विजयराज पोखरेल
कोरोनाको उद्गमस्थल वुहानलाई हेर्दा तीन–चार महिनापछि नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने आशा पलाए पनि यस बीचमा जनजीवन ठप्प हुँदा नेपालको अर्थतन्त्रसँगै समग्र जनजीवन प्रभावित हुन सक्ने सङ्केत देखापर्न थालिसकेको छ । सङ्कटको घडीमा ज्यान ठूलो हो तर जीवनको धुकधुकी चलाउन मान्छेको पहिलो आवश्यकता भनेको खाना हो । बन्दाबन्दीको लगत्तै समग्र उत्पादन तथा आपूर्ति प्र्रक्रिया अवरुद्ध हँुदा तत्काल यसको असर सबैको भान्सामा पर्न गयो । भान्सामा असर पर्दा यसको प्रमुख मारमा कृषक पर्न गए । कृषकको कृषिकर्म अवरुद्ध भयो । तुरुन्तै उपयोग गर्नुपर्ने प्रकृतिका कृषि उत्पादनको बिक्री वितरण समयमा हुन नसक्दा खेर जाने अवस्था आयो । यसबाट समग्र कृषिक्षेत्रमा पनि चुनौती थपिन पुगेको छ ।
बन्दाबन्दीको लगत्तै आपूर्तिको कडी खलबलिन थालेपछि कृषक तथा ब्यापारीले दूध सडकमा पोखेको, तरकारी खेतबारीमै कुहिन थालेको एवं कुखुरा नष्ट गर्नुपरेको दृश्य अगाडि आए । कुनै पनि प्राकृतिक विपत्तिको घडीमा पहिलो मारमा कृषक पर्ने देखिन्छ । नेपालमा अधिकांश साना कृषकको बाहुल्य छ । साना किसानहरूले नै नेपालको कृषि प्रणाली धानेका छन् भन्दा फरक पर्दैन । अहिलेको बन्दाबन्दीमा सीमित आयबाट गुजारा चलाउनुपर्ने कृषकहरू झन् झस्किन पुगेका छन् ।
सरकारले बन्दबन्दीको सूचना जारी गरे लगत्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि महामारीको जोखिमबाट बच्न सरकारबाट जारी गरिएको बन्दाबन्दीको पालना गर्दै आधारभूत खाद्यान्न, तरकारी, दूध, फलफूल, माछामासु, अण्डा तथा पशुपन्छीको दाना र आहारा, कुखुराका चल्लाको उत्पादन, ढुवानी एवं बिक्री वितरण सुचारु गर्न पाउने भनी व्यवस्था गरे तापनि समग्र आपूर्ति व्यवस्था र कृषि उत्पादन प्रक्रिया खलबलिन पुग्यो । बन्दाबन्दीको दोस्रो हप्तामात्र सरकारले कृषिकर्म गर्न हुने÷नहुने र अत्यावश्यक उत्पादन सम्बन्धमा प्रष्ट पार्नाले उत्पादन क्षेत्रले केही सहज महसुस गर्न पुग्यो ।
किसानले स्थानीय श्रमिक वा परिवारका सदस्य प्रयोग गरेर कृषिकर्म गर्न पाउनेबारे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा पर्याप्त यान्त्रिकरण र प्रविधिको अभावमा मानव श्रमकै वर्चस्व छ । त्यसमाथि बालीनाली र पशुपन्छी जीवित वस्तु भएकाले यसको जीवनचक्र बमोजिम चल्नुपर्ने हुन्छ । उत्पादन लिएपछि पनि कि तुरुन्तै बजारमा पु¥याउनुपर्छ कि तत्कालै प्रशोधन÷भण्डारण गरिनुपर्दछ । विविध कारणबाट किसानले तोकिएको कृषिकर्म तोकिएको समयमा पूरा गर्न पाएनन् भने उत्पादन लिन नसकिने अवस्था सिर्जना हुन्छ ।
मुख्य कुरा त बन्दाबन्दीको अवस्थामा सबैलाई खानुपर्ने भएकाले खाद्यवस्तु उत्पादन तथा बिक्री वितरणलाई सुचारु राख्नुपर्छ । सरकारले अति आवश्यक वस्तुको उत्पादन गर्ने स्वदेशी उद्योगहरू सञ्चालनका लागि कामदारहरूलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर उद्योग परिसरभित्रै राखी सञ्चालन गर्न दिने निर्णयबाट कृषिमा आधारित उद्योग सञ्चालन गर्न सकिने वातावरण बनेको छ ।
नेपाल अझै पनि ६६ प्रतिशत घरपरिवार कृषिमा आश्रित छन् । कृषिप्रधान देश भनिए पनि आन्तरिक उत्पादनले हामीलाई खान पुग्दैन । आ.व.२०७५÷७६ मा मात्र झण्डै दुई खर्बको कृषिवस्तु आयात भएको अवस्था छ । आयातको यो धनराशि बर्सेनि बढ्दो छ । नेपालको भौगालिक विविधता र हावापानीका कारण प्रायः सबै प्रकारका बाली उत्पादन गर्न सक्ने प्रचुर सम्भावना भए पनि कृषिक्षेत्रको यो पूरापूर उपयोग गर्न सकिएको छैन । सरकारले हरेक वर्षको बजेटमा कृषिको विकासलाई प्राथमिकतामा राखे पनि कृषिको व्यावसायीकरण र आधुनिकीकरणमा अपेक्षित परिणाम ल्याउन सकिएको छैन । विगतमा लागू गरिएको २० वर्षे दीर्घकालीन कृषि योजना (सन् १९९५–२०१५) बाट कुनै तात्विक परिणाम प्राप्त हुन नसकी समयावधि व्यतित हुन पुग्यो । यसैगरी अहिले कृषि विकास रणनीति (सन् २०१५–२०३५) कार्यान्वयनमा छ ।
नेपालमा नीति तथा कार्यक्रम तामझामका साथ सुरु गरिन्छन् तर कार्यान्वयन पक्ष फितलो हुँदा कृषकहरू सदैव निराश हुनुपर्ने अवस्था छ । कृषि जमिनको सिञ्चित क्षेत्र ५० प्रतिशतभन्दा बढी छ भनिन्छ तर मनसुन गतिलो नभएको वर्ष देशको कुल गार्हस्थ उत्पादन नै प्रभावित हुने गर्दछ । अपेक्षित रूपमा वर्षा हुन नसकेको अधिकांश भेगमा कृषकले खडेरीको सामना गर्नुपरिरहेकै छ ।
त्यसैगरी हरेक वर्ष बीउ र रासायनिक मलकोे जोहो गर्न सकिने हो होइन भनी चिन्तित हुनुपर्छ । केही वर्षदेखि लगातार हाइब्रिड जातका धान, मकै र तरकारी बालीहरूमा उत्पादन नै नहुने अवस्था यसपटक पनि भोग्नुप¥यो । यसरी बाली रोपेदेखि उत्पादन नभएसम्म सधैँभर पिरलो बोकेर बस्न बाध्य छन् कृषकहरू । उत्पादन त हुन्छ तर उचित मूल्य नपाउने चिन्ता उत्तिकै छ । यसको ज्वलन्त उदाहरण उखुबालीको भुक्तानी हो ।
अहिलेको महामारीका कारण रोजगारदाता मुलुकहरूको समेत आर्थिक गतिविधि प्रभावित हँुदा वैदेशिक रोजगारमा रहेका लाखौँ युवा स्वदेश फर्किनुपर्ने अवस्था सिर्जना भएको छ । विदेशबाट आएका युवाले पुँजी र प्रविधि देशमा भित्र्याएर कृषिलाई भरथेग गर्ने काम गरिरहेका थिए । रोजगारको गन्तव्यका रूपमा रहेका देशको अर्थतन्त्र लयमा आउन केही समय लाग्ने हँुदा विदेशबाट फर्किएका युवाको रोजगार व्यवस्थापन थप चुनौतीपूर्ण हुनेछ । देशमा उद्योगधन्दाको आधारशिला दह्रो नभएको अवस्थामा विदेशबाट फर्किएका युवालाई कृषिक्षेत्र व्यवस्थापन गर्न सकिने माध्यम हुनसक्छ । यस्ता युवालाई कृषि पेशामा संलग्न गराउन राज्यले सामूहिक वा सहकारीको माध्यमबाट जग्गा लिजमा लिएर कृषि कार्यक्रम सञ्चालन गर्ने वातावरण सिर्जना गर्न सकेमा देशका लागि यो ठूलो अवसर हुने देखिन्छ । यसका लागि एकीकृत रूपमा कृषि सामग्री, प्रविधि, आवश्यक पूर्वाधार विकास, कृषि कर्जा, बजारीकरण जस्ता सेवा सुविधा प्रदान गर्ने जमर्को राष्ट्रले गर्नुपर्छ । युवा पुस्तालाई कृषि पेशाप्रति आकर्षित गराउन समयसापेक्ष रूपमा यान्त्रिकरण गरिनुका साथै विशेष कार्यक्रम ल्याइनु आवश्यक छ । युवापुस्तालाई ग्रामीण क्षेत्रबाट पलायन हुने प्रवृत्तिबाट रोक्न ग्रामीण पूर्वाधार विकासमा जोड दिनुपर्छ ।
नेपाली परिवेशमा सहकारी नै कृषिक्षेत्रको विकासको सशक्त माध्यम हुनसक्छ तर सहकारीले कृषिक्षेत्रलाई उचित स्थान दिन सकेको छैन । गाउँ–सहरमा बग्रेल्ती खुलेका वित्तीय सहकारीहरूले अनुत्पादक क्षेत्रलाई बढी प्रोत्साहन गरेको पाइन्छ । कृषिक्षेत्रलाई सहकारीका माध्यमबाट अगाडि बढाउन सकिएमा उन्नत प्रविधि, पुँजी, श्रम आदिको समुचित प्रयोग गरी कृषिलाई आधुनिकीकरण गर्न सहयोग पुग्छ । अब गैर उत्पादनमूलक क्षेत्रमा सहकारी खोलिने प्रचलन बन्द गरिनुपर्छ । विदेशबाट फर्किएका युवालाई कृषिक्षेत्रमा समेट्न सक्ने एउटा ठूलो सम्भावना छ । सहकारीको प्रसङ्गको कुरा उठ्दा विगतमा साझा संस्थामार्पmत सुरु गरिएका राम्रा अभ्यासलाई हामीले बिर्सन हँुदैन ।
अहिलेको महामारीको कारण उत्पन्न खाद्य सङ्कटबाट जुध्न देशका ठूलाठूला गोदाम र शीतघर निर्माणका लागि पहल गरिनुपर्ने आवश्यकता पुनः खड्किएको छ । हरेक गाउँपालिकामा सहकारी संयन्त्रको प्रयोग गरी गोदाम तथा शीतघर स्थापना गर्न सके साना किसानहरूका कृषिजन्य उत्पादनको भण्डारण तथा बिक्री वितरणलाई सहजीकरण गर्दै खाद्य सङ्कटको घडीमा खाद्य बैङ्कका रूपमा परिचालन गर्न सकिन्छ । घनश्याम भुसालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पदभार सम्हालेपछि कृषिक्षेत्रले धेरै आशा र विश्वास गरेको छ । कोरोनाले निम्त्याएको सङ्कटको यस घडीमा देशको कृषिक्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरणको दिशामा डो¥याउन विद्यमान विकृति विसङ्गतिलाई चिर्दै अगाडि बढ्न विलम्ब गरिनुहुन्न ।
(लेखक डेभ्लपमेन्ट एलायन्स नेपालका कृषि वित्तविज्ञ हुनुहुन्छ ।)