logo
२०८२ असार ४ बुधवार



कोरोनाविरुद्ध लड्ने केही सूत्र

विचार/दृष्टिकोण |




डा. साधना दाहाल

कोभिड १९ को सङ्क्रमणबाट अहिले विश्व आतङ्कित छ । नेपालमा पनि यसको सङ्क्रमण बढ्दो छ । अहिलेसम्म कोभिड १९ को कारणले नेपालमा मृत्यु भई नसकेको तर हुनसक्ने सम्भाव्यतालाई ध्यानमा राखिएको छ । यसको सङ्क्रमणबाट जोगिन कोभिड १९ सम्बन्धी तालिम आवश्यक छ, जो विभिन्न अस्पतालमा भइराखेको छ । यसै क्रममा हामीले पनि कोभिड १९ को तालिम लिने मौका पायौँ । तालिमको खाका मुख्यतः नौ विषयलाई दृष्टिगत गरी तयार पारिएको थियो । जसअन्तर्गत हातको सरसफाइ कसरी गर्ने, सामाजिक दूरी कसरी कायम गर्ने, नाक, घाँटी तथा फोक्सोलाई कसरी सफा राख्ने, पीपीई अर्थात् व्यक्तिगत सुरक्षा उपकरण कसरी लगाउने र खोल्ने, स्याम्पल कसरी लिने, कीटाणु शोधन कसरी गर्ने, बिरामीको ओसारपसारमा के कस्ता नियम पालना गर्ने, फोहोर व्यवस्थापन कसरी गर्ने र कोभिड १९ बाट यदि बिरामीको मृत्यु भइहालेमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने भन्ने विषय मुख्य थिए ।
वास्तवमा हाम्रो समाजमा शिक्षित, विद्वान्का रूपमा प्रतिष्ठित टिप्पणीकारहरूले पनि मिची मिची हात धुन सिकाउनुलाई ‘राज्यको धन सक्ने मेसो’ भन्दै खिस्सी उडाउने गरेको देखिएकै हो । तर यथार्थ हो— हाम्रा कैयौँ स्वास्थ्यकर्मीहरूलाई पनि हात धुने, स्यानिटाइजर प्रयोग र अन्य सुरक्षा विधिबारे जानकारी छैन । यसैक्रममा हामीले पनि पहिलो चरणमा हातको सरसफाइ कसरी गर्ने भन्ने कुरा सिक्यौँ ।
हात कसरी धुने ?
पहिले हात भिजाउने । पर्याप्त मात्रामा साबुन अथवा झोल साबुन लगाउने । दुवै हातका हत्केलाहरू रगड्ने । पछाडिको हातको भाग र औँलाका काप अर्को हातको हत्केलाले रगड्ने । एक हातलाई अर्को हातको औँलाको कापमा छिराउने र रगड्ने । हरेक हातका नङ्हरू हत्केलामा रगड्ने । दुवै हातका बुढीऔँलाहरू मज्जाले सफा गर्ने । दुवै नाडी, सकेसम्म कुहिनासम्म धुने । अन्त्यमा हात राम्रोसँग पखाली हावामा सुक्न दिने अथवा सफा कपडाले पुछ्ने ।
त्यसैगरी सेनिटाइजरको प्रयोग गर्न‘परेमा हत्केलामा पर्याप्त मात्रामा लिएर माथिको विधि अपनाउने र हातलाई सङ्क्रमणरहित बनाउने । एक दुई थोपा सेनिटाइजरले हात सङ्क्रमणरहित हुँदैन भन्ने कुरा पनि सिकियो ।
श्वासप्रश्वास प्रक्रियालाई सहज बनाउन, नियमित श्वासको व्यायाम जरुरी भएको र व्यायामबाट फोक्सोलगायत नाक तथा घाँटी सफा हुने र अक्सिजनको मात्रा सन्तुलित रहने जानकारी दिइएको थियो । यसका साथै हामीले रुमाल अथवा टिस्यु पेपरले मुख छोपेर खोक्ने तथा हाच्छ्युँ गर्न‘पर्ने र रुमाल नभएको खण्डमा कुहिनाले मुख छोपी खोक्ने तथा हाच्छ्युँ गर्न‘पर्ने कुरा सिकियो ।
मास्क कसरी लगाउने ?
साधारण सर्जिकल मास्क लगाउँदा मास्कमा भएको डण्डीको भाग नाकको डाँडीमाथि पर्ने गरी लगाउने,
लगाइसकेपछि मास्कको डण्डीको भागलाई बाहिरबाट अलिकति थिच्ने । यसले बाहिर भएका कीटाणुहरूलाई सजिलै प्रवेश गर्न दिँदैन ।
मास्क कसरी निकाल्ने ?
मास्क निकाल्दा अनुहारमा सकेसम्म कम छोएर, कान्छी औँला मास्कको इलास्टिक भागमा छिराई विस्तारै निकाल्नुपर्ने हुन्छ ।
त्यसैगरी सामाजिक दूरी, मिलेसम्म दुई मिटर र नमिलेमा कम्तीमा एक मिटर बनाई बस्नुपर्ने जानकारी लिइयो ।
पीपीई के हो ?
पीपीई भन्नाले व्यक्तिगत सुरक्षाका लागि लगाउने कवचलाई बुझिन्छ । यो लगाउने प्रक्रियालाई डोनिङ् भनिन्छ । यसले सङ्क्रमित बिरामीको भाइरस आफूमा सर्नबाट जोगाउँछ । पीपीईका सेट विविध प्रकारका हुन सक्छन् । हामीलाई दिएको सेटमा निम्न सामानहरू समावेश भएका थिए— जुत्ताको खोल, भित्री र बाहिरी पञ्जा, भित्री र बाहिरी गाउन, एन—९५ मास्क, टोपी र फेस सिल्ड र चस्मा ।
लगाउने तरिका
पीपीई लगाउने हरेक तालिमका आफ्नै नियमहरू हुन सक्छन् हामीले सिके अनुसार ः
पहिले स्यानिटाइजरले हात सफा गर्ने अथवा साबुनपानीले हात धुने । त्यसपछि जुत्ताको खोल लगाउने । फेरि स्यानिटाइजर हातमा लगाउने । भित्री पञ्जा लगाउने । भित्री गाउन लगाउने । एन ९५ मास्क लगाउने । टोपी लगाउने । चस्मा अथवा फेस सिल्ड लगाउने । बाहिरी गाउन लगाउने, लगाउँदा अगाडिपट्टिबाट लगाउने अनि साइडतिर बाँध्ने र अन्त्यमा बाहिरी पञ्जा लगाउने ।
पीपीई सेट कसले किन र कहिले ?
पीपीई सेटका पनि विभिन्न प्रकार छन् ।
पीपीई सेट बिरामीको सम्पर्कमा कुनै न कुनै रूपले आउनुपरेमा, स्याम्पल लिँदा, सङ्क्रमित बिरामीको सिधै सम्पर्कमा आउँदा, मृत शरीर छुनुपरेमा तालिम प्राप्त व्यक्तिले लगाउनुपर्छ । पीपीई कुनै सङ्क्रमित व्यक्तिबाट आफूमा सङ्क्रमण नहोस् र आफ्नो कारणले अरूमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले लगाइन्छ ।
खोल्ने तरिका
पीपीई लगाएपछि फुकाल्ने तरिकालाई डोफिङ् भनिन्छ । पहिले हात स्यानिटाइजरले धुने । बाहिरी गाउन खोल्दा अलिकति झुक्दै गाउन अगाडिपट्टि तान्दै क्लाभिकल (घाँटीमुनिको हड्डी) को अलिकति मुनिको भाग अथवा छातीको भागबाट विस्तारै खोल्नुपर्छ । बाहिरी गाउन खोल्दा बाहिरी पञ्जा पनि सँगसँगै निकाल्दा राम्रो हुन्छ । पुनः हात स्यानिटाइजरले सफा गर्ने । त्यसपछि जुत्ताको खोल खोल्दा औँलालाई खोलको भित्री भागमा छिराउने र विस्तारै उल्टो पार्दै खोल्ने । तर भित्री गाउनसँगै जुत्ताको खोल जोडिएको पीपीई सेटमा भने गाउनसँगै जुत्ताको खोल निकालिन्छ । पुनः हात सफा गर्ने । त्यसपछि चस्मा अथवा फेस सिल्डलाई पछाडिको भागबाट इलास्टिक तन्काई अलिकति निहुरिएर निकाल्नुपर्छ । विस्तारै टोपी निकाल्ने, टोपी निकाल्दा टोपीको टुप्पीलाई अलिकति च्यापेर झुक्दै विस्तारै निकाल्नुपर्छ ।
पुनः हात सफा गर्ने । अब भित्री गाउन खोल्ने, भित्री गाउनमा चेन हुने हुँदा पहिला चेन खोलेर कतै शरीरमा नछोइकन विस्तारै निकाल्ने । स्यानिटाइजनरले हात सफा गर्ने र भित्री पञ्जा उल्टो पार्दै निकाल्ने । अन्त्यमा नयाँ स्यानिटाइजनरले हात सफा गर्ने । नयाँ पञ्जा लगाई, एन– ९५ मास्क निकाल्ने र तुरुन्त कोठाबाट बाहिर निस्किई मिलेसम्म नुहाउनुपर्छ ।
यति कुरा सिकेपछि हामीले स्यÞाम्पल कसरी लिने भन्ने बारेमा जानकारी लियौँ ।
स्याम्पल लिने तरिका
स्याम्पल कसरी लिने भन्ने सम्बन्धमा शङ्कास्पद बिरामीको नाकको पछिल्लो भागबाट अथवा मुखको पछिल्लो धनुष आकारको भागबाट स्वाब लिनुपर्ने कुरा सिकियो । यसरी निकालिएको स्वाबलाई भाइरल ट्रान्सपोर्ट मेडिया (भीटीएम), जहाँ भाइरस बाँच्न सक्दछ, त्यसमा राखिन्छ । चुहावट नहोस् भन्नका लागि त्यो बट्टालाई कपासमा बेरी, फेरि अर्को बट्टामा राखी दुईदेखि आठ डिग्री तापक्रमको आइस भएको ठूलो भाँडो अथवा फ्रिजमा राखिन्छ ।
कीटाणुशोधन
कीटाणुशोधन भन्नाले कीटाणुहरूलाई नष्ट गर्ने तरिका बुझिन्छ । यसका निमित्त विभिन्न रसायनको प्रयोग गर्न सकिने तर हामीलाई दिएको तालिममा सर्वसुलभताका आधारमा ७० प्रतिशत इथानोल अथवा क्लोरिन झोलको प्रयोगलाई मुख्य प्राथमिकतासाथ सिकाइएको थियो ।
सामान्य क्वारेन्टाइनमा बसेका मानिसहरूले आफ्नो कपडालाई साबुन र सर्फ पानीले धुन सक्छन् र घाममा सुकाउन सकिन्छ भन्ने ज्ञान दिइयो । कतिपय व्यावहारिक समस्याहरू काम गर्दै जाँदा आउँदै जाने नै छन् । तर आइपरेका समस्यालाई हामीले कतै नआत्तिई आफ्नो सुरक्षालाई उच्चतम प्राथमिकता दिई जुध्दै जानुपर्ने हुन्छ । यो कोभिड १९ को लडाइँमा हामी सफल वा विफल हुनुभन्दा पनि लडाइँमा भाग लिनैपर्ने भएपछि भाग्ने कायरता चाहिँ गर्न‘हुँदैन ।


(लेखक चिकित्सा शिक्षणमा संलग्न हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?