नारायणप्रसाद पौडेल
समाचारमा आएको कुरा सत्य हो भने ‘७१ वर्षीय बेलायती राजकुमार चाल्र्स कोरोना सङ्क्रमणपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेर निको हुनुभएको छ ।’ त्यसैले कोरोना (कोभिड–१९)बाट बँच्न अर्थात् रोग प्रतिरोध गर्ने क्षमता बढाउनका लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा जारी गरेको सन्देश पालन गरौँ ।
१– गुडूची (गुर्जो) ५ ग्राम आधा लिटर पानीमा पकाएर आधाजति बाँकी रहेपछि चियाजस्तै प्रयोग गरौँ ।
२– असुराको पात र बेसारलाई एक लि.पानीमा पकाएर आधाजति बाँकी रहेपछि चियाजस्तै प्रयोग गरौँ ।
३– सुठो, मरिच, पिप्ला २ ग्रा. र तुलसीको पात पाँचवटा एक लि. पानीमा पकाएर आधा बाँकी रहेपछि सेवन गरौँ ।
४– तेजपात २ ग्रा. दालचिनी २ ग्रा. आधा लि. पानीमा पकाएर चियाजस्तै प्रयोग गरौँ ।
५– नियमित रुपमा योग र प्राणायाम गर्ने गरौँ ।’
पश्चिमाहरूले जे गरे त्यो विज्ञान र आफ्ना पुर्खाले असल आचार र संस्कार बसाल्दा पनि अज्ञान ठान्नेहरूले बुझौँ ।
‘अङ्ग्रेजी’ औषधि बनिसकेको छैन । नबनुञ्जेलसम्म पर्खनुको विकल्प देखिँदैन । आधुनिकताका नाममा आफ्नो परम्परा छाड्ने र पुर्खालाई सराप्नेहरूले गुर्जो (गिलोए) खोज्दै हिँडेको देखिएकै छ । गिलोए (गुर्जो)का कुरा गर्दा हिजोसम्म गिल्ला गर्नेहरूले, आज लौन कता मिल्ला, कसले चिनाइदेला ? भन्दै चाहार्दै हिँड्नुपरेको छ ।
आयुर्वेद विभागको सन्देशानुसार नियमित रुपमा तोकिएका घरेलु औषधि प्रयोग गर्ने हो, योग र प्राणायाममा अभ्यस्त हुने हो, सरसफाइप्रति समुचित ध्यान दिएर नेपाल सरकार एवं विश्व स्वास्थ्य सङ्गठनले सुझाए अनुसारका सावधानी अपनाउने भने कारोनाबाट बँच्न सकिएला र अरु धेरै रोग लाग्ने सम्भावनाबाट पनि मुक्त भइएला । कोरोना लागिसकेपछि र रोगले गालिसकेपछि औषधि खोज्नुभन्दा पहिल्यै रोग प्रतिरोध गर्ने उपाय अपनाउनु बुद्धिमानी हो । यसै पनि कोरोना लागेका ८५ प्रतिशत बिरामी आफैँ ठीक हुने भनिएको छ । आठ प्रतिशतलाई सहयोग गर्नुपर्छ । पाँच प्रतिशतजति खतरामा रहन्छन् र दुईदेखि तीन प्रतिशतको मात्रै इहलीला समाप्त हुने बताइएको छ । आपत्का बेलामा आफ्नै पुर्खाले अपनाएको परम्परागत स्वास्थ्योपचार प्रविधि खोज्नुभन्दा पहिल्यैदेखि त्यही पद्धति अपनाएको र विकास गर्दै लगिएको भए हुन्थ्यो तर बेवास्ता गरियो ।
पश्चिमी उपचार प्रविधिले जे पनि ठीक गराउँछ भनेर गर्व गर्नेहरूलाई ‘मृत्युबोध’ गराएको छ यसपालिको महामारीले । यस्तो बेलामा पनि लकडाउन (बन्दाबन्दी) नमान्ने, तोकिएको दूरी कायम नराख्ने, भीडभाडमा जाने, राहत बाँडेको फोटो खिचाएर फेसबुकमा राख्नेहरूले समुचित सतर्कता अपनाएको देखिएन । विश्वव्यापी विपत्तिलाई पनि सम्पत्ति थुपार्ने माध्यम बनाउने र सरकारले गरेका राम्रा काममा पनि सधैँ आपत्ति जनाउनेहरूले समेत चेतेनन् । राजनीतिभित्रको त्यो अराजनीतिक प्रवृत्तिले प्रकृतिले दिएको छुट र वरदानको सदुपयोग गरेनन् ।
सम्भव हुन्छ भने एउटै घरभित्र पनि अलग अलग बस्ने, खाने, सुत्ने, उठ्ने, कसैसँग नछोइने । सम्भव भएकाले गरे हुन्छ । त्यसो गर्दा आफूमा काम गर्ने बानी पर्दै जान्छ । अर्काको भरमा पर्नुपर्दैन । खानेकुराको जोहो आफैँ गर्न थालिन्छ । कपडा आफैँ धोइन्छ र भाँडाकुँडा माझिन्छ । कोठा सफा राखिन्छ । साबुनपानीसँग धेरैपटक खेलिन्छ । त्यसो गरेपछि कोरोना लाग्ने, सम्भावना रहँदैन । एउटालाई लागेमा अरुलाई सर्ने सम्भावना पनि हुँदैन । दुई÷तीन महिनासम्म एउटै घरभित्र पनि त्यसरी अलग रहन सक्ने सामथ्र्य भएकाहरूले केहीसँग डराउनुपर्दैन ।
८० वर्ष कटेका, ८४ पूजा गरिसकेका कतिपय अभिभावक स्वयंपाक्य भेटिन्छन् अद्यापि । सकुञ्जेल आफैँ पकाएर खाने हो, नसकेपछि त के लाग्छ र ? छोराछोरी, नातिनातिनाहरू जहाँ पनि जान्छन्, जोसँग पनि उठबस गर्छन्, होटल र रेस्टुरेन्टमा खान्छन्, रोक्न मिल्दैन । उनीहरूले उनीहरूकै जमाना अनुसार गर्छन्, हामी पनि आफैँले सकेको गर्छौं, फरक पर्दैन’ भन्ने जवाफ सुन्न पाइन्छ धेरैबाट । कसैले छोएको र पकाएको नखाने, आफैँले लगेको सातु खाएर हिँड्ने, होटलमा बास बस्न पनि नचाहने, बरु रुखमुनि बसेर रात गुजार्ने, कतिपय सज्जन देख्दा अचम्म लाग्थ्यो पहिले । अति राम्रो चलन रहेछ भनेर सोच्नुपर्ने अवस्थामा पु¥यायो समयले । वानप्रस्थ र सन्यासाश्रमको जीवनयापनका बारेमा बुझ्न, खोज्न, अनुसरण गर्न लगाउँलाजस्तो छ ।
त्यतिबेलाका महामारी कसरी टारिन्थे, के जडीबुटी प्रयोग गरिन्थे, तन्त्रमन्त्रको शक्ति कति रहेछ ? भन्ने बारेमा खोज्नुपर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्रहशान्तिका लागि अप्रिल ५ मा नौ मिनेटसम्म, तोरीको तेलमा नौवटा बत्ती बाल्न लगाउँदा मजाक उडाउनेहरू कमै रहे । सोही दिन नेपालमा पनि साँझ ७ बजेपछि धेरैले घरमा बत्ती बाले टेलिभिजनमा राशिफल बताउने ज्योतिषीहरूका आदेशानुसार । पूर्वीय परम्पराको मजाक उडाउनेहरूले बुझ्नुपर्छ– पूर्णिमाका दिन समुद्रमा आउने ज्वारभाटालाई हेरेर, त्यतिबेला जलचरको अवस्था सम्झेर । ग्रहका शक्ति र सम्बन्धको प्रमाण हो त्यो । जसरी मोबाइलमा कुरा गर्न सकिन्छ अचेल, उहिलेका आकाशवाणी र महाभारत युद्धको प्रत्यक्ष प्रसारण सञ्जयले धृतराष्ट्रलाई सुनाएको विषयमा खोजी गरेपछि बल्ल बुझिन्छ । अहिलेको अङ्ग प्रत्यारोपण र उहिलेका गणेश र दक्षप्रजापतिका टाउका हात्ती र बोकाको हुनुमा कति फरक
होला ? यस्ता उदाहरण धेरै छन् । पूर्वीय प्राचीन विज्ञानका अज्ञानहरू लहैलहैमा अरुका पछि लागेर बिग्रेको हो, डराउनुपरेको हो । सपार्ने र उपाय खोज्ने मौका दिएको छ कोरोनाले । हाम्रै वरिपरिका जडीबुटीमा सबै रोग निको पार्ने र महामारीलाई पनि लघार्ने औषधि हुन सक्छ । शोध, खोज गरे अवश्य पनि भेटिन्छ, नगरे भेटिन्न ।
डेँगुको महामारी चलिरहेका बेलामा स्वामी रामदेव र आचार्य बालकृष्णको पतञ्जलि योग केन्द्र हरिद्वार (भारत)ले खोज ग¥यो र डेँगु नीलबटी बनायो । अरुहरूले पनि त्यस्तै प्रयास गर्ने हो भने सम्भव छ । घरको भन्दा परको बखान गरेर जीवन गुजार्ने बानी परेकालाई सम्झाउन सकिन्न । पौराणिक साहित्य, दर्शन, वेद, पुराण, उपनिषद् र उपचार पद्धतिका बारेमा विशद अध्ययन भएन । समयानुसार परिमार्जन गर्दै, परिस्कृत पार्दै जाने काम नहुनाले आपत्का बेलामा पनि अरुको भरमा बाँच्न र इसारामा नाच्नुपर्ने अवस्था आएको हो ।
जानकारहरू भन्छन्– जाडोमा सुरु भएको महामारी गर्मीमा र गर्मीमा सुरु भए जाडो लागेपछि सकिनुपर्ने हो प्रकृतिको सामान्य नियमानुसार पनि । प्रकृतिमाथिको अति दोहन र असामान्य अवस्था हुनाले ती सबै नियम र सम्भावना पार गरेर भयावह स्थिति तयार भएको बताइन्छ । पुस १० गते लागेको खण्डग्रास सूर्यग्रहणको असर २०७७ असार १७ गते सकिने बताएका छन् पूर्वीय विद्वान् (ज्योतिषी)हरूले । पूर्वीय विद्वानका विचारसँग मिल्दाजुल्दा लाग्छन् पश्चिमी वैज्ञानिकका भनाइ पनि । त्यतिञ्जेलसम्म कुनाभित्रै बसेर प्रतीक्षा गर्नुको विकल्प छैन । घरबाट बाहिर ननिस्कन र जो जहाँ छ त्यहीँ बसेर सघाउन सरकारले गरेको आग्रह नमान्नेलाई जे पनि हुनसक्छ । लक्ष्मणरेखा पार गरेपछि हो रावणले सीता हरेको पनि !
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)