logo
२०८२ असार ४ बुधवार



सङ्कटमा बुद्धिविलास

विचार/दृष्टिकोण |





गेहनाथ गौतम

नेपालमा समकालीन अग्रज, अगुवा वा विद्वत्वर्ग पद्धति, सरकार र मौजुदा परिपाटीको आलोचना गरेर आफ्नो क्षमता प्रदर्शन गर्न रमाउने संस्कार बसेको धेरै भइसकेको छ । आफू ओहोदामा रहँदा उचित प्रयत्न नगर्ने वा गर्न नसक्ने तर त्यहाँबाट निस्कनासाथ सुझाव फर्माउने प्रवृत्तिबाट पछिल्लो पुस्ता वा सिकारुहरू सधैँ प्रताडित र दिग्भ्रमित भइरहनुपर्ने बाध्यताबाट वर्तमान गुज्रिइरहेको छ ।
अहिले शिक्षाविद्, योजनाविद् वा विचार प्रदायक जस्ता देखिरहेका जो कोहीले विश्वव्यापी सङ्क्रमणको वर्तमानलाई पनि आफ्नो महत्व स्थापित गर्ने अवसर ठान्नुहुँदैन । आदर्श र व्यवहारमा उपयोगी हुन नसक्ने तर्क राख्ने वा यही बहानामा नेतृत्व र पद्धतिलाई खुइल्याउने मिसायल छोड्न आवश्यक छैन । मध्यम वा पछिल्लो पुस्ताका हामीहरू प्रतिष्ठित मानिएका, बौद्धिक रूपमा प्रा.डा. पद हासिल गरिसकेका वा अग्रजले भनेका कुरा महत्वपूर्ण नै हुन्छन् भन्ने विश्वासमा उनीहरूको अनुसरण गर्न चाहन्छौँ, यो पनि पूर्णतः उपयुक्त देखिन्न ।
अब गरौँ, शिक्षाक्षेत्र र परीक्षाकोे कुरा ।
नेपालको शिक्षापद्धति परिवारकै अगुवा पुस्ता, आश्रम, गुरुकुल वा यस्तै धार्मिक स्थलबाट अभ्यास हुँदै यहाँसम्म आइपुगेको छ । यो राज्यप्रणालीको सोच र दर्शनअनुसार समयसमयमा परिमार्जन र दिशाबोध गर्दै अगाडि बढिरहेको छ । समकालीन समाजको वस्तुस्थिति, आफ्ना नीतिगत अभ्यास, विश्वमा भइरहेकोे अभ्यास र विकासक्रमबाट अनुप्राणित हुँदै विकासको फड्को मार्ने क्रममा छ ।
अहिलेको नेपाल कुनै क्रान्तिको पूर्ण सफलतापछिको आमूल परिवर्तनको दिशामा छैन, यो त पारस्परिक सम्झौतामा अडेको छ । तसर्थ पनि यो न चुड्कीका भरमा परिवर्तन हुन्छ न त रोक्न खोजेर प्रगतिमार्ग रोकिन्छ नै । त्यस्तै न यो कुनै विद्वान, विचारक वा सर्वसाधारणको चाहनासँग शतप्रतिशत मिल्न नै सक्छ । त्यसैले शैक्षिक सुधारको गति प्रतिशतमा वा परिवर्तनका पाइलाको खुड्किला चढ्दै जाने गर्दछ र विकासको सर्वस्वीकार्य गति पनि यही नै हो ।
नेपालको वर्तमान शिक्षापद्धतिको यथास्थिति विगतको विरासत हो । अहिले विचार दिइरहने विद्वत्वर्गको ठूलो हिस्सा विगतमा यस पद्धतिको अभ्यासमा कुनै न कुनै महत्वपूर्ण स्थानमा पदासीन भइसकेका व्यक्तिहरूको नै देखिन्छ । नयाँ पुस्ता पनि सम्पन्न र शक्तिशाली मुलुकको अभ्यास र अवस्था हेरेर सोही अपेक्षामा बढी आशावादी वा असन्तुष्ट पनि देखिन्छ ।
नेपालमा सरकारी संयन्त्रमा रहेका व्यक्तिले विचार व्यक्त गर्ने वा भ्रम चिर्न खोजे त्यो सत्ताको फुइँ, शक्तिको माद वा अन्धभक्तपनाका रूपमा चित्रित गरी हतोत्साही गरिन्छ । त्यसैले मूलतः सरकार र सरकारी संयन्त्र सदैव प्रतिरक्षात्मक बन्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।
वास्तवमा कुनै एक मार्गबाट व्यक्तित्व बनाइसकेका व्यक्तिका व्यक्तिगत सिकाइ, निजी विचार, कुण्ठा वा धारणालाई नै प्राथमिकता दिएर सरकार र नीतिनिर्मातालाई दबाब दिन वा निकम्मा सावित गर्न आवश्यक छैन । यस्ता व्यक्तित्वका सिकाइलाई नीति निर्माण र कार्यान्वयनमा उपयुक्तताका आधारमा उपयोग गर्न भने सरकारी संयन्त्र चुक्नुहुँदैन ।
अहिले कक्षा १२ को परीक्षा तयारी गरिरहेकी मेरी छोरीलाई यो महामारीका सन्दर्भमा परीक्षाका लागि प्राथमिक स्रोत मानेर के गर्नु ठीक हो भनी सोधेँ । उनको जवाफको सार छ ः “अहिले परीक्षा सञ्चालन वा नतिजा प्रकाशनको चिन्ता मलाई छैन । समय अनुकूल भएपछि सरकारले उचित निर्णय गर्ला, म पर्खिन्छु । तर अहिलेको मुख्य कुरा जीवनरक्षा हो । यसमा अनावश्यक बहस आवश्यक छैन ।” यो नै अहिलेका बालबालिकाको प्रतिनिधि सन्देश हो भन्ने मलाई लाग्छ ।
अहिले नतिजा नआएर विद्यार्थी उकुसमुकुसमा बिल्कुल छैनन् । बन्न आवश्यक पनि छैन । बरु उनीहरू आगामी दिन सहज हुन्छ कि हुन्न भन्नेमा अभिभावकभन्दा बढी चिन्तित छन् । यो स्वाभाविक हो । यतिबेला सरकारले नयाँ परीक्षातालिका घोषणा गर्ने वा विद्यार्थी वर्गलाई त्रासमा राख्ने कुनै निर्णय गरेको देखिन्न । यो समय परीक्षापद्धतिमा र चलिआएको विधिमा प्रभाव पर्ने गरी अर्को दूरगामी निर्णय गर्ने बेला पनि होइन । किनकि सङ्क्रमणमा गरिने निर्णय सामान्यतः ‘सनसेट ल’ जस्ता अल्पकालीन हुनुपर्दछ ।
कक्षा १०, ११, १२ वा अन्य विभिन्न तहका स्थगित परीक्षा उपयुक्त समयमा स्थापित र सर्वस्वीकार्य विधि अपनाएर नै सञ्चालन हुनुपर्दछ । अहिलेका परीक्षार्थीलाई पछिसम्म कोरोना वर्षमा उन्मुक्ति पाएकाहरू भन्ने विशेषण नलाग्ने गरी सोचिनुपर्दछ । अहिले स्थापित विधिभन्दा बाहिर जाने हो भने यस्ता उपाय सुझाउने व्यक्ति वा संस्थाबाट नै भोलि आलोचना नहोला भन्न सकिन्न । स्वतः स्थायी, स्वतः बढुवा, स्वतः पास, लोकतान्त्रिक बढुवा, कोरोना गे्रडसिट÷योग्यता वा विशेष राहत आदि उस्तै लाग्ने शब्दावली हुन् । तीन घण्टाको परीक्षाले गर्ने मूल्याङ्कनका बारेमा उठ्ने तर्कहरू भविष्यमा वा सहज अवस्थामा फुर्सदमा सोच्ने विषय हो ।
वास्तवमा सरकारले परीक्षा वा नियमित पठनपाठनका वैकल्पिक उपायका बारेमा सोचिरहेको, छलफल चलाइरहेको र समयको उतारचढाव पर्खिरहेको देखिन्छ । अहिले गर्ने पनि यति नै उपयुक्त हो । उपयुक्त समयमा आवश्यक विकल्पमध्ये उचित निर्णय हुने कुरामा कसैलै द्विविधा राख्न आवश्यक छैन । र आफूले भनेअनुसार भएन वा हुन्न कि भनेर नकारात्मकता सञ्चार गर्न पनि आवश्यक देखिन्न ।
पठनपाठनमा दूरशिक्षा, अनुकूल भएसम्म भर्चुअल पद्धति तथा घरमा नै व्यावहारिक र जीवनोपयोगी सिकाइको अभ्यास बढाउन आवश्यक छ तर पाठ्यक्रम नै परिवर्तन गर्ने, परीक्षापद्धति नै परिवर्तन गर्ने वा दूरगामी प्रभाव पर्ने निर्णय नै गर्ने गरी सोच्न उपयुक्त हुँदैन । तसर्थ केवल सिकाइ विधि र प्रविधिको अधिकतम उपयोगतर्फ विद्यालयदेखि विश्वविद्यालय र शिक्षा प्रदायक संस्था वा विद्वत्वर्गले स्वयंमा विनिर्माण गर्न भने आवश्यक देखिन्छ ।
वास्तवमा नेपालको शिक्षाप्रणालीमा असफलताको आधारभूत पक्ष भनेको शिक्षा प्रद्धतिबाट दीक्षित समूहलाई सकारात्मक बनाउन नसक्नु चाहिँ हो । किनकि सकारात्मक सोच नभएमात्र व्यक्ति छिद्रान्वेषी बन्छ । उसले सबैतिर अभाव मात्र देख्छ, विसङ्गति मात्र देख्छ । विद्वत्वर्गले त सङ्कट व्यवस्थापन गर्ने र आत्मनिर्भरताका लागि सेवा व्यवसायभन्दा उत्पादनमूलक कार्यमा प्रोत्साहित गरी आर्थिक स्थिरताको मार्ग सोच्ने हो । अझ अगुवा र विद्वत्वर्गसहित सबैका लागि बुद्धिविलासभन्दा डुङ्गा उतार्न सहयोग गर्ने समय हो अहिले ।
(लेखक शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमीका निर्देशक हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?