निर्मलकुमार आचार्य
आज विश्वभरिकै मानव जाति कोरोना भाइरस (कोभिड १९) को कहरले आक्रान्त छ । इटाली, स्पेन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स आदि पश्चिमा देश अत्यन्त पीडामा छन् भने कोरोनाको त्रासदीबाट बिरलै मुलुक मुक्त छन् ।
अलङ्घ्य पहाडका रूपमा देखिए तापनि यो कोरोनामाथि समेत विजय हासिल हुनेमा शङ्का छैन । यस्ता कैयन् महामारी विगतमा पनि आएकै हुन् । प्लेग, ब्ल्याकडेथ, क्षयरोग, बिफर, हैजा, स्पेनिस फ्लु, सार्स, एचआईभी÷एड्स, स्वाइन फ्लु, हेपाटाइटिस, डेङ्गुलगायत अनेक महामारी समयक्रममा सामान्य बन्दै गए ।
हरेक अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, अनिकाल, आँधी, हुरीपछि आउने महामारी पनि यतिखेर स्मरणीय छन् । नेपालका सन्दर्भमा भूकम्पको घाउ झनै कहालीलाग्दो छ । चार वर्षअघि आएको भुइँचालोको पराकम्पन अझै चलिरहँदा पनि यसको संवेदनशीलता अनुभव गर्न सकिन्छ ।
२०७२ वैशाख १२ गते आएको भूकम्पका अगाडि विशेषणसूचक अकल्पनीय जोड्ने गरिएको छ । साँच्चै भन्ने हो भने भूकम्पीय जोखिममा रहेको नेपालका निम्ति भूकम्प अकल्पनीय हुँदै होइन, यसको ऐतिहासिक तथ्यले समेत मोटामोटी सय वर्षभित्र एउटा ठूलो भूकम्प जाने गरेको देखाएको छ ।
भूकम्पीय विपद्को ऐतिहासिक लेखाजोखा गरिँदा वि.सं. १९९० माघ २ गतेको भुइँचालो सर्वप्रथम सम्झना गरिन्छ । साढे आठ हजारभन्दा बढी जनधनको क्षति गराएको त्यो भूकम्प देख्ने, भोग्ने, सुन्ने, जान्ने अझै जीवित रहनाले पनि धेरै कुरो बुझ्न मद्दत गरेको छ । सुने अनुसार बुझाइ नरहेकैले २०७२ को भूकम्पीय झट्का अकल्पनीय भनिनपुग्यो, भूकम्पबाट बच्नेतर्फ अझै होस नसह्मालिनु अर्को विडम्बनाको विषय छ ।
९० सालको भूकम्पपूर्व १८९० मा पनि २४ घन्टासम्म भूकम्प गएको र १८ हजार घर भत्किएको विवरणले तत्कालीन दुरवस्था दर्शाएको छ । वि.सं. १८८० मा भूकम्प मात्रै आएन, केही महिनापछि महामारी नै फैलियो । वि.सं. १८६६ मा २१ पटक भुइँचालो आएको थियो भने वि.सं. १७३७ मा आएको भूकम्पले कैयन् घर, मठ, मन्दिर ध्वस्त भए । वि.सं. १४६४ मा पनि विनाशकारी भूकम्प आयो भने १३१६ मा राजा जयदेवको शासनकालमा आएको भूकम्प, त्यत्तिमै सीमित रहेन, महामारी फैलिई अनिकालसमेत भयो । १५ दिनसम्म धरती हल्लिई भूकम्प आएको साल १३१० हो । यस भूकम्पले राजा अभय मल्लको प्राण पनि ह¥यो । यस्ता सबै भूकम्पका बारेमा निश्चय नै सोधखोज छैन तर एउटा के कुरो प्रष्ट भएको छ भने कतिपय भूकम्प लगत्तै नेपाली जनजीवनले महामारीसमेत बेहोर्नप¥यो ।
महामारीकै सन्दर्भ केलाउँदा चाहिँ प्राचीनकालमा पुग्न सकिन्छ, जतिखेर पानी नपरेर यहाँ महामारी फैलिएको थियो । कथा मच्छिन्द्रनाथसित सम्बद्ध छ । यहाँ कष्ट उब्जाइदिएमा त्राणका लागि गुरु मच्छिन्द्रनाथ आउनेछन् र मैले दर्शन पाउनेछु भन्ने उद्देश्य लिई गोरखनाथले कर्कोटक आदि नौ वटा नाग समाती तिनलाई गुफामा थुनेर एकातिर तपस्या गर्न बसेछन् । नाग थुनिएकाले १२ वर्षसम्म पानी नपरी खडेरी लाग्नु के थियो, अनिकालले महामारी नै फैलियो । यहाँका बासिन्दाको दुःख निवारण गर्न मच्छिन्द्रनाथको पदार्पण भयो, गोरखनाथको पनि इच्छा पूर्ण भयो र भनिन्छ, त्यही बेलादेखि यहाँ मच्छिन्द्रनाथको जात्रा चलाउन थालिएको हो ।
गुरु पद्मसम्भव (गुरु रिम्पोछे) नेपालमा भएको बेलामा पनि महामारी आएको उल्लेख छ । सन् ७४७ मा उनी तिब्बत जानुअघि यहीँ साधनामा तल्लीन थिए । त्यसबखत नेपाल, तिब्बत तथा भारतमा अकाल परी मानिस तथा पशुमा अनेक रोग फैलियो । यो महामारी फैलिनुका पछाडि एउटा रोचक कथा छ ।
खडेरीजन्य हाहाकारबाट जनताको उद्धार गरिएको अर्को ऐतिहासिक प्रसङ्ग राजा प्रताप मल्लसित सम्बन्धित छ । वि.सं. १७१५ मा पानी नपर्दा जनता दुःखी भएछन् । स्वयम्भू डाँडाको उत्तरतर्फ अवस्थित ‘शान्तिपुर’ गुफाबाट नागको रगतबाट लेखिएको पुस्तक बाहिर ल्याउन सकिएमा पानी पर्ने जनविश्वास थियो । राजा प्रताप मल्लले तान्त्रिक गुहारी पुस्तक ल्याउन लगाए तर त्यो पुस्तक अर्कै परेकाले बर्खा भएन । पुस्तक ल्याउन सबै डराएको देखेर प्रताप मल्लले राजाले ऐश आराम मात्रै गर्ने होइन, प्रजाको दुःखकष्ट मेट्नुपर्छ भन्ने भावनाबाट प्रेरित भई आफैँ गुफाभित्र पसी सर्पमाथि टेक्दै गए, भयानक पिशाचहरूले भयभीत पार्ने प्रयत्न गरे तापनि शिवगीता पाठ गर्दै गुफा पसेका उनी किताबसहित बाहिर निस्किए । बेसरी वृष्टि भयो । यससम्बन्धी बयान गरिएको अभिलेखसमेत त्यहाँ रहेको उल्लेख छ ।
राजा भास्कर मल्लको राज्यकालमा महामारी फैलिएको एउटा दारुण इतिहास छ । एकपटक असोजमा मलमास परे तापनि राजाले दशैँ चाड मनाउने आदेश जारी गरेछन् । यसबाट देवी क्रुद्ध भई राज्यमा महामारी फैलियो । मलमास बारेका पाटन र भादगाउँमा चाहिँ केही भएनछ । काठमाडौँमा चाहिँ कनपारो दुख्ने व्यथाले मानिस फटाफट मर्न थालेछन् । यस महामारीमा हजारौँ व्यक्ति शिकार भए । राजा भास्कर मल्ल परिवारसहित ‘किम्डोल बहाल’मा गई बसे । दुई वर्षसम्म महामारी फैलियो । पहिले ४० जनाका हिसाबले मान्छे मर्न थालेकामा ८० देखि सय जनासम्म दिनहुँ मर्न लागे । राज्यभरिका प्रजालाई यथेष्ट खुवाएमा महामारी रोकिने एक योगीको भनाइ अनुसरण गरिँदा प्रकोप शान्त भयो । महामारी कम भएको खबर सुन्नासाथ झ्यालबाट हामफाली दरबार पुगेका उत्साही राजा भास्कर मल्ल सोही राती त्यसको शिकार हुनपुगे ।
यस इतिहासको प्रकारान्तर पनि छ । ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’ (लेखक सूर्यविक्रम ज्ञवाली) मा वंशावलीलाई आधार बनाई यस महामारीको विशद वर्णन गरिएको छ । कर्णसन्धि र कपालमा बेथा लाग्ने बेहोराका आधारमा सो महामारी ‘प्लेग’ रहेको अनुमान लगाइएको छ । यस्तो रोग नेपालमा १२० वर्षदेखि भएको थिएन उल्लेख हुँदा त्यसपूर्व पनि विपत्ति आएको अनुमान लगाउन सकिन्छ । ‘१७१६ इ. का अन्त्यमा नेपाल पुग्ने एक जना पादरी इमेनोयल फ्रेरले पनि केही लेखेका छन् ।’ यस महामारीमा तीन वर्षमा झन्डै २० हजार मान्छे मरेको आकलन छ ।
राजा जगज्जय मल्लको राज्यकालमा खडेरी लागी अनिकाल परेको थियो । यो प्राकृतिक प्रकोपको शान्तिस्वस्तिका लागि उनले पशुपतिनाथमा महाबलि भोग लगाएको, विभिन्न मन्दिर निर्माण गराएको र गरिबका लागि भोजनको प्रबन्ध मिलाएको इतिहास छ । राजा अभय मल्लको शासनकालमा पनि लक्षहोम, महास्नान गरी पशुपतिनाथलाई प्रसन्न तुल्याएर महामारी हटाएको उल्लेख पाइन्छ ।
बिफर, हैजा, क्षयरोग आदि महामारीले यहाँ सङ्कट तेस्र्याउँदै आएको इतिहास छ भने पछिल्लो चरणमा डेङ्गुले समेत कैयन्को अकालमै ज्यान लिइरहेको वस्तुस्थिति छ । जतिखेर हलुका ज्वरोसँगै जीउभरि राता फोका आउने महामारीले नेपाली जनजीवनलाई त्रस्त तुल्याएको थियो, त्यतिखेर ओखतीमूलोको अभावका कारण देवीदेवताको शरणमा पर्नुको विकल्प थिएन । शीतला माईको पूजा गरी बिफरबाट मुक्तिको कामना गरिन्थ्यो । पशुपतिनाथ मन्दिरको हाताभित्रै पनि शीतलादेवीको मूर्ति स्थापना गरिएको छ । अहिले पनि केटाकेटीलाई खटिरा आउँदा शीतलादेवीको पूजा गर्ने चलन रहेकै छ । शीतलादेवीको हातमा कलश, कुचो, नीमका पात र नाङ्लो रहनु उल्लेखनीय पक्ष हो । कलशले स्वच्छ जल, कुचोले सफाइ, नीमले औषधी तथा नाङ्लोले स्वस्थ खाद्याहारका लागि सन्देश दिएको अर्थ सामान्य छैन ।
महामारी फैलिएका बखत उतिबेलैदेखि रोगीलाई छुट्टै राखी उपचार गर्ने, आफूलाई सङ्क्रमित हुन नदिन एकान्तवास रोज्ने जस्ता पक्ष अविस्मरणीय बनेका छन् ।
कोरोनाको महामारी पनि छिट्टै इतिहासको पाटो बन्ने निश्चित छ । सामाजिक दूरी कायम राख्ने, सङ्क्रमित पहिल्याउने र उपचार गर्ने दिशामा रणनीतिक हिसाबमै युद्धस्तरको गति आवश्यक छ । यसका लागि राज्यको अभूतपूर्व अग्रसारिता र त्यसमा सबैको साथ, सहयोग अनिवार्य छ ।
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)