डा. सुरेश आचार्य
दक्षिण अमेरिकी मुलुकहरू यतिबेला पत्रकारका लागि कोरोना भाइरस (कोभिड १९) को सङ्कटको क्षेत्र बनेका छन् । कोरोना सङ्क्रमणका कारण मर्नेहरूको सङ्ख्या बढ्दैछ । इक्वेडरमा मात्र नौ जना पत्रकारको मृत्यु भएको छ । डोमिनिकन गणतन्त्रमा पनि तीन जना पत्रकारले ज्यान गुमाएका छन् । इक्वेडरको ग्वायाक्विल सहरलाई दक्षिण अमेरिकाको ‘वुहान’ भन्न थालिएको छ । दक्षिण अमेरिकी मुलुकमा कोरोना सङ्क्रमण धेरै हुने यो दोस्रो मुलुक हो । यहाँ सात हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । धेरै सङ्क्रमण भएको ब्राजिलमा एघार सयभन्दा बढीको ज्यान गइसकेको छ ।
दक्षिण अमेरिकाका पत्रकारहरू कम पैसामा काम गर्छन् । विश्व महामारीका कारण अहिले ठूला भनिएका मिडिया हाउससमेत बन्द भएका छन् । पत्रकारहरूलाई बेतलवी छुट्टी दिइएको छ । यो समस्या अझ बढी चिली, अर्जेण्टिना र उरुग्वेका पत्रकारले भोगिरहेका छन् । कोलम्बिया, इक्वेडर, पेरु, बोलिभिया र मध्य अमेरिकी मुलुकका पत्रकारहरूको त तलब नै हुँदैन भने पनि हुन्छ । उनीहरू विज्ञापन बटुलेर त्यसको कमिसनका आधारमा जीविकोपार्जन गर्दै आएका छन् । अधिकांश पत्रपत्रिका बन्द भए पनि रेडियो र टेलिभिजन बन्द छैनन् । त्यहाँ काम गर्ने पत्रकारहरू आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेका छन् । यद्यपि उनीहरूलाई यो पनि थाहा छ, महिना मर्नेबित्तिकै उनीहरूको तलब आउनेवाला छैन । सङ्कटका समयमा अझ सबैलाई चाहिने व्यवसाय पत्रकारिता हो । सोसल मिडियामा मात्र भर पर्ने अवस्था कसैको पनि छैन । तर मिडियालाई त्यस अनुरूपको व्यवहार गरिएको छैन ।
सङ्कटका बेला सही सूचना पाउन उत्तिकै कठिन हुन्छ । कहीँ सङ्क्रमणका विषय खासगरी मृत्युका समाचारलाई लुकाउन खोजिन्छ । कतै यसलाई गोपनीयताको विषय बनाइएको छ । कतिपयले त यस्ता सूचना दिन नै इन्कार गरिरहेका हुन्छन् । यो समस्या अहिले ब्राजिल, एल साल्भाडोर र भेनेजुएलाका पत्रकारले बढी बेहोर्नुपरेको छ । भेनेजुएलाका एक पत्रकार डार्भिन्सन रोयासले त सूचना प्रवाह गरेकै कारण १२ दिन थुनामा बिताउनुपरेको छ । यो विश्व महामारीमा पत्रकारले भोग्नुपरेका महामारी चाहिँ हुँदै नभएका घटनाको सूचना प्रवाह हो । पत्रकारलाई थाहा छ– सूचनाको विश्वसनीय आधार नभई त्यसलाई प्रवाह गर्नुहुन्न । त्यो जानेर, बुझेर पनि त्यसको पुष्टि गर्ने आधिकारिक स्रोत फेला नपर्नु उनीहरूको यतिबेलाको अर्को महामारी हो । जब सूचना प्रवाह हुन्छ, त्यसपछि गलत सूचना फैलाएको अभियोग वा आरोप लाग्दछ ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) की वरिष्ठ उपाध्यक्ष जुलियाना लाइनेजलाई लाग्न थालेको छ– यस्तो समयमा उनीहरूका पक्षमा काम गरिदिने सङ्गठन आवश्यक हुने रहेछ । किनभने उनीहरूले कोरोना सङ्क्रमणबाट बच्ने कुनै सुरक्षा उपकरण पाउन सकेका छैनन् । पारिश्रमिक पाएका छैनन् । उनीहरूको रोजगारीको सुरक्षाको मात्र प्रश्न उठेको छैन, उनीहरूको दैनिक जीवन निर्वाह र स्वास्थ्य सुरक्षाको पनि कुनै ठेगान छैन । दक्षिण अमेरिकाका पत्रकारका लागि आज मात्र होइन, हिजो पनि थियो र भोलि पनि ऐक्यबद्धताको आवश्यकता छ । अनिश्चयको यो भुमरीमा बाँचिरहेका पत्रकारप्रति विश्व ऐक्यबद्धता र सहयोगभन्दा अर्को विकल्प नरहेको लाइनेजको ठम्याइ छ ।
केही विकसित मुलुकलाई अपवादमा छाड्ने हो भने पत्रकारितामा लागेर समाजबाट सम्मान पाउनबाहेक पत्रकारले सहज जीवन यापन गर्ने अवस्था छैन । यस्तो सङ्कटको समयमा पनि लकडाउनका नाममा पत्रकारले आराम गरेर बस्न पाउँदैन । उसले आराम पाउनु भनेको रोजीरोटी सङ्कटमा पर्नु हो । यस्तो अवस्थामा पत्रकारका लागि विशेष खालको सहयोग आवश्यक हुन्छ । भलै यस्तो पहलको प्रारम्भ सङ्गठित रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा अझै सुरु हुन सकेको छैन । आईएफजेकी वरिष्ठ उपाध्यक्ष लाइनेजले यस्तो अनुभूति गरिरहँदा उसका छ लाख विश्व सदस्यका लागि जीवनयापन र जीवन सुरक्षाका लागि केही भइरहेको छैन । केवल उसले आवाज उठाएको छ । समस्याको उजागर मात्र गरेको छ ।
नेपालमा पत्रकारलाई सहयोग आवश्यक छ भनियो भने त्यसलाई हँसिमजाकको विषय बनाउने गरिन्छ । उदाहरणका लागि नेपाल पत्रकार महासङ्घ, सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) ले पत्रकारका लागि राहत वितरण गर्नुभएछ । यो जानकारी पाएका एक राजनीतिक दलका कार्यकर्ताले उनका नाममा खुला पत्र लेखेर पत्रकारहरू राहत लिने कोटीका मानिस हुन् र ? भनेर उडाएका छन् । निश्चय पनि समाजले हेर्दा दैनिक ज्यालादारी गर्ने मजदुरभन्दा पत्रकार उच्च कोटीका हुन् । सकभर सुकिलै लुगा लगाएर हिँडेका हुन्छन् । समाजका ठूलै भनिएका मानिससँग उठबस गरेको हुन्छ । तर समाजका ती सम्भ्रान्त नागरिकलाई थाहा छैन, एउटा मजदुरले ज्यालादारीमा दैनिक एक हजारभन्दा कममा कुनै काम गर्दैन तर पत्रकारले तीन सय पाँच पाइरहेको हुँदैन । मजदुरले हाताहाती काम गर्छ, तर पत्रकारले गरेको उधारो कामको पारिश्रमिक पाउने कुनै सुनिश्चितता हुँदैन ।
कोरोना भाइरसका कारण विश्वमा सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या तीव्ररूपमा बढिरहेको अवस्थामा नेपालमा यो समस्या नदेखिनु सकारात्मक पक्ष हो । कोरोना भाइरसको प्रभाव वा विस्तार बढ्न नदिन नेपाल सरकारले सुरु गरेको लकडाउन कतिपयलाई ढिलो भयो भन्ने लागिरहँदा पनि त्यति धेरै समस्या बढेको पाइएको छैन । सरकारी निकायहरूले गरिरहेका प्रयासका बारेमा यथार्थ र सही सूचना समयमै पाउँदा सर्वसाधारण नागरिकबाट पनि समर्थन र सहयोग पाउन सकिन्छ । सही र यथार्थ सूचनाबाट मात्र हामी प्रकोपबाट बच्न र बचाउन सक्छौँ । साथै यथार्थ र समयमै पाउने सूचनाले नागरिकलाई भ्रम र भयबाट मुक्त गराउन सहयोग गर्छ । पारदर्शी र उत्तरदायी क्रियाकलापबाट नै हामी समाजलाई मर्यादित र अनुशासित बनाउन सक्छौँ ।
दक्षिण अमेरिकामा जस्तो कोरोना भाइरसको सङ्क्रमणका बारेमा सूचना प्रवाहमा गतिरोधको अवस्था यहाँ छैन । स्वास्थ्य मन्त्रालयले दैनिक रूपमा पत्रकार सम्मेलन गरेर यसबारे आधिकारिक जानकारी दिँदै आएको छ । राष्ट्रिय सूचना आयोगले पनि यस विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, चिकित्सा सेवा प्रवाह गर्ने सबै संस्थाहरू, सम्बद्ध अन्य निकायलाई सर्वसाधारण नागरिकमा समयमा सूचना प्रवाह गर्न आग्रह गरेको छ । आयोगले मिडियाकर्मीलाई पनि भ्रमपूर्ण सूचनाका कारण गम्भीर परिणाम आउन सक्नेतर्फ ध्यान दिई यस्ता सूचना प्रवाह, प्रकाशन, प्रसारण तथा शेयर नगर्नु हुन अनुरोध गरेको छ । नेपालको अर्को पक्ष जुनसुकै जोखिमको अवस्थामा पनि पत्रकारहरू आफ्नो दायित्व निर्वाह गर्दै आएका छन् । उनीहरूमा हुन सक्ने जोखिमप्रति नेपाल पत्रकार महासङ्घले सरकारको पटक पटक ध्यानाकर्षण गराएको छ । कतिपय प्रदेश वा स्थानीय सरकारले जीवन बीमाको व्यवस्था गरेर पत्रकारलाई आफ्ना काममा उत्प्रेरित गरिरहेकै छन् ।
कोरोना भाइरसको सङ्क्रमणको प्रकृति र प्रवृत्ति हेर्दा अब हामी सुरक्षित भइसक्यौँ भन्ने अवस्था छैन । नेपालकै चिकित्सकहरूले पनि यसतर्फ सरकार र नागरिकहरूलाई सचेत गराइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले अहिले विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरसको सङ्क्रमण उल्लेख्य मात्रामा बढ्न सक्ने चेतावनी नै दिएको छ । त्यसैले कुनै पनि पेशा र व्यवसायका मानिसले अब सङ्क्रमण सकिइहाल्यो र हामी सुरक्षित भइसक्यौँ भनेर निष्कर्ष निकाल्नु हतार हुनेछ । हरेक पेशा र व्यवसायका मानिसले आफ्नो व्यवसायसँग जोडिएका व्यक्तिको दैनिक जीवनयापन र जीवन सुरक्षाका विषयमा अझै सोच्नुपर्ने अवस्था छ । दक्षिण अमेरिकाका पत्रकारले भोगेको नियति अरू गरिब मुलुकका पत्रकार र व्यवसायीले पनि समान रूपमा व्यहोरेका हुनसक्छन् । त्यसैले यसको निराकरणका लागि राज्य, गैरराज्य र अन्तर्राष्ट्रिय पक्षले मानवीय संवेदनाका रूपमा ग्रहण गर्न जरुरी छ ।
नयाँ वर्ष २०७७ भने सङ्कटमुक्त विश्व र समृद्ध नेपाल हुने कामना गरौँ ।
(लेखक नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हुनुहुन्छ ।)