शरदचन्द्र पौडेल
सन् २०१९ डिसेम्बर पृथ्वीको सबै भागमा फैलिएको र सौर्यमण्डलका अन्य ग्रहमा विचरण गर्दै बस्ती विस्तारमा तल्लीन अहिलेको मानव जाति होमो स्यापिन्यस्ले एक्काइसौँ शताब्दीमा भोगेको कठिन अवस्थाको सुरुवाती महिनाको अवस्थामा जस्तो भएको छ । चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिएको छ । विश्व स्वाथ्य सङ्गठनले यसलाई सबैतिर फैलिन सक्ने सरुवारोग महाव्याधि भन्दै कोभिड– १९ नामकरण गरेको छ । यो रोग फैलिएका सबै देशले संसारबाट आफूलाई अलग्याउँदै परिवार र व्यक्तिलाई समेत अलग्गै थुनिएर बस्न लगाई रोगविरुद्ध लडिरहेका छन् । यस क्रममा अधिकांश देशले मानव इतिहासमा कहिल्यै नदेखिएको आफ्नो सम्पूर्ण अर्थव्यवस्था बन्द गरेका छन् । नेपालमा पनि सरकारले सम्पूर्ण आर्थिक गतिविधि बन्द गरेर चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) गरेको छ ।
सरुवा रोगको विशेषता हो– धनी र गरिबलाई नछुट्याउने । अरू रोगमा नमिले पनि सरुवा रोगको सन्दर्भमा भने महाकवि लक्ष्मीप्रसाद देवकोटको कालले कसैलाई भेदभाव गर्दैन भनाइ मिल्छ । सन् १८३६ मा विश्वकै सबभन्दा धनी नाथन रोथस्चाइल्डको मुत्यु पिलोमा सङ्क्रमण भएर भएको थियो । बेलायतका राजाहरूलाई हैजा, आउँ, क्षयरोग, निमोनिया, बिफर जस्ता रोगले छोडेको थिएन । सन् १८४१ मा अमेरिकी राष्ट्रपति विलियम ह्यारिसनको मृत्यु सेप्टिक शकका कारण भएको थियो । सन् १९४१ मा अमेरिकी राष्ट्रपति केल्भिन कोलरिजका छोराको मृत्यु घाउको सङ्क्रमणबाट भएको थियो । नेपालकै शासकहरू पनि हैजा बिफरबाट सुरक्षित रहन नसकेको इतिहास छ ।
अहिलेसम्मको कोरोनाको महाव्याधिलाई नियाल्दा यसले विश्वका बढी आय भएका अमेरिकालगायत पश्चिम युरोपका मुलुकलाई बढी आक्रान्त पारेको देखिन्छ । कम आय भएका विकसित देशमा यसको प्रभाव कम देखिएको छ । कम विकसित मुलुकमा जनस्वास्थ्यको अवस्था ठीक नभएको बताउँदै सुधारमा सहयोग गर्ने र त्यहाँका मानिसको आवागमनमा अवरोध खडा गर्ने राष्ट्र यो सङ्क्रमणविरुद्ध युद्ध लडिरहेका छन् । उनीहरूका उत्कृष्ट दाबी गरिने स्वास्थ्य सेवा मानिसलाई कोरोनाका कारण हुने निमोनियाबाट बचाउन नसक्ने अवस्थामा पुगेको छ ।
संसारमा धर्म र विज्ञानबीच सदैव द्वन्द्व चलिरहेको थियो, छ र रहनेछ । तर सबैजसो द्वन्द्वमा विज्ञान नै विजयी हँुदै आएको छ । विकासको उत्कर्षमा पुगेका र विज्ञान र प्रविधिबाट जे पनि गर्न सकिन्छ, असम्भव केही छैन भन्ने राष्ट्रमा कोभिडले सिर्जना गरेको निरीहताले फेरि एकपटक धर्मका नाममा अन्धविश्वासभीरुलाई विज्ञानप्रति चुनौती दिने अवसर सिर्जना गरिदिएको छ । उनीहरू अहिलेको महाव्याधिलाई भगवान् रिसाएर भएको मान्दछन् र भगवान्को कृपाले यो समाप्त हुने बताउँछन् ।
कोरोनाको औषधि र खोप नभएको वर्तमान अवस्थामा के विज्ञान परास्त भएकै हो ? यसबाट हामीले त्राण पाउने अवस्था छैन ? यी प्रश्न सबैको मनमा छन् । वर्तमान मानिस पहिले जङ्गली फिरन्ते थिए । जङ्गली फलफूल र कन्दमूल खान्थे, मासु कम खान्थे । ताजा खान्थे र धेरै अभ्यास गर्थे । उनीहरू ससानो समूहमा बस्ने भएकाले सरुवा रोगको सङ्क्रमण कम थियो । त्यो बेला मानिसको औसत आयु ३२ दशमलव ५ वर्ष मात्र थियो । छ हजार वर्षअगाडि जब मानिस खेतीपाती गरी एकै ठाउँमा बस्न थाल्यो तब आयु घटेर ३० वर्षमा झरेको थियो । यो बेलादेखि अठारौँ शताब्दीको मध्यसम्म मानिसको सरदर आयु २९ वर्ष मात्र थियो । बितेको २५० वर्षमा मानिसको सरदर औसत आयु बढेर ७० वर्ष पुगेको छ ।
नोबेल पुरस्कार विजयी अर्थशास्त्री डेटनले ‘द ग्रेट इस्केप’ नामक पुस्तकमा मानव स्वास्थ्यमा भएको अभूतपूर्व सुधारको श्रेय पुनर्जागरणपछि सुरु भएको विज्ञानको विकासलाई दिनुभएको छ । उहाँले जीवाणुको सिद्धान्त, खोप र औषधिको अविष्कार, सरसफाइसम्बन्धी उपाय र अन्य पुनर्जलीय उपचारजस्ता सस्ता प्रविधिको विकासले मानव स्वास्थ्यमा यस प्रकारको उन्नति भएको बताउनुभएको छ । खाली पानीलाई ‘क्लोरिनेस’ गर्ने ‘एवेल’ र ‘लिन’को आविष्कारले मात्रै संसारमा १७ करोड जीवन बाँचेको थियो भनिन्छ । अनुसन्धानकर्ताले विभिन्न समयमा भएको वैज्ञानिक आविष्कारले संसारभर करिब पाँच अर्ब मानिसको जीवन जोगिएको बताएका छन् ।
इतिहास खाली बाँचेको र आयु लम्बिँदै गएको प्रगतिमा मात्र सीमित छैन । भोक, महामारी, युद्ध, हत्याजस्ता कारणले मानवको संहार भएको पाइन्छ । सन् १३१४ देखिको प्लेगबाट पाँच करोड, १९१८ को स्पेनिस फ्लुबाट पाँच करोड र १९८१ देखि सुरु भएको एचआईभी÷एड्सबाट तीन करोडभन्दा बढीको मृत्यु भएको थियो ।
कोरोनाको कारण हुँदै गरेको मृत्यु विगत ३० वर्षमा भएका महामारीमा सबैभन्दा डरलाग्दो अवश्य छ तर अन्य कारणले भएको मानव मृत्युभन्दा हालसम्म कम छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा प्रत्येक ४० सेकेण्डमा एक जनाले अर्थात् वर्षमा करिब आठ लाखले आत्महत्या गरेका थिए भने र प्रत्येक वर्ष सवारी दुर्घटनामा मर्नेको सङ्ख्या करिब १४ लाख छ । नेपालमा पनि प्रत्येक दिन सात जनाको दुर्घटनामा मत्यु भइरहेको छ ।
मानिस नकारात्मक कुरामा रमाउँछ भने ताजा कुनै एक घटनालाई आधारित भएर धारणा बनाउँछ । अहिलेका मानिसले देखाउने समस्याको पहाड यसरी नै उत्पन्न भएको हो । ऊ संसार जहिले पनि पहिलाभन्दा बिग्रँद्रै गएको बताउँछ । जबकि विगत २५० वर्षमा मानव जीवनका धेरै पक्षमा अभूतपूर्व सुधार भएको छ । मानव जीवन पहिलेभन्दा सबै किसिमले धेरै रामो भएको छ । यो कुरालाई स्टिभिन पिंकरले ‘इलाइटेनमेन्ट नाउ’ पुस्तकमा राम्ररी चित्रण गर्नुभएको छ । २५० वर्षमा यस अगाडि कहिल्यै नदेखिएको मानव सभ्यताको विकास समस्या समाधान गर्ने नयाँ तरिकाको अवलम्बनबाट सम्भव भएको हो । डेटन नयाँ ज्ञान, नयाँ अविष्कार र काम गर्ने नयाँ तरिकाले नै यस अवधिको प्रगति सम्भव भएको बताउनुहुन्छ ।
पढ्न वा प्रयोग गर्न गुमनाम रहने वैज्ञानिक अहिले एकाएक नायक भएका छन् । प्रचारमा रमाउने राजनीतिज्ञ उनीहरूको सल्लाह र साथविना बोल्न नसक्ने भएका छन् । उनीहरूको क्षमता र लगनमाथिको भरोसा र विश्वासका कारण यस्तो भएको हो । यस अगाडि जसरी भोकमरी, सरुवा र अन्य रोगको नियन्त्रणका उपाय वैज्ञानिकले दिएका थिए त्यसरी नै कोरोनाको यो सङ्कटबाट पार लगाउने पनि उनीहरू हुन्, अरू कोही छैन । कुनै धर्म वा गुरु वा ज्योतिषीबाट यो सम्भव छैन । उनीहरू त खाली सङ्कटका बेला रोटी सेक्नेमात्र हुन् ।
वैज्ञानिकका लागि यो कार्य पहिलेभन्दा सजिलो पनि छ । फ्रिडम्यान ‘थ्याङ्क्स फर बिइङ लेट’ मा इन्टरनेटले विश्वको जुनसुकै कुनाको वैज्ञानिक वा दक्षलाई काम गर्न, प्रतिस्पर्धा गर्न, मिलेर काम गर्न र काम सिक्नका लागि ठूलो मञ्च उपलब्ध गराएको छ भन्नुहुन्छ । यो छिटोछरितो मात्र छैन यसमा निरन्तरता पनि छ । यसले नवप्रवर्तनलाई दु्रतगतिमा अगाडि बढाउँछ । वैज्ञानिकहरू कोरोनामा व्यापक सहकार्य र अन्तरक्रिया गर्दै काम गर्न थालिसकेका छन् । त्यसकारण कोरोना नियन्त्रणको भ्याक्सिन वा औषधि वा अन्य कुनै उपाय पत्ता लाग्न धेरै समय लाग्दैन । यद्यपि हामीलाई आजै भए हुन्थ्यो !
विश्वव्यापीकरणको कारण नसक्नेलाई पनि सक्नेले साथै लिएर हिँड्नुपर्दछ, जेसुकै होस् भनेर छोड्न मिल्दैन । हामीले गर्न नसके पनि फाइदा चाहिँ पाउँछौँ । कोरोनाबाट पीडित भएका वा सबैथोक बन्द गरेर घरमा बसेका मानिसको त्याग त्यसै खेर जाँदैन ।
(लेखक नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ ।)