डा. सुबोध ढकाल
कोरोनाले आक्रान्त भएर घरमा बसिरहेकाको ध्यान पाँच वर्ष अगाडि वि.सं २०७२ वैशाख १२ गतेकोे ‘गोरखा’ भूकम्पतिर तानियो । झण्डै १० हजार मानिसले ज्यान गुमाएको यो भूकम्प र त्यसपछिका पराकम्पले हामीहरू त्रसित बनिरहेकै छौँ । भूकम्पलाई सम्झिँदैमा भूकम्पको जोखिम घट्ने होइन । भूकम्पको जोखिम हटाउन व्यक्ति, समुदाय र राष्ट्रले उपयुक्त वैज्ञानिक कदम चाल्नु जरुरी छ । गोरखा भूकम्पपश्चात् धेरैले अब असी–सय वर्षलाई ढुक्क भयो भन्ने आशा गरे पनि त्योपछि अझैसम्म आइरहेका परकम्पनले चिन्ता थपिराखेको छ ।
भूकम्प बाजा बजाएर आउँदैन भन्ने कुरालाई सर्वसाधारणले बुिझसकेको अवस्थामा भविष्यका भूकम्पबाट कसरी बच्ने भन्ने कुरामा अर्जुनदृष्टि दिन जरुरी देखिन्छ । यो प्रश्नको उत्तर भूकम्पसम्बन्धी अनुसन्धाता र वैज्ञानिकहरूले दिन सक्नुपर्छ तर हाम्रो देशमा चलिराखेको अध्ययन अनुसन्धान तत्काल चाहिनेभन्दा टाढा देखिन्छन् । पूर्वानुमान, प्रकोप स्तरीकरण, जोखिम स्तरीकरण, पूर्वतयारी जस्ता कुरामा पहिलेका भूकम्पका इतिहास र तिनीहरूको प्रकृतिका साथै क्षतिको प्रकृति जस्ता कुराबाट भविष्यका लागि मार्गनिर्देशन हुने भए पनि हाम्रा अध्ययनहरूले त्यो गरेको देखिँदैन । भूकम्प एक देशको मात्र समस्या नभई हाम्रो भूधरातलीय हिसाबले हिमालयअन्तर्गत पर्ने सबै राष्ट्रको हो । यसका लागि साझा पहल र अनुसन्धानहरूले दीर्घकालीन रूपमा जोखिम घटाउने काममा प्रभावकारी भूमिका खेल्न सक्दछ । तर भूकम्पसम्बधी जोखिमको अवस्था, बस्ती बसाइ, पूर्वतयारी, जनचेतनाको स्तर तथा स्थानीय भूगर्भको अवस्था देशैपिच्छे फरकफरक हुनसक्ने भएकाले हरेक राष्ट्रले अध्ययन र अनुसन्धानको आफ्नो प्राथमिकता छुट्याउनुपर्छ । हाम्रोमा जनचेतना फैलाउने सफ्ट्वेयरका काम धेरै भए पनि संरचनामा ध्यान दिनुपर्ने हार्डवेयरका काम र कता धेरै असर पर्ला भन्ने भौगर्भिक अनुसन्धानलाई पर्याप्त ध्यान दिन सकिएको छैन । गोरखा भूकम्पले गरेको क्षतिको प्रकृतिलाई आधार बनाई अध्ययन गर्दा धेरै कुरा बाहिर आउन सक्छ । भूकम्पमा काठमाडौँमा एकैप्रकारले घर भत्केका थिएनन् । देख्दा बलिया लाग्ने घरहरू पनि भत्किएका थिए भने कमजोर लाग्ने घर पनि बचेका थिए । निरीक्षण गर्दा भत्किएका यस्ता घरमा संरचनागत त्रुटिसँगै जमिनको कमजोरीका कारण थुप्रै घर भत्किएको पाइएको थियो । त्यसैले राज्यले यस्ता अनुसन्धानलाई पर्याप्त ध्यान दिनुपर्ने देखिन्छ ।
पछिल्लो समयमा आएको गोरखा भूकम्पले बनाएको दरार पश्चिमतिर नफैलिएको र काठमाडाँैबाट दक्षिणतिर पनि नफैलिएको पाइएको छ । त्यतिमात्र होइन उक्त भूकम्पले बनाएका चिराहरू जमिनको सतहसम्म आउन नसकेकाले शक्ति स्खलन भइनसकेको देखिन्छ । यो अवस्थाले भविष्यमा आउन सक्ने भूकम्पलाई कसरी र कस्तो प्रभाव पार्नसक्छ अनि काठमाडौँलगायतका स्थानमा यसको प्रभाव के हुन्छ भन्ने कुराको उत्तर टड्कारो रूपमा आवश्यक देखिन्छ । पछिल्लो समयमा सगरमाथा क्षेत्र, पोखराको आसपास, सूदुरपश्चिम क्षेत्र तथा काठमाडाँैभन्दा दक्षिणी क्षेत्रलाई भविष्यको भूकम्पका लागि बढी सम्भावित खतराका रूपमा देखाइएको पढ्ने गरिएको छ । यस्तो अवस्थामा देशको सबै भाग र विशेषतः काठमाडौँलगायतका घना बस्ती र जोखिमयुक्त संरचना भएका प्रमुख सहरहरूमा के कस्तो असर पर्ला भन्ने खालका अध्ययनको आवश्यकता छ ।
हामीले भूकम्पपछिको पुनर्निर्माणमा राम्रै सफलता प्राप्त गरे पनि एउटा महत्वपूर्ण त्रुटि भने गरिसकेका छौँ । गोरखा भूकम्पबाट पूर्ण र आंशिकरूपमा क्षति भएका घरहरूको मुख्य समस्या जमिनको संरचना वा घरको बनोट हो भन्ने कुराको लेखाजोखा नगरी पहिले घर भत्किएकै ठाउँमा पुनर्निर्माण हुनु प्रत्युत्पादक हुनसक्छ । भूकम्पका कारण ठूला चट्टानी भीरहरूमा पहिरो गई त्यसको काखमा रहेका पूरै बस्ती पुरिएका ठाउँमा पनि जोखिम न्यूनीकरणका कुनै उपाय नगरी नयाँ घर बनिरहेकै छन् । बसिसकेका बस्तीहरूमा खुला स्थानको पहिचान र व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ । अब बन्ने नयाँ बस्तीहरूमा यो कुराको ध्यान दिनु जरुरी छ । बसिसकेका बस्तीहरूमा नागरिकले आफ्नै सक्रियतामा भए पनि यस्ता सुरक्षित स्थानको पहिचान र संरक्षण गरी परिआएमा सबै मिलेर बाँकी भएको खुला जग्गालाई भूकम्प जाँदा आफ्नो ज्यान बचाउने स्थल र नजाँदा खेल्ने र पर्दा जमघट गर्ने ठाउँका रूपमा विकसित गर्नुपर्छ । भविष्यमा आउन सक्ने भूकम्पका तरङ्गहरूको प्रतिक्रियाका बारेमा अध्ययन गरी बस्ती बस्न लायक स्थानहरूको पहिचान गर्नु जरुरी छ । विद्यमान एकीकृत तथा वैज्ञानिक भूउपयोग नीतिको वैज्ञानिक कार्यान्वयन हुन जरुरी छ । यसमा प्रकोपका प्रत्येक प्रकारहरू जस्तै बाढी, पहिरो, भूक्षय जस्ता प्रक्रियाको सम्भावना र जमिन उपयोगका अन्य सम्भावनालाई ध्यान दिई जमिनको उपयुक्त उपयोग गर्नु आवश्यक देखिन्छ ।
(लेखक भूगर्भविद् हुनुहुन्छ ।)