logo
२०८१ मंसिर १४ शुक्रवार



शिक्षणमा वैकल्पिक विधि (सम्पादकीय)

विचार/दृष्टिकोण |




कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने सम्भावना देखिएपछि चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी (लकडाउन) गरिएको छ । सुरुका दिन बन्दाबन्दीलाई पूर्णतः निष्क्रिय जीवनका रूपमा बुझिएको थियो पछि क्रमशः यसलाई सिर्जनशील र रचनात्मक बनाउने प्रयास थालिएको छ । सम्भावित सङ्क्रमणका कारण शैक्षिक संस्था लामो समय बन्द हुने भए । कक्षा १० देखि उच्च शिक्षासम्मका परीक्षा कार्यक्रम बन्द भए । यसकारण घरमै रहेका बालबालिकको पढाइ अनि परीक्षा ब्रने चिन्ताले अभिभावकलाई सताएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्र, सङ्गठित शैक्षिक संस्था र केही निजी संस्थाले यस्तो चिन्ता सम्बोधन प्रयास गर्ने भएका छन् । केहीले सुरु गरिसकेका छन् । सुरुमा कक्षा १ देखि ५ सम्मको बालबालिकाका लागि उपयोगी हुने सामग्री तयार गरिएको केन्द्रले जनाएको छ । यस्तै केही शैक्षिक संस्था र निजी विद्यालयले आफ्ना विद्यार्थीलाई अनलाइन गृहकार्य दिने, त्यसको परीक्षण गरिदिने, प्रश्न सोध्न सकिने र उत्तर दिइने व्यवस्था मिलाएका छन् ।
मकवानपुर र तनहुँका प्रविधिमा अनुभवी शिक्षकले यसरी पठनपाठन सुरु गरेका छन् । हाल एसईई, कक्षा ११ र १२ तथा उच्च शिक्षाका विद्यार्थी रोकिएका परीक्षाको प्रतीक्षामा छन् । यसैगरी नयाँ शैक्षिक सत्रका नयाँ तथा पुराना विद्यार्थी विद्यालय कहिले खुल्ने हुन् भन्ने प्रश्नमा छन् । यस्तो अवस्थामा विद्युतीय अध्ययन अध्यापन अवश्य पनि सुन्दर प्रयास हुन सक्छ । यसका लागि समूह संवाद (ग्रुप च्याट), भिडियो कुराकानी, एफ.एम. रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जालको प्रयोग गरेर अध्ययन अध्यापनलाई निरन्तरता दिन सकिनेछ । यसअघि वैशाख २ देखि १५ सम्म भर्ना अभियान र त्यसपछि नियमित कक्षा सञ्चालन गर्ने गरिएको थियो तर यसपटक भर्ना अभियान हुन सकेन भने नियमित कक्षा सञ्चालनका लागि पनि अझ केही दिन पर्खनुपर्ने अवस्था छ । यसबीच र आगामी दिनका लागि पनि उपयुक्त हुनेगरी प्रविधि मैत्री वैकल्पिक अध्ययन अध्यापन विधि विकास गर्नु प्रशंसनीय कार्य हुनेछ ।
नेपालका सन्दर्भमा अधिकांश यस्ता पहल क्षणिक, प्रचारमुखी र प्रशिक्षणका लागि गरिन्छ । २०७२ को भूकम्पपछि धेरैले सस्तो घरको प्रचार प्रसार गरे । तत्कालका लागि यस्ता घरका बारेमा बोल्ने लेख्नेले प्रचार पाए । पछि त्यस्तो विधि, प्रविधि तथा उपयोगलाई न सरकार न उपभोक्ताले महत्व दिए । हाल पूर्ववत् चार इन्चको गाह्रोमा पाँच तलेघर बनाइएका छन् । सस्तो लोकप्रियता र कहिले कहीँ त रकम ‘परिचालन’ गर्न पनि यस्ता कार्यक्रम ल्याइने गरिन्छ । विद्युतीय÷प्रविधिमैत्री अध्ययन अध्यापन गर्नुपूर्व नेपालमा कति विद्यार्थीले यस्तो प्रविधि वा उपकरणमा पहुँच राख्दछन् ? यस्तो विधि कति व्यावहारिक–सामाजिक हुनसक्छ ? विद्युत्लगायत इन्टरनेट प्रयोगको सुनिश्चितता आदिका बारेमा पनि सोच्नुपर्ने हुन्छ । अहिले विद्यालय भर्ना उमेर नपुगेकादेखि उच्च शिक्षा अध्ययनरत अधिकांश विद्यार्थीको दिनचर्या सामाजिक सञ्जालको उपयोगमा बित्ने गरेको पाइन्छ । अभिभावकहरू यसबाट दिक्दार छन् । विद्युतीय पढाइको अवधारणा पूर्व यस्ता विद्यार्थी तथा बालबच्चालाई सामाजिक सञ्जालबाट छुटकारा÷मुक्त (डिट्याच) गर्नु आवश्यक छ । टिक–टकमा रमाउने विद्यार्थीलाई विद्युतीय पढाइले कति आकर्षण गर्छ ? यसमा ध्यान नदिएर एरिस्टोटल मोडल अफ कम्युनिकेसन (लाइनर मोडल) जसरी पढाउने प्रयास गरियो भने त्यो उपलब्धिमूलक हुनेछैन । यसरी पढाउनु अघि म पढ्दैछु भन्ने जानकारी नै नपाउने गरी बालबच्चादेखि उमेर तथा कक्षा÷तहका आधारमा सामग्री तयार गरेर उपलब्ध गराउनु र अनियन्त्रित सामाजिक सञ्जालको उपयोगलाई सीमित गर्नु आवश्यक छ । यसका लागि शब्द बिनाका पुस्तक, आवाजरहित वा सहितका दृश्य देखाएर शैक्षिक र समसामयिक विषयवस्तुबारे उनीहरूलाई नयाँ र आकर्षक तरिकाले जानकारी दिन सकिन्छ । विद्युतीय माध्यमबाट पनि विद्यालयकै जस्तो घोकन्ते र लेखन्ते पढाइलाई निरन्तरता दिइने हो भने यसले अर्थ राख्दैन । अहिलेको मुख्य चुनौती यस्ता उमेर समूहका बालबच्चा÷विद्यार्थीलाई हाल उपलब्ध सामाजिक सञ्जालबाट मुक्त गर्नु हो । सामाजिक सञ्जालका भन्दा रोचक सामग्री उपलब्ध गराउन सकिएन भने त्यो पहल पिक्का हुनेछ । विद्यार्थीले उपयोगी र रोचकमध्ये कस्ता सामग्रीलाई महत्व दिनेछन् भन्नेमा सरोकारवाला पक्ष स्पष्ट हुनुपर्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?