प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग भएको टेलिफोन संवादमा कोरोनाविरुद्धको सहकार्यलाई अझै सशक्त बनाउने सहमति भएको जानकारी दिनुभएको छ । खुला सिमाना, दुवै देशका नागरिकको निर्बाध तथा अत्यधिक आउजाउका कारण नेपाल र भारतले कोरोनाविरुद्ध साझा प्रयत्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ । दुवै देशका सिमानामा अहिले दुवैतिरका केही नागरिक क्वारेन्टाइनमा छन् । उनीहरूका बारेमा जो जता छन् त्यतैतिर व्यवस्थापनमा स्थानीय प्रयास भएका छन् । यस्तो अवस्थामा दुई प्रधानमन्त्रीबीच भएको संवादले आगामी दिनका साझा पहललाई थप ठोस र परिणाममुखी बनाउनेछ । लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्ना देशमा राम्रो हेरचाह गर्न दुवै प्रधानमन्त्री सहमत हुनुभएकाले सीमाक्षेत्रमा रहेका दुवैतिरका नागरिकलाई राहत मिल्नेछ । वर्तमान अवस्थामा आपूर्ति व्यवस्थालाई निरन्तर राखी थप सहज बनाउने विषयमा पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ । यो अवधिमा भारतबाट नेपाल आउने कुनै पनि वस्तुको आपूर्तिमा समस्या आएको छैन । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगका लागि पनि प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई धन्यवाद दिनुभएको छ । व्यावहारिक रूपमा हेर्दा नेपाल र भारततिर समान अवधिका लागि लकडाउन गर्नु व्यावहारिक हुनेछ । एकातिर सीमा खुला गर्नेबित्तिकै त्यसको चाप धानिनसक्नु हुन सक्छ । दुवैतिर लुकिछिपी आगमन तथा गलत प्रचार रोक्न नागरिकलगायत सम्बद्ध सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।
यसअघि पनि प्रधानमन्त्री ओलीले अत्यधिक नेपाली रहेका मुलुकका प्रधानमन्त्री तथा उच्चस्तरीय नेतृत्वसँग त्यहाँस्थित नेपालीको स्वास्थ्य, रोजगारी तथा सहज दैनिकीका विषयमा सञ्चार–संवाद गर्नुभएको छ । यसैक्रममा प्रधानमन्त्री ओलीले बहराइनका प्रधामन्त्री खालिफा बिन सल्मान अल खालिफसँग फोनवार्ता गरी त्यहाँ रहेका नेपालीको स्वास्थ्य अवस्था, सुरक्षा र रोजगारी सुविधालगायतका पक्षमा जानकारी लिनुभएको छ । उल्लेख्य सङ्ख्यामा नेपाली श्रमिक रहेको बहराइनमा नेपालीलाई कुनै समस्या नपर्ने त्यहाँका प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री ओली र ओमानका राजकुमार शैयद फहाद वीन महमुद अल सइदबीच टेलिफोन वार्ता भएको छ ।
वार्तामा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव र त्यहाँ रहेका नेपालीको अवस्थाबारे छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ । त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रहिरहनेमा राजकुमारले आफूलाई निश्चिन्त पार्नुभएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले संयुक्त अरब इमिरेट्स (युएई) का युवराज शेख मोहम्मद बिन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीको चासोमा युवराज शेखले इमानदार र परिश्रमी नेपालीहरूले युएईको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै नेपालीहरूलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री ओलीबाट विदेशस्थित नेपालीको अवस्थाबारे सम्बन्धित सरकारको नेतृत्वसँग संवाद गर्ने सिलसिलाकै बीच परराष्ट्र मन्त्रालयबाट पनि विभिन्न देशमा रहेका नेपाली बारेमा जानकारी लिइएको छ । नेपाल सरकारले यहाँ रहेका विदेशी नागरिकलाई कोरोना भाइरस सङ्क्रमण भएमा आफ्ना नागरिकसरह उपचार र सुविधा दिने जनाउँदै आफूले पनि अन्य मुलुकबाट यस्तै अपेक्षा गरेको स्पष्ट गरेको छ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकमा काम विशेष तथा अध्ययनका क्रममा रहेका नेपालीलाई त्यहाँस्थित नेपाली दूतावाससँग समन्वय गर्न भनेको छ । परराष्ट्र तथा श्रम मन्त्रालय सम्बद्ध निकायले विभिन्न मुलुकमा रहेका नेपालीबारे जानकारी र सम्पर्कको पहल गरेका छन् । सरकारले निर्देशन दिएअनुसार दूतावासमा त्यहाँ रहेका नेपालीले विभिन्न माध्यमबाट सम्पर्क गर्नसक्ने व्यवस्था मिलाइएको छ । नेपालीहरू स्वदेश वा विदेश जहाँ भए पनि नेपाल सरकारले अभिभावकीय भूमिका र चासो प्रदर्शन गरेको छ । कुनै एक देशमा रहेको समस्या नभई विश्वव्यापी महामारीका अवस्थामा नेपाल सरकारले सम्बन्धित मुलुकका सरकारसँग आफ्ना नागरिकको सुरक्षा र उपचार सुविधाको व्यवस्था मिलाउन गरेका पहललाई प्रत्येक नागरिकले स्वदेशको मायाका रूपमा लिनु समयोचित हुनेछ ।