गोपाल खनाल
कोरोना महामारीविरुद्धको साझा युद्धमा विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुखसँग वार्ता गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभयो । त्यसक्रममा दुवै प्रधानमन्त्रीबीच कोरोनाविरुद्धको लडाइँको सहकार्य अझ प्रभावकारी र बलियो बनाउने सहमति भयो ।
प्रधानमन्त्री ओलीले एकअर्काको मुलुकमा राखिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो सुरक्षा र हेरचाहमा जोड दिनुभयो, त्यसमा मोदीले आश्वस्त पार्नुभयो । आपूर्ति व्यवस्था निरन्तर कायम राख्नेबारेमा दुवै प्रधानमन्त्री सहमत हुनुभयो । अर्थात् अप्ठ्यारो अवस्थाको सामना मिलेर गर्ने नीतिको प्रभावकारी कार्यान्वयनमा साझा प्रतिबद्धता आयो । नेपाल सरकार र जनताको कोरोनाविरुद्धको लडाइँको मोदीले प्रशंसा गर्नुभयो ।
चैत २८ मा नै अर्को एउटा महत्वपूर्ण विकास भयो । अर्थ एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले दातृ निकायका उच्च अधिकारीसँग भिडियो सम्मेलन गर्नुभयो, जसमा कोरोनाविरुद्ध बाह्य स्रोत परिचालन गर्ने सहमति भयो । महामारीविरुद्ध नेपालले गरेको कामको अन्तर्राष्ट्रिय समुदायले समर्थन गर्यो । महामारीविरुद्धको लडाइँमा सरकार ‘असफल’ भन्ने केही नकारात्मक प्रवृत्तिको निरन्तरको भ्रामक प्रचारका लागि यी टिप्पणीले केही जवाफ दिएको हुनुपर्छ । तथ्यहरू आफैँ बोलिरहेका बेला षड्यन्त्रवश सार्वजनिक आग्रहको जवाफ दिइरहनुपर्दैन । सङ्कटमा सत्तारोहणका लागि भूमिगत समूह सञ्चालन गर्ने आफैँ उदाङ्गिन्छन् नै ।
तर यो आलेखमा कोरोनाविरुद्धको नेपालको प्रभावकारी तयारीबारे होइन, कोरोनापछिको सम्भावित विश्वव्यवस्थावारे बहस गरिएको छ । महामारीविरुद्धको युद्धका क्रममा सम्पन्न र सबल भनिएका अमेरिका र केही युरोपेली राष्ट्र तुलनात्मक ‘असफल’ देखिएपछि नवउदारवादी वैश्विक व्यवस्थामाथि प्रश्नमात्रै उठेन, धक्का पनि लाग्यो । कल्याणकारी राज्यको अवधारणाको महत्व पुनःस्थापित भयो भने वास्तविक समाजवादी राज्यव्यवस्था पुँजीवादको विकल्प हुनसक्छ भन्ने सङ्केत पनि गर्यो ।
त्यसोभए अबको विश्वव्यवस्था कस्तो हुनसक्छ ? विकासक्रम र तिनको व्याख्या गर्ने पश्चिमा विज्ञले समेत सङ्केत गरेका छन्– अबको विश्व चीनप्रधान विश्व बन्नेछ । अलि फराकिलो भाषामा भन्दा अबको विश्व एसियाले नेतृत्व गरेको विश्व हुनेछ, जसको नेतृत्व चीनले गर्नेछ । भारत र चीनबीच सीमा र सामरिक मुद्दामा शत्रुता भए पनि आर्थिक र एसियाली शताब्दीको अवधारणामा सहकार्य र समन्वय छ । फेरि अहिले सरकारप्रमुखहरूको रसायन पनि मिलेको अवस्था छ ।
अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरले ‘द वाल स्ट्रिट जर्नल’ मा एउटा आलेखमार्फत चीनप्रभावी विश्वव्यवस्थाको निर्माण हुनसक्ने सङ्केत गर्नुभएको छ । त्यो अमेरिकाविरुद्ध नभएर अमेरिकासहितको ध्रुव हुनसक्ने उहाँको धारणा छ । अमेरिकी कूटनीतिज्ञ, सन् १९६९ देखि १९७७ सम्म अमेरिकी विदेश नीतिमा महत्वपूर्ण योगदान गर्नुभएका र अमेरिकाको चीनसँग सम्बन्ध अघि बढाउनुभएका, ‘अन चाइना’ र ‘द वल्र्ड अर्डर’ जस्ता चर्चित पुस्तकका लेखक किसिन्जरले कोरोनापछिको अमेरिकी अर्थतन्त्रले कसरी लय गुमाउँछ भन्नेमा विश्वव्यवस्था निर्देशित हुनसक्ने कोण राख्नुभएको छ । महामारी सङ्क्रमणको विस्तार र रोकथामको अवस्था हेर्दा अमेरिका र युरोप एसियाभन्दा कमजोर देखिएको छ । अमेरिकी बैङ्क मोर्गन स्टेनलीको अध्ययन अनुसार, महाशक्ति ठानिएको अमेरिका सन् १९४६ पछिको सबैभन्दा ठूलो आर्थिक सङ्कटमा फस्दै गएको छ । यो आर्थिक सङ्कटबाट पार पाउनु प्रमुख चुनौती भएपछि विश्वव्यवस्थाको नेतृत्व गर्न वासिङ्टनले कसरी सक्ला ? विश्लेषकहरूका प्रश्नसहितका टिप्पणी आएका छन् ।
फरक भाषामा अर्का विज्ञ सेथ जे फ्रान्चम्यानले अमेरिकासहितका पश्चिमा राष्ट्र बढी ऐकान्तिकतामा पर्ने भन्दै तर त्यो स्थायी खालको व्यवस्था हुन नसक्ने तर्क राख्नुभएको छ । अमेरिकी सार्वजनिक नीतिसम्बन्धी थिङ्क ट्याङ्कद्वारा प्रकाशित चर्चित ‘द नेशनल इन्टे«ष्ट’ म्यागजिनमा उहाँले उदार अन्तर्राष्ट्रिय व्यवस्था असफल भएको तर्क दिनुभएको छ । उहाँको भनाइमा अन्ततः यसले बढी विभाजित र अन्योलपूर्ण विश्वव्यवस्था निर्माण गर्ने सम्भावना छ । चीनले आगामी विश्वव्यवस्थाको नेतृत्व लिनसक्ने परोक्ष स्वीकारोक्तिसम्म उहाँमा देखिन्छ । अमेरिकासहितका पश्चिमा राष्ट्रसँग अन्यको गठबन्धन निर्माण हुन नसक्नु भन्नुको अर्थ विश्वव्यवस्था पूर्वतर्फ सर्नसक्छ भन्ने हो ।
महामारीले देखाएको प्रष्ट सङ्केत के हो भने साझा समस्याविरुद्ध एकताबद्ध भएर लड्नुपर्छ तर आ–आफ्नो भौगोलिक सीमाभित्र बसेर । अन्तर्राष्ट्रियवाद र विश्व एकता महामारीविरुद्ध लड्न आवश्यक छ भन्ने सत्य स्थापित भए पनि पहिला आफ्ना नागरिकको सुरक्षा भन्ने राष्ट्रिय स्वार्थ प्राथमिकतामा रहने प्रष्ट भएको छ । किनकि अब युरोपभित्रै पनि ठूलो सङ्ख्यामा पहिलाजस्तो खुला आवतजावत सहज नहुन सक्छ, त्यसै पनि युरोपेली भन्ने भावना विस्तारै खण्डित हुँदै गएको देखिँदै थियो । ब्रेक्जिट त्यसैको उदाहरण हो । विकसित र सम्पन्न राष्ट्रहरूले कोरोनाजस्ता भाइरस, सुनामी वा प्राकृतिक प्रकोपसँग जुध्न सकिरहेका छैनन् भन्ने सन्देश यसअघि पनि प्रवाहित भएको हो ।
महामारीपछि जसरी चीनले आफ्नो अनुभव खुला रूपमा बाँडेर चिकित्सकीय सामग्री र आवश्यक पर्दा चिकित्सकसमेत पठाउँदै आएको छ, त्यसले बेइजिङको बढ्दो शक्तिलाई जनाउँछ । राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति ट्रम्पबीच भएको टेलिफोन वार्तामा जसरी चीनले सहयोगका लागि तयार रहेको बतायो, त्यसले एकातिर चिनियाँ सहयोगको नीति प्रष्ट्यायो भने अर्कातिर अमेरिका प्रतिरक्षात्मक अवस्थामा देखियो । महामारी शक्ति अभ्यासको मूल्याङ्कन गर्ने समय होइन तर आखिर शक्तिको अभ्यास पनि यस्तै बेला हुने हो । कसैकसैले महामारीपछिको विश्व व्यवस्था चीनको मात्र पक्षमा भन्दा पनि चीन नेतृत्वको गठबन्धनको पक्षमा रहेको तर्क राखेका छन् । त्यसभित्र चीन, रुस र इरानको गठबन्धन हुनसक्ने उनीहरूको आँकलन छ । एउटा निष्कर्षमा भने सबै सहमत देखिन्छन्– अबको विश्वव्यवस्थाले अमेरिका, पश्चिमा र पश्चिमा गठबन्धनलाई भने अवश्य चुनौती दिनेछ ।
शीतयुद्धमा अमेरिका र सोभियत धु्रव निर्माण भएजस्तै अब चीन भर्सेज अमेरिका गठबन्धन निर्माण हुनसक्छ भन्ने तर्क पनि छन् । अमेरिकाले मार्शल प्लान ल्याएर आफ्नो आधिपत्य निर्माण गरेजस्तै चीनले कोरोनापछिको विशेष आर्थिक योजना ल्याएर आधिपत्य निर्माण गर्नसक्ने सम्भावना पनि छ । कोरोना भाइरस चिनियाँ उत्पादन हो र त्यो पश्चिमाप्रतिको षड्यन्त्र हो भन्ने जस्ता दरिद्र चिन्तन र प्रचार अन्ततः चीनकै पक्षमा देखिए । किनकि महामारी कसैको षड्यन्त्रको उपज हुनै सक्दैन ।
चीन महाशक्ति बन्छ वा बन्दैन भन्दा पनि अब चीन अनुकूलको विश्वव्यवस्था निर्माण हुन्छ भन्न सकिन्छ । त्यो भनेको प्रकारान्तरले एसियाली युगको आरम्भ हो । २१ औँ शताब्दी एसियाली शताब्दी भन्ने बहस गरेको लामो समय बितिसक्दा त्यसले मूर्तरूप पाउन सकेको थिएन । सम्भवतः कोरोना महामारीपछि विश्व शक्ति सन्तुलन एसियाको पक्षमा आउनेछ ।
पश्चिमा रणनीतिक विश्लेषकहरूले शक्ति सन्तुलन अब पश्चिमबाट पूर्वतिर सर्न सक्छ भन्नुको अर्थ त्यही हो । कोरोनासँग लड्ने क्रममै पनि एसियाली राष्ट्रहरू चीन, दक्षिण कोरिया र सिङ्गापुरले बेलैमा क्षमता प्रदर्शन गरे, जसको परिणाम घातक महामारी बेलैमा ती देशमा नियन्त्रित भयो । एसियाली अर्को शक्ति भारतले पनि तुलनात्मक सक्षमता नै प्रदर्शन गरिरहेको छ । भारतीय पूर्वविदेश सचिव शिवशङ्कर मेननका अनुसार, यो एकअर्कामा जोडिएको विश्वको अन्त्य होइन, पारस्परिक निर्भरताको उदाहरण हो । उहाँका अनुसार, भारतको दक्षिण एसियाली देशसँगको भिडियो सम्मेलन महामारीविरुद्धको साझा जवाफ हो । मेननको तर्क छ– ‘अमेरिका एक्लैले आफ्नो सुरक्षा गर्न सक्छ भन्ने देखिँदैन । अमेरिका शक्तिराष्ट्रका रूपमा रहनेछ तर यसमा पहिलेजस्तो आत्मविश्वास भने देखिँदैन ।’ खासमा प्रधानमन्त्री मोदीले अलि फराकिलो सोच राखेर क्षेत्रीय नेतृत्व प्रदर्शन गर्नुभएकै हो । महामारीविरुद्ध लड्ने साझा कोषको स्थापना र आह्वानमा उदाउँदो शक्तिको विम्ब देखिन्छ ।
‘द आसियन मिराकल’ भन्ने पुस्तकका दुईमध्येका एक लेखक किशोर महवुवानीले ‘फोरेन पोलिसी’सँगको अन्तर्वार्तामा चीन अबको विश्वनेता हुनसक्ने बताउनुभएको छ । विश्वव्यवस्थाको भन्दा पनि विश्वव्यापीकरणको नेतृत्व चीनले गर्ने भन्दा उपयुक्त हुने उहाँको तर्क छ । उहाँको भनाइ छ, ‘यसले मौलिक रूपमा विश्व आर्थिक नीतिलाई परिवर्तन गर्नेछैन तर अमेरिकी केन्द्रित विश्वव्यापीकरण चीनकेन्द्रित बन्दै गरेको अवस्थालाई थप गति दिनेछ ।’ उहाँले भनेजस्तो अमेरिकी नागरिकलाई विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय व्यापारप्रतिको विश्वास गुमेको अवस्था छ । त्यही बुझेर सायद राष्ट्रपति ट्रम्पले ‘अमेरिका पहिला’ नीति ल्याउनुभयो तर त्यसमा पनि उहाँ परीक्षणमै हुनुहुन्छ । चीनप्रभावी अन्तर्राष्ट्रिय प्रणालीको पक्षमा मत राख्न नसक्नेहरूको भनाइमा अबको विश्व अस्थिर विश्व बन्नेछ । उनीहरूको बुझाइमा कोरोनापछिको विश्वमा युरोपेली एकता कमजोर हुनेछ भने चीन–अमेरिकी सम्बन्ध थप बिग्रनेछ ।
निष्कर्ष हो– अबको विश्वव्यवस्थामा ठूलै परिवर्तन आउनेछ । र, त्यसको नेतृत्व पश्चिमबाट पूर्वतिर सर्नेछ । नेपालका ठूला छिमेकी राष्ट्र चीन र भारत पूर्व सर्दै गरेको शक्ति सन्तुलनका प्रमुख शक्ति बन्नेछन् ।
(लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ ।)