आज नयाँ वर्ष २०७७ को पहिलो दिन । समयको कालखण्ड विभाजन गर्दै अगाडि बढ्नेको भने एक सेकेण्ड पुरानो र नयाँ वर्षमा के फरक हुन्छ र ? मानिसका दिन र भोगाइ पनि एकदुई सेकेन्डमा नयाँ पुरानाको कसरी गणना हुन्छ र ? तर वर्षको नयाँ – पुरानोमा मानिसको भावना जोडिएको हुन्छ । विश्वास र परम्परा जोडिएका हुन्छन् । यद्यपि पुराना सामग्री र ऐतिहासिक दिन वा घटनामा मानव समुदाय गर्व गर्छ तर ऊ सधैँ नयाँकै खोजीमा रहन्छ । मानव समाजको अहिलेसम्मको इतिहास नै नयाँको खोजी तथा प्राप्तिको यात्रा हो । त्यसैले नयाँ आफंैमा महत्वपूर्ण र चिरप्रतीक्षित हुन्छ । नेपालमा २०७२ मा नयाँ संविधान जारी भएपछि राजनीतिक स्थिरतासँगै समृद्धिको नवीन यात्रा सुरु भएको छ । यो यात्राले विगतलाई सच्याएको छ । राजनीतिक अस्थिरता, सरकार गठन, विघटन, दशक लामो सशस्त्र द्वन्द्वलाई किनारा लगाउँदै प्राप्त गरेको विश्व अनुकरणीय राजनीतिक रूपान्तरणको आँगनबाट नेपालले समृद्धिको यात्रा थालेको हो । हर दिन नयाँ दिन, हर क्षण नयाँ क्षणको सौन्दर्यमा नेपाल पुलकित हुँदैछ, महाकवि कालिदासले भने जस्तै– क्षणे–क्षणे यन्नवतामुपैति तदेव रूपं रमणीयतायाः ।
नेपाल र नेपालीको समृद्धि अभियानबीच अङ्गे्रजी संवत्को गतवर्षको (सन् २०१९) आखिरी दिन ३१ डिसेम्बर मध्याह्न चीनको वुहानमा नयाँ रोगको सङ्क्रमण देखिएको त्यहाँका अनलाइन सञ्चारमाध्यमले लेखे । सुरुमा त्यसतिर चीनलगायत कसैको ध्यान गएन । क्रमशः यो रोगले चीनको सीमा नाघ्दै विश्वभर फैलियो, भनौँ, यो तेजवायु थियो । नयाँ वर्ष २०७७ मनाउँदै गर्दा नेपाल र नेपाली सारा विश्वसँगै यही नयाँ रोग अर्थात् कोरोना भाइरस (कोभिड–१९) सँग जुधिरहेका छौं । वर्तमान पुस्ताकै त्रासदीपूर्ण दिनमा हामी उभिएका छौँ । विश्वयुद्धसँग वर्तमान अवस्थालाई तुलना गरिएको छ । अगाडिका दिनबारे मानव समुदाय अस्पष्ट छ तर निश्चित छ आगामी दिन नेपाली र विश्वका लागि थप सम्भावना लिएर आउनेछन् । हामी सङ्कटबाट सम्भावनाको यात्रामा छौँ । यो भाइरसविरुद्ध खोप÷औषधि बनाइँदै गरेका समाचार आएका छन् । नेपाली वर्ष २०७७ भित्रै औषधिको सफल परीक्षण हुने वैज्ञानिकले विश्वास गरेका छन् । केही दिनको अन्योल, सङ्कट र त्राहित्राहिबाट हामी नेपालीले पनि यसै वर्षभित्र मुक्ति पाउनेछौँ । विजय मानवकै पक्षमा छ । आत्तिनुहुँदैन, उद्विकास र प्राग् इतिहासले भन्छ– मानव इतिहास यस्तै जोखिमबाट अघि बढेको यात्रा हो । हरेक मोडमा ठक्कर खाए पनि अन्ततः मानिसले नै विजय प्राप्त गर्दै आएको छ । सङ्घर्ष र जीवन तथा प्राकृतिक चयनजस्ता डार्बिनका सिद्धान्त मानिसका सफलतामा जोडिएका छन् । हामीले बिर्सन हुँदैन– सङ्कटले सम्भावना ल्याउँछ । अबको विश्व नयाँ सम्भावनाको सामुन्ने छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको तीनहप्ते लामो बन्दाबन्दी (लकडाउन) मा हामी छौँ । हाम्रा दैनिकी कष्टकर भएका छन् । फेरि पनि दोहो¥याउनु सान्दर्भिक हुन्छ मानवको मात्र होइन ब्रह्माण्डको इतिहास पनि कष्टपूर्ण रहँदै आएका छन् । आधुनिक विश्वले विश्वयुद्ध भोगेन ? नेपालमा पनि आज जुन खुला राजनीति छ त्यहाँका लागि शहीद तथा नेतागणले जीवनको आहुतिदेखि जेलका लामा कष्टपूर्ण यात्रा गरेनन् कि ? अथवा २०४६ वा २०६२÷०६३ चैत वरिपरि देशले राजनीतिक परिवर्तनको कहर काट्दै त्यसबाट मुक्ति पाएको होइन ? बाध्यात्मक बन्दाबन्दीलाई सहज बनाउन प्रत्येक व्यक्तिको जिम्मेवारी रहन्छ । पढ्नेले पढ्न पाउनुपर्छ, श्रमिकले काम गर्न पाउनुपर्छ । अशक्त अनाथले माम पाउनुपर्छ । यसमा कसको विमति रहन्छ र ? तर पहिलो शर्त उनीहरू सबै बाँच्न पाउनुपर्छ । सरकारले यही शर्तलाई पहिलो प्राथमिकता बनाएको छ । बन्दाबन्दीसँगै राहत, सङ्क्रमणको परीक्षण, पहिचान, उपचारलाई तीव्रता दिइएको छ । किसान तथा आर्थिक क्षेत्रमा यसले पारेको प्रभावबारे अध्ययन गरी दीर्घकालीन राहतका गृहकार्य हुँदैछन् । यस्तो अवस्थामा कत्ति पनि विचलित नभई बन्दाबन्दीको पूर्णपालना गर्दै अर्को नयाँ वर्षको शुभकामना साट्न पनि अहिले जीवनको धिपधिपे दियो जोगाउनुपर्छ । जसबाट उज्यालो नयाँ संसार हेर्न पाइनेछ । मम शत्रु विनाशाय दीपज्योति नमोस्तु ते ।