logo
२०८१ मंसिर १४ शुक्रवार



बन्दाबन्दीमा कृषि कर्म (सम्पादकीय)

विचार/दृष्टिकोण |





विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने सम्भावना औँल्याउँदै सरकारले एक–एक हप्ता गरी तेस्रो चरणका लागि २०७७ को वैशाख ३ गतेसम्म बन्दाबन्दी (लकडाउन) गरेको छ । नेपालले सुरुमै लकडाउन गरेकाले अहिलेसम्म कोरोनाको महामारी फैलिन पाएको छैन, तथापि लकडाउनले मुलुकका सबै क्षेत्र थिलथिलो भएका छन् । पर्यटन, शिक्षा, कृषि, औद्योगिक, साना उद्यम कुनै यस्तो क्षेत्र छैन जुन यसकारण प्रभावित नभएका होउन् । विश्वव्यापी र राष्ट्रियरूपमा कोरोनाको कति मूल्य चुकाइएको छ भन्ने हिसाब पछि आउला । अहिले बाँच्न पाए, हाँस्न पाइनेछ भन्ने युक्तिलाई मनन् गरी सुखदुःख साँचेर राख्ने बेला हो । जीउ र बीउ जोगाउने बेला हो । यही सोचाइ वर्तमान पुस्ताको संस्मरण र आगामी पुस्ताका लागि इतिहास बन्नेछ । हामी कोरोनासँग लडिरहेका मात्र छैनौँ, यस सम्बन्धमा इतिहास पनि बनाउँदैछौँ । कोरोना उत्पत्ति भएको चीनले युरोपका केही देश र अमेरिकाको तुलनामा क्षति सीमित गरेर एउटा इतिहास बनाएको छ । दक्षिण कोरियाले एक महिनाको अवधिमा कोरोनाको महामारीलाई नियन्त्रणमा राखेर अर्को इतिहास बनाएको छ । यस्तै अबका केही हप्ता अहिलेकै अवस्था धान्न सके नेपालले पनि एउटा सुनौलो र सफल इतिहास बनाउनेछ । सीमित पूर्वाधार, साधन स्रोतबीच नेपालले अहिलेसम्म पाएको सफलता ‘ठीक बेलाको ठीक निर्णय’ अर्थात् बुद्धि र विवेकमा आधारित छ ।
चौतर्फी समस्या देखिए पनि पहिलो प्राथमिकता जनताको जीवन सुरक्षा हो । सरकारले यसैका लागि लकडाउन गर्दै आएको हो । महामारी नियन्त्रणमा यो प्रभावकारी र निर्विकल्प रहेको हाम्रै र विश्व अनुभवले पुष्टि गरेको छ । लकडाउन कफ्र्यू होइन । यो स्वविवेकपूर्ण विधि हो । यसको पालनामा कानुनभन्दा व्यक्तिको विवेक तथा आचारसंहिता महत्वपूर्ण हुनेछ । अर्काेतिर लकडाउनको स्वरूप पनि कफ्र्यूको जस्तो नियन्त्रित सन्नाटामय हुँदैन । सहरी क्षेत्रमा घनाबस्ती, जनघनत्व, अधिक सामाजिक अन्तरक्रिया, पाहुनाको पहिचान नहुनेजस्ता कारण लकडाउनलाई कडिकडाउ गर्नुपर्ने हुन्छ तर हालसम्म सङ्क्रमणको कुनै लक्षण नदेखिएका गाउँ, जहाँको पातलो जनसङ्ख्या छ, आगन्तुकको हेक्का र पहिचान सहज हुन्छ– त्यहाँ एकअर्काको होसियारीमा खेतबारीका काम गर्न रोकिँदैन । यस्तो बेलामा अन्य प्रकारका स्वास्थ्य समस्या आए भने सामान्य बेलामा जस्तो सहज उपचार पाइन नसक्ने भएकाले यसमा होसियार रहेर एकआपसमा दूरी राखी अर्मपर्म गरेर खेतीपातीको काम गर्न रोकिनुपर्दैन । कुनै पनि नयाँ मानिससँग अन्तरक्रिया हुँदैन भने कोरोनाकै कारण गाईबस्तुलाई भोकै राख्नुपर्दैन । घाँस दाउरा गर्न हुन्छ । कुरो यत्ति हो– अपरिचित व्यक्तिसँग सम्पर्कमा पुग्नुहुँदैन, साथै अन्य प्रकारका सम्भावित स्वास्थ्य समस्यामा पनि अरू बेलाभन्दा थप होसियार रहनुप¥यो ।
यो मानो खाएर मुरी उब्जाउने बेला हो । नेपालमा धानपछि धेरै मात्रामा उत्पादन हुने मकै, दाल बनाउन सकिने गेडागुडी, घिरौँला, फर्सीजस्ता तरकारी लगाउने बेला हो । गहुँ, आलु थन्क्याउने, चैतेधान लगाउने, चिया टिप्ने बेला हो । यी कामलाई सुरक्षित तरिकाले फत्ते गर्न सकिन्छ । आज खेती नगरिए भोलि बेसाएर खानुपर्ने समस्या सम्मुखै छ । देशको कुल गार्हस्थ उत्पादनमा उल्लेख्य योगदान दिने नेपालको कृषिक्षेत्र कोरोना जोखिमको नाममा ठप्प पारिनुको अर्थ आगामी वर्ष किसानलाई अनिकाल मात्र हुनेछैन, खाद्य–तरकारीमा मुलुकको परनिर्भरता झन् बढ्नेछ, आयातमा झन् ठूलो रकम विदेशिनेछ । त्यसैले सरकारले जारी गरेका आदेश तथा स्वास्थ्यविधि अपनाउँदै खेतीको काममा लाग्नु आवश्यक छ । यसमा नजिकका कृषिसम्बद्ध कार्यालयलगायतका निकायले सुरक्षित कार्यविधि सुझाव गर्नु आवश्यक छ ।
श्रमिकलाई भित्रै राख्ने व्यवस्थासहित उनीहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै ठूला उद्योग सञ्चालन गर्न सकिने विकल्प सरकारले दिएको छ । यस्तै कृषि तथा सहकारी मन्त्रालयले कृषिजन्य काममा स्वास्थ्य सुरक्षाविधि अपनाएर संलग्न हुन सकिने जनाएको छ । सरकारले खेतीयोग्य जग्गा बाँझो राख्न नपाइने घोषित नीति स्मरण गर्दै यतिखेर सुरक्षित गाउँबस्तीमा रहेका सबल जनशक्तिलाई सुरक्षा विधिसहित खेतीपातीमा प्रोत्साहन गरेमा मुलुकको भावी अर्थतन्त्र सुरक्षित गर्ने बुद्धिमत्ता सावित हुनेछ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?