logo
२०८२ असार ४ बुधवार



सामूहिकता र सामाजिक दूरी (सम्पादकीय)

विचार/दृष्टिकोण |




सुरक्षित तरिकाले आमाको मुख हेरेर हिजो यो वर्ष नयाँ अनुभव र प्रयोगमा सांस्कृतिक मान्यतालाई निरन्तरता दिँदै मातातीर्थ औँसी मनाइएको छ । नातागोता, इष्टमित्र, परिवार कुटुम्बलाई पूर्वीय समाजले उच्च महत्व दिन्छ । यही दर्शनमा दीक्षित नेपाली समाजमा पारिवारिक एकता सुदृढ छ । विश्वभर विस्तृत र संयुक्त परिवार विघटित हुँदै गरेका भए पनि नेपालमा एकलभन्दा संयुक्त परिवारकै बाहुल्य छ तर पनि नेपाली समाजमा केही विशिष्ट मान्यता थिए र त्यसका अवशेष अद्यापि छन् । केही नातामा एक सदस्यले अर्कोलाई नछुनू भनिन्थ्यो । ठुलाठुला रमझमभन्दा ‘एकान्ते सुखमास्यताम्’ को मान्यतालाई हाम्रा दर्शनले उच्च महत्व दिँदै आएका थिए । विद्यार्थीले गृह त्याग्नु, निश्चित उमेरमा वानप्रस्थ हुनु, एक्लै ध्यान बस्दा अनावश्यक सशरीर अन्तरक्रियालाई सीमित गरेका थिए । हात मिलाइन्नथ्यो, दण्डवत् वा नमस्कार चल्थ्यो, अँगालो हालिन्नथ्यो स्नेह बाँडिन्थ्यो । पश्चिमा शैलीका शारीरिक क्रियाकपाल निषिद्ध थिए । समाजमा अहिले भनिएजस्तो विशिष्ट प्रकारको सामाजिक दूरी थियो । क्रमशः समाज परिवर्तित हुँदै आयो ‘सङ्घे शक्ति कलौयुगे’ अर्थात् सङ्गठन नै कलियुगको शक्ति हो भनियो, अथवा सङ्घं शरणम् गच्छामि समूहमा बस्न सल्लाह दिइयो । राज्यका उत्पत्ति, राजनीतिक शक्ति प्रदर्शन, अनुयायीको झुण्ड देखाउने प्रवृत्तिमा बढोत्तरी आयो । औद्योगिक क्रान्ति, उत्पादनका तरिका (मोड अफ प्रडक्सन) मा आएका भिन्नता, उपनिवेशवाद र नयाँ विश्वव्यवस्थाले मानिसलाई क्रमशः सङ्गठित र नजिक गर्दै लग्यो । विश्वग्रामका मान्यता विकसित भए । विश्वसँग मानिस आपसमा जोडिन पुगे । फलस्वरूप सन् २०१९ को डिसेम्बर ३१ मा चीनको वुहानमा देखिएको कोरोना आज करिब साढे तीन महिनाको बीचमा विश्वभर फैलिएको छ । बाक्लो जनसम्पर्क र सामाजिक अन्तरक्रिया कोरोना (कोभिड–१९) का विश्ववाहक साधन बनेका छन् ।
केही दिनअघि उदयपुरको भुल्केस्थित एक मस्जिदमा बस्दै आएको समूहलाई कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि सामूहिक बसोवास र बाक्लो सामाजिक अन्तरक्रियाबारे सबैले सोच्नुपर्ने भएको छ । सङ्क्रमित सबै भारतको दिल्लीमा आयोजित धार्मिक कार्यक्रममा सहभागी थिए । यो घटनाबाट स्पष्ट हुन्छ– भीडभाडमा जानु र बस्नु कोरोना फैलिनुको मुख्य कारण हो । भुल्के घटनापछि काठमाडौँका केही मस्जिदको अनुगमन गरिएको छ । यस्तै मन्दिर, गुम्बा÷चैत्य वा अन्य प्रकारका आश्रममा हुने सामूहिक बसोवाससँग सम्बन्धित पक्षले बसोवासीको स्वास्थ्यका बारेमा विशेष ध्यान दिनुपर्छ भने त्यस्ता हरेक व्यक्तिले आफू र समुदायको सुरक्षामा होसियार हुनुपर्छ । आफ्ना कारण कोरोनाबाट अरूलाई बचाउनुभन्दा ठूलो धर्म र अरूलाई सङ्क्रमित गर्नुभन्दा ठूलो पाप केही हुनसक्दैन । त्यसैले मठमन्दिर, चैत्य÷विहार,मस्जिदमा भीडभाड गर्नुभन्दा आत्मामा धार्मिक विश्वास र कर्ममा समाजसेवा गर्नु नै धर्म हो भन्ने कसैले पनि बिर्सनुहुँदैन । सामूहिक बसोवास र बाक्लो सामाजिक अन्तरक्रिया नै कोरोना फैलिने प्रमुख कारण भएकाले हरेक राज्यले अपनाएको सामाजिक दूरीलाई सबैले पालना गर्नु आवश्यक छ ।
कोरोना नियन्त्रण गर्न नेपालजस्तो आर्थिक तथा पूर्वाधार नभएको मुलुकका लागि सामाजिक दूरी कायम राख्न बन्दाबन्दी (लकडाउन) नै एकमात्र विकल्प हो । बन्दाबन्दीमा पनि दिनचर्यालाई कसरी व्यवस्थित गर्न सकिन्छ, श्रमिक÷मजदुर, बिरामी, बाल, विपन्न, प्रसूता आदिको सहज जीवनका बारेमा धेरै विकल्प प्रयोग गर्न सकिन्छ तर अहिले नै बन्दाबन्दीको विकल्प सोच्नेबेला आएको छैन । नेपालमा कोरोनाको फैलावट क्रमशः तेस्रो चरणमा (समुदायबाट–समुदाय) मा प्रवेश गरेकाले बच्न र बचाउन सरकारका निर्णय र आदेशलाई मात्र होइन, आफैँले पनि व्यक्तिगत आचारसंहिता पालना गर्नु आवश्यक छ । सरकारले सल्लाह दिन र बाटो देखाउन सक्छ । सबैलाई कोठामा थुनेर राख्न सक्दैन र यसो गर्न चाहेको पनि छैन । आफैँ संयमित भएर सम्भावित सङ्कटबाट बच्न र बचाउन हरेक नागरिकलाई सरकारले आग्रह गरेको छ । काम गर्दा देखिने कमीकमजोरीबारे उपयुक्त समय र विधिबाट गरिने आलोचनलाई प्रजातान्त्रिक अभ्यासमा अन्यथा मानिँदैन तर बन्दाबन्दीको पनि विरोध गर्ने अनि युरोप, अमेरिकाको भोगाइसँग पनि डराउनेजस्तो द्वैध प्रवृत्तिले समस्यालाई थप गम्भीर बनाउनेछ ।



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?