विजय चालिसे
तीन महिना अगाडि चीनको वुहानमा फेला परेको कोरोना विषाणु विश्वभर महामारीका रूपमा फैलिँदै गएको छ । यसबाट बच्ने ब्रह्मास्त्र मानिएको सामाजिक पृथकीकरणको पालना गर्दै संसारभरका मानिसहरू आज गृहबन्दी बनेर बसिरहेका छौँ । यी पङ्क्ति लेखियुञ्जेसम्ममा कोरोनाको सङ्क्रमणका कारण सत्र लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन्, एक लाखभन्दा बढीको त मृत्यु नै भइसकेको छ । यसमध्ये सङ्क्रमित हुने र मर्नेमा अमेरिकाले सबैलाई उछिनेको छ । यसको चपेटामा ठूला पदाधिकारीदेखि श्रम गरेर दिनहुँ पेट पाल्नुपर्ने सर्वसाधारण जनतासम्म, मै हुँ भन्ने विकसितदेखि विकासोन्मुख देशहरूसम्म समान रूपमा परेका छन् । आफूलाई ज्ञान, विज्ञान र आर्थिक दृष्टिले अजेय महाराष्ट्र शक्ति ठान्ने महाराष्ट्र अमेरिकाले यसका सामु घुँडा टेक्नु परेको छ । यसबाट अरूको दमनमा प्रयोग हुने विज्ञानको विकासको साटो मानव रक्षाका क्षेत्रमा पर्याप्त अनुसन्धान आवश्यक रहेछ भन्ने पाठ अवश्यै सिकाएको हुनुपर्छ ।
मानव सभ्यता र शक्तिका मदान्ध सबैलाई चुनौती दिएको कोभिड–१९ अर्थात् कोरोना प्रकोपबाट सिक्न सकेमा हाम्रोजस्तो आर्थिक रूपमा परनिर्भर अर्थतन्त्रको निमित्त यो पाठ वरदान पनि बन्न सक्छ । मानव सभ्यता प्राग्ऐतिहासिक कालदेखि सङ्टबाट सिक्दै सभ्यता र नवीन समृद्धिका गोरेटाहरू कोर्दै आजको अवस्थासम्म आइपुगेको हो । यो यथार्थलाई बिर्सन हुन्न !
जसरी कालो बादलमा कञ्चन चाँदीको घेरा देखिन्छ, त्यसरी नै कोरोना कहरबाट पनि सिक्ने कुराहरू छन् । पहिलो, यसले स्वसंस्कृतिको पुनर्जागरणका पक्षमा थोरै भए पनि प्रेरणा जगाएको छ । हर कुरामा पश्चिमी संस्कृति र जीवनशैलीको अभ्यासमा आकण्ठ डुबेर ‘अङ््ग्रेजी बाबु’ बन्दै गएका हामीलाई ‘नमस्कार संस्कृति’ जस्ता हाम्रा आफ्नै जीवनशैलीतर्फ फर्कन केही भए पनि प्रेरित गरेको हुनुपर्छ । दोस्रो, राष्ट्रिय शिक्षा प्रणालीको सुदृढीकरण र स्तरीकरण गरेर शिक्षा आर्जन गर्न विदेश पठाउने–जानेभन्दा प्रवृत्तिलाई रोक्न मद्दत मिल्नेछ किनभने कोरोना कहरबाट थोरै भए पनि नेपाली विद्यार्थी र तिनका अभिभावकलाई विदेशभन्दा आफ्नै देश ठीक रहेछ भन्ने चेतना दिएको हुनुपर्छ । यसो हुन सकेमा स्वदेशमै प्रतिस्पर्धात्मक शैक्षिक विकास गर्न प्रोत्साहन मिल्नेछ र हरेक वर्ष अर्बौं रुपियाँ विदेशिनुबाट पनि जोगिने सक्ने छ । जोगिएको रकमलाई स्वदेशभित्र सुविधासम्पन्न वैज्ञानिक प्रयोगशाला र वैज्ञानिक–अनुसन्धाता तयार गर्ने काममा लगाउन सके शिक्षा लिन विदेश जाने होइन, विदेशी विद्यार्थीलाई यता आकर्षित गर्नसक्ने सम्भावना नभएको होइन । तेस्रो, वैदेशिक श्रम र विप्रेषणमुखी अर्थतन्त्रलाई स्वदेशी श्रमबजारको रूपयोग गर्न सकियो भने आन्तरिक उत्पादन बढ्नुका साथै हरेक वर्ष कृषि, निर्माण र अन्य व्यापार व्यवसायमा प्रयोग भइरहेका विदेशी (मूलतः भारतीय) श्रमिकहरूको प्रतिस्थापन गर्न सकिने छ । यसबाट हरेक वर्ष बाहिरिने अर्बाैं रुपियाँ जोगाउन सकिने छ । विदेश जान बाबु–बाजेले जोरेका केही जग्गासमेत बेचेर विदेश जाने प्रवृत्तिमा कमी आउन सक्यो भने गाउँघरमा बाँझो रहेका जमिन जोतिने छन्, कृषि उत्पादनमा वृद्धि हुने छ । त्यसरी नै देशको नागरिकता त्यागेर विदेश पलायन गरेकाहरूमा पनि कमसेकम विपत्मा त्यही हिजो नागरिकता कुल्चेर छोडेको मातृभूमि नै चाहिँदो रहेछ भन्ने सोचको विकास गर्न सक्यो भने स्वदेशमा बसेर सेवा गर्ने सोचको विकास हुनेछ, विदेशिने मोहजालबाट अब केही भए पनि मुक्ति मिल्ने सम्भावना बढेको छ । यसलाई पनि सकारात्मक मान्नु पर्छ ।
सङ्कटबाट सिक्ने र लड्दै, उठ्दै भविष्यको यात्रा तय गर्ने मानवीय प्रवृत्तिलाई हामीले प्रयोग गर्न सक्यौँ भने अभिशाप मात्र होइन, राष्ट्रिय स्वाभिमान र समृद्धिका लागि सकारात्मक बाटो देखाउने आधारसमेत बन्न सक्छ कोरोना कहर ! यसको निमित्त सरकारले उपयुक्त नीति, योजना र कार्यक्रम तयार गर्न आवश्यक छ, जुन कुरा कोरोना कहर थामिएला र काममा लागौँला भनी पर्खनुभन्दा आजैबाट आफ्ना संयन्त्र र विज्ञ समूह परिचालन गरेर अध्ययन थाल्नु जरुरी छ । आजको यो सङ्कटबाट छुटकारा पाउनसाथ आवश्यक जनशक्ति कसरी परिचालन गर्ने ? रसातलमा पुग्दै गरेको अर्थतन्त्रलाई सही गोरेटोमा ल्याउन तात्कालिक र दीर्घकालीन योजना र कार्यक्रम कस्तो हुने ? तत्काल प्रतिफल प्राप्त हुने कृषिलगायतका अन्य उपयुक्त क्षेत्र पहिल्याएर तीमध्ये कृषि रोजगारी, उद्यम, शिक्षा, अनुसन्धानलगायतका क्षेत्रलाई कसरी समृद्धिको आधार बनाउने ? कसरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउने र स्थानीय जनशक्तिलाई उत्पादनशील क्षेत्रमा लगाउन कसरी उत्प्रेरित गर्ने भन्ने प्रभावकारी योजनाको तयारी यही गृहबन्दी रहेको समयको गृहकार्य बन्नु पर्छ ।
कोभिड–१९ को ताण्डवपछि विश्व अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने निश्चित छ । महिनौँदेखि विश्व नै गृहबन्दी बनिरहेको यो समय सम्पूर्ण मानवीय गतिविधि घरको चौघेरामा खुम्चिएको छ । विश्व अर्थतन्त्रमा यसबाट जे जस्तो नकारात्मक प्रभाव पर्नेछ, त्योभन्दा बढी समस्या हाम्रोजस्तो विप्रेषण र विदेशी पर्यटकमाथि निर्भर आयातमुखी अर्थतन्त्रले भोग्नु पर्ने निश्चित छ । नेपालले २०७२ सालको भूकम्पबाट परेको प्रतिकूल असरबाट राम्ररी उठ्न नपाउँदै देखिएको यो समस्याले यो भूमिमा अरू जटिलता उत्पन्न गर्ने निश्चित छ । नेपाल त्यसै पनि कम आर्थिक विकास दर भएको राष्ट्र हो, यसबाट राष्ट्रको अर्थतन्त्रमा अरू दुष्प्रभाव पर्ने निश्चित छ । विश्व बैङ्कले भर्खरै आउँदो दुई वर्षसम्म हाम्रो आर्थिक वृद्धिदर एक दशमलव पाँच प्रतिशतमा झर्ने र गरिबी निकै बढ्ने प्रक्षेपण गरिसकेको छ । विश्वभर नै सम्पूर्ण आर्थिक गतिविधि ठप्प छन् । भोलि कोभिड–१९ परास्त भएर मानवीय गतिविधि पूर्ववत् अवस्थामा पुगेपछि अहिलेको यो आर्थिक, सामाजिक र मानसिक क्षतिबाट माथि उठ्न ठूलै कसरत गर्नुपर्ने छ ।
सिङ्गो संसार आर्थिक मन्दीमा नराम्ररी फसेको अवस्थामा अबको हाम्रो प्राथमिकता अल्पकालीन उत्पादनको वृद्धि लक्ष्यित कृषिजन्य उद्योगतर्फ रहनु पर्छ । यो क्षेत्रलाई माथि उठाउन सकियो भने तत्कालका लागि खाद्यान्न आपूर्तिमा पर्ने प्रभाव रोक्न सकिने छ । कोरोनाका कारण अहिले उत्पादन कमजोेरीको अवस्था सिर्जना भएको अवस्थाले ल्याउन सक्ने विश्वव्यापी खाद्यान्न अभावसँग लड्न यसबाट तत्कालको निमित्त मद्दत मिल्ने छ । त्यसैले हाम्रो तात्कालिक कार्यक्रम कृषि क्षेत्रलाई चलायमान तुल्याउने उद्देश्यबाट सञ्चालन हुनु जरुरी छ । निश्चित छ, नेपाली अर्थतन्त्रको मेरुदण्ड बनिरहेको वैदेशिक श्रम र पर्यटन उद्योग दुवै क्षेत्र कोरोनाका कारण धराशयी बनेका छन् । आउँदो केही वर्षसम्म यो अवस्थामा उल्लेख्य सुधार आउने सम्भावना छैन । वैदेशिक रोजगार क्षेत्र दिगो रहेनछ । त्यसैले यस क्षेत्रबाट प्राप्त हुने राजस्वको ठूलो अंश गुम्ने निश्चितजस्तै छ । गन्तव्यका देशहरूमा ६५ लाखभन्दा नेपाली श्रमिक कार्यरत रहेको अनौपचारिक अनुमान गरिन्छ । अबका केही वर्ष यसबाट प्राप्त हुने मासिक अर्बाैंको रुपियाँको विप्रेषण तत्काल आउने सम्भावना रहने छैन । स्वदेशकै श्रम बजारमा पनि तीव्र ह्रास आउने अवस्था छ । पर्यटन र यातायातजस्ता सेवापरक उद्योगमा पनि यही अवस्था रहने छ । वैदेशिक रोजगारी तथा पयर्टन उद्योगबाट भइरहेको विदेशी मुद्राको सञ्चयमा हुने कमीबाट खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तु र विदेशी कच्चा पदार्थमा निर्भर नेपाली उद्योगलाई आवश्यक कच्चा पदार्थ ल्याउनसमेत समस्या आउने प्रस्ट छ । यसबाट आपूर्ति व्यवस्थामा ठूलो समस्या सिर्जना हुनसक्छ । पर्यटन र होटेल तथा यातायातजस्ता सेवापरक उद्योगहरू पूर्ववत् अवस्थामा आउन लामै समय लाग्ने निश्चित छ ।
यो दुष्परिणामबाट उम्कन सरकारले के कस्तो तत्कालीन र दीर्घकालीन योजना तर्जुमा गर्दैछ, जानकारीमा आएको छैन । कोरोनाको विस्तार हुन नदिने उपायका साथै यसबाट छुटकारा मिल्नासाथ अर्थतन्त्रलाई कसरी यथावत् अवस्थामा लैजाने भन्नेतर्फ सँगसँगै सोच्ने र योजना बनाउने काम गर्न सकिएन भने भोकभोकै मर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । यो काममा सरकारका राष्ट्रिय योजना आयोग, सेरिडजस्ता निकायहरूलाई समय छँदै सोच्न र नीति तथा कार्यक्रम तयार गराउन लगाउनतर्फ सोच्नु जरुरी देखिन्छ सङ्कटमा नआत्तिई प्रभावकारी आत्मनिर्भरतालाई टेवा दिने खालको उत्पादनमुखी योजना इमानदारीसाथ कार्यान्वयन गर्ने सोच अहिलेदेखि नै गर्न थाल्ने हो भने यो कालो बादलमा चाँदीको सेतो घेरा पनि भेटिन सक्छ !
(लेखक गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ)