वसन्त महर्जन
कोरोना भाइरसको सङ्क्रमण रोक्न आवतजावतमा नियन्त्रण गर्न गरिएको ‘लकडाउन’ का कारण समाजको हरेक पक्ष प्रभावित छ । गाईवस्तुले दिएको दूध बजारमा बेच्न नपाएको भन्दै किसानले नालीमा बगाएको दृश्य साह्रै टीठलाग्दो छ । बारीको तरकारी किसानहरूले त्यत्तिकै कुहाएका छन् । बेच्ने बेला भइसकेका कुखुरा बेच्न नपाएर खाल्डो खनी ज्युँदै पुरेका छन् । यो सानोतिनो मापनको घाटा होइन । आफूलाई परेको घाटाबारे सञ्चारकर्मीसँग बोल्दाबोल्दै एक कुखुरा व्यापारी अनियन्त्रित भई भुइँमा ढल्न पुगेको दृश्यले स्थिति कति कहालीलाग्दो भइसकेको भन्ने चित्रणका लागि पर्याप्त छ ।
सङ्कट बाजा बजाएर आउँदैन भने पनि कोरोना भाइरस नेपालमा बाजा बजाएरै आएको छ । चीनको वुहान क्षेत्रमा सुरुमा देखापरेको यो भाइरस हेर्दाहेर्दै दुई सयभन्दा बढी मुलुकमा फैलिसक्यो । अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाका बन्द भइसकेका छन् । यद्यपि सङ्कटसँग कसरी सामना गर्ने भन्ने जनचेतनाको विकास गर्न पनि हामी चुक्यौँ र लकडाउनका बेला आवतजावत बन्द गरिँदा व्यापार व्यवसाय नराम्रोसँग प्रभावित हुन पुग्यो । देशभित्र र बाहिरको वस्तुस्थितिमा ध्यान दिँदा आउँदा दिन अझ भयावह हुनसक्ने आँकलन गरी लकडाउनको अवधि बढाउँदै लैजाने काम भइरहेको छ । सङ्क्रमणको फैलावटलाई रोक्ने यही मात्र उपाय भएको अवस्थामा सड्ने, गल्ने र मर्ने खालका उत्पादनमा ध्यान दिनु पनि नितान्त आवश्यक छ ।
बेच्न नपाएर दूध, तरकारी, कुखुरालगायतका वस्तु नष्ट गरेको संवेदनशील कुरा हो नै तर थोरै पनि होस पु¥याउन सकेको भए त्यत्ति धेरै नोक्सान ब्यहोर्नु नपर्ने हुँदा उक्त कार्य आलोचनाको विषय बन्न गएको छ । खाद्य सामग्री बेच्न नपाएर नष्ट गर्नुभन्दा त्यसको विकल्प खोज्नुपर्दछ । ‘लकडाउन’ हुँदैमा कोही पनि भोकै नबस्ने तर आवतजावतमा कडाइ भएका कारण यसको माग बढ्नु स्वाभाविक हो । काठमाडौँ वा अन्य सहरमा मात्रै बेच्नुपर्छ भन्ने छैन । अन्य वैकल्पिक बजार खोज्न, स्थानीय बजारमा अलि सस्तोमा बेच्न सकिन्छ । विभिन्न निकायसँग समन्वय गरेर त्यसलाई काठमाडौँ तथा अन्य सहरसम्मै पु¥याउन पनि नसकिने होइन ।
गाईवस्तुले दिएको दूधको उपभोग दूधकै रूपमा मात्रै सीमित हुँदैन । दूधबाट बनाउन सकिने धेरै पदार्थको उत्पादन दूधभन्दा बढी मूल्यमा बिक्री हुन्छ । दूध बेच्न नपाउँदैमा हठात् नष्ट गर्दा इङ्गित गर्ने एउटै कुरा हो– उत्पादनमा विविधीकरणको चेतना दिने कार्यमा राज्यले ध्यान दिएकै रहेनछ । तरकारी पनि कुहाउनुभन्दा सुकाएर सुकुटी बनाउन सकिन्थ्यो । नेपाली उत्पादन र पहिचानका रूपमा रहेको ‘गुन्द्रुक’ नै बनाउँदा पनि हुन्थ्यो जसको अन्तर्राष्ट्रिय बजारमा समेत उत्तिकै माग छ । यसरी नै कुखुरालाई पनि जिउँदै पुर्नुभन्दा सुकुटी मासु बनाएर पछि बेच्न सकिन्थ्यो । यी उत्पादनहरू तत्कालै नबिके पनि खाद्य सञ्चितिमा योगदान पु¥याउने एउटा राम्रो उपाय पनि हो ।
लकडाउनका कारण दैनिक जीवन गुजारा गर्नुपर्नेहरूलाई अप्ठ्यारो परेको भनेर खाद्य सामग्रीहरू राहतका रूपमा वितरण गर्न थालिएको छ । नष्ट गरिएका खाद्य सामग्री किसानसँग उचित मूल्यमा खरिद गरी राहतका रूपमा वितरण गरेको भए पनि हुन्थ्यो । माछामासु, सागसब्जी तथा फलफूलले इम्युनिटी पावर’ बढाउने कुरामा विवाद छैन अर्थात् सङ्कटलाई यसरी पनि टार्न सकिन्थ्यो । यसबाट दाल, चामल तथा अन्य खाद्यपदार्थको भण्डारणमा केही त अवश्य पनि सहयोग हुन्छ ।
दूध, तरकारी, कुखुरालगायतका उत्पादक कृषकहरू आफ्नो उत्पादनलाई बजारसम्म लान नसकेकोमा करिब करिब विवेकशून्य नै भएको देखियो । उनीहरूका अभिव्यक्ति हेर्दा ‘लकडाउन’ सरकारले अन्याय गरेको भन्ने बुझाइ राखेको पाइन्छ । यही बुझाइअनुसार उनीहरू आक्रोशित, हतास बनेका छन् । उनीहरूले वैकल्पिक बाटो अपनाएर व्यापारिक सुझबुझ देखाउन नै सकेनन् । नष्ट नै गर्नुभन्दा बरु छरछिमेकीलाई बाँडेको भए पनि समाजमा उसको साख बढ्थ्यो र सुदूर भविष्यको व्यापारसम्मलाई प्रभाव पार्दथ्यो ।
समाज वा राज्यको मेरुदण्ड भनेको आर्थिक कारोबार नै हो । व्यापारिक पार्टपुर्जालाई चलायमान गर्ने यी व्यवसायी किसानहरू पनि हुन् । यो वर्ग घाटामा पर्नु वा यो क्षेत्रबाट नै विचलित हुनु राष्ट्रका लागि ठूलै नोक्सान हो । यतिबेला महामारीबाट मात्रै नभएर जनतालाई भोकमरीबाट पनि जोगाउनु नितान्त आवश्यक छ । आफ्नै उत्पादन अपुग भएर विदेशबाट आयात गर्नुपर्ने स्थिति बेहोरिरहेको नेपाली बजारलाई चलायमान गरिराख्न लकडाउनका कारण उत्पादनहरूलाई नष्ट गर्नुपर्ने स्थितिबाट जोगाउनु आवश्यक छ । हुलमुलमा जीउ जोगाउने र अनिकालमा बीउ जोगाउने नेपाली उखान यहाँ चरितार्थ हुन्छ ।
(लेखक पत्रकार हुनुहुन्छ ।)