्तै न्यून हुन्छ । किनकि यताबाट उता गर्ने क्रममा ती वस्तु फरक–फरक अवस्था र तापक्रममा पुग्दछन् । तर अहिलेको त्रासको परिवेशमा कागजमा छापिने अखबारहरूसँग पनि विश्वभरका मानिस केही न केही डराएकै छन् । अर्को कुरा, अखबार ओसारपसारमा पनि समस्या छ । त्यसैले मानिस इन्टरनेटको माध्यमले हातहातमा पुग्ने डिजिटल माध्यमका अन्तर्वस्तुमा आकर्षित भइरहेका छन् ।
शताब्दीऔँ पूर्व विकसित भाषाका परिमार्जित रूपहरूबाट हामी सञ्चार गरिरहेकै छौँ । कैयौँ शताब्दीदेखि अक्षरहरू लेखिँदै आएका छन् । कहिले भोजपत्र, कहिले कपडा र कहिले कागज हुँदै हामी स्क्रिनमा लेखिएका अक्षर पढ्दैछौँ । दूरसञ्चार र डिजिटल प्रविधिको सम्मिश्रणले हामीलाई आमसञ्चार सम्मिलनको यस्तो युगमा पु¥याइदिएको छ, जहाँ छापा, रेडियो र टेलिभिजन सबै अनलाइन हुँदै गएका छन् । सम्मिलनको यस्तो प्रवृत्तिले मानिसलाई सन्तुष्ट पारिरहेको छ । जुन माध्यमबाट तुलनात्मक रूपमा सस्तो र सुलभ ढङ्गले अन्तर्वस्तुसम्मको पहुँच स्थापित हुन्छ, त्यही माध्यमको बढी चलनचल्ती हुने गर्दछ । आमसञ्चार माध्यमको प्रयोग र सन्तुष्टिसम्बन्धी सिद्धान्तको मूल चुरो नै यही हो ।
नयाँ सहस्राब्दीको सुरुवात हुँदा नहुँदै विश्वभर उपलब्ध इन्टरनेटले समयक्रममा छापा माध्यमलाई विस्थापित गर्दै लैजानेछ भन्ने चर्चा परिचर्चा भइरहेकै थियो तर यति चाँडै अकल्पनीय अवस्था आइपुगेको छ । कतिसम्म भने, अमेरिकाको ओरेगन राज्यमा
द न्यूज रिभ्यू नामको एउटा अखबारको माथिपट्टि नै यस्तो व्यहोराको सम्पादकीय नोट छाप्न थालिएको छ ः कोभिड–१९ महामारीका समयमा पनि अखबार पढ्नु सुरक्षित छ । आशा गरौँ, यो चुनौतीलाई परास्त गर्दै हामीले फेरि सहज परिवेशमा चियाको सर्कोसँगै बिहानीको घाममा दुई हातमा फिँजाएर मजाले अखबार पढ्ने दिन अवश्य आउनेछ ।
(लेखक पत्रकारिता प्राध्यापन गर्नुहुन्छ ।)