प्रदीपराज वन्त
‘एउटा तस्बिरले हजार शब्दको वर्णन गर्न सक्दछ’ भन्ने आम मान्यता छ । तस्बिर खिच्ने परम्परागत विधिमा आज ठूलो परिवर्तन आएको छ । विज्ञान तथा प्रविधिको विकासले ल्याएको परिवर्तनसँगै फोटो पत्रकारितामा समेत अनेकन नयाँ आयाम विकसित भइरहेका छन् । सहज प्रविधिको प्रयोगले खिच्दाखिच्दै गरेको तस्बिर सम्बन्धित सञ्चार माध्यममा पुग्ने र एकाध क्षणमा नै प्रकाशित हुने गरेको छ । जतिसुकै राम्रो समाचार सामग्री बनाइए पनि त्यसमा तस्बिर छैन भने त्यसको सान्दर्भिकता नरहने अवस्था सिर्जना भएको छ ।
तस्बिर जीवन्त विधा हो, यसले सत्य बोल्छ र तथ्यको उद्घाटित गर्दछ । शब्दभन्दा तस्बिरको प्रभाव हजार गुणा बढी रहन्छ । शब्दले भावना बोल्छन् तर भावनालाई साँच्चै भावनामा परिवर्तन गर्ने तागत भने तस्बिरले राख्दछ । विज्ञान र प्रविधिको आविष्कारले पनि त्यसैलाई सम्मोहित गर्दछ ।
सन् १९९० को दशकपछि डिजिटल प्रविधिको प्रयोग सुरु भयो । रिलमा खिचिने तस्बिर पछिल्लो दिनमा सहज रुपमा डिजिटल प्रविधिमा खिचिन थालेको छ । त्यसले आम पाठक, दर्शक तथा जानकारलाई समेत सहज र सरल बनाइदिएको छ । फोटो पत्रकारिताको ओज र गरिमा पनि बढ्दै गएको छ । मानिसको चाहना पनि उत्तिकै बढ्दै गएको छ ।
विज्ञान तथा प्रविधिको उच्चतम अभिव्यक्तिका रुपमा आएका स्मार्ट फोनले हरेक घरमा फोटोग्राफर जन्माइदिएको छ । आम नागरिकमा आफूलाई मन लागेको तस्बिर खिच्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन बढ्दो छ । त्यसले फोटोप्रतिको अनुराग बढाइदिएको छ । पत्रकारिता पनि आम रुपमा पुगेको छ, त्यसलाई नागरिक पत्रकारिताको रुपमा लिने पनि छन् । सामाजिक सञ्जालमा दिनप्रतिदिन फोटोको प्रयोग बढ्दै गएको छ ।
व्यावसायिक रुपमा फोटो पत्रकारिता गर्नेलाई त नयाँ नयाँ खोज तथा उपायको जरुरत पर्ला तर सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि मात्रै प्रस्तुत गर्नेका लागि भने त्यो अर्को सौखको विषय बन्न सक्छ । नेपालमा पनि त्यस्तो जमात बढ्दै गएको छ ।
विशेष गरी पदयात्रामा जानेहरूले मनमोहक सुन्दर दृश्य, जनजीवनका विविध सांस्कृतिक तथा सामाजिक जीवन्त संस्कृतिलाई क्यामेरामा कैद गरेर संसारभर नेपालको परिचय दिलाएका छन् । पर्यटकलाई सम्मोहित बनाउँदै नेपालमा घुम्न आउने बनाएका छन् । फोटो त्यस्तो सशक्त विधा हो जससँग जीवन र सिङ्गो जगत जोडिएको हुन्छ । फोटोसँग मानवीय संवेदना गाँसिएको हुन्छ ।
फोटो आफैँमा हरेक इतिहासको साक्षी पनि हो । वि.सं २००७ को क्रान्तिको खोजी गर्नुपर्दा फोटो नै खोजिन्छ, त्यसपछि मात्रै राजनीतिक दस्तावेज र अन्य विषयका पाना पल्टाइन्छ । संसारभरकै इतिहासको खोजका लागि फोटो प्रामाणिक विधा हो । राजनीतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक विषयमा ज्ञान र चासो राख्ने सबैलाई फोटोले नै तानिरहेको हुन्छ । नेपालका राजनीतिक घटनाक्रमहरू– सबैको साक्षीका रुपमा फोटोपत्रकारले मेहनतले खिचेको फोटो नै अग्रस्थानमा आउँछ । समाचार त आज लेखियो, पढियो, भोलि पुरानो हुँदै जान्छ तर फोटो मात्रै यस्तो विधा हो, जो कहिल्यै पनि पुरानो हुँदैन । कहिल्यै बिर्सिदैन पनि ।
नेसनल जोग्राफीका एक फोटो पत्रकार भन्छन् – फोटो पत्रकारिता जीवन र जगत् बुझ्ने एक मात्रै त्यस्तो विधा हो, जो सत्यको असाध्यै नजिक पुगेको हुन्छ । उनले फोटो पत्रकारितालाई जीवनकै सबैभन्दा सुन्दर क्षणका रुपमा चर्चा गरेका छन् ।
आर्ट अफ प्रोफेसन फोटोग्राफी विषयक एक सोधमा लिन्डा रोविन्सनको भनाइ छ– तपाईंले कस्तो विषयलाई आफ्नो आँखामा राख्नुहुन्छ, त्यसले तपाईंलाई आकर्षित गर्दछ, त्यसलाई स्वाभाविक रुपमा खिच्नुस् । जसले तपाईलाई मात्रै होइन, धेरैको मन जित्न सक्छ । आँखालाई स्वाभाविक लाग्ने तस्विर नै धेरै चर्चित भएको उदाहरण पनि संसारभर पाइन्छ ।
प्रविधिले ठूलो फड्को मारे पनि फोटो पत्रकारिता व्यावहारिक र वैज्ञानिक भने बन्न सकेको छैन । यसमा गर्नुपर्ने अझै धेरै काम बाँकी छ । केही जानेर, बुझेर वा सिकेर आउनेभन्दा पनि गर्दै जाउँ, भइहाल्छ नि भन्ने मान्यताका साथ काम गर्ने प्रवृत्ति पनि हावी छ । विश्वविद्यालय तथा कलेजमा फोटो पत्रकारिताको अध्ययन अध्यापन गराइन्छ । तर सैद्धान्तिक ज्ञान मात्रै लिने र दिने काम गरिन्छ । व्यावहारिक ज्ञान लिनेतर्फ कोही कसैले ध्यान दिन सकेको छैन ।
सिर्जनशीलतालाई केन्द्रमा राखेर फोटो पत्रकारिता गर्दा त्यसले दिने परिणाम पनि सकारात्मक र सिर्जनात्मक नै हुन जान्छ । त्यसकारण फोटो पत्रकारले इमानदार भएर पेशामा क्रियाशील हुनुपर्छ ।
नेपालको फोटो पत्रकारिताको इतिहासमा गोरखापत्रको नाम अग्रस्थानमा छ । वि.सं १९८४ वैशाख १३ गते वीरगञ्ज निवासी सूर्यमती श्रेष्ठले आफ्नो कपासको बगैँचामा बसी कामधेनु चर्खाबाट धागो कात्दै गरेको फोटो पहिलोपटक गोरखापत्रमा छापिएको थियो । सोही दिनलाई मानेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) द्वारा विगत २३ वर्षदेखि निरन्तररुपमा फोटो पत्रकारिता दिवस विभिन्न कार्यक्रम गर्दै मनाउँदै आइरहेका छौँ । विगत तीन वर्षदेखि समूहले देशभरका पत्रकारको सम्मानका लागि वैशाख १३ मा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड सम्पन्न गर्दै आएको र यो वर्ष विश्व कोरोनाको महामारीले गर्दा आयोजना गर्न नपाउँदा दुःख अनुुभूति भएको छ ।
आगामी दिनमा फोटो पत्रकारले आफ्नो ज्ञान, सीप र क्षमतामा थप पाइला चाल्न आवश्यक देखिन्छ । किनकि गौरवशाली इतिहासले आजका विकसित दिन देखाएको छ । त्यसले आगामी दिन अझै बढी परिष्कृत, मेहनती र सबल बनाउनेछ ।
(लेखक राष्ट्रिय फोटो पत्रकार समूूह, नेपालका महासचिव हुनुहुन्छ ।)