logo
२०८१ मंसिर १४ शुक्रवार



समस्या होइन समाधान बनौं (सम्पादकीय)

विचार/दृष्टिकोण |




राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरस (कोभिड–१९) फैलिन नसकेको विचार व्यक्त गर्नुभएको छ । कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीकोे सन्दर्भमा देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो विचार व्यक्त गर्नुभएको हो । हालसम्म विदेशबाट आएका छजनामा मात्र कोरोनाको सङ्क्रमण देखिएको तर आन्तरिक सङ्क्रमण नफैलिएको यथार्थ हो । कोरोनाको सङ्क्रमण फैलिने सम्भावनाप्रति सजग भएर सरकारले यही महिनाको ११ गते मङ्गलबार बिहान ६ बजेदेखि यही चैत २५ गते बिहान ६ बजेसम्म लागू हुने गरी नेपालभर हिँडडुल तथा सार्वजनिक गतिविधि बन्द (लकडाउन) गरेपछि सर्वसाधारणको दैनिकीमा समस्या आउनु स्वाभाविक हो । सरकारद्वारा सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न उक्त आदेश जारी गरिएकाले नै सङ्क्रमण अरू देशमा जस्तो ‘डढेलो’ बन्न नसकेको यथार्थ हो । त्यसैले राष्ट्रपति भण्डारीले सरकारका सबै पहल जनताको स्वास्थ्य सुरक्षालाई केन्द्रबिन्दुमा राखेर भएकाले सबैले सरकारलाई सहयोग गर्दै आफूलाई सुरक्षित राख्न पनि आग्रह गर्नुभएको छ । नेपालमा आन्तरिक रूपमा सङ्क्रमण नदेखिए पनि बाहिरबाट सङ्क्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको बताउनुहुँदै राष्ट्रपतिले सतर्कता अपनाइएन भने
सङ्क्रमण फैलिन सक्ने भनी व्यक्त गर्नुभएको अभिभावकीय चिन्तालाई सबै नेपालीले संवेदनशील भएर ग्रहण गर्नुपर्छ । सबै नेपालीले सङ्कट समाधानमा व्यावहारिक पक्षलाई उच्च महत्व दिनुपर्ने हुन्छ । लकडाउनले विशेषतः श्रमजीवी वर्गलाई धेरै समस्या परेको छ । यो जगजाहेर विषय नै हो । त्यसैकारण सरकारले यी वर्गको पहिचान गरी तत्कालका लागि भरणपोषण केन्द्रित राहत वितरण गर्दै आएको छ भने भविष्यमा विभिन्न सहुलियत तथा सुविधा दिन सक्ने गरी अर्थ मन्त्रालयले समग्र आर्थिक क्षेत्रमा परेको प्रभावको वस्तुगत अध्ययन गरिरहेको छ । राष्ट्रपति भण्डारीले भन्नुभएजस्तै यो काम गर्ने र सुझबुझ राख्ने समय हो । भावनामा बगेर होइन, यथार्थवादी भएर सङ्क्रमण रोकथाम, नियन्त्रण, उपचार र निवारणमा सबै नेपालीले नेपाल सरकारले चालेका कदममा साथ दिन आवश्यक छ । विश्वकै अनुभवमा लकडाउन नै कोरोनाको सङ्क्रमण न्यूनीकरण गर्ने प्रभावकारी उपाय देखिएको छ । यो बाध्यकारी अवस्था पक्कै पनि प्रियकर हुँदैन, सरकार जानकार छ । त्यसैले यस्ता व्यवधानको समाधानमा विभिन्न कार्यक्रम घोषणा भएका छन् । यस्तो
अप्ठ्यारोलाई सहन गर्दै प्रत्येक नेपालीले आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन संयमित भएर घरभित्रै बस्नु नितान्त आवश्यक छ । घरभित्रै बस्ने कार्य राष्ट्रप्रतिको जिम्मेवारी, सरकारलाई सहयोग र आफ्नै पनि सुरक्षा हो भन्नेमा नागरिकको समर्थन अझ बढी आवश्यक परेको छ ।
जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नेपाल सरकारले दुई हप्ता पूरै देशमा लकडाउन गरेको छ । आवश्यकता अनुसार यस्तो निर्णय लम्बिन पनि सक्छ । सरकारसँग योभन्दा अर्को विकल्प छैन तर लकडाउनलाई केही खुकुलो र व्यावहारिक बनाउन सरकारले विभिन्न कदम चालेको छ । खासगरी कृषि र ठूला उद्योगमा परेका समस्या समाधान हुने गरी सुरक्षा विधिको पूर्ण पालना गरेर ती क्षेत्रका श्रमिकले काम गर्न सक्नेछन् । विश्वले कोरोना महामारीका कारण अकल्पनीय परिस्थितिको सामना गरिरहेको अवस्थामा नेपाल कुनै प्रभावमुक्त रहन सम्भव छैन । यस्तो अवस्थामा पनि अनावश्यक तर्क, संशय र विरोधका लागि विरोध गर्दा समस्या समाधानमा हुनुपर्ने साझा पहललाई दुरुह बनाउनेछ । सरकारका हरेक कामलाई अति शङ्कालु भएर हेर्न आवश्यक छैन । सरकार नागरिकको अभिभावक भएकाले उसले गरेका हरेक काम जनताको हितमा हुने गर्छन् भनेर विश्वस्त हुनैपर्नेछ । धेरै विरोध गर्ने, अव्यावहारिक हुने र कर्णप्रिय शब्दजालको खेती गर्नुभन्दा जो जहाँ छ उसले आफ्नो क्षमताअनुसार राष्ट्रिय जिम्मेवारी निर्वाहमा लाग्नु नै राष्ट्रप्रतिको योगदान हुनेछ । यो बेला हरेक व्यक्ति समस्या होइन, समाधान हुनुपर्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?