युवराज अधिकारी
आर्थिक र भौगोलोक हिसाबले नेपाल सानो छ तर आज दृश्य फरक छ । कोरोना कहरले गर्दा विश्वको स्थिरतामाथि प्रश्न उठिरहेको बेला नेपाल भने स्थिर नै छ । अर्थात् नेपालमा कोरोना भाइरसले सङ्क्रमण गरेका नेपालीको सङ्ख्या पनि सानै छ । नेपालले कोरोनाविरुद्ध चालेका कदम पनि सानै छन् । अमेरिका र इटाली जस्ता देश त घुँडा टेक्दैछन् भने राजनीतिक चक्रव्यूहमा फसेर आर्थिक उन्नति गर्न नसकेको हाम्रो देशको त के कुरा । अब संयमित भएर खोपको आविष्कार नहुन्जेल कोरोना रोकथामका उपाय अपनाउनुको विकल्प छैन हामीसँग । कुनै पनि प्रकारको अन्वेषणप्रति उदासीन रहेको विरासतमा उभिएको नेपाल, नेपाली डाक्टर र नेपाली वैज्ञानिकले कोरोनाको औषधि पत्ता लगाउने कल्पना गर्न सकिएला र ?
आजभोलि प्रायः कार्यक्रममा उपस्थित हुँदा अन्वेषण, नवप्रवर्तनको प्रवचन सुन्न पाइन्छ । तर यी कुरा विद्वत्ता प्रदर्शनका निम्ति जस्तोमात्र भइरहेका छन् । वास्तवमा अन्वेषणको महत्व यतिखेर बोध भइरहेको छ ।
अहिले विदेशमा नेपालीको सङ्ख्या धेरै छ । हालको अवस्थामा उनीहरूलाई तत्काल नेपालमा ल्याउनसक्ने स्थिति बनेको छैन । विदेशमा रहेका धेरै नेपालीको स्वास्थ्य स्थितिको आँकलन नेपाल सरकारले गर्न भ्याएको पनि छैन । यता नेपालमा दैनिक ज्याला मजदुरी गरेर खाने वर्गको घरमा अन्न सकिएको छ अनि आँखामा देशप्रतिको जिज्ञासाका भावनाहरू देखिन थालेका छ्न् । अब देशले संयमित भएर कदम चाल्नैपर्दछ ।
अबचाहिँ हामी सबैले कर्तव्यबोध गर्ने बेला आएको छ । यो समयमा अन्य देशतिरको हाम्रो परनिर्भरता हटाउने एक युगमै सुनौलो समय आएको छ । सुरुवात कृषिबाटै हुन्छ । नेपालको विकास कृषि क्रान्ति नभई असम्भव छ । कृषि विषय लिएर स्नातक तथा स्नातकोत्तर गरेका विद्यार्थीले सरकारी जागिर नै खानुपर्छ भन्ने कुरा न शास्त्रका पानामा उल्लेख छ न संविधानमा । उनीहरूले कृषिमा आधुनिकता भित्राएर अन्वेषण गर्न जरुरी छ । आज कतिजना कृषि विषयका विद्यार्थीले धान वा गहुँको उन्नत जातको बीउ अन्वेषण गर्ने कुरा सोच्छन् होला ? आलु र टमाटरका जिनहरूलाई मिसाएर नयाँ फल पोमेटो बनेको कुरा किताबमा पढे मात्र होलान् कि आफैँ आफ्ना खेतबारीमै रोप्दैछन् परीक्षणहरू ? प्रश्न कठिन छैन न त उत्तर नै कठिन छ । मात्र हामीलाई चाहिएको छ अन्वेषक मस्तिष्क र उद्यमशील हातहरू ।
परनिर्भरता हटाउन विदेश पलायनको समस्यालाई पनि कम गर्न जरुरी छ । डाक्टरहरू उच्चशिक्षाका लागि विदेश जान्छन् भने दीक्षित भएर स्वदेश फर्किनुप¥यो । फर्किन नचाहनेहरू भन्लान् अमेरिका वा क्यानडा वा जापानजस्तो सुविधासम्पन्न अस्पताल, ल्याब तथा विद्यालय नेपालमा छैनन् । उनीहरूले के पनि ख्याल राख्नुपर्छ भने सन् १९६० को दशकमा नेपालभन्दा गरिब वा नेपालजत्तिकै स्तर भएका जापान, सिङ्गापुर, तथा कोरियाजस्ता राष्ट्रका डाक्टर, इन्जिनियर, अफिसरहरूले आफ्नै देशमा बसी काम गरे, श्रम गरे र त आज यी देशको नाम विकसित देशको तालिकामा बोलिन्छ । यतिबेला विदेशमा भएका नेपाली डाक्टरहरू के नेपालका लागि काम लाग्ने भए त ? आफ्नी जन्म दिने आमाको रोगको उपचार गर्नसम्म पनि सक्षम भएनन् !
खेत बाँझो राखेर खाडीमा पसिना बगाउन गएका जनताप्रतिको उत्तरदायित्व बढाएर सरकारप्रति जनविश्वास जगाउने कार्य गर्नका लागि यो समय महत्वपूर्ण छ सरकारका लागि । यो स्थिर सरकारले विदेशमा भएका नेपालीका लागि केही अनुकरणीय कदम चाल्न र जनता आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्न जरुरी छ ।
कोरोनाले अमेरिकामा भएका नेपाली र अमेरिकीहरूबीच फरक जान्दैन तर विदेशमा भएका नेपालीहरूले विदेश र स्वदेशबीचको भिन्नताको व्याख्या गर्न सक्छन् । विदेशी साहुको ‘रेड लेभल’ रक्सी र आफ्ना बाआमाको निधारको पसिनाबीच फरक छुट्याउन सक्छन् ।
देशले अब उद्यमशीलतालाई साँचो अर्थमा अपनाउन सक्नुपर्छ र विभिन्न क्षेत्रमा अन्वेषण र आधुनिकीकरण गर्न सक्नुपर्दछ । यहाँ देशलाई रूपान्तरण गर्ने केवल दुई उपाय छन् – आत्मनिर्भर देश र आत्मनिर्भर प्रत्येक व्यक्ति । सुरुवात आफैँबाट गर्नुपर्छ ।
(लेखक बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानका विद्यार्थी हुनुहुन्छ ।)