विष्णुमाया विभु
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को महामारीले यतिबेला संसारका मै हुँ भन्ने देशहरूको पनि सातो लिएको छ । यो भाइरस अमेरिका, इटाली, स्पेन, जर्मनी, बेलायत, स्वीजरल्याण्ड, बेल्जियम, नर्वे, डेनमार्क, स्विडेनलगायतमा महामारीका रूपमा फैलिएको छ । इटाली, स्पेन, फ्रान्सलगायतका युरोपेली मुलुकको तुलनामा नर्वेको अवस्था अहिलेसम्मलाई त्यति भयावह नदेखिए पनि सुरक्षित रहन भने सकेको छैन । राजधानी ओस्लोमा मानिसहरूको थोरै चहलपहल देखिए पनि अन्य सहरहरू लगभग शून्य छन् । नर्वेका स्वास्थ्यमन्त्रीले कोरोनाको महामारी नियन्त्रणमा आइसकेको दाबी गरे पनि भोलि कुन रङ् लिएर आउने हो भन्न सकिने स्थिति छैन । सार्वजनिक सवारी नियमित रूपमै चलिरहेका छन् तर यात्रु सङ्ख्या न्यून छ ।
नर्वेमा स्कुल, कलेजलगायत अन्य खेलकुद तथा शैक्षिक संस्थाहरू मार्च १३ देखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । कोरोना नियन्त्रणबाहिर गएको भन्दै मार्च १२ मा सरकारले स्कुल कलेज बन्द गरे पनि कर्मचारीलाई बिदा दिइएको छैन । विद्यार्थीको पढाइ केही हदसम्म अनलाइन कक्षा तथा डिजिटल शिक्षणमार्फत सञ्चालन गरिएको छ । बालबालिकाले घरमा बसेर अनलाइनबाट अध्ययन जारी राखेका छन् । अन्य क्षेत्रमा काम गर्ने कर्मचारीले पनि सम्भव भएसम्म घरबाटै कार्यालयको काम गरिरहेका छन् भने उद्योग कलकारखाना बन्द भएका कारण कति कर्मचारीले आफ्नो रोजगारी गुमाएका छन् । रोजगारी गुमाएका कर्मचारीलाई सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुका साथै बेरोजगार भत्तालगायतका सुविधाको व्यवस्था गरेको छ । त्यसैगरी कोरोनाका कारण प्रभावित कम्पनीहरूलाई पनि सरकारले आर्थिक राहतको घोषणा गरेको छ । रेस्टुराँ, बार, पबलगायत भिडभाड हुने स्थल बन्द छन् । सङ्क्रमित तथा क्वारेन्टाइनमा बस्नेहरूलाई जथाभावी हिँड्न रोक लगाइएको छ भने नियम उल्लङ्घन गर्नेलाई २० हजार क्रोनर जरिवाना तोकिएको छ । अन्य नागरिकलाई पनि अत्यावश्यक कामबाहेक घरबाहिर नहिँड्न निर्देशन गरिएको छ । तर दैनिक उपभोग्य तथा अत्यावश्यक सामान किनमेलका लागि सुपरमार्केट खुलेका छन् ।
नर्वेको सकारात्मक पक्ष के छ भने सर्वप्रथम त यहाँका जनता आफ्नो रक्षा र अरूको पनि सुरक्षामा सजग छन् । यहाँ समस्या र सङ्कटमा पनि राजनीतिकरण गरिदैन । आकस्मिक मूल्यवृद्धि र कालोबजारी गरिँदैन ।
नर्वेमा करिब तीन हजार नेपाली रहेको अनुमान गरिएको छ । यी पङ्क्ति लेख्दासम्म यहाँ रहेका नेपाली कोरोना सङ्क्रमित भएको आधिकारिक खबर छैन । तथापि अध्ययन र रोजगारीका क्रममा यहाँ बसोवास गरिरहेका नेपालीलगायत अन्य नेपाली मूलका व्यक्तिले पनि कलकारखाना पूर्ण वा आंशिक रूपले प्रभावित भएका कारण रोजगारी गुमाउन पुगेका छन् । कतिपयका होटल रेस्टुरेन्ट व्यवसाय पूर्णरूपमा बन्द भएका छन् ।
कोरोनाको पाठ
विश्वलाई आक्रान्त बनाएको महामारीले आधुनिकताको नाममा प्रकृतिलाई भुल्दै गएको आजको दुनियाँलाई धेरैै पाठ पनि सिकाइरहेको छ । कोरोना सङ्क्रमणले चेपिएको विश्वचित्रलाई नियाल्दा देखिन्छ– मानिस जीवनको मूल्यमान्यता बिर्सेर, आफ्नो धर्म संस्कृति र सभ्यतालाई बेवास्ता गर्दै खोक्रो आडम्बरमा बाँचिरहेका थिए । विकसित मानिएका पश्चिमेली मुलुक त झन् विज्ञान र प्रविधिको प्रयोगबाट जे पनि गर्न सम्भव छ भन्ने भ्रममा अल्झिरहेका थिए । प्रविधि त परको कुरा, मर्दापर्दा सम्झिने छिमेकीका कुरा पनि छोडौँ, श्रीमतीले घिटीघिटी अवस्थाको श्रीमान्लाई अनि आफ्नै आमाले मर्न लागेको सन्तानलाई अँगालो हालेर माया, हात र साथ दिनुको साटो तर्केर भाग्नुपर्ने अवस्थाको कल्पना पक्कै कसैले गरेका थिएनन् । त्यसकारण भविष्य अनिश्चित छ अहंकार व्यर्थ छ भन्ने कुरा प्रष्ट भएको छ । मानिसलाई आफ्नो लागि आफू नै हो, आफ्नो मित्र र शत्रु पनि आफू नै हो’ भनेर बुझ्न बाध्य बनाएको छ समयले । बाँच्न सक्नुपर्छ यौटा सफल जिन्दगी भनेर पनि पुनः स्मृति गराइदिएको छ कोरोनाले । ध्यान, योग, साधना जस्ता संस्कृति र सभ्यता मानिसका लागि धेरै उपयोगी थिए र छन् । त्यसैगरी वनजङ्गल, जडीबुटी प्रकृतिले नै मानव हितका लागि योजनाबद्ध रूपमा बनाइदिएकी थिइन् । विज्ञान र प्रविधिले जति नै फड्को मारे पनि मानिसले प्रकृतिलाई कहिल्यै जित्न सक्दैन ।
तसर्थ सके प्रकृतिको महत्व बुझौँ, सम्मान गरौँ, नसके पनि प्रकृतिको अपमान नगरौँ । त्यस्तै भौतिक शारीरिक दूरी कायम राखेर पनि कसरी पारिवारिक—सामाजिक सम्बन्ध बनाइराख्ने भन्ने कोरोनाले सिकाएको छ । छुटेका, फुटेका साइनोलाई जुटाउनमा पनि कोरोनाले भूमिका खेलेको छ । महत्वपूर्ण कुरा त मानिसले स्वस्थ भएर बाँच्न पाउनुपर्दो रहेछ । जब रोगव्याधि, महामारी फैलिन्छ त्यतिबेला प्रत्येक व्यक्ति समाज र राष्ट्रलाई स्वास्थ्यकर्मीको टड्कारो आवश्यकता पर्छ । सुरक्षाकर्मी, वैज्ञानिक अनुसन्धानकर्ता लगायतका जनशक्तिको जरुरी पर्छ । त्यसैले यी क्षेत्र र यस्ता व्यक्तिमा सरकारले धेरै लगानी गर्नु बुद्धिमानी हुन्छ ।
(लेखक नर्वेमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।)