दिव्येश्वरप्रसाद श्रेष्ठ
लकडाउनमा धेरै व्यतिm घरमा बसेको हुनुपर्दछ । पहिला पहिला विद्यालयमा पढ्दा जाडोको समयमा मीनपचास भनेर झन्डै दुई महिना बिदा हुन्थ्यो । लकडाउनको तुलनामा मीनपचासको छुट्टी फरक छ । छुट्टीमा बाहिर जान कुनै रोकतोक थिएन तर अहिले कोरोनाबाट सुरक्षित हुन, अति आवश्यक सामान किन्न बाहेक सरकारको आदेश पालना गर्दै मानिसहरू घरबाट बाहिर जाँदैनन् । कोरोनाबाट बच्न योभन्दा उत्तम उपाय अरु छैन । लकडाउनको समयमा दिनभरि घरमा कसरी समय बिताउने भन्ने चिन्ता सबैलाई छ । यो समयमा केही उपयोगी कार्य गरेर बिताउनु उपयुक्त हुन्छ ।
घरको सरसफाइ
सहरी क्षेत्रमा बसोबास गर्ने सबैको घरमा कामदार हुन्छ भन्ने छैन, कामदार भएका घरका कामदार पनि धेरैजसो घर गइसकेका होलान् । उनीहरूले मात्रै घरको काम गर्नुपर्छ भन्ने छैन, किनभने घर तपाईंको हो । यस्तो अवस्थामा घरको सरसफाइ गरेर केही समय आरामसँग बिताउन सकिन्छ । यसबाहेक तस्बिर सफा गर्ने, किताब, पत्रपत्रिका राम्रोसँग मिलाएर ¥याकमा राख्ने, घरमा भएका सबैको लुगाफाटा व्यवस्थित ढंगले दराज वा ड्रोब वा बाकस आदिमा राख्न सकिन्छ । सवारीसाधन छ भने त्यसको मर्मत एवं सफाइ गरेर समय व्यतित गर्न सकिन्छ ।
मर्मत सम्भार
घरमा जगेडा रङ, ब्रस छ भने रङ लगाउनु अर्को उपाय हुनसक्छ । फुस्रो देखिएका वा खुइलिएका ठाउँहरूमा सामान्य रङ लगाउने, झ्यालढोका आदि खोल्दा वा बन्द गर्दा आउने आवाज कम गर्न कब्जामा तेल हाल्ने, उप्केको ठाउँहरूमा सिमेन्ट प्लास्टर गर्ने (सिमेन्ट, बालुवा भएमा), छेस्किनी कब्जा आदिमा पेच खुस्किन लागेको छ भने त्यसो मर्मतसम्भार गर्न सकिन्छ । यी कार्यहरूबाट आफ्नो घर भौतिक हिसाबले राम्रो अवस्थामा राख्न सहयोग पुग्दछ ।
करेसाबारीको काम
सबैको घरमा बगैँचा वा करेसाबारी नहुन पनि सक्छ तर जसको घरमा बगैँचा वा करेसाबारी छ ती सबैकोमा माली नआउन पनि सक्छन् । तसर्थ यस्तो समयमा बगैँचा वा करेसाबारीमा पानी दिने, गोडमेल गर्ने, घाँस उखेल्ने, बीउ भएमा मौसम अनुसारको फूल र तरकारी रोप्ने काम गर समय सजिलैसँग बित्छ । यसले बगैँचा वा करेसा राम्रो पनि हुन्छ । यसमा घरका केटाकेटीलाई पनि संलग्न गराउन सकिन्छ ।
सिर्जनात्मक काम
साहित्य, कलाका विविध विधामा रुचि राख्नेका लागि यो समय वरदान सावित भएको होला । प्रायः सधैँ व्यस्त रहने कारणले गर्दा चाहेर पनि आफ्नो इच्छा अनुसारको सिर्जना गर्न नभ्याइराखेको हुन सक्छ र आफ्नो इच्छा अनुसार काम गर्न लकडाउनले ठूलो अवसर प्रदान गरेको छ । अभिभावकहरूले बालबालिकालाई विभिन्न किसिमको सिर्जनात्मक कार्यहरू जस्तो कथा, कविता लेख्न सिकाउने, चित्र बनाउन लगाउने, माटोको सानो मूर्ति बनाउन सिकाउन सक्छन् । यसबाट उनीहरूमा भएको सिर्जना प्रस्फुटन हुनसक्छ । मोबाइलमा मात्र समय बिताउन सकिन्छ भन्ने सोचमा सकारात्मक परिवर्तन ल्याउन पनि यस्ता क्रियाकलापले सघाउ पुग्नेछ ।
खाना बनाउने
सधैँं एकैप्रकारको खाना खाँदा वाक्क दिक्क लाग्न सक्छ । त्यसैले युट्युब आदि हेरेर वा साथीहरूबाट रेसिपी लिएर थप स्वादका लागि नयाँ नयाँ प्रकारको खाना बनाउन सिक्ने अवसरको रुपमा पनि यो समयलाई उपयोग गर्न सकिन्छ ।
सम्बन्ध बढाउने
यो समयलाई एक आपसबीचको सम्बन्ध स्थापित गर्ने र थप बलियो बनाउने अवसरको रुपमा लिनुपर्छ । मोबाइल, टेलिभजन, इन्टरनेट आदिले गर्दा घरमा सँगै बस्दा पनि टाढा बसेको अनुभूति भएको अवस्थामा अहिले परिवारका सबै सदस्य सँगै बसेर एकआपसमा छलफल गर्ने वातावरण बढेको छ । यसले एक अर्काको भावना बुझ्ने अवसर प्रदान गरेको छ ।
हालखबर बुझ्ने
कोरोना भाइरसबाट बच्ने एक मात्र उत्तम उपाय भनेको लकडाउनको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजाने हो । आफ्ना नातेदार, साथीको हालखबर बुझ्न फोन, भाइबर, इमेल आदिको प्रयोग गरौँ । यसबाट समय गएको पत्तो हुँदैन । समयले टाढा टाढा रहेका आफन्तहरूबीच सम्बन्ध बढाउन र सामाजिकीकरणमा सहयोग पुग्छ ।
(लेखक सहरी विकास तथा भवन निर्माण विभागका पूर्व वरिष्ठ अर्थशास्त्री हुनुहुन्छ ।)