logo
२०८१ मंसिर १४ शुक्रवार



पूर्व तयारीमा तीव्रता (सम्पादकीय)

विचार/दृष्टिकोण |





विश्वव्यापी महामारी कोभिड–१९ (कोरोना) को परीक्षण, रोकथाम तथा नियन्त्रणका लागि नेपालले उपचारात्मक, प्रशासनिक तथा भौतिक पूर्वाधारमा विशेष पहल गरेको छ । उपचार अन्तर्गत सङ्क्रमितको पहिचानदेखि अन्य सम्भावित सङ्क्रमित र उनीहरूसँग सम्पर्कमा आएकाको खोजी तथा क्यारेन्टाइन बसाइ, आइसोलेसन, जनशक्ति व्यवस्थापन लगायतका कार्य गरिएका छन् भने प्रशासनिक रूपमा लकडाउन आदेश जारी, त्यसको पालना, नेपाल – भारत सीमा क्षेत्रको आउजाउ नियन्त्रणजस्ता कामलाई प्रधानता दिइएको छ । पूर्वाधारका लागि कोरेनाको अन्तर्राष्ट्रियस्तरको परीक्षण, अस्तालहरूको स्तरवृद्धि तथा कोरानोमैत्री संरचना तयार, विशेष एम्बुलेन्स, परीक्षणको दायरा वृद्धि, कोराना एप्स सञ्चालन जस्ता कार्यलाई तीव्रता दिइएको छ ।
राजधानी उपत्यका वीर, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग उपचार केन्द्र पाटन अस्पताललगायत सातै प्रदेशबाट कोरानोको परीक्षण तथा उपचार सेवा विस्तार गरिएको छ । सङ्क्रमण बढेमा विशेष उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भौतिक निर्माणको काम सम्पन्न हुँदैछ । कोभिड–१९ ‘डेडिकेटेड’ उपचार केन्द्रका रूपमा प्रयोग गर्ने गरी सो अस्पतालमा १२० शैय्या आइसोलेशन र छ शैय्या आइसियु तयार गरिएका छन् । नेपाली सेना र अन्य स्वास्थ्य निकायका चिकित्सकले सो अस्पतालमा विशेष सेवा दिने गरी तयारी गरिएको छ । यस्तै टेकुस्थित शहीद शुक्रराज ट्रपिकल सरूवा रोग अस्पताल र एक सय शैय्याको पाटन अस्पताललाई समेत कोभिड–१९ को उपचार गर्ने अस्पतालका रूपमा तयारी अवस्थामा राखिएको छ । काठमाडौँ उपत्यकाभित्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, काठमाडौँ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवा केन्द्रका १० वटा एम्बुलेन्सलाई कोभिड–१९ को उपचारमा सेवा दिने गरी तयारी अवस्थामा राखिएको छ । एम्बुलेन्स सेवालाई सहजीकरण गर्न चार÷चारवटा ‘इमर्जेन्सी मेडिकल टेक्निसियन टिम राख्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी हालतमा राखिएको छ । यसैगरी सबै जिल्लामा कम्तीमा दुई र प्रदेश सदरमुकाम रहेका जिल्लामा कम्तीमा पाँचवटा एम्बुलेन्स राख्ने तयारी गरिएको छ ।
सङ्क्रमण फैलिन सक्ने अवस्थाको आँकलनमा मुलुकैभर क्वारेन्टाइनको तयारीलाई तीव्रता दिइएको छ । सरकारले तय गरेको मापदण्ड अनुसार हालसम्म करिव ३० हजार क्वारेन्टाइन शैय्या तयार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै तीन हजार एक सय १४ आइसोलेशन शैय्या तयार गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न ७७ वटै जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरिएको छ । सिसिएमसी अन्तर्गत कार्य सम्पादन गर्न स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा, शान्तिसुरक्षा र सूचना तथा प्रविधि कार्य समूह क्रियाशील छन् । केन्द्रले सङ्घीय, प्रादेशिक र स्थानीयलगायत सुरक्षा निकाय र सबै सरोकारवालासँग एकीकृत रूपमा सहकार्य गरी कोरोना भाइरसविरूद्ध सबै प्रकारका प्रतिकार्य सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका १८ जना विशेष स्वास्थ्य अधिकृतलाई तालीम दिई परिचालन गरिएको छ । २५ जना चिकित्सक र २९ जना नर्सिङ कर्मचारीलाई कोरानो लक्षित आइसियुसम्बन्धी विशेष तालीम दिइएको छ । नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीको मेडिकल टोलीद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २६ जना स्वास्थ्यकर्मालाई आवश्यक सबै प्रकारका तालीम दिई परिचालन गरिएको छ । सेनाले आफ्ना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २०÷२० जना चालक र प्यारामेडिक्सलाई कोभिड–१९ फ्रेन्ड्ली एम्बुलेन्स सञ्चालन गर्ने सम्बन्धमा तालीम दिइएको छ । देशभरका १३ स्थानमा पिसिआर विधिबाट परीक्षण भइरहेको छ ।
अचानक आउने महामारी विरूद्धका प्रतिकार्य अपरझट रूपमा गर्नुपर्ने हुन्छ । यस्ता कार्यको पूर्व तयारी सम्भव हुँदैन । विश्वभर यस्तै अवस्था देखिएको छ । नेपालले जे जति सम्भव हुन्छ ती कार्यलाई विभिन्न कोणबाट एकैसाथ तीव्रता दिएको छ । अचानक आएको समस्या, नयाँ अनुभव, सीमित स्रोत र पूर्वाधार विकास तथा आयातमुखी अर्थ व्यवस्थाका कारण पूर्व तयारीमा कमी कमजोरी रहेका हुनसक्छन् तर नेपालले गरेको तयारी दक्षिण एसियामा नै उत्कृष्ट गरेको दावी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ । सरकारको नेतृत्वमा नागरिकदेखि राबै राजनीतिक शक्तिको सहकार्यमा कोरोनाविरूद्ध एकताबद्ध भई काम गर्न सकिए समस्या समाधानमा नेपाल सफल हुनेछ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?