logo
२०८२ असार ४ बुधवार



स्वनामधन्यको बुद्धिविनोद

विचार/दृष्टिकोण |





आशीष घिमिरे ‘प्रबुद्ध’

कोरोनासँगको विश्वव्यापी लडाइँ जारी रहँदा विश्वका अधिकांश देशमा आन्तरिक एकता बलियो भएको छ । प्रत्येक देशका आन्तरिक विवादका विषयहरू गौण मात्र हैन, कोरोना कहरसँग लड्दा आन्तरिक विवाद नभएजस्तो गरी एक भएर सरकारको कदममा कदम मिलाएर अगाडि बढेको देखिन्छ । सरकारले घोषणा गरेका कुरालाई इमानदारीका साथ लागु गर्न गराउन त्यहाँका सचेत नागरिकको मुख्य भूमिका देखिन्छ ।
कोरोनाको प्रकोप हाम्रो देशमा पनि पसिसकेको छ तर हालसम्म नेपालको सरहदभित्र कुनै पनि नागरिकले कोरोनाको प्रकोपबाट जीवन गुमाउनुपरेको छैन । नेपालका सातवटै प्रदेशमा कोरोना उपचारको क्षमता वृद्धि गरिएको छ । सबै प्रदेशमा ¥यापिड टेष्ट जारी छ । ¥यापिड टेष्टमा पोजेटिभ देखिएकालाई क्वारेण्टाइनमा राखेर उनीहरूको पीएससी टेष्ट गरी रोगको निक्र्योलपछि पोजेटिभ देखिए उपचारको व्यवस्था सरकारी तवरबाट भएको छ ।
विगत एक महिनादेखि देश लकडाउनमा छ । सामाजिक दूरी कायम छ । जनसङ्ख्याको ठूलो हिस्सा स्वस्फूर्त रुपमा सरकारको आह्वानमा अनुशासित झैँ प्रतित छन् । समाजमा छिटफुट देखिने विकल्पका कथा जहाँ पनि हुन्छन् । त्यी अपवादलाई छाड्ने हो भने नेपाल पनि अहिले कोरोनाविरुद्ध एकमतले लडिरहेको छ ।
तर यसैबीचमा कतिपय स्वनामधन्य बुद्धि विलासीहरू अत्तालिएका छन् । प्रजातान्त्रिक गणतान्त्रिक नेपालमा संविधानले प्रत्याभूत गरेका अधिकारको मनमौजी व्याख्या गर्दै विभिन्न अनलाइन र पत्रपत्रिकामा आफ्ना कुण्ठाका अमिलो पोख्न ती लागिपरेका छन् । कतिपय विदेशी आईएनजीओका आडमा पालिन पल्केका र कतिपय आफ्ना पुराना दिनका सम्झना गर्दै कुत्सित कर्मका आँखाले हेर्न पल्केका तिनले बोलेका, लेखेका कुराको जिम्मेवारी कहिल्यै लिनु नपर्ने भएकाले मन लागेका र समाजलाई बहकाउन सजिला विषयको खोजी गरी तिललाई पहाड बनाएर लेख्नु तिनको कर्म भएको छ ।
समाज र राज्य व्यवस्थाको चरित्र समयको गतिसँगै समय लगाएर बनेको हुन्छ । “वर्तमान इतिहासको गर्भबाट जन्मेको हो’ त्यसैले त्यस्ता संस्थाको परिवर्तन जादुको छडी घुमाएर एक व्यक्तिको एकै दिनको कार्यले बन्दैन भन्ने तिनलाई थाहा हुन्छ । यस्ता संस्थाहरूमा वाञ्छित परिवर्तन ल्याउन अनवरत प्रयासको खाँचो हुन्छ । त्यो कार्य सचेतनापूर्वक सकारात्मक सोचसाथ गर्नुपर्दछ भन्ने स्वनामधन्यको मनमस्तिष्कमा पनि हुन्छ तर तिनीहरू त्यो कुरा भन्दैनन्, दबाउँछन् र समाज भड्काउन प्रयास गरिरहन्छन् । त्यसैले तिनीहरू प्रजातान्त्रिक समाजको वाहक “राजनीतिक दल” लाई नकार्न उक्साउँछन् न कि तिनको सुधारमा तिनको ध्यान छ । समाज र राज्य विभिन्न स्वार्थको गठजोड हो, स्वार्थ भिन्नै भए पनि तिनको बीचमा सहभाव कायम गरी सबैको स्वार्थ निर्माण गर्दा समाज र राज्यको विकासमा जोड पु¥याउँछ भन्ने तिनलाई थाहा छ । समाजको समभावको महत्व भन्न ती चाहँदैनन् बरु समाजको बनोटको सहभावले तिनलाई पोल्दछ । त्यसैले तिनले सबै नकारात्मक मात्र देख्दछन्, सहभाव भत्काउन तिनीहरू लागि पर्दछन् । आज एक अमुक कुनै राजनीतिक दलको आड लागेझैँ गरी अर्को दललाई खुइल्याउन तिनको सबै शक्ति खर्च हुन्छ । भोलि फेरि अर्कोलाई खुइल्याएर धुलो चटाउन तिनको प्रयास हुन्छ । नकि संस्था स्थापित गर्न सकारात्मक सल्लाह दिन ती मान्छन् ।
बहुदलीयताको नाममा स–साना दल र समूहको भागभूरो खोजी देशको अङ्ग भाग लगाउन नपाएसम्म तिनको यो कर्म सकिने छैन किनकि तिनको पोषणको तत्वमा नै त्यही छ । ती समाजको सेवाभन्दा मालिकको सेवामा तल्लीन छन् । त्यसैले तिनलाई नेकपाको एकीकरण प्रक्रिया मन परेको छैन । नेपाली काँग्रेसमा आएको मतभिन्नताको आवाजलाई बुलन्द गरी त्यस दललाई समाजको आँखामा गिराउन पाए तिनको शरीरमा भिटामिन पुग्दछ । समाजमा सकारात्मकताको सन्देश ती दिँदैनन् । तिनको आँखामा देशको प्रत्येक क्षेत्र, विषयमा हालसम्म भएको र भइरहेको सबै काम कारबाही खराब मात्र छ । नेपालमा बसेर अमेरिकाको टीभीको चित्रमा आएको समाज तिनले भनेको समाज हुन्छ नकि नेपाली माटोको विशेषताको विकासको कुरा ती गर्दछन् ।
नेपालमा कोभिड १९ बारे सरकारले निर्णय लिएको सुरुका दिनदेखि ती कराउँदैछन् । तयारी सबै भए पनि ती कराउने नै थिए । तयारी किन, अत्यावश्यक सामान किनेको किन भनेर ? कोभिडका सामान किनेकाले कोभिड भित्र्याइयो भन्ने तिनको कोकोहोलो हुने थियो । सरकारले घोषणा गरेको लकडाउनले गर्दा रोग नबढेको बारे तिनलाई भरपुर थाहा छ । तत्कालका लागि योभन्दा सही विकल्प अर्को हुँदैनथ्यो भन्ने पनि तिनले बुझेका छन् । लकडाउनको बेला सम्भव सबै उपायसाथ तीनै तहका सरकार र सरकारी संयन्त्र लागिपरेको तिनले देखेका छन् । तर यो कुरा भन्न लेख्न, ती तयार छैनन् । सरकारले जतिसुकै राम्रो गरे पनि त्यसमा खोट निकाल्ने ध्याउन्न छ ।
पवित्र इच्छा राखी सत्यनारायणको पूजाको प्रसाद खान गएकाले होस् वा छोराको विवाह भोज खान गएकाले होस्, अलिअलि कमेण्ट गरिरहन्छन् भन्ने सामाजिक चरित्र तिनलाई थाहा छ तर ती सबै कुरा तिनले आफ्नो कुत्सित लक्ष्य अगाडि लुकाउँछन् र निहुँ खोजीखोजी बर्बराउँछन् । लकडाउनको बेला कतिपय व्यक्ति ‘होमसिक’ले, कतिपय सही सूचनाको अभावले, कतिपय भावनामा बहेर, कतिपय साथीको लहैलहैमा र कतिपय वास्तविक पीर बाधाले बसेको स्थान छाडी घरतर्फको यात्रामा निस्केका हुन् भनी ती सोच्दैनन्, बरु सबैलाई एउटै डालामा हाल्छन् र पत्रिकाका पसलमा बेच्न राख्दछन्, फेसबुकका वालमा विज्ञापन टाँसे झैँ टाँस्छन् र त्यसैमा खेल्छन्, मजाक उडाउँछन् । यो क्रम निकै दिनदेखि चलिरहेछ, तिनका मालिकको राशन पानी नसकिएसम्म चलिरहने पनि छ । कुरा प्रष्ट छ– जनताको फाटेको चप्पल र टोपी स्वनामधन्यको मागि खाने झोली हो ।
त्यसैले धेरैभन्दा धेरै जनताले स्वनामधन्यलाई चिन्नु आजको आवश्यकता भएको छ । कोरोनाको कहरमा जनताको दुःख बेच्नेले जनताको साथ दिँदैन भन्ने जनतालाई बुझाउनुपर्दछ । जनता असङ्गठित हुन्छ त्यसैले जनताको आवाज जनताका प्रतिनिधि, सहयोगी र समाजका सचेत नागरिकले बोल्नुपर्ने हुन्छ । यो काम राजनीतिक कार्यकर्ता र स्वयंसेवकहरूको पनि हो । समाजका केही जनताले तिनलाई चिनेका पनि हुनसक्छन्, नचिनेकाले पनि समयक्रममा चिन्नेछन् । आजको अवस्था स्वनामधन्य बुद्धिजीवीबाट बच्नुपर्ने अवस्था हो । यसका लागि सरकार, प्रतिपक्ष र अग्रणी नागरिकले तिनको आवाजतिर ध्यान नदिई काममा खरो उत्रने गर्नुपर्दछ, नत्र तिनले समयको बर्बादी गराइदिन्छन् ।
स्वनामधन्यको आवाजको ‘मेलोडी’ कहिले कहिले निकै मनमोहक हुन्छ क्या हो (?) तिनको आवाजको मेलोडी सुनेर कहिले कहिले नेपाली राजनीतिका नेता पनि बरालिन खोज्छन् । कलाकारिता र यथार्थ पारख गर्नु अगाडि नै यदाकदा नेताहरूले तिनको लोलीमा बोली मिलाएको देखिन्छ । यसबाट बच्नु नेताको पनि पारख हुनेछ । नत्र हालका नेता पछि स्वनामधन्य बुद्धिजीवीमा परिणत हुन बेर लाग्दैन । विगतमा पनि यदाकदा यस्तो भएको छ ।
नेता सबैको नेता हो । नेता बुद्धिजीवीको पनि नेता हो । बुद्धि विलासिता मात्रले बुद्धिजीवी हुँदैनन् । विवेकयुक्त ज्ञानबाट सिञ्चित नभएको बुद्धिजीवी समाजका लागि घातक हुन्छ भन्ने कुरा नेताहरूलाई थाहा हुनुपर्दछ । नेता परमार्थ र समय पारख गर्ने क्षमताले बन्दछ । समयले नेतालाई जन्म दिने हुनाले समयलाई नचिन्ने व्यक्तिले नेता बन्ने रहर गर्नाले समयको व्यतित मात्र हुन्छ भन्ने कुरा नेतालाई थाहा होस् । नत्र राम राम भन्ने मात्र हो बाँकी नेताकै मर्जी ।
(लेखक इन्जिनियरिङ विषयमा अध्यनरत हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?