डा. अतीन्द्र दाहाल
कोरोना सङ्क्रमणलाई काबुमा राख्न लकडाउनसँगै सम्भावितहरूको पहिचान, पृथकीकरण, परीक्षण, उपचार, राहत लगायतका काम हँुदैछन् । सरकारी कार्यसम्पादनमाथि सदैव अनाहक विरोध र अतिरञ्जित असन्तुष्टि प्रक्षेपण गर्नुपूर्व असहज अवस्थाको मनन सबैले गर्नुपर्छ । विषम परिस्थितिमा सरकारको जस्तोसुकै आयतन र गतिको सक्षमतासमेत अपूर्ण हुने सत्य विकसित भनिएका देशको नाजुक अवस्थाले प्रमाणित गर्दैछ । यसकारण विश्व व्यवस्थामाथि बदलाव तथा शक्ति सन्तुलनको समीकरणसमेत परिवर्तन हुनसक्छ । संसार पराग खन्नाको पुस्तक ‘द फिउचर इज एसियन’ तथा फरिद जकारियाको ‘पोस्ट अमेरिकन वल्र्ड’ का आँकलन उन्मुख हुँदैछ । शक्ति र सफलताको परिभाषा फेरिँदो छ ।
यो समय हामीमा चाहिँ रोगभन्दा अनावश्यक र असमानुपातिक शोक अधिक प्रत्युत्पादक चुनौती बन्दैछ । नकारात्मक सन्देश, घोर निराशावाद तथा पूर्वाग्रही गैरजिम्मेवारीपनाको प्रवद्र्धन हँुदैछ ।
पूर्वाग्रहको प्रवद्र्धन
पछिल्ला केही दिन पैदल हिँडेरै जोखिमपूर्वक गन्तव्य तय गरेका मजदुरमाथि सरकार क्रूर तथा गैरजिम्मेवार भएको अफवाह पैmलाउनेहरू पनि थिए । चिन्ता व्यक्त गर्नेहरू प्रायः सहरवासी तथा तुलनात्मक रूपले सम्पन्न नै हुन् । त्यसरी हिँड्ने अधिकांश मजदुर उक्त कृत्रिम रोदन देखाउनेका घरमा बहालमा बस्नेहरू अथवा उनीहरूकै उद्योग व्यवसायमा काम गर्नेहरू हुन् । आफैँले सहयोग लिएका र भोलि फेरि उपयोग गर्नुपर्ने त्यो श्रमशक्तिलाई सुरक्षा तथा सहयोग दिने पहिलो जिम्मेवारी उनीहरूबाट श्रम लिने प्रथम उपभोक्ताको हैन र ? आवश्यक सहयोग गरी बसिरहेकै ठाउँमा राख्न किन सकेनन् ? अन्धाधुन्ध पूर्वाग्रह देखाउनुसट्टा अलिकति जिम्मेवारीबोध गर्दाचाहिँ सभ्य आचरण र भव्य मानवीयता देखिन्थ्यो कि ?
राहत नदिँदा सरकार खोइ, अनि राहत दिए नाटक ग¥यो भन्नेहरू छन् । लकडाउन कडाइ गर्दा मानवीयता नभएको, कडाइ नगरे सरकार सक्षम नभएको बुझ्नेहरू छन् । सीमा नछेके भाइरस भित्राएको, अनि नाका कडाइ गर्दा स्वदेश आउन नदिएको प्रश्न गर्नेहरू प्रशस्त छन् ।
रोगको समयमा भोक पनि सँगै आउँछ, यसमा स्थानीय सरकारहरू लागिरहेका देखिन्छन् । लकडाउनको प्रभावकारी कार्यान्वयनसँगै स्थानीय तहबाट राहत वितरण अनि परीक्षणको दायरामा ल्याउनुपर्ने सम्भावित मानिसको व्यापक खोजतलासी तथा तथ्याङ्क सङ्कलनमा भएको कार्य प्रशंसनीय छ । यसले सङ्घीयताको उच्च उपादेयता देखाएको छ । यद्यपि विरोध गर्नेलाई बहाना सर्वव्यापी हुन्छन् ।
अझ कोरोनापछिको भयावह र विकाराल स्थिति अनुमान गरेर विचारको आतङ्क सिर्जना गर्ने मूर्धन्य जनहरूको झन् बाक्लो भीड बन्दैछ जुन कोरोनाभन्दा कहरपूर्ण र हानिकारक छ । यी प्रयासलाई समूल परास्त गर्नुपर्छ । खप्तड स्वामीकृत पुस्तक ‘विचार विज्ञान’ ले विराट् चर्चा गरेका अभ्यासहरूलाई अनुसरण गर्नुपर्छ । संशय हटाएर सकारात्मक सोचमार्पmत भरोसा निर्माण गर्नुपर्छ ।
सम्भावित सकारात्मकता
अर्थतन्त्र धराशायी हुन्छ, घरजग्गाको मूल्य शून्यमा झर्छ, शेयर बजार सोत्तर हुन्छ, कम्पनीहरू सबै डुब्छन्, रोजगार बजार तहसनहस हुन्छ, मानिस भटाभटी मर्छन्, भोकमरी लाग्छ, अपराध बढछ, गरिबी चुलिन्छ आदि जस्ता तर्क सबै वैचारिक आतङ्क उत्पादक दुःखी मनुवाका दृष्टिभ्रम मात्र हुन् । यथार्थमा सन्त्रास रोकिएपछिको नयाँ सम्भावनाका अनुपम आयामहरू कम्ती रोमाञ्चक छैनन् ।
अब छिट्टै नै जीवन सामान्य लय र गतिमा फर्किन्छ । अर्थतन्त्र ध्वस्त भैहाल्ने सम्भावना छैन, हामी कृषिमा आधारित छौँ । सम्पन्न नभइएला तर भोकभोकै भएर ज्यान जाने स्थिति रहँदैन । कृषि उत्पादनमा अलिकति जोडबल दिए हामी तुरुन्तै आत्मनिर्भर हुन्छौँ । बाँझिएका खेतबारीमा फेरि लहलह बाली झुल्नेछन् । सहरकेन्द्रित असमान बसाइसराइँ रोकिएर गाउँगाउँमा नयाँ सम्भावना सुचारु हुनेछन् ।
भुइँचालो तथा नाकावन्दीमा समेत नकारात्मक आँकलन गरिए तर त्यसको लगत्तै लगभग सात प्रतिशतको आर्थिक वृद्धि भयो । उक्त वृद्धि हामीले धेरै कमाएर नभई भूकम्प अनि नाकाबन्दीका कारण अहिलेजस्तो अनावश्यक उपभोग नहुँदा मुद्राको विदेशी प्रवाह रोकिएका कारण बनेको थियो । धेरै कमाएर हैन, धेरै जोगाएर मात्र धनी भइन्छ । अहिलेको हाम्रो अवस्था नकमाएको हैन, नजोगाएको हो । विभिन्न प्रतिवेदन अनुसार हामीले अहिले लगभग वार्षिक एक खर्बको खाद्यान्न तथा तीन खर्बको पेट्रोलियम पदार्थ आयात गर्छौं । खाद्यान्नमा आत्मनिर्भर भए र पेट्रोलियम तथा खाना पकाउने ग्यासलाई विद्युतीय स्वरूपमा परिवर्तन गरेमा वार्षिक चार खर्ब जोगिन्छ । अन्य तीन खर्ब बराबरको आयात पनि हामी स्वयंले उत्पादन गर्नसक्ने सामानहरूमा भएको देखिन्छ । सङ्कटमोचनपछि हाम्रो अर्थचरित्रलाई यतातिर लैजाने सम्भावनाको खोजी गरौँ ।
विदेशमा बसेका नेपालीहरू आउनुभयो भने त्यसले ठूलो मात्रामा पँुजी आप्रवाह हुन्छ, समस्त अर्थतन्त्रको आयतन बढ्छ । त्यहाँ सिकेको ज्ञान, प्रविधि तथा व्यावसायिकता यहाँ आउँछ । गाँउगाउँसम्म उद्योग तथा नयाँ खालका व्यावसायिकता सुरु हुन्छन् । व्यापार असन्तुलन घट्नेछ, मुद्रा सञ्चिति बढ्छ । खाडीक्षेत्रमा शारीरिक श्रम गर्नेहरू फर्किंदा अत्यधिक विदेशी श्रमिक खपत गर्नुपरिरहेको अवस्थाबाट हामी मुक्त हुन्छौँ ।
अहिलेसम्मको स्थिति सुरक्षित नै छ । तत्काल चहलपहल र दैनिकी केही समयका लागि स्थगनमा रहेकाले सबै सकिएको भ्रममा पर्नु र पार्नुहँुदैन । हरेक सङ्कटमा सम्भावनाका सुवर्ण अवसर हुन्छन् त्यसलाई आत्मसात् गरेर सोही अनुसार आपूmलाई परिमार्जन गर्नुपर्छ ।
समुदाय सङ्क्रमण नभएमा नेपालको प्राकृतिक र जीवन विज्ञानका विशिष्टतामाथि व्यापक अध्ययन तथा अनुसन्धान हुन्छन् । प्राचीन पूर्वीय दर्शनमा आधारित हाम्रा आहारविहार तथा व्यवहार संसारकै लागि स्तुत्य तथा अनुकरणीय बन्नेछन् । अहिलेको भ्रमणवर्ष रोकियो तर त्यसपछि संसारको सबैभन्दा सुरक्षित भ्रमण गन्तव्य नेपाल मानिनेछ, अहिलेको घाटाले भविष्यमा अनवरत नाफाको बाटो खोल्नसक्छ ।
कम्पनीहरूले झन् धेरै उत्पादन गर्नेछन्, मानिसहरू अझ बढी श्रम गर्छन् । प्रविधिमैत्री समाज बन्नेछ । अहिलेसमेत बंैकिङ् तथा भुक्तानी पद्धतिमा प्रविधिको प्रयोग उच्च छ । सङ्कटको बेला शिक्षणमा प्रविधिको व्यापक अभ्यास भयो । नयाँ सामाजिक स्वरूप तथा व्यावसायिक धारको सम्भावना प्रबल देखिन्छ ।
अहिलेसम्म कसैको जीवन गएको छैन, केही परीक्षणका अनुसार सँगैबस्दासमेत सङ्क्रमण सरेको छैन । दक्षिण एसियामा नेपाल भारतबाहेक भुटानपछि अधिक परीक्षण गर्ने देश हो । तुलनात्मक रूपले हामी कम सङ्क्रमित छौँ । सीमा नाकामा व्यापक कडाइ छ । त्यहाँबाट अन्य मानिस यतातिर आउने, सबैले रोग सार्ने अनि हामी सिद्धिने सम्भावना किञ्चित् छैन ।
सामान्य उपचारपद्धतिले सङ्क्रमित निको भएका छन् । मित्रराष्ट्र चीनबाट हरेक सम्भव सहयोगको प्रतिबद्धता छ । विभिन्न प्रकारका औषधि तथा खोपका परीक्षण सफलतामा नजिकिएका समाचार आइरहेका छन् । परिदृश्यहरू यसरी देखिँदैछन् कि हामी जति डराएका छौँ, त्यति भयावह स्थितिमा पुग्दैनौँ । सङ्कट नियन्त्रणपछि हामी त्यति गम्भीर आर्थिक सङ्कटमा फस्दैनौँ जति आतङ्कित अनुमान गरिएको छ ।
त्यसैले घरभित्र बसेर निराशा र नकारात्मक मनोविज्ञान नपैmलाऔँ । बाहिर निस्कएपछि समाजलाई यो एक महिनामा छोडिएको समयको क्षतिपूर्ति गर्ने योजना बनाऔँ । नयाँ व्यावसायिकताको कुरा सोचौँ, कम्तीमा दुईचार जनालाई रोजगारी दिने अनि अलिकति उत्पादन गर्ने गुरुयोजना बनाऔँ । अध्ययन अनुसन्धान गरौँ । एक दुई महिना बन्दाबन्दीमा बस्दा एक दशकका लागि नयाँ सक्रियता र सामथ्र्य निर्माणमा केन्द्रित बनौँ । सञ्चारगृहले अतिरञ्जित समाचार र निराशावादी विश्लेषणलाई प्राथमिकतामा नराखौँ । बर्लिनको पर्खाल भत्किएर जर्मनीको एकीकरण तथा रसियाको विघटनपछि लेखक फ्रान्सिस फुकोयामाले ‘द इण्ड अफ हिस्ट्री एण्ड द लास्ट म्यान’ मार्पmत निकै फरक संसार आँकलन गर्नुभयो तर त्यस्तो कहिल्यै भएन ।
लामो र अनवरत यात्रामा रहेको समयमा विशेष कारणवश आराम गर्नु भनेको जीवन सिद्धिनु, हार्नु, थाक्नु वा यात्रालाई छोड्नु होइन, एकछिनको आरामपछि नयाँ जोश र ऊर्जाका साथ हिँड्ने अभिरुचिमा शक्ति सञ्चय गर्नु पनि हो । त्यसैले सत्कर्म गरौँ, निराशा नभरौँ । हामी बिसाएका हौँ, मासिएका छैनौँ । सकारात्मक सोचौँ, झन् प्रगतिशील सम्भावनाहरू नजिकै छन् ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)