कोरोना (कोभिड–१९) को महामारीले विश्व मानव समुदाय सङ्कटमा छ । आधा विश्व थुनिएको छ । बन्दाबन्दीमा छ । मानिसहरूमा भय, अनिश्चय र बेचैन छ । यस्तो लाग्छ, यो समस्याले विश्व सभ्यताविरुद्ध विनाशको घण्टी फुकिरहेछ । विकासमा लम्किरहेको एसिया र सङ्घर्षशील अफ्रिका, विकसित अमेरिका, सभ्य युरोप– साझा समस्याले ग्रस्त छन् र विश्व विनाशको डढेलो हेरिरहेका छन् । विश्व विख्यात कलाकार पाब्लो पिकासोको महादेश युरोप र उनको देश स्पेन महाविपत्तिको इपिसेन्टर (केन्द्र) बनेको छ तर पिकासोले देखेका सृष्टि र विनाशको सम्बन्ध तथा नेपाली साहित्यकारले वर्णन गरेका कालो बादलमा चाँदीको घेरा देखिन्छ युरोप र विश्व आकाशमा । मानव जातिले हार्न जानेको छैन, विजय नै उसको यात्रा हो । यद्यपि, यसका लागि उसले केही हण्डर र कहर काट्नु भने पर्छ, आखिर जोखिमविनाको यात्रा कसले कहाँ गरेको छ र ? संहार र सम्भार, विनाश र सिर्जना, जहाँ समस्या त्यहाँ उपाय, विध्वंसपछि विनिर्माणजस्ता आशातित पूर्वीय दर्शनले मानिसलाई उसको अग्र यात्रामा अच्युत बनाएको हो, बनाइरहेको छ । पूर्वीय दर्शनमा आधिरत संहार र सम्भारको चक्र तथा पिकासोले ‘सृष्टिका हरेक कार्य विनाशबाट सुरु हुन्छन्’ भनेझैँ मानव समुदायले कोरोनाको महाविपत्तिउपर विजय प्राप्त गर्नेछ । यही सङ्कटबाट सम्भावनाका क्षितिज उघारिएका छन् । करिब यहीँबाट नेपाल क्रमशः ई–नेपाल (विद्युतीय नेपाल) हुने यात्रामा अगाडि बढ्दैछ । स्थापित मूल्य, मान्यता र परम्परा परिवर्तित हुँदैछन् । झोलाभरि किताब, खाजाको बट्टा र पानी लिएर विद्यालय जाने वर्तमान पुस्ता क्रमशः घरमै बसेर भर्चुअल (अनलाइन) शिक्षा प्रणालीमा प्रवेश गर्नसक्ने सम्भावना देखिएको छ । ठूलो धनराशि खर्चेर गरिने सरकारी सभासम्मेलन भिडियो कन्फरेन्समा रूपान्तरित हुँदैछन् । कोरोना कहरपछि विकासशील मुलुकले एकैपटक विकासको फड्को मार्नेछन् ।
संस्कृतिविद्हरू विश्वास गर्छन्– मानव आवश्यकता पूर्ति गर्ने क्रममा संस्कृतिको निर्माण हुन्छ । कोरोनासँग जुध्दै गर्दा नेपाललगायतका विश्व समाजमा नयाँ संस्कृति स्थापना हुनेछन् । नेपालीले एम्बुलेन्स भनेको बिरामी बोक्ने गाडी भनेर बुझिएको यातायातको साधन अब ‘एग्रिकल्चर एम्बुलेन्स’ (कृषि दु्रतवाहन) मा पनि परिणत हुँदैछ । यसको अभ्यासले नेपाली कृषि संस्कृति, बजार, उपभोक्ता र उत्पादक, उत्पादन तथा उपभोग संस्कृतिमा ठूलो अन्तर ल्याइदिन सक्छ । उत्पादकले एकैपटक आफ्ना उत्पादन एम्बुलेन्समार्फत उपभोक्ताको भान्सासम्म पु¥याएर किनबेच संस्कृतिमा परिवर्तन ल्याइदिन सक्छन् जसबाट बिचौलियाका शोषण र कालोबजारीबाट उत्पादक र उपभोक्ता मुक्त हुन सहयोग पुग्नेछ । यो सङ्कटपछिको समुन्नत समाजको विशेषता बन्नसक्छ ।
कोरोना समस्याका कारण कृषि तथा पशुजन्य उत्पादनको वितरण हुन नसकी एकातिर किसान र अर्कोतिर उपभोक्ता मारमा परेपछि प्रदेश ५ सरकारले ४४ वटा कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । केही सञ्चालनमा आइसकेका छन् । यसलाई समस्याको गन्धा पोखरीबाट उम्रिएको सुन्दर कमलरूपी समाधान भन्न सकिन्छ । अथवा संहार र सिर्जनाको पूर्वीय मान्यता वा पिकासोले भनेझँै सृष्टिको हरेक सुरुवात विनाशबाट सुरु हुन्छ भनेर बुझ्न सकिन्छ । प्रदेश–५ को भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एम्बुलेन्स सञ्चालन गरेर नयाँ बजार संस्कृति स्थापना गर्ने पहल गरेको छ । यस्ता पहल अचानक आवश्यकताका आधारमा आउँछन् । यिनै पहलमा निरन्तर गरिने परिमार्जनबाट एक उन्नत पद्धति विकास गर्न सकिनेछ । जेम्सवाटले बनाएका वाष्प–इन्जिनका कथा यहाँ सम्झनु सान्दर्भिक हुन्छ । उत्पादक किसान, सहकारी संस्था तथा व्यवसायीलाई तरकारी, फलफूल, दुग्धपदार्थ, माछामांस, अण्डा तथा अन्य उपभोग्य सामग्रीको वितरण सहज बनाउन मन्त्रालयको अनुदानमा ३४ र सरकारी १० वटा पिक–अप भ्यानलाई ‘कृषि एम्बुलेन्स’ बनाइएको छ । यी भ्यानलाई पछि क्रमशः क्षमता वृद्धि, वातानुकूलित, सुरक्षित बनाउँदै मुलुकैभर सञ्चालन गर्न सकिए छिटै सड्ने कृषिजन्य उत्पादन गुणस्तरीय अवस्थामै उपभोक्तासम्म पु¥याउन सकिनेछ । यस्ता रचनात्मक कार्यमा सिर्जनशील युवापुस्तालाई आकर्षित गर्न सकिने उदाहरण तानसेन युवा परिषद्ले कृषि एम्बुलेन्स सुरु गरेर देखाएको छ । समस्याले समाधान पनि ल्याउने विश्वासका साथ सक्रियता बढाउने हो भने कोरोना कहरपछिका दिन थप सुन्दर हुनेछन् ।