शिवप्रसाद भट्टराई
नेपालको राजनीति फेरि पनि कम्पित हुन थालेको छ । जे नहुनुपर्ने वा नदेखिनुपर्ने थियो त्यही नै भइरहेको वा देखिइरहेको स्थितिले जनतामा निराशाको बादल छाइरहेको छ । विभाजन होइन एकताले नै लोकतन्त्रलाई सही दिशामा डोे¥याउन सक्ने भएकाले अहिले यसप्रति सत्तारुढ दलभित्र अनेकौँ प्रयास पनि भइरहेका छन् । यो स्थितिलाई भने सकारात्मक नै मान्नुपर्छ ।
अभैm पनि विभाजन, बन्द, बम–आतङ्क, चक्काजाम, हुलहुज्जत, दलहरूबीच दन्तबझान, अनावश्यक नाराबाजी, तोडफोड र नचाहिँदा उजुर–बाजुर जस्ता विडम्बनापूर्ण वातावरणबाट लोकतन्त्रलाई मुक्त राख्न नसक्ने हो भने मुलुक विविध किसिमका अनिश्चयको भुमरीमा फस्न सक्नेप्रति सबै जिम्मेवार पक्ष समय छँदै सजग र सचेत रहनु आवश्यक छ । दलहरूमा विभाजन र लोकतन्त्रलाई दलभित्रका टाठाबाठाहरूको पद र प्रतिष्ठाप्राप्तिको सङ्घर्षको विषय मात्र बनाइँदा विधिको शासन, निष्पक्ष न्यायप्रणाली, स्वच्छ प्रशासन आदिका अवधारणा खुम्चँदै जाने सम्भावना रहन्छन् । विधिको शासन, निष्पक्ष न्यायप्रणाली र स्वच्छ प्रशासनका अभावमा जनजीविका सहज बन्न सत्तैmनन् । यसको अभावमा मानिसले सही अर्थमा स्वतन्त्रताको बोध पनि गर्न सत्तैmन । स्वतन्त्रता नै कुनै पनि मानिसको उन्नति र प्रगतिको पहिलो आधारशिला हो । यो आधारशिलामाथि कहीँ–कतैबाट पनि प्रहार हुनु हुँदैन । यसमाथि प्रहार भइरह्यो भने त्यो व्यवस्थालाई कसैले पनि लोकतन्त्रका रूपमा आत्मसात् गर्न सक्दैनन् ।
सदैव विभाजन र विरोधका लागि विरोध गर्ने अनि एउटा अर्कोमाथि आरोप–प्रत्यारोपमा मात्र रुमल्लिने हो भने लोकतन्त्र विडम्बनापूणर््ा वातावरणबाट बाहिर निस्कन सत्तैmन । यही कारणले गर्दा लोकतन्त्रलाई आफ्नो स्वार्थ अनुरूप डो¥याउने र यसलाई पद र प्रतिष्ठा प्राप्तिको सिँढी बनाएर यसमाथि नै खेलवाड गर्ने प्रयास कहीँ–कतैबाट पनि हुनुहुँदैन ।
लोकतन्त्र शब्दमा मात्र होइन, व्यवहारमा पनि देखिन सक्नुपर्छ, शब्दले मात्र ‘लोकतन्त्र’ परिभाषित हुन सत्तैmन । शब्दले मात्र हुने भएको भए हिजोको पञ्चायती व्यवस्थामा पनि ‘प्रजातन्त्र’ झुण्ड्याइको थियो र यसलाई ‘पञ्चायती प्रजातन्त्र’ पनि भनिन्थ्यो । यसपछि देशमा ‘बहुदलीय प्रजातन्त्र’ आयो । आज प्रजातन्त्र ‘लोकतन्त्र’ को नाममा रूपान्तरित भएको छ । निश्चय पनि हिजोको ‘प्रजातन्त्र’ र आजको ‘लोकतन्त्र’ को रूप र सार एउटै देखिनुहुँदैन । यस किसिमको अवस्था रहिरहने हो भने जनताले भोग्नुपरिरहेका विविध किसिमको समस्याको अन्त्य हुने झिनो आशासमेत सँगाल्न सकिँदैन ।
दलहरूभित्रको शक्ति–सङ्घर्षको होडबाजीले लोकतन्त्रप्रतिको विश्वसनीयताको तटबन्ध नै आज निकै मक्किँदै र भत्किँदै गएको स्थिति छ । राजनीतिक दलहरूका समूह, गुट–उपगुटभित्र नै यो नराम्ररी पिल्सिन र बहकिन पुगेको छ । अहिले पनि लोकतन्त्र केवल टाठाबाठाहरूका पद र प्रतिष्ठाप्राप्तिको सङ्घर्षको विषयका रूपमा मात्र जनताले लिन थालेका छन् । निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश जनताको जीवन–पद्धतिलाई यसले स्पर्श गर्न सकिरहेको छ कि छैन, वस्तुनिष्ठ समीक्षा आवश्यक छ । लोकतन्त्रको सुदृढीकरण, यसको स्थानान्तरण र हस्तान्तरण गर्दै अघि बढ्ने दिशामा यस्तो समीक्षा र सुधार अवश्यक छ ।
देशभन्दा प्यारो अरू केही हुन सत्तैmन । नेपाल र नेपालीको सर्वाङ्गीण विकासभन्दा ठूलो स्वार्थ अरू कुनै बन्नुहुँदैन । यसका लागि अब पनि लोकतान्त्रिक राजनीति विगतमा झैँ बरालिनुहुँदैन । लोकतन्त्रलाई सही किसिमले व्यावहारिक गन्तव्य प्रदान गर्ने कर्ता–धर्ता नेपालका राजनीतिक दलहरू नै हुन् । त्यसैले उनीहरूको लोकतन्त्रप्रतिको इमानदारी अहिले सर्वोपरि आवश्यकताको विषय बनेको छ । राजनीतिक दलहरूले आ–आफ्नो स्थानमा रही रचनात्मक भूमिका निर्वाह गर्ने कार्य गौण बन्न पुग्यो भने फेरि पनि प्राप्त उपलब्धि गुम्न सक्छ । यसो हुन नदिन लोकतान्त्रिक संस्कृतिलाई सबैले आत्मसात् गर्नुपर्छ । यस क्रममा सत्तारुढ दलले प्रतिपक्षको आवाज सुन्नुपर्छ र प्रतिपक्षले सरकारका सकारात्मक कामको प्रशंसा अनि गलत कार्यको खुलेर विरोध गर्न सक्नुपर्छ ।
व्यक्तिको जनजीविका, अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको अभावमा लोकतान्त्रिक आदर्श अनुरूपको सामाजिक रूपान्तरण हुने कल्पना पनि गर्न सकिँदैन । यो यथार्थविपरीत अझै पनि लोकतन्त्रप्रतिको इमानदारीलाई थन्क्याएर सत्ता–स्वार्थलाई मात्र महत्व दिँदै अघि बढ्ने र यसकै लागि सङ्घर्षशील हुने हो भने लोकतान्त्रिक राजनीतिले अझ बरालिने मौका पाउन सक्छ ।
अब यस्तो नहोस् । फेरि पनि सङ्घर्षले प्राप्त लोकतन्त्रको बाटो अनिश्चित नबनोस्, सत्ताप्रप्तिको ठूलो खिचातानीकै कारण देशमा कुनै गम्भीर सङ्कट उत्पन्न हुन नपाओस् र देश र जनताको भोलिको बाटो फेरि अन्धकारमा फस्न नपुगोस् । स्थापित लोकतन्त्रले सर्वाधिक उल्लेखनीय र दूरगामी कार्य गर्न सकोस् । सङ्कटपछि नै समाधान आउने हो । सत्तारुढ दलभित्रको किचलो रचनात्मक किसिमले अन्त्य होस् । राजनीतिक दलहरू विभाजनको बाटोलाई त्यागेर लोकतन्त्रलाई सही गन्तव्य प्रदान गर्ने दिशामा अग्रसर भई सफल हुन सकून् ।
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)