रामप्रसाद आचार्य
यसै वर्षको नोभेम्बरमा अमेरिकामा नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । कोरोना भाइरसबाट सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा जीवन ठूलो कि अर्थतन्त्र ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
राष्ट्रपतिमा सत्तारुढ रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प नै उम्मेदवार बन्ने लगभग निश्चित छ । विपक्षी डेमोक्रेटिक पार्टीले भने अझै उम्मेदवारको टुङ्गो लगाएको छैन । राष्ट्रपति ट्रम्पले जीवनभन्दा अर्थतन्त्र जोगाउन जोड दिएको आरोप लागेको छ । उहाँले अमेरिका लकडाउन गर्न बनेको होइन भन्दै लकडाउन गर्न मान्नुभएन । उहाँको हठले अमेरिकाभरि कोरोना महामारी फैलियो । चीनबाट सुरु भएको कोरोनाबारे जतिबेला सतर्कता अपनाउन राष्ट्रपति ट्रम्पलाई अनुरोध गरियो त्यतिबेला उहाँले वास्ता गर्नुभएन । सुरुमै लकडाउन गरेको भए अमेरिकाभरि कोरोना फैलिने थिएन । यति धेरै जनधनको क्षति पनि हुने थिएन ।
कोरोना भाइरस एक्काइसौँ शताब्दीको सबैभन्दा ठूलो चुनौती बन्यो । संसारभरि नै लकडाउन होला भनेर कसैले सोचेकोे पनि थिएन । तर नसोचेको विपत्ति आइलाग्यो । यस विपत्तिबाट अहिले अमेरिकाको अवस्था अत्यन्तै जटिल मोडमा छ । कोरोना महामारी रोकिने लक्षण देखिएको छैन । यसले गर्दा राष्ट्रपति ट्रम्प अप्ठ्यारोमा पर्नुभएको छ । विपक्षी दललाई ट्रम्पको असफलता ठूलो चुनावी मुद्दा बन्दैछ ।
राजनीतिक होइन, व्यापारिक पृष्ठभूमिबाट आउनुुभएका ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले ल्याउनुभएका र लागू गर्नुभएका सबै नीति र कार्यक्रम खारेज गरी आफ्नै ढङ्गले मुलुक सञ्चालन गर्नुभयो । उहाँको कार्यकाल निकै जोखिम र विवादास्पद बन्यो । तैपनि उहाँले अहिले पनि जिद्दी छोड्नुभएको छैन । उहाँलाई साथ दिने अतिवादी ठूलो समूह रहेकाले पनि उहाँ अरूलाई पेलेरै जाने सोचमा हुनुहुन्छ तर परिस्थिति उहाँको प्रतिकूल बन्दैछ । कोरोना महामारी रोकिएन भने चुनावै सर्न सक्ने वा यसैका कारण ट्रम्पलाई चुनावमा सफलता नमिल्ने खतरा देखिँदैछ ।
अहिले अमेरिकामा बल र हठले भन्दा पनि बुद्धि पु¥याएर काम गर्नुपर्ने बेला छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ । नागरिक सुरक्षा सबैभन्दा महìवपूर्ण कुरा हो । नागरिक सुरक्षित भएनन्, अकालमा ज्यान गुमाउँदै जाने हो भने यसले अरू विकराल समस्या ल्याउने निश्चित छ । अमेरिकामा सत्तापक्ष, विपक्ष विभाजित भएर होइन सहमति गरेर यो महामारी अन्त्यका लागि साझा प्रयास गर्नुपर्छ । अहिलेजस्तो हठ नत्याग्ने हो भने अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्नेमात्र होइन साखसमेत गुमाउनुपर्ने अवस्था आउनसक्छ ।
चीनको वुहानमा गएको डिसेम्बर ३१ मा कोरोना भाइरसको पहिलो केस फेला परेको हो । त्यतिबेला अमेरिकामा शक्ति सङ्घर्ष उत्कर्षमा पुगेको थियो । राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाइएको थियो । विपक्षीहरूले उहाँलाई पदबाट हटाउने प्रयास गरेका थिए । त्यतिबेला ट्रम्प र उहाँको दल रक्षात्मक अवस्थामा थियो ।
चीनपछि जनवरीको दोस्रो सातामा कोरोना सङ्क्रमण थाइल्यान्डमा देखियो । त्यतिबेला दुई ठूला अर्थतन्त्र, अमेरिका र चीन, वासिङ्टन डीसीमा नयाँ व्यापार सम्झौता गर्दै थिए । चुनावी वर्ष भएकाले ट्रम्पका लागि त्यो सम्झौताको अर्थ विशेष थियो । ठीक त्यसैबेला अमेरिकी गुप्तचर निकायलगायत स्वास्थ्य विज्ञहरूले सम्भावित भाइरसको खतराबारे ट्रम्पलाई सूचना दिएका थिए तर उहाँले पूर्णरूपले बेवास्ता गर्नुभयो ।
चीनसित व्यापार युद्ध भए पनि अमेरिकी अर्थतन्त्र बलियोे भएकाले ट्रम्पलाई घमण्ड थियो तर हेर्दाहेर्दै अहिले महाशक्ति विश्वकै ठूलो अर्थतन्त्र अमेरिका कोरोनाको गम्भीर चपेटामा सङ्र्घषरत छ । त्यहाँ ठूलो मानवीय र भौतिक क्षति भइरहेको छ । जनस्वास्थ्यभन्दा अर्थतन्त्रलाई प्राथमिकता दिइएको भन्दै अमेरिकी नेतृत्वमाथिको आलोचना तीव्र छ । अमेरिकी सर्वाेच्चता, अमेरिकी राजनीतिको कार्यशैली र सङ्कटमा नेतृत्वको हैसियतमाथि सर्वत्र प्रश्न उठिरहेको छ ।
अमेरिकामा अब के हुन्छ ? कोरोना सङ्क्रमणको आतङ्कले कस्तो रूप लेला, त्यो स्पष्ट छैन तर अमेरिकी राजनीतिका आगामी दिन भने अवश्य चुनौतीपूर्ण हुनेछन् । यो चुनावी वर्ष भएकाले लेखाजोखाको समय पनि हो । राजनीतिमा एउटा अकाट्य पक्ष के हो भने राष्ट्रिय सङ्कटले राजनीतिक नेतृत्वको परीक्षा लिन्छ । नेतृत्वको कार्यशैलीले नतिजा तय गर्छ । सङ्कट र नेतृत्व एक अर्कासँग परस्पर जोडिएर आउँछन् । यतिखेर अमेरिकामा एकातिर मानवीय क्षतिको ठूलै चाङ छ । अर्काेतर्फ विश्वको ठूलो अर्थतन्त्रको दायरा नियन्त्रणबाहिर जानसक्ने खतरा पनि छ । अमेरिकी नेतृत्वका लागि यो गम्भीर चुनौती हो ।
अमेरिकी राजनीतिको विगतलाई हेर्दा के देखिन्छ भने सङ्कटमा राजनीतिक नेतृत्वलाई जनताको दह्रो साथ हुन्छ तर अहिले माहोल त्यस्तो छैन । ट्रम्पको समर्थन खस्किएको छ । सङ्कटले जनताका लागि असुरक्षा, भय र अनिश्चितता उत्पन्न गराउंँछ । सबैभन्दा विषम विषय बनेको छ, अमेरिकी नेतृत्वको कार्यक्षमता र दूरदर्शितामाथिको प्रश्न । अमेरिकीहरू धमाधम मरिरहँदा समेत नेतृत्वको नीति, जनस्वास्थ्य कम, बढ्ता अर्थतन्त्रमा केन्द्रित देखिएको छ ।
अमेरिकी राजनीतिको एउटा चरित्र हो, विज्ञानलाई चुनौती दिने । सन् १९८० को दशकमा एड्सले अमेरिकालाई आक्रान्त पार्दा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र उहाँका समर्थकहरूको आरोप थियो, ‘यो समलिङ्गी व्यवहारको प्रतिफल हो ।’ अहिले पनि कट्टरपन्थी भन्दैछन्, विश्वको पर्यावरणीय समस्या र पृथ्वी तात्दै गएको वैज्ञानिक तथ्य वाहियात हो । कोरोना कृत्रिम राजनीतिक समस्या हो । ट्रम्प पनि यसमा सहमत हुनुहुन्छ जसले गर्दा भाइरसविरुद्व अमेरिकी प्रतिरक्षालाई कमजोर पारेको स्पष्ट छ ।
(लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।)