डा. प्रकाश बुढाथोकी
धनगढीका ३४ वर्षीया एक महिलामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएपछि पहिलो पुष्टि भएको ७३ दिनपछि नेपालमा सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । धनगढीकी महिला चैत ७ गते दुबईबाट नयाँदिल्ली हँुदै घर आइपुगेकी र चैत १४ मा चौथो पुष्टि भएकाकी भाउजु हुन् । प्रभावित राष्ट्रहरूबाट आएकाहरूमा सङ्क्रमण देखिनु पहिलो चरण हो भने उनीहरूबाट सङ्क्रमण आफन्तमा देखिनु दोस्रो हो । एक समुदायबाट अर्काे समुदायमा फैलिए तेस्रो र महामारीको रूप भए चौथो चरण हो ।
चैत १० गते दोस्रो आयातित सङ्क्रमित फेला परेपछि चैत ११ देखि लकडाउन भएको छ । महामारी नियन्त्रणका लागि अनुमतिबिना आवतजावत गर्न नपाउने, विद्यालय, बजार, बैङ्क, रेष्टुरेन्ट सबै बन्द गर्न‘ लकडाउन हो । यसले विदेशबाट सङ्क्रमित आउने र नेपालभित्रै सङ्क्रमण फैलिन रोक्छ । आजसम्म आइपुग्दा स्वास्थ्य मन्त्रालयद्वारा कोभिड १९ वेभपेज, हाम्रो स्वास्थ्य मोबाइल एप्स, दुईवटा कल सेन्टर, कन्ट्याक्ट ट्रेसिङ, भाइबर ग्रुप तथा दैनिक पत्रकार सम्मेलन र प्रयोगशाला क्षमता विस्तार गरी सञ्चालनमा छन् जसले सूचना प्रवाह गरिरहेका छन् । लकडाउनको अवधिमा धेरैभन्दा धेरै शङ्कास्पद र सम्भावित सङ्क्रमित खोज्ने, नमुना सङ्कलन, परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने क्रमलाई तीव्रता दिनुपर्छ ।
क्वारेन्टाइन र आइसोलेसनमा रहेकालाई सम्मानपूर्वक र मानवीय व्यवहार गरिनुपर्ने तथा त्यहाँ बसेकालाई परिवार, समाज र देशमा रोग फैलिनबाट रोक्न यसो गरिएकोबारे मनोचिकित्सा सेवा दिनुपर्छ । यद्यपि क्वारेन्टाइन, आइसोलेसन, अस्थायी कोरोना अस्पतालका बारेमा प्रश्नचिन्ह उठ्दै नआएका भने होइनन् । नेचर जर्नलअनुसार कोरोना नियन्त्रण गर्न कम्तीमा छ साताको क्वारेन्टाइन जरुरी छ ।
कन्ट्याक्ट ट्रेसिङ
चैत ४ गते काठमाडौँ आउने दोस्रो, पाँचौँ र छैटौँ कोरोना सङ्क्रमित सवार कतार एयरवेजमा एक सय ५८, चैत ६ गते एयर अरबियाको विमानबाट नेपाल आएका तेस्रा सङ्क्रमित सवारमा एक सय ७०, चौथो सङ्क्रमित यात्रु चैत ७ गते दुबईबाट भारतको दिल्ली हँुदै भिस्तारा एयरलाइन्सबाट काठमाडाँै आएका एक सय ३० यात्रु गरी ४५८ यात्रुको विवरण अझै चुस्त भएको छैन । राहदानीमा लेखिएको ठेगाना, नम्बर फरक छ ।
त्यसो त नेपाल सरकारले फागुन २७ गतेदेखि प्रभावित देशबाट आउने यात्रुलाई अनिवार्य विदेशीलाई स्व तथा नेपालीलाई होम क्वारेन्टाइन लागु गरेको थियो । तर प्रभावकारी रूपमा कार्यान्वयनमा आएन ।
प्रमाणित सङ्क्रमितसँग भौतिक सम्पर्कमा आएका व्यक्ति खोज्ने प्रक्रियालाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ । यसमा सङ्क्रमितको आवतजावत कहाँ भयो, कुन यातायात प्रयोग गर्यो, को कसको सम्पर्कमा पुग्यो भन्ने पत्ता लगाइन्छ ।
कन्ट्याक्ट ट्रेसिङमा विभिन्न विधि प्रयोग गर्न सकिन्छ । अन्तर्वार्ताका अतिरिक्त बीमा र मेडिकल रेकर्ड मूल्याङ्कन, फोनको डिटेलमा जीपीएस प्रयोग, डेबिट वा क्रेडिट कार्ड प्रयोगको इतिहास र सीसीटीभी विधिद्वारा गर्न सकिन्छ, जुन दक्षिण कोरियामा छ ।
नेपालमा चैत १ देखि २० गते बीचमा मोबाइल फोनका छ लाख सिमकार्ड वितरण भएको छ, जसबाट कन्ट्याक्ट ट्रेसिङ गर्न सकिन्छ । विमानस्थलमा सिम एक्टिभेट भएका एक हजार पाँच सय मात्र रहेको तथा सीमा नाकामा भएको एक्टिभेसन बीटीएसबाट ट्रेसिङ गर्न सकिने भएकाले कानुनी जटिलता फुकाएर प्रयोग गर्न सकिन्छ ।
स्वास्थ्य क्षेत्र
चैतमा बुटवल र चितवनको कोरोना अस्थायी अस्पताल तथा काठमाडौँका वीर र पाटन अस्पतालमा आइसोलेसनमा बसेका कोरोनासँग मिल्दो लक्षण भएका पाँच बिरामीको निधन भयो तर सबैको रिपोर्ट नेगेटिभ आयो । चिकित्सकले लक्षणबमोजिम कोरोना नै भएको बताउँछन् । उपचार र बिरामी व्यवस्थापनमा तात्विक फरक नपर्ने भएकाले परीक्षणको परिणाम जस्तो आए पनि सुरक्षा कवचका साथ उपचार गर्नका लागि सरकारले सबै उपचारकर्मीलाई पीपीई उपलब्ध गराउनुपर्छ ।
सङ्क्रमणका कारण बिरामी र मृत्यु हुने बाहेक महामारीले जनस्वास्थ्यमा थुप्रै असर पारेको छ । मानसिक समस्या ल्याउँछ, कुपोषण आउँछ । कम सुरक्षाले उपचारमा संलग्न स्वास्थ्यकर्मीमा सङ्क्रमणको भय र त्राससहितको मानसिक समस्या पैदा गर्दछ । अन्य नियमित स्वास्थ्यसेवामा असर पार्दछ, बहिरङ्ग, अन्तरङ्ग र शल्यक्रिया रोकिन्छन् । अस्पतालमा साधारण, आईसीयु बेड र भेन्टिलेटरहरूको मागको चाप बढ्दै जान्छ, सङ्क्रमितका लागि बेड खाली गर्न‘पर्दा कतिपय भर्ना भएकाको समयपूर्व डिस्चार्ज, ज्वरो तथा मिल्दाजुल्दा लक्षण भएकाको आवतजावत, परीक्षण, भर्ना र उपचार नगर्ने, भौँतारिँदा भौँतारिँदै जटिलता र मृत्यु हुने गर्छ । नियमित स्वास्थ्य जाँच गर्ने, गराउनेतिर उदासीन हुन्छन् । बिरामीको ओसारपसार, स्वास्थ्य सामग्री र औषधिको आपूर्तिमा प्रभाव पर्छ ।
एकचोटी मानिसले खोक्दा करिब तीन हजार र हाच्छ्युँ गर्दा १० हजार कण सतहमा खस्दछन् । सामान्यतः सङ्क्रमण भइसकेपछि पाँच दिनमा लक्षण देखापर्छ तर कहिलेकाहीँ २१ दिन लाग्नसक्छ । लक्षण नदेखिएकाले पनि रोग सार्न सक्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार करिब ८० प्रतिशतमा विशेष उपचार नभएरै रोग निको हुन्छ र सङ्क्रमण भएका छ जनामध्ये एकजना गम्भीररूपमा बिरामी पर्छन् र सास फेर्न समस्या देखिन्छ । औसतमा कोरोना दुई सातासम्म रहन्छ तर गम्भीर अवस्थाको भए तीनदेखि छ हप्तासम्म हुनसक्छ । गम्भीर लक्षण देखिएदेखि मृत्युसम्मको समय दुईदेखि आठ हप्तासम्मको हुन्छ ।
परीक्षण, परीक्षण अनि परीक्षण
सङ्क्रमित भएर पनि सङ्क्रमण पहिलो चरणमा रहँदा तथा नमुना सङ्कलन, परीक्षण सामग्री, ढुवानी, प्राविधिक समस्या भए पुष्टि नहुनसक्छ । भुटानमा पटक पटक परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आई चौथो पटकमा पोजिटिभ आएको थियो । त्यही भएर विश्व स्वास्थ्य सङ्गठनले परीक्षण, परीक्षण वा लगातार परीक्षण भनेको छ । शङ्का लागेका बिरामीमा फोक्सोको भित्रीभागबाट ब्रोन्को अल्भियोलर लभाज परीक्षण र सीटी स्क्यान जरुरी छ । जर्नल जामाअनुसार नेपालमा गरिँदै आएको घाँटीभित्रबाट लिइने स्वाबमा संवेदनशीलता क्रमशः ३२ प्रतिशत छ र पुनः परीक्षण गरिँदैन ।
सयजना सङ्क्रमितको नमुना परीक्षण गर्दा त्यस किटले कति जनालाई भाइरस पोजिटिभ देखायो, त्यो प्रतिशतलाई संवेदनशीलता भनिन्छ भने सङ्क्रमण नभएकाको जाँच्दा किटले नेगेटिभ देखाएकोलाई स्पेसिफिसिटी भनिन्छ । नमुना परीक्षणका लागि उपयुक्त हुन दुवै ९० प्रतिशत बढी हुनुपर्छ । निजी १५ सहित ४० पीसीआर ल्याबबाट दैनिक छ हजार परीक्षण गर्नसक्ने क्षमता भए पनि हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अतिरिक्त जनकपुर, धरान, हेटौँडा, पोखरा, धनगढी, सुर्खेत, भैरहवा, चितवन, धुलिखेल अस्पतालबाट परीक्षण भइरहेको छ । धनगढी, पोखरा, नेपालगञ्ज र वीरमा ठूला मेसिन सञ्चालन हुँदैछन् । दैनिक तीन हजार परीक्षण क्षमता हुनेछ । सरकारले क्वारेन्टाइनमा रहेकाको आरडीटीबाट पोजिटिभ भए पुनः पीसीआर गरेर यकिन गर्नेछ । कैलाली, कञ्चनपुरका क्वारेन्टाइनमा रहेका र बाग्लुङका सङ्क्रमितका छिमेकीलाई आरडीटीबाट परीक्षण गरिँदैछ । आरडीटी एन्टिबडी आधारित भएको र लक्षण देखिएको १० दिनपछि मात्र पत्ता लगाउँछ । यदि आरडीटी र पीसीआरको संवेदनशीलता मिले सामूहिक स्तरमा प्रयोग गरिनेछ ।
अब सरकारले के ग¥यो भन्दा पनि हामीले के गर्न सक्छौँ भन्ने कुराले सङ्क्रमण रोकथाममा महत्व राख्छ । खोप र औषधिहरूको विकास नभइसकेकाले रोकथाम नै बुद्धिमानी हो ।
(लेखक नेपाल चिकित्सक सङ्घका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)