logo
२०८१ मंसिर १४ शुक्रवार



लकडाउनपछिको परीक्षा व्यवस्थापन

विचार/दृष्टिकोण |




डा. हरिप्रसाद लम्साल

कोभिड १९ का कारण रोकिएका कक्षा १०, ११ र १२ को परीक्षा के हुन्छ भन्नेमा परीक्षा दिने विद्यार्थी र अभिभावकमा बढी चिन्ता छ । मुलुक अहिले परीक्षा गर्नुहुँदैन र यस्तो निर्णय हतारमा गर्नुहँुदैन भन्नेमा केन्द्रित छ । केही विदेशी मुलुकले परीक्षा रोकेका छन् । केही मुलुकले लकडाउन खुलेपछि निर्णय गर्ने भएका छन् । विकल्प तयार गरिरहँदा केही प्रश्नका उत्तर खोजी गर्नु उपयुक्त हुन्छ । मुलुकमा लकडाउन कायम रहेसम्म परीक्षाका बारेमा थप निर्णय गर्नु आवश्यक छैन । अहिलेकै रूपमा परीक्षा नलिने भनेर गरिने निर्णयले केही अर्थ राख्दैन । लकडाउनको अवधिमा न विद्यालयमा भर्ना खुल्न सक्छ न विद्यार्थीलाई विद्यालयमा आऊ भन्न सकिन्छ, न त विश्वविद्यालयका नयाँ शैक्षिक कार्यक्रम सुरु हुनसक्छन् । तसर्थ परीक्षा लिने निर्णय अहिले नगरौँ । जनजीवन सामान्य भइसकेपछि शैक्षिक सत्र खेर नजाओस् भन्नका लागि समयले नपुग्ने भयो भने यस्ता निर्णयका बारेमा सोच्दा हुन्छ ।
परीक्षाका बारेमा केही निर्णय नगरिकन अभिभावक र विद्यार्थीलाई तनावमा राख्ने त ? भन्ने प्रश्नलाई बेवास्ता गर्न मिल्दैन । अहिले लकडाउनमा रहनु भनेको सबै घरभित्र रहनु भन्ने हो । लकडाउनको अवधि र यसपछिको अवस्थाका बारेमा सोचेरमात्र थप निर्णय गरौँ । अहिले सबैको चासो शैक्षिक सत्र नखलबलियोस् भन्ने नै हो । जम्मा १२ महिनाको शैक्षिक सत्र अब ११ महिनामा सक्नुपर्छ । यसैगरी शैक्षिक सत्रको अवधि १० वा नौ वा आठ महिनाको पनि हुनसक्छ । यही समयसँग मिल्ने गरी विभिन्न अवधिका वार्षिक शैक्षिक कार्यतालिका बनाउनुपर्छ । समयका आधारमा मात्र के के विषय र कहाँ कहाँ समायोजन आवश्यक छ भनेर विज्ञले काम गर्न सक्ने भएकाले अहिले सो समय यकिन हुन दिउँ । यसैमा थप गृहकार्य आवश्यक हुन्छ ।
११ वा १० महिना अवधिको शैक्षिक सत्र बनाउनुपर्ने अवस्था आयो भने त्यति आत्तिनुपर्दैन । किनकि अहिले हामीसँग लगभग दुई महिनाजति समय हिउँदे र वर्षे बिदाका लागि दिने प्रचलन छ । यी बिदा कटौती गर्ने हो भने सजिलैसँग शैक्षिक सत्रको अवधि मिलान हुनसक्छ । तर भर्ना समय र परीक्षाका बारेमा केही समय मिलान गर्नु आवश्यक हुनसक्छ । यस्तो समय मिलान गर्न स्वदेशभित्रका विश्वविद्यालय र विद्यालय शिक्षासँग सम्बन्धित निकायहरू बसेर तालिका बन(ाउनुपर्ने हुन्छ । तसर्थ कति अवधिको शैक्षिक सत्र हुन्छ भनेर यकिन गरेपछि मात्र परीक्षा के कसरी लिने भनेर तय गर्नु उपयुक्त हुन्छ । विद्यालय तहका वार्षिक परीक्षा लिई सकिएको भए सोको नतिजा प्रकाशन छिटो विधिबाट गर्दा हुन्छ । परीक्षा लिन बाँकी भए विद्यालयले विद्यार्थीको विगतका अभिलेखको आधारमा कक्षोन्नतिका सम्बन्धमा निर्णय लिनु उपयुक्त हुन्छ । कक्षा १० भन्दा मुनिका कक्षामा पुनः परीक्षा लिने गरी कार्यतालिका बनाउनु आवश्यक छैन ।
कक्षा १० को परीक्षा कक्षा ११ मा लैजानका लागि मात्र नभएर रोजगारीमा प्रवेश गर्नका लागि पनि हो । राज्यका विभिन्न निकायमा प्रवेश गर्नका लागि कक्षा १० को प्राप्ताङ्कलाई न्यूनतम योग्यता मानिएसम्म मुलुकले यो परीक्षा लिनैपर्छ । परीक्षा कसले र कति विषयमा लिने भन्ने विषयमा बहस गर्दा हुन्छ । हाम्रा विद्यालयहरू सक्षम, उत्तरदायी र जवाफदेही भएको भए यो परीक्षा विद्यालयबाट लिँदा पनि हुन्थ्यो । तयार गरिएका प्रश्नपत्रका आधारमा विद्यालयले परीक्षा लिई उत्तरपुस्तिका निश्चित स्थानमा पठाउने व्यवस्था गर्न सके हुन्थ्यो जुन अहिलेका लागि सम्भव छैन । प्रवेशिका परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डकै समन्वयमा लिउँ । समय बचाउन र नतिजा छिटो प्रकाशन गर्नका लागि मुख्य विषयमा बोर्ड र इच्छाधीन विषयमा सम्बन्धित विद्यालय तहबाट परीक्षा लिँदा हुन्छ । यसबाट परीक्षा बोर्डको परीक्षा लिने, ढुवानी गर्ने, परीक्षण गर्ने, सङ्कलन गर्ने, डाटा इन्ट्री गर्ने, प्रोसेसिङ् गर्ने र नतिजा प्रकाशन गर्ने आदि कामको भार घट्न गई थोरै समयमा परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्मका काम गर्न सकिन्छ । विद्यालयले लिने परीक्षाको लब्धाङ्कपत्र विद्यालयले तयार गरी सम्बन्धित स्थानमा पठाउने व्यवस्था गरौँ । थोरै समयमा काम सम्पन्न गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले केही काम प्रदेश तहमा जिम्मा दिने व्यवस्था गर्न सकिन्छ ।
यसै वर्षदेखि कक्षा ११ को परीक्षा विद्यालयले लिने व्यवस्था गरौँ । यसबाट समयमात्र नभई मुलुकको धेरै स्रोत र साधनको बचतका साथै विद्यार्थी र अभिभावकको तनाव कम गर्न सकिन्छ । कक्षा ११ को परीक्षा विद्यालयबाट हुने निर्णयका लागि लकडाउन खुल्नु आवश्यक पर्दैन । यसले मुलुकमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ । विद्यालयलाई अनुकूल हुने गरी मुलुकभर एउटै तालिका बनाएर कार्यान्वयनमा ल्याउन सकिन्छ । अहिले परीक्षा बोर्डले बन(ाएका प्रश्नहरू प्रयोग गर्ने वातावरण बनाउँदा अझ राम्रै हुन्छ ।
कक्षा १२ को परीक्षा परीक्षा बोर्डबाटै लिनुपर्छ । उच्च शिक्षा अध्ययन गर्ने र कामको संसारमा प्रवेश गर्ने ढोकाका रूपमा रहेको यो परीक्षा आफैँमा विद्यालय तहको अन्त्यमा लिइने परीक्षा हो । विद्यार्थीले यस तहमा हासिल गरेको नतिजा उच्च शिक्षा तहको छात्रवृत्ति र राज्यका अन्य सुविधा प्रदान गर्नका लागि प्रयोग गरिने भएकाले यो परीक्षा लिनुपर्छ । १० महिनासम्मको शैक्षिक सत्र कायम हुने अवस्थासम्म यो परीक्षा बोर्डबाट सञ्चालन गर्नुपर्छ । समय बचतका लागि कक्षा १० मा जस्तै मुख्य विषयको परीक्षा बोर्डले लिने र बाँकी विषयहरू विद्यालयबाट लिँदा उपयुक्त हुन्छ । काम बाँड्दा अझ कम समयमा नतिजा प्रकाशन गर्न सकिन्छ ।
परीक्षा लिनैपर्दैन भन्ने सोचतर्फ अहिले जानु हुँदैन । लकडाउन नखुल्दासम्म हाम्रा क्रियाकलाप सञ्चालन हुन सक्दैनन् । यस अवस्थामा परीक्षा नलिने निर्णयबाट केही लाभ हुँदैन । हाम्रा सबै गतिविधि लकडाउन खुलेपछि मात्र सञ्चालन हुने हुन् । शैक्षिक सत्रको तालिका बिग्रन नदिन माथि भनिएजस्तै विभिन्न समयका नयाँ शैक्षिक तालिका बन(ाउने, पाठ्यभार र पाठ्यवस्तुको कन्टेन्ट्स रूप तयार गर्ने, शिक्षक सहयोगी मार्गदर्शन तयार गर्न विज्ञसमूह परिचालन गर्न सकिन्छ । विज्ञ समूहबाट कार्ययोजना बनाई अवस्था सहज भएपछि उपयुक्त विकल्प छनोट गरी निर्णय गर्दा हुन्छ । अहिलेको सबैभन्दा उपयुक्त विकल्प भनेको लकडाउनपछि कार्यान्वयन हुने गरी विभिन्न विकल्प बनाउने र सो कार्यान्वयनका लागि पूर्वाधार पनि तयारी अवस्थामा राख्ने हो । लकडाउन खुलेपछि विकल्प तयार गर्न सुरु गर्दा ढिलो हुनसक्छ । तसर्थ लकडाउनलाई उपयोग गर्दै ११ महिनाको शैक्षिक सत्र, १० महिनाको शैक्षिक सत्र र ९ महिनाको शैक्षिक सत्र अवधिका विकल्पहरू बनाऔँ । लकडाउन खुलेपछि सोहीबमोजिम उपयुक्त विकल्पको कार्यान्वयनमा जानुपर्दछ ।

(लेखक सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?