logo
२०८१ मंसिर १४ शुक्रवार



बौद्धिक सम्पत्तिलाई हौसला

विचार/दृष्टिकोण |




राजकुमार सुवाल

खोज, अनुसन्धाता, वैज्ञानिकको खोज अनुसन्धान तथा सोको उपज आविष्कार तथा कलाकारका सिर्जना तथा सोको वैज्ञानिक प्रवद्र्धनको उचित संरक्षण गर्दै यसमा निहित अभौतिक सिर्जनशीलताको साम्पत्तिक हकमा कानुनी हक प्रचलन गराउने तथा त्यस्तो सिर्जनाको उपयोगकर्ता आम उपभोक्ताको न्यायोचित हकहित तथा दायित्वको सन्तुलित विकासमा विशेष कानुनी सम्बन्धको विकास गरी सर्जक एवं उपयोगकर्ताको हकअधिकार तथा दायित्व निर्धारण गरिएको कानुनी प्रणाली बौद्धिक सम्पत्ति कानुन हो । संसारमा अलग अलग राष्ट्रमा त्यस्तो बौद्धिक सम्पत्ति कानुनको विकास अलग अलग समयमा गरिएको छ । सन् १९६७ को जुलाई १४ मा विश्व बौद्धिक सम्पत्ति सङ्गठन स्थापना गर्ने महासन्धिमा सही भर्इ १९७० अप्रिल २६ मा उक्त महासन्धि लागु भएर विश्व बौद्धिक सम्पत्ति सङ्गठन (विपो) को विधिवत् स्थापना भयो । सन् २००० मा विपोका सदस्य राष्ट्रहरूले अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसको रूपमा मनाउने निर्णय गरी २००१ मा पहिलो विश्व बौद्धिक सम्पत्ति दिवस मनाइएको थियो । यस वर्ष पनि अप्रिल २६ मा बीसौँ विश्व बौद्धिक सम्पत्ति दिवस ‘इनोभेसन फर अ ग्रीन फ्युचर’ भन्ने नारा लिएर मनाइँदैछ ।
यस परिवेशमा महामारीजन्य स्वास्थ्य समस्यालाई निराकरण गर्ने विविध पक्षसँग सम्बद्ध प्रविधिको आविष्कार र उत्पादनका आधुनिक प्रविधिको विकास अनि त्यसको औद्योगिक व्यवस्थापन, उत्पादनमा प्रोत्साहन गर्ने कार्य बौद्धिक सम्पत्तिले गरेको हुन्छ । हाल कोभिड १९ को मेडिकल उपचारको विधि वा औषधिको आविष्कारका लागि विश्वभरि अनगन्ती वैज्ञानिक आफ्नो समय, स्रोत र सीपको उच्चतम उपयोग गर्दै दिनरात कार्यरत छन् । यस प्रक्रियामा महिनौँदेखि वर्षौं समय व्यतित हुनसक्ने र सोका लागि खर्चिएका स्रोत साधन लक्ष्य हासिल नभएको अवस्थामा खेर जाने खतरा मोलेर भए पनि अनवरत क्रियाशील रहनुको प्रमुख कारण सम्भावित बौद्धिक सम्पत्तिको पुरस्कार पनि हो ।
हालै मात्र ‘हङ्कङ् युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलजी’ले कोरोनालगायतका भाइरसहरू ९९.९९ प्रतिशत निष्क्रिय पार्न आवश्यक उपचारमा खट्ने र स्टेरिलाइजर गर्ने कार्य गर्नसक्ने स्वचालित रोबोटको आविष्कार गरेको समाचार प्राप्त भएको छ । यस्ता उपयोगी आविष्कार तथा अन्वेषणलाई बौद्धिक सम्पत्तिद्वारा पुरस्कृत गर्ने कुरामा दुईमत छैन । विश्व बौद्धिक सम्पत्ति दिवसको सन्दर्भमा विश्व बौद्धिक सम्पत्ति सङ्गठनले वर्तमान कोरोना महामारीको परिवेशमा एउटा महत्वपूर्ण कदम अगाडि वढाएको छ । हालै अप्रिल ३ मा विपोका डाइरेक्टर जनरल डा. फ्रन्सिस गुरेले कोभिड १९ सम्बद्ध समस्या निराकरण एवं नियन्त्रण गर्न सहायक हुने क्षमता भएका हाल उपलव्ध बौद्धिक सम्पत्ति पेटेन्टलगायतबाट संरक्षित औषधि तथा उचारका उपकरण एवं भविष्यमा सदस्य राष्ट्रहरूमा आविष्कार एवं निर्माण हुने वा गरिने बौद्धिक साम्पत्तिक अधिकार संरक्षण योग्य सिर्जना, विधि, प्रविधि वा चिजवस्तु तथा उपचारका उपकरणसमेतको हालको पेटेन्टसम्बन्धी कानुनमा रहेको अनिवार्य प्रयोग अनुमति प्रदान गर्ने सम्बन्धमा रहेको प्रावधानलाई अझ बढी खुकुलो पार्ने बताउनुभएको छ । त्यस्तो विधि, प्रविधि वा उपकरणको प्रयोग एवं उत्पादनका लागि समन्यायिक प्रयोगको खुकुलो अनुमति प्रदान गर्ने नीति सम्बद्ध सदस्य राष्ट्रले अँगाल्नका लागि अग्रिम आग्रह गर्नुभएको छ । यस सम्बन्धमा सदस्य राष्ट्रहरूका बीच अनौपचारिक द्रुत बहुराष्ट्रिय समझदारी कायम गर्नसमेत संयोजनकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ । यसले बौद्धिक सम्पत्तिको कोभिड १९ महामारीसँगको सम्बन्ध उजागर गरिदिएको छ ।
यस सन्दर्भमा नेपाल सरकारको नीति भने नेपाली विज्ञ तथा सम्बद्ध सर्जकलाई यसतर्फ उत्प्रेरणा प्रदान गर्ने कार्यमा कमजोर प्रतीत भएको देखिन्छ । नेपालमा रहेका विभिन्न क्षेत्रका विज्ञ तथा दक्षता हासिल गरेका जनशक्तिलाई कोभिड १९ महामारी सम्बन्धमा अध्ययन, अनुसन्धान एवं योसँग जुझ्नका लागि आवश्यक विधि, प्रविधि, उपचारका उपाय, उपचारका वस्तु, त्यस्तो उपचारमा उच्चतम उपयोग हुने समय तथा स्रोतको किफायत गर्ने कुनै विधि, प्रविधि वा चिज वस्तुको आविष्कार, निर्माण तथा सिर्जना गर्नेतर्फ हौसला दिने कार्य हुन आवश्यक छ । भएका जनशक्तिको उपयोग गर्न र निजी क्षेत्रका विज्ञ तथा जनशक्तिलाई परिचालन गर्न सक्नुपर्छ ।
हालै एक नेपाली आयुर्वेदसँग सम्बद्ध व्यक्तिले कोरोना भाइरससँग लड्न सक्ने मानव प्रतिरोध शक्ति क्षमता विकास गर्ने आयुर्वेदिक औषधि सिर्जना गरेको दाबी गरी सामाजिक सञ्जालमा आएको सूचनालाई बेवास्ता गर्दै हल्का टिप्पणीमार्फत सम्भावित सर्जकलाई हतोत्साहित गरेको देखिन्छ । यसले सर्जकलाई सिर्जनाको बाटोमा लाग्न उत्प्रेरणा प्रदान गर्दैन । राज्यले सम्भावित क्षेत्रका सम्भावित दक्ष एवं योग्य जनशक्तिलाई हौसला प्रदान गरी त्यस्तो सिर्जनाको सम्भाव्यता अध्ययन गर्ने, सोको प्राविधिक मूल्याङ्कनको उचित व्यवस्थापन गर्ने र कोभिड १९ महामारीको समाधानका उपायको विविध पक्षसँग सम्बद्ध विधि, प्रविधि वा चिज वस्तुको खोजी, अनुसन्धान गरी सम्बद्ध विधि प्रविधि वा चिजवस्तुको निर्माण एवं सिर्जनाका लागि हौसला र आवश्यक कुराको व्यवस्था अविलम्ब
गर्नुपर्ने देखिन्छ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?