शैलेन्द्रबहादुर थापा
विश्वले ‘कोेभिड १९’ महामारीका कारण संसारभरि उब्जाएका केही गम्भीर आशङ्कालाई चिर्ने प्रयास गरिरहेको छ । विश्व व्यवस्थाले दक्षविज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्राविधिक टोलीसहित उपयुक्त औषधि, अत्याधुनिक स्वास्थ्य प्रविधि र उपकरणहरूसहित सङ्क्रमितहरूलाई तत्काल उपचार गरी हरसम्भव निको बनाएर घरको क्वारेन्टाइनमा पठाइरहेको छ । कोरोनाबाट सङ्क्रमित नभएका तर अन्य ज्वरो तथा मौसमी रुघाखोकीका बिरामीहरूको पहिचान गरी उनीहरूलाई औषधोपचारपछि सुरक्षित तरिकाले घरको क्वारेन्टाइनमा फिर्ता पठाइरहेको छ ।
‘कोभिड १९’ ले प्रत्यक्षरूपमा सङ्क्रमितको शारीरिक सङ्क्रमणसँगै आफन्तजन, कुरुवा, सुसारेका अतिरिक्त समाजमा अन्य मानसिक, सामाजिक र आर्थिक क्षेत्रलाई समस्याग्रस्त बनाइरहेको छ । दीर्घरोगका बिरामीहरूले आफ्ना चिकित्सकको सम्पर्कमा गई नियमित ‘फलोअप टेष्ट’ गर्नसक्ने अवस्था छैन । दैनिक ज्याला मजदुरी गरेर आफ्नो र परिवारको पालनपोषण गर्ने श्रमिकहरूको अवस्था नाजुक छ । महिला, बालबालिका÷नवजात शिशु र ज्येष्ठ नागरिकहरूको शारीरिक÷मानसिक अवस्था विगतका तुलनामा असामान्य बन्दै गएको छ । गर्भवती, सुत्केरी, आङ् खस्ने र महिनावारी गड्बडीमा समस्या भई अत्यधिक रक्तश्राव हुने महिलाहरूको अवस्था झनै कष्टकर छ । महिलाहिंसामा बढोत्तरी आउन सक्छ । ज्येष्ठ नागरिकहरूमाथि गरिने हिंसामा पनि वृद्धि हुन सक्छ । फरक प्रकारले सक्षम व्यक्तिहरू सबैभन्दा बढी मारमा परेको सामाजिक कार्यकर्ताहरू बताउँछन् । यस्ता अपाङ्गता भएका मानिसहरूको दैनिक जीविकोपार्जनमा समस्या बढ्दै गएको छ । आवाजविहीनहरूका आवाज सुनिदिने समग्र निकाय महामारीविरुद्ध एकजुट हुनुपरेको छ । कोरोनाका बिरामीहरूमाथि हुने गरेका सामाजिक भेदभावले थप समस्या निम्त्याइरहेको हुँदा मनोसामाजिक परामर्शसहितको पर्याप्त जनचेतना अभिवृद्धिले अहिलेको सामाजिक समस्यासँग जुध्न चाहिरहेको छ ।
वर्षाद्को समय नजिकिँदैछ । योसँगै विगतका वर्षहरूमा झैँ हैजा, आउँ, झाडापखाला, जण्डिस,हेपाटाइटिस्, डेङ्गु, कालाजार, म्यानेन्जाइटिस, इन्सेफलाइटिस्, बर्डफ्लु र सर्पको डसाइले अरू थप सङ्कट निम्तिन सक्छ । यस्ताखाले तमाम समस्याका कारण मानिसहरूको मृत्युदरमा हुन सक्ने तथ्याङ्क वृद्धिलाई न्यूनीकरण गर्न राज्यले समयमै आफूसँग भएका सबै विकल्प अवलम्बन गर्नेछ भन्ने आमनागरिकको आशा छ ।
कुनै पनि सार्वभौम राज्यको सरकार आफ्ना जनताको पीरमर्का र दुःखकष्टप्रति संवेदनशील रहन्छ भन्ने विश्वास सर्वत्र गरिएको हुन्छ । तर सरकारलाई पनि सबैको साथ सहयोग चाहिन्छ । नागरिक–सरकार सम्बन्धको सन्तुलित सहयात्राले उपर्युक्त समस्यालाई धेरै हदसम्म निराकरण गर्न सक्छ । सार्वजनिक सेवा र निजी क्षेत्रहरू एकअर्कामा मुख ताकेर बसिरहँदा समस्याको मारमा पर्ने जनता हुन् । यसबीचमा हामीले सधैँ भोगिरहेको तर कम महसुस गरेको संवेदनशील पक्ष ‘सुरक्षा द्विविधा’ पहिचान भएको छ ।
स्वास्थ्य नै धन भएका कारण सुरक्षा द्विविधा मानव जीवन र मानव स्वास्थ्यसँग जोडिएको छ । पृथ्वीमा मानवका लागि बाँच्न सम्पत्तिको विकल्प छैन भन्ने सोचले स्वास्थ्य नै धन भए पनि त्यही स्वास्थ्यका लागि बाध्यतावश आवश्यकता पूरा गर्न मानिसले आफ्नो व्यक्तिगत सुरक्षालाई समेत दाउमा राखी श्रम गर्नुपर्ने बाध्यता छ । सिद्धान्ततः सबैका लागि स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने व्यग्र प्रतीक्षामा जनता छ । खान नसकेर प्रशस्त खाद्यवस्तु डस्टविनमा खेर फालिरहँदा अर्को पक्ष खाद्यान्नको अभावमा छाक टार्न नसकी भोकमरीले मर्नुपरेको पनि यही समाज होइन ? यो समस्या देशको उत्तरी क्षेत्रस्थित उच्चभेगका नेपालीहरूमा अझै बढी देखिएको छ । न्यूनतम आवश्यकताको अभावमा हामी सबै यही समाज, राज्य र पृथ्वीका समान हकदार हौँ भन्ने राष्ट्रिय एकताको भावनामाथि सामाजिक असन्तुलनको बढ्दो दूरीले राज्य दिशाविहीन हुनसक्छ ।
नेपालको संविधान २०७२ को धारा ५० (उपधारा ३) मा राज्यको आर्थिक उद्देश्य समाजवाद उन्मुख हुने व्यवस्था छ । यसले हाम्रा उत्पादित वस्तु, उपलब्ध स्रोतसाधन र पुँजीको न्यायोचित÷समानुपातिक वितरण गरी शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएको छ । मानिसले आफ्ना चाहना, इच्छा र आवश्यकता छुट्ट्याई तिनको प्राथमिकीकरण गरी योजना निर्धारण नगर्दासम्म सुरक्षा द्विविधालाई न्यूनीकरण गर्न सहज छैन । यस अर्थमा सबैलाई समानरूपमा प्रकृतिले आफ्नो व्यवस्थापन आफैँ गर्छ भन्ने दृष्टिकोण आजका दार्शनिक र अनुसन्धानकर्ताका लागि सैद्धान्तिक अवधारणा बनेको छ । देश र जनताको सेवा गरी आयआर्जन गर्नुपर्ने अनिवार्य श्रम, रोजगार, ठेक्कापट्टा, जागिर, सेवा, व्यापार र व्यवसायभित्र सूक्ष्मखाले शोषण र भ्रष्टाचारजन्य स्वरूपले अप्रत्यक्षरूपमा सुरक्षा द्विविधा बढाइरहेको छ । यसबाट हाम्रा नीतिहरू पनि प्रभावित छन् ।
नागरिक–नागरिक सम्बन्ध, सेवाप्रदायक–सेवाग्राही सम्बन्ध, सार्वजनिक–निजी–सहकारीसम्बन्ध, स्रोतसाधन बाँडफाँट–उत्पादन–वितरण प्रणालीबीचको सम्बन्धका चरहरूको बीचमा सुरक्षा द्विविधा छन् । भोलि लकडाउनबाट बाहिर निस्किएपछि पनि हाम्रो यात्रामा सुरक्षा छैन । १५ प्रतिशत हिमाल, ६८ प्रतिशत पहाड र १७ प्रतिशत तराईले बनेको भिरालो प्रकृतिको भूपरिवेष्टित देशमा बढ्दो सडक दुर्घटनाका कारण नेपाली जिउधनको अपूरणीय क्षति भइरहेको छ । विकास सकारात्मक परिवर्तन हो तर विकासको लापरवाही र दुरुपयोगले मानिसलाई क्षणभरमा विनाश गरिदिने कारणहरूको उपयुक्त निदान हुन नसक्दा सुरक्षा द्विविधा रहिरह्यो ।
कतिपय नेपाली रोजगारका लागि टाढा–टाढाका मित्रराष्ट्रमा गएका छन् । रोजगारका लागि कतिपय नेपाली चीन र भारतमा पनि छन् । नेपालसँग जोडिएका विश्वका दुई उदीयमान अर्थतन्त्र भएका समृद्ध राष्ट्रहरू चीन र भारतसँग अझै पनि सरकारी तथा निजीस्तरबाट राजनीतिक÷कूटनीतिक सम्बन्धमार्फत प्याकेजमा सहमति गरी विकल्पका रूपमा रोजगारका थप अवसर विस्तार गर्न सकिन्छ ।
राज्यको इच्छाशक्ति बढ्यो भने यो प्रयत्नलाई नियमित र परम्परागत श्रम÷व्यापार सम्झौताका अतिरिक्त थप नयाँ सम्झौतालाई समाजवादी अभ्यासबाट अगाडि बढाउन सक्छ । यसका लागि रोजगारदाता मुलुकले नेपाली श्रमिक र कामदारको सबै प्रकारका सुरक्षाको प्रत्याभूति लिनुपर्ने हुनसक्छ । विदेशिएका नेपालीहरू आफ्नो मातृभूमि फिर्ता हुन चाहेमा सहृदय स्वागत गरी स्वदेशमै भरपर्दो रोजगारको उचित प्रबन्ध मिलाउनु राज्यको कर्तव्य हो । ‘कोभिड १९’ को पाठले नेपाललाई जसरी हुन्छ आत्मनिर्भर बन्न सिकाइरहेको देखिन्छ ।
दिगो गरी आत्मनिर्भर बन्न चाहिने पूर्व शर्तका रूपमा आएको त्रिपक्षीयतावादको सिद्धान्तले व्यवहारमा भूमिका खोजिरहेको छ । यसका लागि चीन–नेपाल–भारतबीच रहेको त्रिदेशीय सामूहिक सुरक्षा द्विविधा न्यूनीकरण गर्ने साझा बिन्दु पहिल्याउन चाहिरहेको छ । उत्तर–दक्षिणका सँधियार मित्रराष्ट्रको सम्बन्धमाथि कैँची बनेर होइन, सियो बनेर जोड्ने (कनेक्टिभिटी) नीतिले भूमिका खोजिरहेको छ । त्रि–देशका आ–आफ्नै सार्वभौमिकता, राज्यव्यवस्था र सांस्कृतिक मूल्य मान्यता भए पनि त्रिदेशीय सरकारहरूको पारस्परिक सम्बन्ध चियामा घुलेको अदृश्य चिनीजस्तो गुलियो बन्दै गएको छ । त्रिपक्षीयतावादको सैद्धान्तिक व्यवहारले पारस्परिक कटुतापूर्ण प्रतिशोधहरू पन्छाई त्रिदेशीय नागरिकलाई स्वावलम्बी बनाउँदै आत्मनिर्भरतातर्फ उन्मुख गराउने लक्ष्य लिएको छ । यसलाई ‘नेपाली–भूमि रणनीतिक सन्तुलनको सिद्धान्त (थोङस्व)’ मार्गनिर्देशन गर्दै आएको छ । पूर्वीय दर्शनपद्धतिका रूपमा विकसित यो सिद्धान्तले प्रकृतिप्रेम, मानवतावाद र स्वदेश÷स्वस्थानलाई चिन्न सिकाउँदै संसारमैत्री बन्न अभिप्रेरित गरेको छ ।
कोभिड १९ महामारीले कठिन परिस्थितिमा पनि सबै प्रकारका सुरक्षा द्विविधाको सामना गर्न आवश्यक ‘अनुशासनयुक्त नागरिक एकता’ र ‘दृढसङ्कल्प’ महत्वपूर्ण रहेको पुष्टि गरेको छ । अनुशासनभित्र व्यावसायिक मूल्य मान्यता, पेशागत मर्यादा, इमानदारी, स्वशासन, स्वमूल्याङ्कन, स्वविवेक, व्यक्तिगत आचरण, मानवीय संवेदनशीलता, जनताप्रति राज्यको दायित्व, समाज र राष्ट्रप्रति जनताको कर्तव्यबोध आदि पर्दछन् । कोरोना भाइरस महामारीविरुद्धको महासङ्ग्रामलाई अनुशासित र दृढ्सङ्कल्परत चिनियाँहरूले छोटो समयमै अत्यन्त कष्टका साथ परास्त गर्न सफल भएको उदाहरणबाट हामीले सिक्नुपर्ने पाठ पनि यही हो ।
अनुशासनलाई बेवास्ता गरी लकडाउन नमान्दा, तोड्दा, भावनामा आएर मनमौजी व्यवहार गर्दा, विद्यमान परिस्थितिलाई हलुकारूपमा लिने कतिपय मुलुकले अकल्पनीय मानवीय क्षति व्यहोरिरहेको देखिन्छ । ‘आफू भलो त जगतै भलो‘ ‘अर्कालाई पर्दा आफूलाई पनि पर्न सक्छ‘ ‘वसुधैव कुटुम्बकम्‘ भन्ने पूर्वीय दर्शन पद्धतिलाई बेवास्ता गरी ‘हामीले उनीहरूलाई आज नमारे, उनीहरूले हामीलाई भोलि बिहानै मार्नेछन्‘ ‘उनीहरू आजै मरुन्, मर्नैपरे हामी भोलि मरौँला‘, शत्रुलाई ठीक गर्ने मौका आजै हो ‘जस्ता षड्यन्त्रको सिद्धान्तलाई व्यवहारमा उतार्न खोज्ने प्रवृत्तिले आफैँलाई विनाश गर्दोरहेछ भन्ने उदाहरण अमेरिकामा कोरोना महामारीले अकल्पनीय क्षति पु¥याउनुअघि चीनलाई भनिएको, गरिएको व्यवहारले देखाएको कतिपय विश्लेषकको बुझाइ छ ।
यहीँंनेर पृथ्वीमा मानिसद्वारा रहस्यमय तरिकाले लुकाइएको एक जटिल प्रकारको अन्तर्राष्ट्रिय सुरक्षा द्विविधाले आशङ्का उब्जाइरहेको हुनसक्छ । बस्, साङ्केतिकरूपले यत्ति बुझ्दै यसतर्फ सावधान रहनुपर्ला कि आउँदो समय पृथ्वीवासीलाई जैविक हतियारको द्वन्द्वतिर धकेल्ने नयाँ सम्भावित प्रयत्नविरुद्ध हामीले शान्तिपूर्ण उपायद्वारा सुरक्षित रहन राष्ट्रिय हितको पक्षमा राज्यको क्षमता अभिवृद्धिका लागि रणनीतिकरूपले सोच्नुपर्ने हुनसक्छ । यद्यपि अहिले हामी कोरोना महामारीसँगको अन्तिम महायुद्धमा छौँ, जसलाई उच्च मनोबलले परास्त गर्नु छ । लकडाउनसँगै भित्रिएको नयाँ वर्ष, २०७७ मा उच्च राष्ट्रिय मनोबलका साथ महासङ्कटमुक्त हुन सुरक्षित अवतरण गर्नुपर्नेछ ।
(लेखक सैनिक शिक्षण पक्ष, छाउनीमा प्रशिक्षणरत एवं अध्ययन अनुसन्धानरत हुनुहुन्छ ।)