कोरोना भाइरस (कोभिड–१९) को उत्पत्ति तथा कारणबारे विश्वमा विभिन्न प्रकारका कन्स्पिरेसन थ्यौरी (पूर्वाग्रही धारणा÷आरोप) सार्वजनिक भएका छन् । खासगरी अमेरिका र चीन यस्ता आरोप प्रत्यारोपमा आमनेसामने भएका छन्– एकले अर्कोलाई कोरोनाको ‘कारण’ भनेर । अहिले विश्वका आमचिकित्सकको ध्यान कोरोनाको उपचार र यसको अध्ययन अनुसन्धानमा केन्द्रित देखिन्छ । अध्ययन अनुसन्धानले यसको उत्पत्ति, कारण, रोकथामका साथै औषधि÷खोपलगायत स्वास्थ्यविज्ञान तथा सामाजिक पक्षमा विभिन्न निष्कर्ष प्रस्तुत गर्दै जानेछन् । कुनै पनि रोगको उपचारका लागि त्यसको इतिहास र कारणबारे चिकित्सक वा वैज्ञानिक स्पष्ट हुनुपर्छ । कोरोनाबारे गरिएका अध्ययन, अनुसन्धानका केही निष्कर्ष आइसकेका छन् । यसबारे अझ धेरै जानकारी हुनु आवश्यक रहेकाले विश्वले यसबारे गर्ने अध्ययन प्रतीक्षित रहनेछ ।
विश्वस्तरमा जसरी नेपालले कोरोनाको बृहद् पक्षमा अध्ययन गर्न सम्भव नहोला तर यसको प्रभाव, उपचार, नेपालले लिएका राजनीतिक तथा स्वास्थ्य÷उपचार रणनीति, पूर्वाधार उपलब्धता तथा आगामी योजनाका बारेमा विभिन्न अध्ययन गर्न सकिनेछ, जसबाट भविष्यमा आउनसक्ने यस्ता महामारी (देसान) को प्रतिरक्षा गर्न सहजता होस् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी विभिन्न सात शीर्षकमा अध्ययन गर्ने जानकारी दिएकाले केही समयपछि यसबारेमा नेपालको अनुभव तथा दृष्टिकोण सार्वजनिक हुनेछ । स्वास्थ्यसँग सम्बन्धित अध्ययन र अनुसन्धानका क्षेत्रमा अनुगमन, नीतिनिर्माणमा सरकारलाई सहयोग गर्ने संस्था एनएचआरसीले कोरोना भाइरस सङ्क्रमणपछि विभिन्न क्षेत्रमा देखिएका प्रवृत्ति, समस्या र अनुभवलाई लिएर गर्ने अध्ययनले विशेष महत्व राख्नेछ । कोरोनाको सफल उपचारपछि स्वास्थ्यलाभ गरेकाहरूको प्लाज्मामार्फत अन्य सङ्क्रमितको उपचार गर्न सकिने विषयमा पनि अध्ययन गरिने भएकाले भविष्यमा यसबारेमा स्पष्ट हुनेछ । परिषद्ले ¥यापिड डाइग्नोस्टिक किट (बजारमा पाइने र सरकारले ल्याएको) र रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर) को विश्वसनीयताको तुलना अध्ययन, लकडाउन र क्वारेन्टाइनमा बसेकाको मनोवैज्ञानिक, चिकित्सक तथा स्वास्थ्य सेवासम्बद्ध व्यक्तिको मानसिक अवस्थाका बारेमा अध्ययन गर्नेछ । यस्तै कोरोनाबारे नागरिकको ज्ञान, यसको खोप निर्माणको सम्भावना, कोरोना उपचारको सन्दर्भ, आयुर्वेदिक औषधि र नेपालमा पाइने वनस्पतिको अध्ययन र सेनिटाइजेसन टनेलले मानव स्वास्थ्यमा पार्ने प्रभावजस्ता विषयमा पनि परिषद्ले अनुसन्धातासँग मिलेर अध्ययन थालेको छ ।
विकसित मुलुकमा कुनै पनि रोगको उपचारपछिका प्रभावबारे विभिन्न अध्ययन गरिन्छ । स्वास्थ्यलाभ गरिरहेका बिरामीसँग स्वास्थ्यकर्मीले निरन्तर सम्पर्क गरी देखिएका प्रवृत्तिको मसिनोसँग अध्ययन गर्ने गरिन्छ तर नेपालमा भने यस्तो अध्ययनलाई भन्दा बिरामीलाई निको बनाई घर पठाउने कार्यलाई मात्र प्राथमिकता दिइन्छ । राम्रो सेवा दिने भनी खोलिएका निजी अस्पताल तथा रिसर्च सेन्टर (अनुसन्धान केन्द्र) ले अनुसन्धानमा भन्दा बिरामी खोज्ने र महँगोमा उपचार गर्ने कामलाई महत्व दिँदै आएका छन् । यस्ता सेन्टरलाई कोरोनाबारे अध्ययन अनुसन्धान गर्ने राम्रो अवसर आएको थियो तर उनीहरू यस्ता बिरामीको उपचार गर्नमात्र पछि हटेनन्, कोरोना शब्द सुन्न पनि तर्सिए । उनीहरूले दायित्व उल्लङ्घन मात्र गरेनन्, अवसर पनि गुमाए ।
परिषद्ले अध्ययन अनुसन्धानका लागि आवश्यक कार्यविधि बनाई घोषित कार्यलाई निष्कर्षमा पु¥याएमा आगामी दिनमा आउनसक्ने यस्ता विश्व महामारीका लागि नेपालले आन्तरिक अनुभव सङ्कलन गर्न सक्नेछ । नेपालमा कोरानोलाई सुरुमा असाध्यै असाध्य रोगका रूपमा चित्रण गरी पछि क्रमशः ‘रुघाखोकीजस्तै’ बताइएकाले पनि आमनागरिकमा यसबारे बुझाइ समस्याको अनुभव गरिएको छ । पहिला असाध्यै डराएका मानिस पछि क्रमशः लकडाउन छाडेर घरबाहिर निस्कने घुम्ने तथा सहर वा अर्को ठाउँबाट सद्दे व्यक्ति आए पनि गाउँमा एक्ल्याउने जस्ता काममा संलग्न हुनु यसैको परिणाम हो । असाध्यै डराएकाले स्वास्थ्य परीक्षणमा आउन हिच्किचाएको पनि पाइएको छ । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा दीर्घरोगी र बुढाबुढीमा धेरै जोखिम रहेको देखाएकाले नेपालले एकतिर यस्ता व्यक्तिको सुरक्षामा विशेष ध्यान केन्द्रित गर्न सक्थ्यो भने अर्कोतिर युवापुस्ताको आत्मबल बढाउन सकिन्थो । त्यस्तै, कोरानोलगायत महामारी, प्रकोपबारे प्रवाह गरिने सूचनाका भाषा, यहाँको भौगोलिक दूरी, ग्रामीण समाजमा रहेको सामाजिक दूरीका बसोवास आदिका बारेमा पनि समाजशास्त्रीय अध्ययन हुन आवश्यक छ ।