जुनारबाबु बस्नेत
इतिहासमा शायदै व्यहोर्न‘परेको कष्ट मानव सभ्यताले भोगिरहेको छ । दुईवटा महायुद्ध, सन् १९१८÷१९ को स्पेनिस इन्फ्लुयन्जा मानव सभ्यताका ठूला कष्ट थिए । तिनले दश करोडभन्दा बढी मानिसको ज्यान लिए तर ती कष्ट विश्वका सबै मुलुकमा पुगेको थिएन । निश्चित मुलुकहरू प्रभावित थिए । अहिलेको जस्तो विश्वव्यापीकरण त्यसबेला थिएन । कुनै परिघटनाले संसारलाई तत्कालै प्रभाव पार्ने अवस्था थिएन । तर तीन महिनाअघि चीनको हुबेई प्रान्तको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड १९) ले संसारका दुई सयभन्दा बढी मुलुकलाई प्रभावित बनाएको छ ।
यो कष्टबाट विश्वका सबैजस्तो जीवनमा खतरा उत्पन्न भएको मात्र होइन, विश्व अर्थतन्त्र नै नराम्रोसँग प्रभावित भएको छ । विश्वको एकतिहाईभन्दा बढी जनसङ्ख्या अहिले बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् । दुनियाँभर रोजगारी गुमाउनेको सङ्ख्या बढ्दैछ । बेरोजगारीको दुरुस्त तथ्याङ्क राख्ने संयुक्त राज्य अमेरिकामा अघिल्लो साता ३३ लाखले बेरोजगारी सूचीमा दर्ता गरेकोमा एक सातामै दोब्बर भएको छ । यो सङ्ख्या उच्च दरमा बढ्ने देखिएको छ ।
कोरोना भाइरसले अर्थतन्त्रलाई पार्ने प्रभावमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले प्रतिवेदन सार्वजनिक गरिरहेका छन् । एसियाली विकास बैङ्क (एडीबी) ले यो वर्ष एसियाको अर्थतन्त्रमा दुई दशमलव हाराहारीमात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यस्तो वृद्धिदर छ प्रतिशत हाराहारी हुनुपर्ने थियो । नेपालजस्ता अति कम विकसित मुलुकलाई कोरोना भाइरसको प्रभाव तीव्र देखिने भएको छ । आर्थिक वृद्धिदर पाँच प्रतिशतमै सीमित छ । महँगी चर्किंदैछ ।
नेपालमा कोरोना भाइरसको प्रभाव बढ्न थालेको छ । अहिलेसम्म नौ जनालाई सङ्क्रमण भएको छ । त्यसमा पनि आठ जना विदेशबाट आएकालाई सङ्क्रमण देखिएको छ । पछिल्लो एउटा घटना भने विदेशबाट नेपाल आएकाबाट घरपरिवारमा कोरोना सङ्क्रमण भएको छ । स्थानीय रूपमा कोरोना सङ्क्रमण भएको यो घटनालाई दोस्रो चरण भनिएको छ । तेस्रो चरणमा त्यस्तो बाहिरबाट आएको मानिसको सम्पर्कले व्यापक सङ्क्रमण हुन्छ भने चौथो चरणमा महामारीकै रूपमा सङ्क्रमण फैलिन्छ । इटाली, स्पेन, अमेरिका जस्ता देशहरू महामारीकै रूपमा कोरोना सङ्कट भोगिरहेका छन् । नेपाल दोस्रो चरणबाट माथि गए थेग्न कठिन हुन्छ ।
कोरोना प्रभाव तत्कालै अन्त्य हुने स्थितिमा देखिन्न । नेपाली अर्थतन्त्रमा यसको प्रभाव झनै जटिल हुने देखिँदैछ । बाहिरी मुलुकमा गएर काम गरी पठाएको पैसा–विप्रेषणले नेपालको अर्थतन्त्रमा ठूलो टेवा दिएको थियो । झण्डै आठ खर्ब रुपियाँ औपचारिक माध्यमबाट बर्सेनि विप्रेषण आउँथ्यो भने अनौपचारिक तवरले आएको विप्रेषणको कुनै लेखाजोखा थिएन । झण्डै ५० लाख नेपाली भारतबाहेकका तेस्रो मुलुकमा रोजगारी र अध्ययनका लागि पुगेका थिए । भारतमा रहेका नेपालीको कुनै तथ्याङ्क छैन तर दशौँ लाखको सङ्ख्यामा भारतमा नेपालीले रोजगारी पाइरहेका छन् ।
सबैतिरबाट अहिले नेपाल फर्किनेको चाप परेको छ ती अध्ययनमा गएका हुन् वा रोजगारीमा । भारतबाट नेपाल फर्किनेको ठूलै चाप छ भने रोजगार गन्तव्यमा पुगेका नेपालीको पनि अवस्था राम्रो छैन । कतिपयलाई कोरोना सङ्क्रमण भइसकेको छ भने कतिपय उच्च जोखिममा छन् । कतिपय बेरोजगार भइसकेका छन् । कतिपय सीमापारि नै जबरजस्ती क्वारेन्टाइनमा बस्नुपर्दा ठूलो असन्तुष्टि फैलिसकेको छ ।
विदेशमा रहेका नेपाली बेरोजगार हुने क्रम तीव्रतर रूपमा पैmलिएको छ । अस्टे«ेलियाका सरकार प्रमुखले नै त्यहाँ रहेका विदेशी विद्यार्थी तथा पर्यटकलाई सकभर स्वदेश फर्कनु राम्रो हुने सल्लाह दिइसकेका छन् । अस्टे«लियामा विद्यार्थी भिसामा गएर अध्ययन र रोजगारी गरिरहेका नेपालीको सङ्ख्या यकिन नभए पनि लाखौँ रहेको अनुमान छ । त्यहाँ रहेका नेपालीले दिनदिनै रोजगारी गुमाइरहेका छन् । त्यहीँ स्थायी बसोवास गर्ने नेपालीको अवस्था पनि राम्रो छैन । अमेरिका पनि सोही अवस्थामा छ ।
सबैभन्दा विकराल अवस्था खाडी तथा मलेसियामा रहेका नेपाली श्रमिकको छ । उद्योगधन्दा बन्द हुन थालेका छन् । सेवा क्षेत्र झनै तीव्रतर रूपमा प्रभावित भएको छ । होटल, रेस्टुराँ, यातायात क्षेत्र बन्द हुँदा बेरोजगार हुनेको सङ्ख्या दिनदिनै बढिरहेको छ । बाहिर यो अवस्था छ भने देशभित्र पनि स्थिति राम्रो छैन ।
यो जटिल अवस्था कति परसम्म जान्छ भन्ने अनुमान विश्वलाई छैन भने नेपाललाई हुने कुरै भएन । देशभित्रै रोजगार गुमाउनेको सङ्ख्या व्यापक भइरहेको छ । विश्वका सबैजसो सरकारले राहत घोषणा गरिरहेका छन् । नेपालले पनि रोजगारी गुमाउने अति विपन्न श्रमिकको परिवारको जिम्मेवारी लिनुपर्ने हुन्छ । लिने सङ्केत देखिन थालेको छ । हुन पनि बाहिरबाट आउने विप्रेषण कमी हुँदै जाँदा त्यसको अर्थतन्त्रमा चक्रीय प्रभाव पर्नेछ । सरकारी राजस्वमा पर्नेछ । सरकार पनि नागरिकलाई आर्थिक सहयोग गर्नसक्ने सहज अवस्थामा हुन सक्ने स्थिति छैन ।
देशभित्रै पनि सहरबाट यो बन्दाबन्दीमा गाउँ जानेको सङ्ख्या कम छैन । आवतजावात सहज हुने हो भने अझै ठूलो सङ्ख्या गाउँ पुग्नेछ । गाउँ पुग्नु भनेको कुनै न कुनै रूपमा कृषिसित जोडिनु हो । नेपालीको जरा कृषि हो । हाम्रा पुर्खाहरूले कृषिलाई उत्तम माने । त्यसपछि मात्र उद्यम र नोकरीलाई गनेका थिए । तर विस्तारै कृषिले प्राथमिकता पाउन छोड्यो । गाउँमा खेतबारी बाँझा थिए भने सहरमा रोजगारी खोज्नेको चाप थियो । विदेशमा रोजगारीका लागि जानेको चाप बढेको थियो । अध्ययनका नाममा रोजगारीका लागि विकसित मुलुक जानेहरू कम थिएनन् ।
कोरोना महामारीले एकपटक कृषिलाई सम्झाएको छ । औपचारिक तथ्याङ्कमा जनसङ्ख्याको ६५ प्रतिशत मानिस कृषि पेशामै आश्रित भएको देखाउँछ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान अहिले पनि २७ प्रतिशत थियो । उद्योगको अवस्था राम्रो नभए पनि सेवा क्षेत्रले विस्तारै शिर ठाडो गर्दै लगेर अर्थव्यवस्थामा सहयोग पु¥याएको थियो । तर उद्योग र सेवा क्षेत्र खतरामा परेका छन् । बाहिरबाट आएका युवाले अझ बेरोजगारीको चाप बढाउनेछन् । त्यसैले अब कृषिलाई पुनः ब्यँुताउनुको विकल्प देखिन्न ।
विश्वमै खाद्य सङ्कटको खतरा बढ्दै गएको छ र नेपाल अझै त्यस्तो उच्च खतरामा रहनेछ । कुनै बेला खाद्यान्न निर्यात गर्ने देश आयातमा निर्भर रहन थालेको थियो । विदेशबाट विप्रेषणले आयातमा आधारित अर्थतन्त्र बनाएको थियो । कृषि उत्पादन नाजुक बन्दै गएको थियो । अब कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था छ । बन्दाबन्दीको समयमा आफ्ना छोराछोरीलाई घरकौसी र करेसाबारीमा खेतकिसानी सिकाउने बेला पनि आएको छ । पढेलेखेका मानिसले खेतीपाती नगर्ने प्रवृत्ति व्यापक झाङ्गिएको थियो । अब त्यो प्रवृत्तिमा विराम लगाउने बेला आएको छ । विकसित अर्थतन्त्र पनि थला पर्ने अवस्थामा पुगेका बेला कृषि जीवन हो । सरकार, निजी क्षेत्र र सबै नागरिकले कृषिलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्दा मात्र हाम्रो भविष्य सुनिश्चित हुनेछ । खाद्य सङ्कट टर्नेछ । विदेशीको मात्र मुख ताक्नुपर्ने छैन । खेतबारी बाँझा भएको अवस्थामा सिँचाइ र बन्दोवस्तीका लागि सरकार जुर्मुराउनुपर्ने अवस्था तत्कालै
देखिएको छ ।
(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ ।)