डा. कुन्दन अर्याल
विज्ञान र प्रविधिको विकाससँगै भूगोल र समयको सीमालाई जित्दै आज मानव सञ्चारका उन्नत उदाहरण जहाँतहीँ देखिएका छन् । त्यही क्रममा इन्टरनेट र दूरसञ्चारको सम्मिश्रणबाट पृथ्वीमा सूचना महामार्गको निर्माण हुन गएको छ । त्यो महामार्ग दिनहुँ विस्तारित र विकसित हुँदैछ । सूचना प्रसारको प्रक्रिया अत्यन्त द्रुतस्तरीय हुन पुगेको छ । इन्टरनेटले आमसञ्चारका परम्परागत माध्यमहरूबीच सम्मिलनको अवस्था उत्पन्न गरिदिएको छ ।
आज इन्टरनेट र डिजिटल प्रविधिबाटै सबै प्रकारका आमसञ्चार माध्यमका मेरुदण्ड तयार भएका छन् । त्यति मात्रै होइन, अन्तरवैयक्तिक, समूहगत वा आमसञ्चार गरी सञ्चारका सबै तह निकै सशक्त बन्न पुगेका छन् । एकातिर विश्वमा आज पनि छापा, रेडियो र टेलिभिजनजस्ता परम्परागत माध्यम अस्तित्वमा छन् । अर्कोतिर इन्टरनेटमा आधारित डिजिटल मिडिया वा अनलाइनहरू पनि संस्थागत रुपमा सम्पादकीय सशक्तताका साथ सञ्चालन भइरहेका छन् । त्यसैगरी आजका सबैजसो परम्परागत मिडिया अनलाइन संस्करणमा पनि गइरहेको देखिन्छ । टेलिभिजनका अन्तर्वार्ताकार वा अन्य कार्यक्रम सञ्चालकहरू युट्युबमा आफ्नो प्रस्तुति कतिले हेरे भन्ने थाहा पाउन उत्सुक भइरहेका हुन्छन् । अखवारका सामग्रीहरूलाई सम्पादकहरू नै ट्वीटर वा फेसबुकलगायतका सञ्जालमा राखिरहेका हुन्छन् । यसरी एउटा थप आयाममा मानव सञ्चारको अद्भुत विस्तार भइरहेको छ ।
सोसलमिडिया (सामाजिक सञ्जाल) ले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई नयाँ उचाइमा पु¥याएको छ । आम रुपमा विना कुनै सम्पादकीय नियन्त्रण व्यक्तिले आफ्ना धारणा तत्कालै संसारसमक्ष प्रस्तुत गर्न सक्ने ‘प्लेटफर्म’ पाएको छ । सामान्यतः कुनै पुष्टि, पुनर्पुष्टिको आवश्यकता नपर्ने वा व्यक्तिको नितान्त भावनात्मक अभिव्यक्ति पनि प्रस्तुत गर्न मिल्ने भएकाले सामाजिक सञ्जाल कतिपय अफवाह फैलाउने साधान बन्न पुग्ने खतरा रही आएकै छ । तर सामाजिक सञ्जालका रुपमा आजका बालबालिकाले पनि चिन्ने मानव सञ्चारको यो नौलो आयाम आमसञ्चार माध्यमसँग खासगरी दुईवटा क्षेत्रमा अन्योन्याश्रित रुपमा जोडिएको छ । ती दुई क्षेत्रमा आमसञ्चार माध्यम र सामाजिक सञ्जालबीच अन्तरक्रिया भएको देखिँदै आएको छ । पहिलो, सामाजिक सञ्जालका प्रयोगकर्ताको छापा, टेलिभिजन, अनलाइन र रेडियोका उल्लेखनीय वा छानिएका प्रस्तुतिमा सहज पहुँच बढ्दै गएको छ । धेरै मानिस आमसञ्चार माध्यमका सञ्चालकहरूले सामाजिक सञ्जालमा राखिदिएका घतलाग्दा सामग्रीहरू अत्यन्त सहज, सुलभ र सुपथ मूल्यमा प्राप्त गरिरहेका छन् । आमसञ्चार माध्यमका सामग्री सामाजिक सञ्जालका प्रयोगकर्ताको हातहातमा पुगिरहेका छन् । यस सन्दर्भमा सामाजिक सञ्जालहरू पहिले परम्परागत आमसञ्चार माध्यम वा अनलाइन आमसञ्चार माध्यममा प्रस्तुत गरिएका कुनै पनि सामग्रीलाई अझ व्यापक रुपमा प्रसार गर्न निकै प्रभावकारी सावित भएका छन् ।
दोस्रो, परम्परागत रुपमा आमसञ्चारका माध्यमहरूमा यस अघि रहँदै आएको सार्वजनिक संवाद वा राजनीतिक संवादलाई अघि बढाउने एकाधिकार सामाजिक सञ्जालले निकै हदसम्म तोडिदिएको छ । आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमात्र होइन, संसारका सबैजसो राष्ट्रप्रमुख वा सरकारप्रमुख सामाजिक सञ्जालमा आबद्ध छन् । सार्वजनिक सञ्चार र सुशासनका लागि सामाजिक सञ्जालमा सरकार वा सरकारी निकायहरूको निर्भरता झन्झन् बढ्दो छ । सामाजिक सञ्जालले हरेक क्षेत्रका अगुवाहरूलाई सार्वजनिक संवादका लागि आमसञ्चार माध्यमहरूको मध्यस्थतासहितको सञ्चार होइन, प्रत्यक्ष संवादको अवसर जुटाइदिएको छ ।
अघिपछिका राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वका विषयहरूमा विभिन्न देशका राजनीतिक वा अन्य क्षेत्रका नेताहरूको ट्वीट वा फेसबुक स्टाटस आमजनतासँग उनीहरूले गर्दै आएको प्रत्यक्ष संवादका उदाहरण हुन् । कोरोना भाइरससँगको युद्धमा पनि सार्वजनिक सञ्चार वा संवादका लागि सामाजिक सञ्जालको व्यापक प्रयोग भइरहेको छ ।
सामाजिक सञ्जालहरूको सुरुवातसँगै मानव सञ्चारको दायरा अझ विस्तारित भएको छ । नयाँ सहस्राब्दीको प्रारम्भसँगै सन् २००० को सुरुकै वर्षहरूमा, मानव समुदायमा वार्तालापको अत्यन्त नौलो र प्रभावकारी आयामको प्रवद्र्धन भयो । समाजमा वार्तालापलाई विस्तार गर्ने वा विमर्शलाई अघि बढाउने सञ्चारका साधनहरूको भूमिकाका सम्बन्धमा सबैभन्दा पहिले फ्रान्सेली समाजशास्त्री टार्डेले औँल्याउनुभएको थियो । अहिले देखिएका आमसञ्चार माध्यममध्ये अखवार मात्र रहेका बेला एक सय २२ वर्ष अघि उहाँले भन्नुभएको थियो, यदि कसैले अखवारमा छापिएका सामग्रीका आधारमा वार्तालाप गरेनन् भने अखवारको अस्तित्व सावित हुँदैन, त्यस्तो अवस्थामा अखवारहरूले कसैको मस्तिष्कमा उल्लेखनीय प्रभाव पारेकै हुँदैनन् ।
ग्याब्रियल टार्डेका अनुसार जब मानिसहरू आफ्ना विश्वास, इच्छा वा निश्कर्ष एक आपसमा प्रसार गर्न चाहन्छन् तब वार्तालाप सुरु हुन्छ । उहाँको अध्ययन अनुसार व्यक्तिगत धारणालाई सामाजिक धारणा वा आम धारणामा रुपान्तरण गर्न पुरानो समय र मध्ययुगीन समाजमा सार्वजनिक बहसको महत्व हुन्थ्यो । त्यसपछिको समयमा अखवारको महत्वपूर्ण भूमिका रहँदै आएको छ । तर उहाँ भन्नुहुन्छ, सबै कालमा मानिसहरूबीच हुने वार्तालापको स्थान सबैभन्दा माथि रहँदै आएको छ । टार्डेका अनुसार जबसम्म मानिस अखवारमा छापिएका विषयवस्तुका बारेमा वार्तालाप वा विमर्श सुरु गर्दैनन् तबसम्म सन्देशको व्यापक प्रसार भएको मान्न सकिँदैन । त्यसैले सञ्चार विज्ञ काट्जले टार्डेलाई ४० को दशकमा विकसित ल्याजरस्फेल्डको सञ्चारको दुई तहको प्रसारसम्बन्धी सिद्धान्तको प्रणेता मान्नुभएको छ । ल्याजरस्फेल्डले काट्जसँग मिलेर अघि सारेको टु स्टेप फ्लो अफ कम्युनिकेसनको सिद्धान्त अनुसार आमसञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सन्देश पहिलो तहमा ओपिनियन लिडर्स अर्थात् धारणाको अगुवाइ गर्ने सीमित व्यक्तिहरूसम्म पुग्दछ । त्यसपछि अर्को तहमा मात्र आम उपभोक्ता वा धारणालाई पछ्याउनेहरूसम्म पुग्दछ । सोसल मिडियाको प्रचलन व्यापक भएको आजको विश्वमा धारणाको अगुवाइ फेसबुक, ट्वीटर, लिङ्कदिन आदि प्लेटफार्मका इन्फ्लुएन्सर प्रयोगकर्ताहरूले गरिरहेका छन् । तिनीहरू टार्डेले भनेजस्तै वार्तालाप वा विमर्शका वाहक हुन् । सोसल मिडिया इन्फ्लुएन्सर सामाजिक सञ्जालका त्यस्ता प्रयोगकर्ता हुन्, जसको समाजका खास क्षेत्रमा विशेष साख हुन्छ । त्यस्ता इन्फ्लुएन्सरलाई पछ्याउनेहरू धेरै हुन्छन् र तिनीहरूमा धेरै मानिसलाई अभिप्रेरित गर्ने क्षमता हुन्छ ।
कोभिड–१९ बाट बच्न विश्वका अन्य देशमा झैँ नेपालमा पनि जनता र सरकारको साझा सहमति र समन्वयमा लकडाउन सुरु हुनुभन्दा चार दिन पहिले, २०७६ सालको चैत ७ गते युवाल नोहा हरारीको एउटा लेख फाइनान्सियल टाइम्स अखवारमा छापियो । वल्र्ड आफ्टर कोरोना भाइरस अर्थात् कोरोना भाइरसपछिको विश्व शीर्षकको त्यो लेख लेखकको विश्वव्यापी परिचय, विद्वत्ता र सामयिक विषयवस्तुका कारण चर्चित हुनु स्वाभाविकै थियो । विश्वका धेरै देशमा उपलब्ध, बेलायतबाट सुरु भएको अखवारमा छापिएको वा त्यसको अनलाइन संस्करणमा अपलोड गरिएको त्यो लेख अझ धेरै मानिसले ट्वीटर, फेसबुक र लिङ्कदिनमा पढे । यसरी सोसल मिडिया अर्थात् सामाजिक सञ्जालले लेखलाई विश्वभरका मानिसका मोबाइलसम्म पु¥याए ।
यसरी सामाजिक सञ्जालहरूले पहिले परम्परागत आमसञ्चार माध्यम वा ती माध्यमको अनलाइन संस्करणमा प्रकाशित वा प्रसारित सामग्रीका उपभोक्ताको संख्या तत्कालै लाखौँ गुणा बढाइदिने गरेका छन् । विभिन्न सामाजिक सञ्जाल उपभोक्ताको बढोत्तरीसँगै झन्झन् शक्तिशाली सावित हुँदैछन् । एकपटक छापिएका वा प्रसार भएका सामग्रीलाई अझ व्यापक बनाउँदै सामाजिक सञ्जालहरूले व्यक्तिको धारणालाई जनधारणामा रुपान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
छापा, रेडियो र टेलिभिजन वा ती माध्यमका अनलाइन संस्करणका सामग्रीलाई एकै क्षणमा संसारभर पु¥याउने सामाजिक सञ्जालहरूले पत्रकारिताको प्रभाव अझ बढाइरहेका छन् । विश्व समाजका यावत् पक्षमा भइरहेको समसामयिक घटनाक्रमसम्बन्धी जानकारी, पत्रकारिताको सीप र दक्षताका आधारमा तयार गरिएका उत्कृष्ट सामग्री जति बढी मानिसले पढ्छन्, समाज उति बढी उपयोगी र महत्वपूर्ण विमर्शका लागि अभिप्रेरित हुन्छ । टार्डेले वार्तालापको उत्सर्जन गर्न नसक्ने अखवारको औचित्य त्यसैकारण देख्नुभएन । उहाँको बेलामा आमसञ्चार माध्यमका रुपमा छापा मात्र थियो । आज हामी अनेक प्रकारका आमसञ्चार माध्यमको प्रयोग गरिरहेका छौँ । तर जुनसुकै आमसञ्चार माध्यमका लागि पनि अन्तरवस्तुको मानव अभिरुचि वा उपयोगिताको पक्ष उत्तिकै महत्वपूर्ण हुन्छ । अनि सामग्रीको महत्व त्यसको विमर्श वा वार्तालाप उत्सर्जन गर्नसक्ने क्षमतामै निर्भर गर्दछ ।
शताब्दीऔँदेखिको मानव सञ्चारको विकासको गति निरन्तर बढिरहेको छ । त्यही क्रममा आज धेरैभन्दा धेरै मानिसले उपभोग गरिरहेको सामाजिक सञ्जाल आमसञ्चार माध्यमको सहयात्री र विकल्प दुवै हो । आमसञ्चार माध्यमको अन्तर्वस्तुलाई एकै क्षणमा विश्वभर फिँजाउँदा सञ्जालहरू आमसञ्चार माध्यमका सहयात्रीका रुपमा देखिन्छन् । सामाजिक जीवनका जुनसुकै वृत्तमा नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहनेहरूलाई यसले सार्वजनिक संवाद गर्ने अवसर प्रदान गरिरहेको सन्दर्भमा भने सामाजिक सञ्जाललाई आमसञ्चार माध्यमको विकल्पका रुपमा देख्न सकिन्छ । सामाजिक सञ्जालहरूले मानव सञ्चारको प्रक्रिया र प्रवृत्तिलाई निकै उन्नत बनाएका छन् । यी सञ्जालहरू आमसञ्चार माध्यम होइनन् तर आउँदा दिनमा यिनीहरूको महत्व झन्झन् बढ्दै जानेछ ।
(लेखक त्रिभुवन विश्विद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागसँग आबद्ध हुनुहुन्छ ।)